चित्रमा बुद्ध र स्तूप- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चित्रमा बुद्ध र स्तूप

दीपक परियार

लेखनाथ — अनदुडाँडामा शान्त उभिएको सेतो विश्वशान्ति स्तूपमा कलाकार भेला भए । कोही कतै, कोही कतै बसेर प्रकृतिलाई नियाल्न थाले । क्यानभास ठडयाए । रंगमा कुची चोबेर त्यसमाथि दौडाए । 

पोखराको पीएसएम आर्ट ग्यालरीमा जारी चित्रकला प्रदर्शनीमा राखिएको कलाकृति । तस्बिर : दीपक/कान्तिपुर 

केही छिनमै तयार भयो शान्ति स्तूप, बुद्ध, प्रकृति र मान्छेका चित्र । तिनै चित्र पोखराको पीएसएम आर्ट ग्यालरीमा प्रदर्शनीमा राखिएका छन् । महेन्द्रपुलको आर्ट ग्यालरीमा पाका र युवा कलाकारका चित्र बुधबारसम्म प्रदर्शनीमा हुनेछन् । ललितकला प्रज्ञा प्रतिष्ठानको चित्रकला विभागले विश्वशान्ति स्तूपमा माघ १० मा प्रदेश नम्बर ४ स्तरीय कला कार्यशाला गरेको हो । कार्यशालामा ३५ कलाकारले कोरेका चित्र प्रदर्शनीसँगै बिक्रीमा पनि छन् । एक्रेलिक माध्यमा बनाइएका अधिकांश चित्रमा स्तूप र बुद्धलाई प्रस्तुत गरिएको छ । स्थानीय संस्कृति, भेषभूषा, तत्कालीन मौसमलाई दृश्यचित्र र सेमी एब्स्ट्रयाक्ट रूपमा क्यानभासमा कोरिएको छ ।

प्रदर्शनीको अवलोकन गर्न विद्यार्थीको भीड लाग्ने गरेको छ । ग्यालरी पुगेका विद्यार्थी सितोष राना मगरले प्रदर्शनीमा प्रवेश गरेपछि निकै आनन्द लागेको बताए । उनले आफूले पनि कलाको अभ्यास गरिरहेकोले रंग संयोजन, फ्रेमिङका विषयमा ज्ञान पाएको उल्लेख गरे । अर्की विद्यार्थी कुसुम सिंखडाले चित्रले दिन खोजेको सन्देश राम्रो लागेको बताइन् । विद्यालयमा चित्रकला सिकिरहेकी उनी पेन्सिल स्केच गर्न मन पराउँछिन् । चित्रकला प्रतियोगितामा दोस्रो भएर उनले प्याराग्लाइडिङ गर्ने अवसरसमेत पाएकी थिइन् । प्रदर्शनीका चित्र देखेपछि भने आफूले धेरै मिहिनेत गर्न बाँकी रहेको अनुभूति भएको उनले सुनाइन् ।

कलाकार बुद्धि गुरुङले तत्स्थानमा सिर्जना गरिएका कलाले कलाकारको अभिव्यक्तिलाई प्रस्फुटन गर्ने बताए । उनी भन्छन्, ‘धेरै कलाकार एकै स्थानमा भेला भएर चित्र कोर्दा एउटाको शैली अर्कोलाई बुझ्न पनि मद्दत पुग्छ ।’ कलाकार एवं शिक्षक मनोज तामाङले बौद्ध स्तूपमा कोरिएका चित्रले समकालीन चित्रकलालाई प्रस्तुत गर्न खोजेको बताए । युवा कलाकार हेमकान्ति गुरुङले स्तूपसँगै साकुराको बोट बनाइन् । जापानी सहयोगमा बनेको स्तूपलाई प्रतिविम्बित गर्न उनको क्यानभासमा जापानको फूल साकुरा अटाएको उनले बताइन् ।

