तीन स्रष्टा पुरस्कृत- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन स्रष्टा पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — सुरभि साहित्य प्रतिष्ठानले आफ्नो दसौँ स्थापना दिवस पारेर तीन आख्यानकारलाई पुरस्कृत गरेको छ । बौद्ध रामहिटीस्थित साहित्य सदनमा मंगलबार आयोजित समारोहमा प्रतिष्ठानले वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई सुरभि बाजुराम आख्यान साधना पुरस्कार र अर्का वरिष्ठ आख्यानकार नरेन्द्रराज पौडेललाई सुरभि आख्यान पुरस्कार प्रदान गरेको हो । दुइटै पुरस्कारमा जनही ११ हजार ५ सय रुपैयाँ दिने गरिन्छ ।


कथाकार राममणि पोखरेललाई सुलेख साहित्यिक प्रतिभा पुरस्कार पनि दिइयो । ‘सुलेख’ मासिकमा वर्षभरि छापिएका कथामध्ये पोखरेलको सिर्जना उत्कृष्ट ठहर्‍याई ८ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिएको हो । सबै पुरस्कार प्रतिष्ठान अध्यक्ष बाजुराम पौडेल, प्रतिष्ठान संरक्षक विजय चालिसे र वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले हस्तान्तरण गरे ।


समारोहमा वरिष्ठ साहित्यकार शान्ता मानवी, प्रतिष्ठान संरक्षक वेदमणि घिमिरे, समाजसेवी माधव खनाल, डा. रामप्रसाद ज्ञवाली, लक्ष्मी भट्टराई, रामकुमार पण्डित क्षत्रीको समेत उपस्थिति थियो । भूधरा उपाध्याय, प्रमोद प्याकुरेल र पवित्रा अधिकारीले कथा वाचन गरेका थिए । राममणि पोखरेलको कथा संग्रह ‘छेदीलाल’ र अच्युत घिमिरेद्वारा सम्पादित ‘पहाडदेखि मधेससम्म’ को लोकार्पण पनि गरियो ।

प्रकाशित : माघ १७, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

‘छक्का पञ्जा’ लाई सर्वाधिक अवार्ड

कामना फिल्म अवार्ड
विपिन र सृजना उत्कृष्ट अभिनेता–अभिनेत्री
कान्तिपुर संवाददाता

काठमाडौँ — ‘छक्का पञ्जा’ लाई ८ विधाको अवार्ड दिलाउँदै मंगलबार राजधानीमा कामना फिल्म अवार्ड–२०७४ सम्पन्न भएको छ । आर्मी अफिसर्स क्लबमा सम्पन्न अवार्ड समारोहमा यो फिल्म गतवर्ष प्रदर्शन भएका सबैलाई उछिनेर उत्कृष्ट समेत घोषित भयो ।

दीपाश्री निरौलाले उत्कृष्ट नवनिर्देशकको अवार्ड यही फिल्मबाट चुमिन् । दीपकराज गिरीले उत्कृष्ट खलनायक, जितु नेपाल उत्कृष्ट सहअभिनेता र केदार घिमिरे ‘माग्ने बूढा’ ले उत्कृष्ट हास्य अभिनेताको अवार्ड थाप्दा यही फिल्मबाट कविराज गहतराजले उत्कृष्ट नृत्य निर्देशकको अवार्ड उचाले ।
उत्कृष्ट संवादको अवार्ड पनि ‘छक्का पञ्जा’ कै भागमा पर्‍यो । यो विधाका लागि दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरेले संयुक्त अवार्ड पाए । यही फिल्मको ‘सुन न चम्पा...’ गीतबाट कृष्ण
काफ्लेले उत्कृष्ट गायकको अवार्ड जिते । उत्कृष्ट अभिनेताको अवार्ड भने फिल्म ‘जात्रा’ का लागि विपिन कार्कीलाई दिइयो । ‘जात्रा’ बाटै प्रदीप भट्टराईले उत्कृष्ट पटकथाकारको अवार्ड पाए । रंगकर्ममा भिन्न छवि बनाएकी सृजना सुब्बाले फिल्म ‘डाइङ क्यान्डिल’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् । जुरी अवार्ड पनि ‘डाइङ क्यान्डिल’ नै पायो । यही फिल्मबाट रवीन आचार्य उत्कृष्ट छायांकार, लाक्पा सिंगे तामाङ उत्कृष्ट बाल कलाकार, र सरोज बुढाथोकी उत्कृष्ट मेकअप आर्टिस्ट दरिए ।

