परिष्कृत स्वास्थानी

कान्तिपुर संवाददाता

काठमाडौँ — सोर्‍हौं शताब्दीमा संस्कृत भाषामा लेखिएको थियो, ‘श्रीस्वस्थानी व्रतकथा’ । लगत्तै यो नेवारी भाषामा अनुवाद भएर आयो र जनस्तरमा पढिन थालियो ।

यसपछि यसका अनेकौं संस्करणहरू आए । हालै कञ्चनजंघा प्रसाईं र विदुषी प्रसाईंले परिष्कृत ‘श्रीस्वस्थानी व्रतकथा’ ल्याएका छन् । संस्कृतबाट विभिन्न संस्करण अनुवाद भएर आउने क्रममा थपिएका र देखिएका केही विकृतिहरूलाई काँटछाँट गरेर आफूहरूले शुद्ध श्रीस्वस्थानी व्रतकथा ल्याएको कञ्चनजंघा र विदुषीले विज्ञप्तिमा जनाएका छन् ।


सन् १५७३ देखि संस्कृत भाषामा स्वस्थानी व्रतकथाको थालनी भएको मानिन्छ । सुरुमा ब्राह्मण पण्डितहरूबाट मात्र वाचन गराउने परम्परा रहेकोमा सन् १६०३ मा नेवारीभाषामा अनुवाद भएपछि सर्वसाधारणको पहुँचमा पुगेको मानिन्छ ।


नेपाली भाषामा छापिन थालेपछि आ–आफ्नै पारा र ढंगबाट प्रकाशित गर्दै आएकोमा प्रसाईंद्वयले सम्पादन गरेको ‘श्रीस्वस्थानी व्रतकथा’ सरल, सरस र शुद्ध रहेको समालोचक जगदीशचन्द्र रेग्मीले बताए ।


नइ प्रकाशनले छापेको पुस्तकको इतिहासकार ज्ञानमणि नेपाल, संस्कृतिविद् वेणिमाधव ढकाल, वासुदेवकृष्ण शास्त्री, काशीनाथ तमोट, माधव भट्टराई, विणा पौडेल, कृष्णदास महाराजलगायतले प्रशंसा गरेका छन् ।

प्रकाशित : माघ ६, २०७५ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्

पार्टीमा छाडातन्त्र मौलायो : देउवा

प्रताप रानामगर

दमौली — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा छाडातन्त्र मौलाएको भन्दै अब छिट्टै अनुशासन समिति बनाएर त्यसलाई अन्त्य गर्ने बताएका छन् । कांग्रेस तनहुँले दमौलीमा आइतबार गरेको कार्यकर्ता भेटघाटमा देउवाले पार्टीको अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिए ।

उनले पार्टीलाई एक ढिक्का बनाएर लैजाने उद्घोष पनि गरे । ‘गुटउपगुटले पार्टीलाई क्षति पुर्‍याएको छ', उनले भने, ‘महासमिति बैठकले पार्टीलाई एक ढिक्का बनाएको सन्देश दिएका छौं ।’ पार्टीमा एक ढिक्का भए काङ्ग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने उनले जिकिर गरे ।

एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न कार्यकर्तालाई उनले निर्देशन दिए । ‘महासमितिको बैठकबाट पारित पार्टीको विधान उत्कृष्ट छ', उनले भने, ‘विधानलाई समावेशी गरेका छौं ।’ अरक्षण कोटा पुरा गर्नका लागि पार्टी सदस्यताको आधार हुनुपर्छ । देउवाले पार्टी विधानविपरीत जिल्लाको विशेष अधिवेशन नगर्न पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई आग्राह गरे । नेता जोशीले माघ ८ गते कांग्रेस विशेष जिल्ला अधिवेशन बोलाएका छन् ।

विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै देउवाले केही गुनासा भए पार्टीभित्रै बसेर छलफल गर्नुपर्ने बताए ।

तनहुँको शुक्लागण्डकीमा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज हुन नदिने बताए ।

प्रकाशित : माघ ६, २०७५ १६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×