दुर्गा बराल ‘वात्स्यायन’, रमेश श्रेष्ठ, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ, एलपी गुरुङ, बुद्धि गुरुङ, थमन सुनार, मनोज तामाङ, महेन्द्रराज भण्डारी, गणेश जीसी, गणेश श्रेष्ठ, आकाश गुरुङ, देवेन्द्र गुरुङ, गोपाल श्रेष्ठ, गोपाल दरै, किरण रञ्जित, किरण गुरुङ, ज्योति गुरुङ, हेमकान्ति गुरुङ, एलिता गुरुङ, प्रमिश गुरुङ, पदम घले, निशान थापा, समस थापा, युवराज लामिछाने, सन्दीप न्यौपाने, विश्व केसी, विश्वराज पराजुली, हरेराम जोजिजु, सुदीप श्रेष्ठ, ढाका भट्टराई, ज्योत्सना श्रेष्ठ र केशर गुरुङका कलाकृति प्रदर्शनीमा छन् । प्रतिष्ठानले पोखराका पुराना कलाकार ललित शाहीलाई सम्मानसमेत गरेको छ ।

प्रकाशित : माघ १६, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

ग्रामीमा छाए बु्रनो मार्स

कान्तिपुर संवाददाता

काठमाडौँ — यस पटकको ग्रामी अवार्ड ब्रुनो मार्स र केन्ड्रिक लमारका पक्षमा रहयो । अवार्डको ६०औं संस्करणको मुख्य विधामा यी दुईका गीतले एकपछि अर्को ट्रफी जिते । गायक एवं कोरियोग्राफर ब्रुनोले सर्वाधिक सात अवार्ड पाए । एल्बम अफ द इयर र रेकर्ड अफ द इयर विधामा उनको ‘२४ के म्याजिक’ लाई बेस्ट मानियो भने ‘दयाट्स हाट आई लाइक...’ लाई वर्षको सर्वोत्कृष्ट गीत घोषणा गरियो । यसरी उनी ग्रामी, २०१८ का बिगेस्ट विनर बन्न सफल भए । 

अमेरिकास्थित न्युयोर्कको म्याडिसन सिटी गार्डेनमा आइतबार सम्पन्न कार्यक्रमको सांगीतिक उद्घाटन केन्ड्रिकले गरेका थिए । उनैले र्‍यापतिरका प्रमुख विधामा अवार्ड जिते । बेस्ट र्‍याप एल्बम र र्‍याप पर्फमेन्स गरी पाँच विधाका ट्रफी उनले घर लग्न पाए । ब्रुनोले आर एन्ड बी वा पपुलर विधातिर अवार्ड जितिरहँदा केन्ड्रिक र्‍याप विधामा चम्किएका थिए । बेस्ट न्यु आर्टिस्टको ट्रफी एलेसिया काराले पाइन् । एड सिरनलाई पप विधाको बेस्ट एल्बम र बेस्ट पप भोकल पर्फमेन्स अवार्ड हात लाग्यो । ‘डिभाइड’ एल्बम र त्यसमै समाविष्ट ‘सेप अफ यु...’ सर्वोकृष्ट गीत मानियो ।
यस पालिको ग्रामीमा सबैभन्दा दु:खी कोही भयो भने, ती थिए दिग्गज र्‍यापर जे जेड । उनी सर्वाधिक आठ विधामा मनोनीत भए पनि एउटै अवार्ड पाएनन् । केन्ड्रिकले ट्रफी ग्रहणपछि आफ्ना अग्रज जे जेडप्रति सम्मान दर्साए । पोहोर जे जेडकै पत्नी बियोन्सेले पनि निकै अपेक्षा गरेको ‘एल्बम अफ द इयर’ मा खाली हात हुनुपरेको थियो । उनलाई एडेलले निराश पारेकी थिइन् । त्यो बेला एडेलले मुख्य विधाहरूमा अवार्ड जितेर महिला आर्टिस्टको प्रतिनिधित्व गरे पनि यस पालि त्यसो हुन सकेन । अवार्ड जित्ने महिला संगीतकर्मी न्यून रहे ।
संयोग कस्तो भने, ग्रामीमा यो पटक महिलाविरुद्धको यौनहिंसा अभियान ‘टाइम्स अप’ र ‘हयास टयाग मी टु’ प्रति सद्भाव व्यक्त गरियो । यौनहिंसा पीडितको सहयोगार्थ कतिपय आर्टिस्ट सेतो गुलाफ प्रिन्टेड पहिरनमा उपस्थित थिए । महिलाप्रति यस्तो सम्मान देखाएर लैंगिक एकताको प्रवद्र्धन गर्न खोजिए पनि अवार्डका प्रमुख पाँचमध्ये एउटा विधा (न्यु आर्टिस्ट) मा मात्रै महिलाले ट्रफी चुम्नुलाई विडम्बना मानिएको छ । ग्रामीका कुल ८६ विधामध्ये १७ वटामा मात्रै महिला (ब्यान्ड वा सोलो) आर्टिस्टले अवार्ड जिते ।
ट्रफी जित्नेमा पुरुषहरूको वर्चस्व रहे पनि समारोहमा महिला आर्टिस्टको प्रस्तुति भव्य रहयो । गायिका केसाले सिन्डी लोपर र कामिला कबेयोसँग ‘प्रेयिङ...’ गीत प्रस्तुत गरेकी थिइन् । यौन दुव्र्यवहारमा पर्दाको आफ्नो तीतो अनुभव उनले गीतमार्फत सुनाएकी थिइन् । लेडी गागा, साम स्मिथ, पिंकलगायत सेलेब्रिटीले पनि दमदार प्रस्तुति दिए ।