‘डाइङ क्यान्डिल’ ले जस्तै फिल्म ‘गाजलु’ ले पनि पाँच अवार्ड जित्यो । उत्कृष्ट निर्देशकको अवार्ड ‘गाजलु’ बाट हेमराज बिसीले पाए भने उनैले उत्कृष्ट कथाको अवार्ड पनि थापे । यही फिल्मबाट सृष्टि श्रेष्ठले नवअभिनेत्रीको अवार्ड, उत्तम न्यौपानेले उत्कृष्ट ध्वनि मिश्रणको अवार्ड र सुरेन्द्र पौडेलले उत्कृष्ट फिल्म सम्पादकको अवार्ड जिते । उत्कृष्ट नवअभिनेताको अवार्ड भने ‘के म तिम्रो हैन र ?’ बाट आर्यन अधिकारीले पाए । हिमाल केसीले यही फिल्मबाट उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड र एलिस कार्कीले उत्कृष्ट पाश्र्व संगीतको अवार्ड पाए । यस वर्षको अभिनेत्रीतर्फ पपुरल च्वाइस अवार्ड एसएमएस भोटिङका आधारमा केकी अधिकारी अब्बल ठहरिइन् ।

त्यस्तै, उत्कृष्ट सहअभिनेत्रीको अवार्ड फिल्म ‘होमवर्क’ का लागि गौरी मल्लले, उत्कृष्ट गायिकाको अवार्ड ‘किस्मत–२’ का लागि अञ्जु पन्तले र उत्कृष्ट गीतकारको अवार्ड ‘शब्द’ फिल्मका लागि डा. कृष्णहरि बरालले पाए । उत्कृष्ट संगीतकारको अवार्ड भने ‘लुट–२’ को ‘ठमेल बजार...’ का लागि कालीप्रसाद बाँस्कोटाले पाए । समारोहमा संगीत विधाको क्रिटिक्स अवार्डबाट गायिका इन्दिरा जोशी, कोरियोग्राफी तथा फेसनतर्फको क्रिटिक्स अवार्डबाट कोरियोग्राफर रचना गुरुङ शर्मा र रंगमञ्चतर्फको क्रिटिक्स अवार्डबाट नाटयकर्मी राज शाह सम्मानित भए ।

कामना पब्लिकेसनले सिजी इन्टरटेनमेन्टको सहकार्यमा गरेको अवार्डमा नेपाली फिल्म तथा रंगमञ्चमा पाँच दशकभन्दा लामो समयदेखि योगदान पुर्‍याएबापत् तीन अग्रज फिल्मकर्मीलाई ‘कामना कीर्तिमय दीर्घ योगदान सम्मान–२०७४’ दिइयो । अग्रज रंगकर्मी दम्पती हरिहर शर्मा र शकुन्तला शर्मासँगै अग्रज छायाकार मञ्जुकुमार श्रेष्ठलाई यो सम्मान दिइएको हो ।

समारोहमा वरिष्ठ गायक प्रेमध्वज प्रधान र वरिष्ठ गायिका तारा थापाले फिल्म ‘माइतीघर’ को ‘न आऊ सामु यसरी...,’ वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा र मीना निरौलाले ‘चट्ट रुमाल क्यामालुम...’ गीत गाएका थिए । त्यस्तै, मदनकृष्ण श्रेष्ठले ‘हे भगवान् मेरो खल्तीको घाउ...’, आनन्द कार्कीले ‘वनमा फुल्यो फूल...’ गीत गाएका थिए । रामकृष्ण ढकाल, यम बराल, युवराज चौलागाईं, कृष्ण काफ्ले, ताराप्रकाश लिम्बूले पनि आफ्ना चर्चित गीत गाएका थिए ।

कामना पब्लिकेसनका अध्यक्ष पुष्करलाल श्रेष्ठ र गीतकार एवं कवि वसन्त चौधरीले कामना अवार्डबारे प्रकाश पारे । अवार्डका निर्णायकमा भने वरिष्ठ चलचित्रकर्मी लक्ष्मीनाथ शर्मा, रंगकर्मी हरिहर शर्मा, संगीतकार किरण प्रधान, रंगकर्मी अशेष मल्ल र करुण थापा थिए ।

प्रकाशित : माघ १७, २०७४ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×