चिडियाखानाको पाटेबाघको वार्षिक आहारको जिम्मा ललितपुर महानगरले लियो

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर महानगरपालिकाले राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलमा रहेको एउटा पाटेबाघको आहार व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

आइतबार महानगर र सदर चिडियाखाना जावलाखेलबीच समझदारी पत्रमा हस्ताक्षर गरी महानगर प्रमुख चिरीबाबु महर्जनले पाटेबाघको आहार व्यवस्थापनका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

महानगरले सदर चिडियाखानामा रहेको ‘महाराजा’ नामक पाटेबाघको वर्ष दिनको आहार व्यवस्थापन (एडप्ट एन्ड एनिमल) का लागि उक्त रकम सहयोग गरेको महर्जनले बताए । २ सय केजी तौल भएको उक्त पाटेबाघको दैनिक आहार ६ केजी मासु व्यवस्थापन गर्नुपर्ने चिडियाखानाका कर्मचारीले बताएका छन् ।

सदर चिडियाखानामा ५ वटा पाटेबाघ रहेका छन् । यसअघि महानगरले कोभिड–१९ संक्रमण अवधिमा वन्यजन्तु तथा पन्छीको आहार व्यवस्थापनका लागि १० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । सदर चिडियाखानामा करिब एक हजारवटा जनावर तथा पन्छी छन् । उक्त जनावर तथा पन्छीको आहारका लागि वार्षिक करिब ४ करोड रुपैयाँ खर्च लाग्ने चिडियाखानाका कर्मचारीले बताएका छन् । चिडियाखानाको मुख्य आम्दानीको स्रोत आगन्तुकबाट उठ्ने शुल्क नै हो ।

प्रकाशित : चैत्र ५, २०७९ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्

मर्स्याङ्दीमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल निर्वाचित

आश गुरुङ

लमजुङ — लमजुङ सदरमुकाम बेंसीसहरमा रहेको मर्स्याङ्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा कांग्रेसको नेविसंघ र माओवादी केन्द्रको अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलै निर्वाचित भएको छ ।

आइतबार रातिको मतपरिणाम अनुसार नेविसंघका सुगम देउजा ३ सय २० मत ल्याएर स्ववियु सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेको अनेरास्ववियुका निश्चल पाण्डेले २ सय ११ मत ल्याएर पराजित भएका छन् । सचिवमा नेविसंघका पूर्णबहादुर गुरुङले ३ सय मत ल्याएर निर्वाचित भएका छन् । अनेरास्ववियुका सुष्मा गुरुङले २ सय २४ मत ल्याएर पराजित बनेकी छन् । कोषाध्यक्षमा नेविसंघका शर्मिला भण्डारीले २ सय ८९ मत ल्याएर निर्वाचित हुँदा अनेरास्ववियुका मदनकुमार विकले २ सय ३६ मत ल्याएर पराजित भएका छन् ।

सदस्यमा प्रत्यक्षतर्फ नेविसंघका अनिता थापा, करुणा वाग्ले, पितम विक, शरण पौडेल र सुनिल भट्ट साथै अनेरास्ववियु क्रान्तिकारीका सविना प्रजा चेपाङ निर्वाचित भएका छन् । समानुपातिकतर्फ नेविसंघका वसन्तराज कुइँकेल (प्रकाश), जमुना श्रेष्ठ र पुष्पा तामाङ साथै अनेरास्ववियु क्रान्तिकारीबाट जुना तामाङ सदस्यमा निर्वाचित भएका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ २२:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×