हेटौँडा — भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान हेटाँैडाले बिजुली माया वन श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार वरिष्ठ गीतकार/फिल्म निर्देशक चेतन कार्कीलाई प्रदान गरेको छ । एक लाख राशिको उक्त पुरस्कार सोमबार भीम विरागको ८४ औं जन्मजयन्ती अवसरमा प्रदान गरिएको हो । कार्कीलाई गायक जगत्मर्दन थापाले पुरस्कार हस्तान्तरण गरे । उक्त पुरस्कार हेटाँैडाका उद्यमी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको सम्मानमा स्थापना गरेका हुन् ।
बिजुली माया वन श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार ग्रहण गर्दै वरिष्ठ गीतकार/फिल्म निर्देशक चेतन कार्की (बायाँ) । तस्बिर : कान्तिपुर
प्रतिष्ठानले २५ हजार रुपैयाँसहितको हर्षनर बज्राचार्य स्मृति पुरस्कार नाटयकर्मी कुमार शाहलाई र २० हजार राशिको विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार लोकगायिका कोमल वलीलाई प्रदान गर्यो ।
यसै गरी, मुक्ति गोविन्द वैद्यले स्थापना गरेको १० हजार रुपैयाँसहितको तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार अनिता न्यौपानेलाई र ७ हजार ५ सय रुपैयाँ रहेको भीम–मथुरा बाल प्रतिभा पुरस्कार बाल गायक चिराग डंगोल दिइयो । १५ हजार रुपैयाँ रहेको शिला नारी संगीत पुरस्कार गायिका विद्या तिवारी प्रदान गरियो । ११ हजार १ सय ११ रुपैयाँको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार कवि निमेष निखिललाई दिइयो । स्वास्थ्य क्षेत्रमा सक्रिय स्वयंसेवी चम्पा कोजूलाई १० हजार नगद राशिको मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कार प्रदान गरियो ।
काठमाडौँ — ‘जीवनमा योग–ध्यानको निकै ठूलो अर्थ छ,’ हास्य कलाकार मनोज गजुरेल सोमबार भन्दै थिए, ‘कहिलेकाहीँ जिन्दगीमा कताबाट पहाड खस्छ, थाहा हुन्न । त्यस्तो बेला योग साधनाले मान्छेलाई जिउन सघाउँछ ।’ हालै लामो समयको वैवाहिक सम्बन्ध टुंग्याएका उनले हल्का मुस्कुराउँदै थपे, ‘जीवनमा आकाशै खसे पनि योग ध्यानले सकारात्मक ऊर्जा दिलाउँदो रहेछ ।’
‘दुई थोपा हाँसो’ कार्यक्रमको तेस्रो संस्करण घोषणा क्रममा सिस्नुपानी नेपालका कलाकार एवं साहित्यकारहरू । तस्बिर : कान्तिपुर
सिस्नुपानी नेपालले विभिन्न तीन मुलुकमा गर्न लागेको ‘दुई थोपा हाँसो’ अभियानको घोषणा कार्यक्रममा उनी सञ्चारकर्मीमाझ बोल्ने क्रममा थिए । यूएई, बहराइन र ओमानमा बिहीबारदेखि हुन लागेको कार्यक्रममा मनोजसँगै हास्यव्यंग्यकार एवं लेखक लक्ष्मण गाम्नागे, व्यंग्य कवि अर्जुन पराजुली, हास्यव्यंग्यकार टंक आचार्य र साहित्यकार डा. रवीन्द्र समीर सहभागी हुँदै छन् । १८ दिने उक्त अभियानमा आफूले यस पटक योग साधनाकै सन्दर्भ सिकाउन रामदेव र आचार्य बालकृष्णको हास्य अवतार ग्रहण गर्ने मनोजले जनाए ।
‘स्टयान्ड अप कमेडीसँगै यस पटक योगगुरुको अवतारमा हुनेछु,’ उनले भने, ‘यो क्षेत्रभित्रको विकृतिसँगै साँच्चिकै योग पनि सिकाउनेछु ।’ तीन मुलुकका प्रवासी नेपालीमाझ नि:शुल्क पस्किन लागेको ‘दुई थोपा हाँसो’ कार्यक्रमको हास्य मेनुको छोटो अंश उनले पत्रकार सम्मेलनमा प्रस्तुत पनि गरे । ‘नेपालीहरूलाई योगले किन छुँदैन भने,’ मनोजले रामदेवकै लवज सापट लिएर सुनाए, ‘बिहान बिहान रामदेव, दिउँसो वामदेव, साँझ झ्वामदेव अनि राति कामदेव । अनि कसरी हुन्छ शरीर स्वस्थ ?’ यसपछि उनले योगको महिमा प्रकाशबारे पार्दै प्रवासमा योगकै विभिन्न आइटमहरू सिकाउने सुनाए ।
मुलुकबाहिर रहेका श्रमशील नेपालीहरूलाई केन्द्रित गरेर सिस्नुपानी नेपालले केही वर्षयतादेखि ‘दुई थोपा हाँसो’ कार्यक्रम गर्दै आएको छ । मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिटयान्सका मूलबाहक प्रवासी नेपालीहरू माझ सराकात्मक उत्प्रेरणा जगाउने ध्येयले नि:शुल्क कार्यक्रम थालिएको सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले जनाए । यस पटक गैरआवासीय नेपाली संघ सहआयोजकको रूपमा रहेको कार्यक्रममा बताइयो । ‘देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको रेमिटयान्स र त्यो रेमिटयान्सको मूल स्रोत विदेशमा श्रम गरेर बस्ने हाम्रा लाखौं दाजुभाइ, दिदीबहिनीलाई सम्मान, हौसला र सचेतना प्रदान गर्न अभियान थालेका हौं,’ सिस्नुपानीका महासचिव टंक आचार्यले भने, ‘मुलुक, समाज र परिवारसँग अलग भएर देशलाई आर्थिक टेवा दिइरहेका उनीहरूलाई प्रत्यक्ष भेटेर स्वास्थ्य, सुरक्षित जीवन र मनोरञ्जन दिने उद्देश्य पनि हो ।’
कार्यक्रममा सकारात्मक सोच जगाउने, योग तथा स्वास्थ्यसम्बन्धी परामर्श दिनेलगायतका सचेतनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू हुने उनले जनाए । कार्यक्रमको यो तेस्रो संस्करण हो । यसअघि यूएई, (दुई पटक) कतार, मलेसिया, सिंगापुर र चीनमा कार्यक्रम भइसकेका छन् । यस पटकको संस्करणमा सम्बन्धित मुलुकका नेपाली दूतावासहरू, नेपाल राष्ट्र बैंक, नेपाल पर्यटन बोर्ड, स्वास्थ्य बिमा बोर्ड नेपाल र ग्लोबल आईएमई बंैकको सहकार्य रहेको पत्रकार सम्मेलनमा जनाइयो ।