३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

काशीनाथको शब्द झँटारो

काठमाडौँ — बुबा दृष्टिविहीन, चार सन्तानमध्ये कान्छोबाहेक तीनैजना दृष्टिविहीन । यी सबैजना भने आँखा देख्नेभन्दा बढी अब्बल छन् । जेठो लक्ष्मण ज्ञवाली पहिलो दृष्टिविहीन अधिवक्ता हुन्, राजनीति शास्त्रमा पीएचडी पनि गरेका छन्, स्कुल पढाउँछन् पनि ।

काशीनाथको शब्द झँटारो

माइलो काशीनाथ साहित्यकार हुन्, ज्ञवालीको सट्टा नाम पछाडि ‘मिश्रित’ को फुर्को झुन्ड्याएका छन् । आधा दर्जन साहित्यिक कृतिका यी धनी पनि स्कुल पढाउँछन् । साइलो पनि शिक्षक नै हुन् । प्रतिभावान् यो परिवारका लागि शनिबार खुसीको दिन थियो । माइलो काशीनाथले आफ्नो नयाँ कृति ‘बोकाको मन’ राजधानीमा सार्वजनिक गरे ।


एक त मोफसल, अर्को दृष्टिविहीन । गुल्मी सुनडाँडाबाट पुस्तक लोकार्पण गर्न आइपुगेका उनले भने, ‘कविताप्रतिको मोह सानोदेखि नै हो । पछि धेरै कुरा भन्न मन लाग्यो, त्यसका लागि अलिक फराकिलो विधा रोजें ।’ नयाँ कृति उनको व्यंग्य निबन्ध संग्रह हो ।


मुलुक र समाजप्रतिको कुत्कुत्याइले व्यंग्य विधातिर कलम चलाउनुपरेको बताए काशीरामले । ‘उहिले भैरव अर्यालको कृति पढ्दाको छाप थियो मनभित्र,’ उनले सुनाए, ‘सामाजिक/राजनीतिक विकृति विसंगति देखेपछि चुप बस्नै सकिनँ ।’ उनले हेर्ने आँखा आफूसित नभए पनि देख्ने आँखा भने रहेको भन्दै आफूहरूजस्ताकै अनुभूतिलाई पनि निबन्धको विषय बनाएको बताए ।


यसअघि उनका ‘रक्सी’, ‘दुर्भाग्य’ खण्डकाव्य, ‘केही अभिव्यक्ति : केही परिभाषा’, ‘भोकमरी’ (सहलेखन) जस्ता कृतिहरू प्रकाशित छन् । गुल्मी नेत्रहीन संघ र साहित्य जागरण केन्द्र रुरुका उनी अध्यक्ष पनि हुन् । पुस्तक लोकार्पण गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मोफसल र शारीरिक अपांगताले सीमाले पनि काशीनाथको प्रतिभा छेक्न नसकेको भन्दै प्रशंसा गरे । ‘धेरैसित दृष्टि हुन्छ तर दृष्टिकोण हुँदैन,’ उनले भने, ‘काशीनाथजी दृष्टिकोणसहितका प्रतिभा हुन् ।’


भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले पनि काशीनाथको प्रतिभाको प्रशंसा गरे । कृतिमाथि बोल्दै समालोचक रामप्रसाद ज्ञवाली, नरनाथ लुइँटेल, लक्ष्मण गाम्नागेलगायतले ‘कृतिमा अनाचार, दुराचार, भ्रष्ट आचार र विचारहरूलाई सूक्ष्म रूपमा चिर्दै स्वच्छ र स्वस्थ समाजको परिकल्पना गरिएको’ बताए । पुस्तक भुँडीपुराण प्रकाशनले छापेको हो ।

प्रकाशित : माघ ६, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?