कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजविराज नगरपालिकाको पुँजीगत खर्च साढे १० महिनामा १७ प्रतिशत मात्रै

अवधेशकुमार झा

काठमाडौँ — जनप्रतिनिधिबीचको आन्तरिक द्वन्द्व तथा प्रमुख प्रशासकीय अधिकृत फेरिने क्रम नरोकिँदा सप्तरीको राजविराज नगरपालिकामा चालु आर्थिक वर्ष पुँजीगत खर्च न्यून भएको छ । विकास निर्माणका योजनामा हुने पुँजीगत खर्च चालु आर्थिक वर्षको साढे १० महिनामा जम्मा १७ प्रतिशत मात्र भएको छ ।

राजविराज नगरपालिकाको पुँजीगत खर्च साढे १० महिनामा १७ प्रतिशत मात्रै

पुँजीगत खर्च हुन नसक्दा नगरपालिकामा विकास निर्माणका योजनाहरुको काम गति लिन सकेको छैन भने बजेट हुँदाहुँदै पनि जनअपेक्षा अनुसार विकासका कार्यहरु संचालन हुन सकेको छैन । राजविराज नगरपालिका लेखा शाखाका अनुसार नगरपालिकाको बजेटमध्ये ६९ करोड २३ लाख ५० हजार रुपैयाँ पुँजीगत शिर्षकमा छुट्याइएको छ । २०८० जेठ ११ गतेसम्ममा सो रकमबाट जम्मा १० करोड ७ लाख ९४ हजार रुपैयाँ मात्र खर्च भएको लेखा अधिकृत शत्रुधन दासले जानकारी दिए ।

कर्मचारीको तलब र विषयगत शाखाहरुको बजेट रहने चालु खर्चमा भने राजविराज नगरपालिकामा बढेको छ । लेखा अधिकृत दासका अनुसार चालुतर्फ ६७ करोड ४० लाख ३० हजार रुपैयाँ बजेट छुट्याइएकोमा हालसम्म ४४ करोड ४४ लाख ६३ हजार खर्च भएको छ । चालुतर्फ छुटयाइएकोमध्ये ६५ दशमलव ९ प्रतिशत खर्च भएको छ । एक वर्षअघि राजविराज नगरपालिकामा निर्वाचित नगरप्रमुख भिमराज यादव निलम्बित छन् । उपप्रमुख ईसरत परविण कार्यवाहक नगरप्रमुख छन् । कार्यवाहक नगरप्रमुख परविण र वडाध्यक्षसहितका अन्य कार्यपालिका सदस्यहरुबीच विवाद रहँदै आएको छ । जसका कारण नगरपालिकामा नीतिगत निर्णय समेत समयमा हुन नसकिइरहेको एक कर्मचारीले बताए ।

यस्तै पछिल्लो एकवर्षमा नगरपालिकामा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । जनप्रतिनिधिहरु २०७९ जेठमा पदभार ग्रहण गर्दाका बेला नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए । केही समयपछि उपसचिव विनयकुमार सोनु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भए । गत फागुनको पहिलो साता सोनुको सरुवा सप्तरीकै डाकनेश्वरी नगरपालिकामा भएपछि केही दिनसम्म निमित्तकै भरमा नगरपालिका चलेको थियो । स्वास्थ्य शाखा प्रमुख निरन्जन यादव केही दिनसम्म निमित्त भई काम चलाए । चैतमा उपसचिव धर्मानन्द जोशी नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका छन् । ‘दुई दुई महिनामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुन्छ,कसरी काम अगाडि बढ्न सक्नु ?’ एक वडाध्यक्षले भने, ‘एकातर्फ कार्यवाहक नगरप्रमुखको मनपरी छ अर्कोतर्फ प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भने कसरी विकासका काम अगाडि बढ्नु ?’


प्रकाशित : जेष्ठ ११, २०८० १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?