पहिरन लोक्ता र अल्लो 

कान्तिपुर संवाददाता

काठमाडौँ — हातले बुनेका पहिरनमा मौलिकता हुन्छ नै, त्यसमा पनि धेरै समय र रचनात्मक सीप झल्किने भएकाले बजारमा पाइने सामग्रीभन्दा एकदमै फरक र महँगा पनि हुन्छन् । म्याग्दीकी शान्ति थापा मगरले ऊनका थुप्रै पहिरन आफ्नै हातले सिर्जना गरेकी छन् ।

शान्ति थापा मगर

उनी कहिल्यै बजारको नक्कल गर्दिनन् । आफैं कल्पना गर्छिन् र कल्पनामा आउने डिजाइनलाई मूर्त रूप दिन्छिन् ।
‘यसरी बुनेका पहिरन टिकाउसँगै सुन्दर पनि देखिन्छन्,’ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भेटिएकी उनले भनिन्, ‘र, डिजाइन अरूसँग मेल नखाने हुनाले युनिक हुन्छ ।’
उनीलगायत थुप्रै हस्तकला सिर्जना गर्ने ग्रामीण समूह यतिबेला राजधानीमा प्रदर्शन गर्न आएका छन् । गरिबी निवारण कोषले होटल अन्नपूर्णमा गरेको तीन दिने ‘दक्षिण एसियाली हस्तकला महोत्सव’ मा विभिन्न ७ जिल्लाका हस्तकला समूहले भाग लिएका थिए भने भारत र पाकिस्तानका हस्तकला स्टल पनि थिए । कोषद्वारा सञ्चालित ‘द्वन्द्व प्रभावितहरूका लागि बजार निर्माण परियोजना’ अन्तर्गत प्रदर्शनी गरिएको हो ।
आइतबार सकिएको प्रदर्शनीमा बाँस, अल्लो, लोक्ता, ढाका लगायतले बनाइएका पहिरनदेखि घर सजावटका सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए । यस्ता प्रदर्शनीले सीप सिकाइको ज्ञानलाई फराकिलो पार्ने र अनुभव आदानप्रदान हुने म्याग्दीकी शान्तिले बताइन् । उनले सीप सिक्नुअघिको फुर्सदको समय त्यत्तिकै खेर गएको बताउँदै हस्तकलामा सक्रिय भएपछि आफू बढी सिर्जनशील भएको महसुस गरेको सुनाइन् । ‘नयाँनयाँ बुट्टा बुन्न मन लाग्छ,’ उनी भन्छिन्, ‘घरको काम छिटो सकाएर बुन्नतिरै लाग्छु ।’
महोत्सवको पहिलो दिन सांगीतिक कार्यक्रमसँगै फेसन सो पनि गरिएको थियो । अल्लो, उलन, ढाकाजस्ता मौलिक सामग्रीले बनाएका पहिरन मोडलहरूले लगाएका थिए । उनीहरू क्रमश: र्‍याम्पमा देखिँदा नेपालीपन र सीपको सौन्दर्य प्रशस्तै झल्किएको महसुस हुन्थ्यो । जाडो मौसममा अल्लो र ढाकाको पहिरन अत्यन्त प्रभावकारी हुने हुँदा फेसन सोमा मोडलहरूले यस्तो डिजाइनलाई महत्त्व दिएका थिए । भारत र पाकिस्तानबाट आएका हस्तकला समूहका सिर्जना पनि रोचक थिए । उनीहरूले हातैले बुट्टाकुँदेका पहिरन प्रदर्शनमा राखेका थिए । भारतबाटस्टल राख्न आएका घनश्याम भट्टले ‘बाहुन बुटी’ नामक सारी प्रदर्शनमा राखेका थिए । यो हेर्दा रोचक र सिर्जनशील देखिन्थ्यो ।

प्रकाशित : माघ १, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

बेलायतमा “कुटुमा कुटु...”

कान्तिपुर संवाददाता

लन्डन — अहिले निकै रुचाइएकी गायिका मेलिना राईलाई बेलायत पानीपँधेरो छ । अचेल उनको आउजाउ यता बढी नै भएको छ । यस पटकका लागि अन्तिम सो गर्न शनिबार दक्षिणपूर्वी लन्डनमा थिइन् उनी । साउथ इस्ट रिजनल तमुधिं लन्डन इकाईले तमूहरूको पर्व खी ल्होछार मनाइरहँदा मेलिना दर्शकश्रोताप्रति कृतज्ञ भइन् ।

गायिका मेलिना राई ।

‘तपाईंहरूको माया र सद्भावले गर्दा मलाई बेलायत आउँmआउँm लाग्छ,’ स्टेजबाट उनी भन्दै थिइन्, ‘यस्तै साथ सधैं पाइरहूँ ।’
ल्होछार समारोहको मुख्य आकर्षण थिइन् मेलिना । अहिले देशविदेशमा धेरै बोलाइने यी गायिकाले ‘मनको केही हुन्न भर...’, ‘छल छल छल्क्यो पानी...’, ‘चरी जस्तो उड्न पाए...’, ‘शिरैमा शिरबन्दी...’, ‘छपक्कै फूल फुल्यो...’,
‘कुटुमा कुटु...’ जस्ता कैयौं हिट गीत सुनाइन् । उनको गीतमा ननाच्ने दर्शकश्रोता कमै थिए । उनी गायनको बीचबीचमा दर्शकलाई स्वर मिलाउन आग्रह गर्दै भन्थिन्, ‘यसपटक म गाउनमात्र होइन, सुन्न पनि आएकी हुँ ।’ बेलाबेला तमू भाषामै सम्बोधन र माया बाँडेकी उनले नयाँ पुस्तालाई आफ्नो भाषा र कला संस्कृति जोगाइराख्न पनि अनुरोध गरिन् ।
मेलिनासँग गायक नरजंग गुरुङ र मौसमी गुरुङले पनि गीत प्रस्तुत गरे । स्थानीय कलाकारहरूले समेत नेपालबाट आएका कलाकारलाई साथ दिए ।
इकाईको उक्त १५ औं ल्होछार कार्यक्रममा विदेशी, तमू र गैरतमू गरी सयौं सहभागी थिए । रंगीविरंगी हल र प्रवेशद्वार सजावट एवं तमू पोसाकमा सजिएका सहभागीको भीडले गर्दा नेपालमै ल्होछार मनाइएको आभास धेरैले गरे । ग्रिनविच पूर्वमेयर एवं वर्तमान काउन्सिलर नोर्मन आदमले बहुसंस्कृतिले भरिएको बेलायतमा नेपालीको बढ्दो क्रियाशीलताले खुसी लागेको सुनाए । इकाई अध्यक्ष श्रीचन्द्र गुरुङ र महासचिव हयारी गुरुङले आफ्नो संस्थाले सामुदायिक हितका लागि निरन्तर काम गरिरहेको बताए ।

प्रकाशित : माघ १, २०७४ ०८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्