ट्रम्पको ट्रोल
ग्रामीका होस्ट जेम्स कोर्डनले समारोहमा एउटा सर्ट भिडियो प्रदर्शन गरे । त्यसमा पूर्वराष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मजाक गरेको देखिन्छ । भिडियोमा उनले माइकल उल्फको पुस्तक ‘फायर एन्ड फरी : इन्साइड द ट्रम्प ह्वाइटहाउस’ को एउटा अनुच्छेद पढिरहेको दृश्य समेटिएको छ । राम्रो पढ्नेलाई ‘अर्को साल बेस्ट स्पोकन वर्ड एल्बम’ अवार्ड दिने भन्दै रिफ्रेसमेन्टका लागि उक्त भिडियो बनाइएको थियो ।
हिलारीसँगै र्‍यापर स्नुप डग, गायक जोन लिजेन्डलगायतलाई समेटिएको उक्त भिडियोले विवाद सिर्जना गरेको छ । टीभीमा ग्रामी अवार्ड लाइभ हेर्नेमध्ये केहीले उक्त भिडियोलाई लिएर आपत्ति जनाइरहेका छन् । अमेरिकाका लागि संयुक्त राष्ट्रसंघकी राजदूत निकी हलीले यस्तो मजाक अपाच्य भएको भन्दै ट्वीट गरेकी छन् । ‘मलाई ग्रामी सधंै मन पथ्र्यो,’ उनले लेखेकी छन्, ‘तर, आर्टिस्टहरूले त्यस्तो किताब पढेर यसको गरिमा भत्काएका छन् । कबाडी चीज राखेर सांगीतिक माहोल नबिगारियोस् । हामीमध्ये केहीलाई संगीतमा राजनीति नमिसाएकै मन पर्छ ।’
-एजेन्सी

मुख्य अवार्ड विजेता
एल्बम अफ द इयरब्रुनो मार्स, २४ के म्याजिक
रेकर्ड अफ द इयरब्रुनो मार्स, २४ के म्याजिक
सङ अफ द इयरब्रुनो मार्स, दयाट्स हाट आई लाइक...
बेस्ट न्यु आर्टिस्टएलेसिया कारा
बेस्ट पप एल्बमएड सिरन, डिभाइड
बेस्ट र्‍याप एल्बमकेन्ड्रिक लमार, डयाम

प्रकाशित : माघ १६, २०७४ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×