कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रंगिँदै क्यानभास, फेरिँदै जीवन

काठमाडौं — एक दशकको प्रेम र एकवर्षे वैवाहिक जीवनमा कुन बढी रोचक होला ? चित्रकार दम्पती सविता डंगोल र इशान परियारलाई कसैले यस्तो प्रश्न गरे उनीहरू आफुले तयार पारेका ताजा क्यानभास देखाउँछन् । उनीहरूले पछिल्लो एक वर्षमा सँगै बसेपछिका अनुभव साटेर चित्र सिर्जेका छन् ।

रंगिँदै क्यानभास, फेरिँदै जीवन

ती चित्रहरूलाई गएको शुक्रबार विवाहको पहिलो वार्षिकोत्सव सन्दर्भ पारेर प्रदर्शनमै ल्याएका थिए । बबरमलस्थित आर्ट काउन्सिलमा ‘सुब्लिम कन्जुकेसन’ शीर्षक मंगलबारसम्म चलेको थियो । 

तीन–तीन पटकसम्म एकल प्रदर्शनीको अनुभव सँगालेका उनीहरूले यसपटकको प्रदर्शनी विशेष रहेको बताए । चित्र बेच्नुभन्दा पनि दर्शकको प्रतिक्रिया कस्तो आउला भन्नेमा उनीहरू बढी चासो दिइरहेका थिए । ‘चित्र मात्रै राखेका थिएनौं, हाम्रो प्रेम र सम्बन्धको सकारात्मक भाव प्रदर्शन गरेका हौँ,’ सविता भन्छिन्, ‘यो एक वर्षमा हरेक मुभमेन्ट फिल गरेर चित्र कोरें ।’ 

काठमाडौँकी सविता र पोखराका इशानले एक वर्षअघि अन्तरजातीय विवाह गरेका थिए । ललितकला क्याम्पसमा सँगै अध्ययन गर्दैगर्दा उनीहरूको प्रेमसम्बन्ध झाँगिएको थियो । जातीय विभेदले जकडिएको समाजलाई चुनौती दिँदै उनीहरूले परिवारकै सहमतिमै लगनगाँठो कसेका थिए । सविताले असल मान्छे भए जुन समुदायको भए पनि बिहे गर्न पछि नहट्ने धारणा बनाएकी थिइन् । इशान नेवारी रहनसहन र संस्कृतिलाई पहिलेदेखि नै मन पराउँथे । यिनै मान्यताका कारण दुवै एक भए । परिवारको साथ र आफ्नो कटिबद्धता भए अन्तरजातीय विवाह समस्या नबन्ने इशान र सविताको अनुभवले भन्छ । 

उनीहरूले यिनै भाव र सन्दर्भलाई पछिल्ला कलाकृतिमा पोखेका थिए । सविताले काँइयो र इशानले डुंगाको आकृति देखाएर सम्बन्धको सुन्दरता खुलाएका थिए । सविताका चित्रमा युवा र युवतीको अन्तरसम्बन्ध देखिन्थ्यो । काइँयोले झैं समस्या सुल्झाएर जीवन बिताइरहेका छौँ भन्ने भाव चित्रमार्फत दिन खोजेको उनले बताइन् । 

इशानका रंगमा अलि जिम्मेवारी, जीवनको गहिराइ र गहन भाव समेटिएको पाइन्छ । सविताले ‘पिङ’, ‘एल्लो’ र ‘ग्रिन’ जस्ता रंग प्रयोग गरेर सम्बन्धको रोमान्टिक क्षण कैद गर्ने गरेकी छन् । ‘पति–पत्नी हौं कि साथी ? अझै कन्फयुजन छ,’ इशान भन्छन्, ‘साथीलाई बिहे गर्दाको फाइदा यस्तै हुँदो रहेछ ।’

प्रकाशित : माघ २७, २०७३ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?