तीन मुलुकमा ‘दुई थोपा हाँसो’- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन मुलुकमा ‘दुई थोपा हाँसो’

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘जीवनमा योग–ध्यानको निकै ठूलो अर्थ छ,’ हास्य कलाकार मनोज गजुरेल सोमबार भन्दै थिए, ‘कहिलेकाहीँ जिन्दगीमा कताबाट पहाड खस्छ, थाहा हुन्न । त्यस्तो बेला योग साधनाले मान्छेलाई जिउन सघाउँछ ।’ हालै लामो समयको वैवाहिक सम्बन्ध टुंग्याएका उनले हल्का मुस्कुराउँदै थपे, ‘जीवनमा आकाशै खसे पनि योग ध्यानले सकारात्मक ऊर्जा दिलाउँदो रहेछ ।’ 

‘दुई थोपा हाँसो’ कार्यक्रमको तेस्रो संस्करण घोषणा क्रममा सिस्नुपानी नेपालका कलाकार एवं साहित्यकारहरू । तस्बिर : कान्तिपुर

सिस्नुपानी नेपालले विभिन्न तीन मुलुकमा गर्न लागेको ‘दुई थोपा हाँसो’ अभियानको घोषणा कार्यक्रममा उनी सञ्चारकर्मीमाझ बोल्ने क्रममा थिए । यूएई, बहराइन र ओमानमा बिहीबारदेखि हुन लागेको कार्यक्रममा मनोजसँगै हास्यव्यंग्यकार एवं लेखक लक्ष्मण गाम्नागे, व्यंग्य कवि अर्जुन पराजुली, हास्यव्यंग्यकार टंक आचार्य र साहित्यकार डा. रवीन्द्र समीर सहभागी हुँदै छन् । १८ दिने उक्त अभियानमा आफूले यस पटक योग साधनाकै सन्दर्भ सिकाउन रामदेव र आचार्य बालकृष्णको हास्य अवतार ग्रहण गर्ने मनोजले जनाए ।

‘स्टयान्ड अप कमेडीसँगै यस पटक योगगुरुको अवतारमा हुनेछु,’ उनले भने, ‘यो क्षेत्रभित्रको विकृतिसँगै साँच्चिकै योग पनि सिकाउनेछु ।’ तीन मुलुकका प्रवासी नेपालीमाझ नि:शुल्क पस्किन लागेको ‘दुई थोपा हाँसो’ कार्यक्रमको हास्य मेनुको छोटो अंश उनले पत्रकार सम्मेलनमा प्रस्तुत पनि गरे । ‘नेपालीहरूलाई योगले किन छुँदैन भने,’ मनोजले रामदेवकै लवज सापट लिएर सुनाए, ‘बिहान बिहान रामदेव, दिउँसो वामदेव, साँझ झ्वामदेव अनि राति कामदेव । अनि कसरी हुन्छ शरीर स्वस्थ ?’ यसपछि उनले योगको महिमा प्रकाशबारे पार्दै प्रवासमा योगकै विभिन्न आइटमहरू सिकाउने सुनाए ।

मुलुकबाहिर रहेका श्रमशील नेपालीहरूलाई केन्द्रित गरेर सिस्नुपानी नेपालले केही वर्षयतादेखि ‘दुई थोपा हाँसो’ कार्यक्रम गर्दै आएको छ । मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिटयान्सका मूलबाहक प्रवासी नेपालीहरू माझ सराकात्मक उत्प्रेरणा जगाउने ध्येयले नि:शुल्क कार्यक्रम थालिएको सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले जनाए । यस पटक गैरआवासीय नेपाली संघ सहआयोजकको रूपमा रहेको कार्यक्रममा बताइयो । ‘देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको रेमिटयान्स र त्यो रेमिटयान्सको मूल स्रोत विदेशमा श्रम गरेर बस्ने हाम्रा लाखौं दाजुभाइ, दिदीबहिनीलाई सम्मान, हौसला र सचेतना प्रदान गर्न अभियान थालेका हौं,’ सिस्नुपानीका महासचिव टंक आचार्यले भने, ‘मुलुक, समाज र परिवारसँग अलग भएर देशलाई आर्थिक टेवा दिइरहेका उनीहरूलाई प्रत्यक्ष भेटेर स्वास्थ्य, सुरक्षित जीवन र मनोरञ्जन दिने उद्देश्य पनि हो ।’

