कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘यार’लाई पद्यश्री साहित्य पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएबापत डा तारानाथ शर्मा (तारानाथ भण्डारी)लाई ‘पद्यश्री साधना सम्मान’ र आख्यानकार नयनराज पाण्डेको सस्मरण सङ्ग्रह ‘यार’लाई ‘पद्यश्री साहित्य पुरस्कार’ प्रदान गरिएको छ । 

‘यार’लाई पद्यश्री साहित्य पुरस्कार

खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठान, चितवनद्वारा स्थापित ती सम्मान र पुरस्कारका राशी दुई लाख रुपैयाँसहित सम्मानपत्र रहेको छ । प्रतिष्ठानले विसं २०६३ देखि वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये एक र विसं २०६७ देखि साहित्य र कलामा दीर्घ साधना गर्दै आएका एक स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।


प्रतिष्ठानद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने र उनका माता हरिकला लामिछानेले संयुक्त रुपमा उक्त पुरस्कार एवम् सम्मान प्रदान गरेको हो ।


आख्यान लेखनको विशिष्ट शिल्प रहेको ‘यार’ भित्र लेखकका निजी संस्मरणलाई जीवन्त रुपमा बुनिएका छन् । लामा र छोटा गरी २५ वटा संस्मरणलाई सरल भाषामा गहन एवम् लोभलाग्दो अभिव्यक्ति संस्मरणमा छ ।


दार्जिलिङबाट प्रकाशित हुने साथी साप्ताहिक पत्रिकामा इलाम शीर्षकको निबन्ध २००८ सालमा छपाएर नेपाली निबन्ध साहित्यमा उदाएका डा शर्माका सम्पादन तथा लेखनमा हालसम्म ३३० कृति छन् ।


सो अवसरमा प्रतिष्ठानका अध्यक्ष लामिछाने, उपाध्यक्ष धनराज गिरी र अमर न्यौपानेले प्रतिष्ठानका गतिविधिमाथि प्रकाश पारेका थिए ।


सम्मानित व्यक्तित्व डा शर्माले उमेरले आफू ८० काटे पनि साहित्य रचनामा कमी नआएको बताए । अर्का पुरस्कृत स्रष्टा पाण्डेले पुरस्कार पाउनु लेखकको जीवनमा सुन्दर घटना होइन, असल कृतिको सिर्जना गर्न सक्नु नै सर्वाधिक सुन्दर घटना भएको बताए ।

प्रकाशित : कार्तिक ७, २०७५ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?