कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘अपराध केन्द्र’ बन्दै तुलसीपुर

राप्तीको केन्द्र तुलसीपुरमा शृंखलाबद्ध आपराधिक घटना बढेपछि स्थानीयले असुरक्षा महसुस गर्न थालेका छन्
दुर्गालाल केसी

दाङ — २०६७ साउन ६ गते राप्ती राजमार्गअन्तर्गत उरहरी ४ हेमनगरमा सञ्चार उद्यमी देवीप्रसाद धितालको गोली हानी हत्या भयो ।

‘अपराध केन्द्र’ बन्दै तुलसीपुर

२०६८ चैत २० मा चन्दा असुली र बम आतंक मच्चाएर समाजमा त्रास फैलाइरहेका माओवादी कम्युनिस्ट केन्द्रका महासचिव आकाश घर्ती पक्राउ परे । २०६९ पुस ६ गते बैंक अफ काठमाण्डुको तुलसीपुर शाखाबाट १ करोड ९६ लाख ४१ हजार ८ सय ४४ रुपैयाँ लुटियो ।

२०६९ साउन २६ मा बाँके, कोहलपुर ५ का पूर्वसशस्त्र प्रहरी जवान २७ वर्षीय बेलबहादुर घर्ती अत्याधुनिक हतियार सबमेसिनगन (एसएमजी) सहित पक्राउ परे । उनले त्यो हतियार आफू कार्यरत सशस्त्र इकाईबाटै चोरेर ल्याएका थिए ।

दाङ, तुलसीपुरमा भएका यी केही ठूला अपराधका प्रतिनिधिमूलक घटना मात्र हुन् । पछिल्ला दिनमा यहाँ शृंखलाबद्ध रूपमा आपराधिक घटनामा वृद्धि भइरहेको छ । यस वर्षको जेठदेखि कात्तिकसम्मका घटना अध्ययन गर्दा पनि त्यो सजिलै पुष्टि हुन्छ । जेठ २ गते पब्लिक ज्ञानज्योति उमाविबाट ५ लाख चोरी भयो । भदौ ६ मा बीपी चोकस्थित राप्ती मनी ट्रान्सफरबाट पनि ५ लाख चोरी भयो । भदौ १० मा तुलसीपुर बजारबाट दिउँसै रोल्पा, बडाचौर ४ का २६ वर्षीय एञ्जल भिजन गुरुङको दुई लाख रुपैयाँ लुटियो ।

यसैगरी भदौ १२ मा ‘घ’ लाइनस्थित वागेश्वरी सुनचाँदी पसलबाट एक महिलाले एक तोलाको सुनको सिक्री चोरी गरिन् । भदौ २४ मा तुलसीपुर १५ ग्वार खोलानजिक केही शंकास्पद व्यक्तिहरूले ड्युटीमा खटिएका प्रहरीमाथि खुकुरी प्रहार गरे । प्रहरीले प्रतिकारमा गोली चलाउँदा रामपुर ९ का २७ वर्षीय दानबहादुर बुढा घाइते भए । गुन्डागर्दीमा संलग्न रहेको आरोपमा अन्य पाँच जना पक्राउ परे । कात्तिक १० गते स्थानीय बसपार्कबाट बुटवल वस्त्रालयमा कार्यरत दुर्गा लामिछानेको साथमा रहेको भारु १० लाख लुटियो । 

कात्तिक ११ गते रक्षाचौरस्थित ग्रिन हाउस होटेलको छतबाट खसेर हेमनगरकी २१ वर्षीया पुनम कार्कीको मृत्यु भयो । होटेलमा यौनधन्दा भइरहेको सूचनाका आधारमा खानतलासी गर्न गएको प्रहरीलाई देखेर युवती छतमा भागेकी थिइन् । आत्तिएर त्यहाँबाट हाम फाल्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कात्तिक ११ गते नै तुलसी उच्च माविका ८ जना विद्यार्थीलाई बन्धक बनाएर ४४ हजार रुपैयाँ लुटियो ।

हत्या, लुटपाट, गुन्डागर्दी, चन्दा असुली र बम आतंक जस्ता घटना बढेपछि यहाँका स्थानीय आतंकित छन् । जिल्लामा भएका कुल अपराधमध्ये ४० प्रतिशत यहाँ हुने गरेका छन् । दाङमा आपराधिक घटना र मुद्दा दर्ता सबैभन्दा बढी तुलसीपुर क्षेत्रमै हुने गरेको जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले बताए । अपराध सजाय भुक्तान गरिसकेका र प्रहरी निगरानीमा रहेका अधिकांश व्यक्ति यही क्षेत्रमै बस्ने गरेको उनको भनाइ छ । ‘घटना र मुद्दा विवरण हेर्दा जिल्लाको सबैभन्दा धेरै संवेदनशील क्षेत्र तुलसीपुर नै हो,’ उनले भने ।

गत आवमा भएका ५ सय ३९ मध्ये २ सय  १३ आपराधिक घटना तुलसीपुरमा मात्रै भएको प्रहरीले जनायो । यो कुल अपराधको ४० प्रतिशत हो । आर्थिक वर्ष २०७१/०७२ मा ५ सय ८७ मध्ये १ सय ९८ र २०७०/०७१ मा ५ सय ९५ मध्ये १ सय ९४ घटना यहाँ भएका थिए । 

राप्ती अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी प्रेम चन्दले जनघनत्व र विभिन्न जिल्लाको ट्रान्जिटका रूपमा विकास भइरहेकाले यहाँ आपराधिक घटनासमेत बढेको बताए । ‘मानिसको बढी चहलपहल हुने ठाउँमा स्वाभाविक रूपमा आपराधिक घटना पनि बढ्छन् । तुलसीपुर पनि त्यस्तै सहर हो,’ उनले भने । उत्तर र दक्षिण सहजै भाग्न सकिने जंगल हुनु र बीचमा प्रहरी इकाई नहुनुजस्ता कारणले पनि पछिल्लो दिनमा यो सहर अपराधको केन्द्र बनिरहेको इलाका प्रहरीका डीएसपी लोकनाथ तिम्सिनाले बताए । ‘भूगोल पनि अपराधीलाई अनुकूल हुने खालको छ,’ उनले भने ।

तुलसीपुरमा लामो समय विभिन्न भूमिगत समूहले चन्दा र बम आतंक मच्चाए । केही व्यापारी विस्थापित भए । नेपाल माक्र्सवादी गणतान्त्रिक टाइगर समूह, नेकपा मालेमा समूह, जनमुक्ति मोर्चा, माओवादी कम्युनिस्ट केन्द्र (एमसीसी) नेपाल, तराई जनतान्त्रिक मधेस पार्टी, जनतान्त्रिक तराई मुक्ति पार्टी जस्ता विभिन्न नामधारी समूहले बम राख्ने र चन्दा माग्ने गरेका थिए । 

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल ढुक्कसँग व्यवसाय गर्ने वातावरण नभएको बताउँछन् । प्रहरीले ठूला घटनामा सफलता हासिल गर्न नसक्दा अपराध बढिरहेको उनको आरोप छ । ‘प्रहरीले जनताको विश्वास जित्न पनि सकेको छैन्,’ उनले भने । 

प्रकाशित : मंसिर २९, २०७३ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?