कार्यक्रममा सकारात्मक सोच जगाउने, योग तथा स्वास्थ्यसम्बन्धी परामर्श दिनेलगायतका सचेतनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू हुने उनले जनाए । कार्यक्रमको यो तेस्रो संस्करण हो । यसअघि यूएई, (दुई पटक) कतार, मलेसिया, सिंगापुर र चीनमा कार्यक्रम भइसकेका छन् । यस पटकको संस्करणमा सम्बन्धित मुलुकका नेपाली दूतावासहरू, नेपाल राष्ट्र बैंक, नेपाल पर्यटन बोर्ड, स्वास्थ्य बिमा बोर्ड नेपाल र ग्लोबल आईएमई बंैकको सहकार्य रहेको पत्रकार सम्मेलनमा जनाइयो ।

प्रकाशित : माघ १६, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्

विवादमा अरिजित

कान्तिपुर संवाददाता

काठमाडौँ — गायकीबाट सबैको मन जित्दै आएका अरिजित सिंह अहिले विवादमा तानिएका छन् । एउटा पुरानो भिडियो सामाजिक सञ्जालमा आएपछि उनको पक्ष/विपक्षमा बोल्नेदेखि मजाक उडाउनेहरूसम्म सलबलाएका छन् । भिडियोमा उनी ‘रकस्टार’ फिल्मको ‘नादान परिंदे...’ गाइरहेका देखिन्छन् । गाउँदै जाँदा माइक निहुरिन्छ अनि उनी एक्कासि मुख छाड्छन् । 

आयोजकहरू तुरुन्तै स्टेजमा आएर उनको माइक मिलाइदिन्छन् । यद्यपि, अरिजित रौद्र मुद्रामै रहेको प्रस्ट देखिन्छ । उनी गितार बजाउँदै स्टेज कभर गर्छन् । अचम्म त के भने उनको गायन समेत साह्रै खस्किएको सुनिन्छ, झुर गाएका छन् । साढे एक मिनेटको भिडियोलाई लिएर भारतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अनेक ट्रोल र मिमहरू बनाइरहेका छन् । उनले दर्शकसामु रिस नदेखाएको भए राम्रो हुने सल्लाह दिइएको छ ।
अरिजित धेरै पटक विवादमा फसिसकेका छन् । सलमान खानसँगको खटपट सर्वविदितै छ । सलमान आफ्ना फिल्ममा अरिजितका गीत राख्दैनन् । ‘सुलतान’ मा अरिजितको गीत हटाइदिएका थिए । तर, सलमानले नराखे पनि पछिल्लो समय बलिउडका अधिकांश फिल्ममा अरिजितको स्वर अनिवार्य जस्तै हुने गरेको छ । उनले गाएका सबै गीत चल्छन् पनि । उनलाई ‘किङ अफ हिन्दी म्युजिक’ भन्न थालिएको छ ।
सन् २००५ को एउटा रियालिटी सोमा भाग लिँदा उनी उत्कृष्ट पाँचमा पनि परेका थिएनन् । त्यसपछि उनले गुजारा चलाउन प्रितम चक्रवर्ती, विशाल शेखरजस्ता संगीत निर्देशकसँग काम गरे । उनी डमी गाउने, प्रोग्रामिङ गर्ने लगायत काम गर्थे । पश्चिम बंगालको
सानो गाउँमा जन्मिएका उनलाई प्रितमले नै प्लेब्याक सिंगिङमा उतारेका हुन् । कर्ली कपाल र दाह्रीवाला लुक्सबारे प्रश्न सोध्दा उनी भन्छन्, ‘फुर्सद नभएर छाँटकाट नगरेको हो । तर, म यस्तै भयानक हुलियामै हुन्छु प्राय: ।’
धेरैजसो शान्त र लजालु स्वभावमा देखिने उनले स्टेजमै मुख छाडेको दृश्य अनौठो मानिएको छ । यद्यपि, भिडियो पुरानो भएकाले अरिजितले अब त सार्वजनिक स्थलमा कसरी प्रस्तुत हुनुपर्छ भन्नेबारे सिकिसकेको अनुमान गर्न सकिन्छ ।

प्रकाशित : माघ १६, २०७४ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×