‘देब्रे आँखा’ माथि देब्रे दृष्टि

[पुस्तक समिक्षा]
खगेन्द्र संग्रौला

सानो स्पष्टीकरण र क्षमायाचनाबाट म यो झाराटारुवा टिप्पणी सुरु गर्छु । कसैको विनयशील आग्रहको प्रत्युत्तरमा ‘नाइँ’ भन्न मेरो मन मान्दैन ।

र, यो आफ्नै स्वभावजन्य कमजोरीले मलाई प्राय: उल्झनमा अल्झाइरहन्छ । हेर्नोस्त मेरो होस्ल्याङे ताल, कार्यक्रमको सनातनी ढाँचाबारे कुराको चुरै नबुझी रेशम विरहीको ‘देब्रे आँखा’ सम्बन्धी विमर्शमा हाजिर हुने निम्ता मैले स्वीकार गरेँछु ।

मेरो लाटो लख कटाइ थियो— पुस्तकबारे कुनै विज्ञले कार्यपत्र प्रस्तुत गर्ला र त्यसबारे टिप्पणी गर्ने काम मेरो भागमा पर्ला । पछि सरस्वती प्रतीक्षासँग मिहिन कुरो बुझ्दा पो थाहा भयो, कार्यपत्र प्रस्तुत गर्ने पण्डित मै लम्फू रहेँछु । अब परेन कि डोठयाङ । कुराको तत्त्व जब खुल्यो, म परेँ बिलखबन्द । मेरो वाचा गिरिसकेको थियो, र वाचा फिर्ता लिन धेरै विलम्ब भइसकेको थियो ।

संस्थाको नाम छ ‘र्‍यान्डम रिडर्स’, कार्यक्रमको ढाँचा भने फम्र्याटबद्ध । ‘र्‍यान्डम रिडर्स’ ले मेरो मानसमा गरेको भाव–सम्प्रेषणमा फम्र्याटबद्ध कार्यक्रमको चित्र थिएन, बरु खुकुलो संरचनामा नितान्त अनौपचारिक वातावरणमा गरिने अन्तरंग संवादको चित्र पो थियो । सिर्जनकर्मसम्बन्धी मेरा मान्यता, मेरो स्वभाव र शैलीले फम्र्याटबद्ध ढाँचासँग कतै मेल खाँदैनन् । औपचारिक कार्यपत्रबारे म यसै पनि अनविज्ञ त छु नै, यसप्रति ममा चाख पनि छैन ।

साहित्यका इतिहासकार, साहित्य समीक्षक, प्राध्यापक वा विकासेहरू फम्र्याटबद्ध कार्यपत्र लेख्न जान्दछन्, म जान्दिनँ । यस प्रयोजनका लागि म सर्वथा गलत पात्र हुँ । तसर्थ मलाई आयोजक संस्थासँग क्षमायाचना गर्नुपर्ने खण्ड आइलाग्यो । सरस्वती प्रतीक्षाको पाँच सय–हजार शब्दको खेस्रा टिपोट भए काम चल्छ भन्ने उदार वचनले मलाई त्राण प्राप्त भयो, र नै बिनाकार्यपत्र म कार्यक्रममा हाजिर भएको छु । मेरो यो टिपोटलाई आस्वादनपत्र वा अज्ञानतापत्र वा अलपत्रेपत्र जे भनिदिए पनि हुन्छ ।

जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा समाजशास्त्रका एक जना विख्यात प्रोफेसर छन्, अभिजित पाठक । उनी विधिशास्त्र (म्याथोडोलोजी) पढाउँछन्, र फम्र्याटबद्ध, यान्त्रिक एवं रूढ विधिको खिल्ली उडाउँछन् । फम्र्याटबद्ध लेखनको चरित्रबारे उनका केही घतलाग्दा कथन छन् । एउटा कथन हो, ‘कार्ल माक्र्स हातमा प्रश्नावलीको मुठो बोकेर मानिसहरूका घरदैला चहार्दै हिँडेका भए उनबाट ‘कम्युनिस्ट मेनिफेस्टो’ किमार्थ लेखिने थिएन ।’ र अर्को ।

जेएनयूको एउटा भवनको माथिल्लो तलातर्फ आँखा तन्काएर उनी विद्यार्थीहरूलाई भन्छन्, ‘हेर, त्यो सुनसान कोठामा पीएचडीका थिसिस वा शोध–ढड्डाहरू छन् । ती कसैले पढ्दैन । किन ? किनभने ती फम्र्याटबद्ध छन् ।’ यहाँ प्रोफेसर पाठकको अभिप्राय हो— फर्म्याटबद्ध लेखनमा कल्पनाशीलता र सिर्जनशीलताका पखेटा काटिन्छन् र लेखन फम्र्याटरूपी पिँजराको सुगा बन्छ । थाहा छ, पोखरा कल्पनाशीलता र सिर्जनशीलताको उर्बरभूमि हो । यस्तो भूमिमा कल्पनाशीलता र सिर्जनशीलताभक्षी यो फम्र्याटप्रति यत्रो मोह किन ? अन्वेषणशील सिर्जनकर्म त फम्र्याटभञ्जक पो हुन्छ । शंकर लामिछानेले निजात्मक शैलीमा पारिजातको ‘शिरीषको फूल’ को भूमिका लेखेर रूढ प्रकृतिको भूमिकालेखनलाई भञ्जन गरे । कृष्णचन्द्रसिंह प्रधानले निजात्मक पाराले उनै पारिजातको ‘बोनी’ कथामालाको समीक्षा गर्दै समीक्षालेखनको रूढ प्रचलनमाथि औँलो ठडयाए । उन्मुक्त अभिव्यक्तिको बाटोमा जे तगारो बन्छ, स्वतन्त्र चिन्तक र सर्जकले त्यसलाई भत्काएरै छाड्छ ।

मेरो अनुभवमा कार्यपत्रयुक्त कार्यक्रम प्राय:जसो पटयारलाग्दो हुन्छ । कार्यपत्रको लेखक रूढिगत औपचारिकताका चार किल्ला बाँधेर लेखिएको लम्बेतान कार्यपत्र घाँटीका नसा फुलाउँदै र फिँज काड्दै रिठ्ठो नबिराई पढ्छ । यो पठनमा ऊ आनन्दित हुन्छ, कारण उसलाई लाग्छ— म श्रोतागणलाई अमूल्य दुई शब्द प्रदान गर्दै छु । आफ्नो कार्यपत्रको भारले किचिएर श्रोतागण निसास्सिएको उसलाई रत्तिभर चेत हुँदैन । सकस र अत्यासको भावलाई दबाएर झर्कोलाग्दो कार्यपत्र अद्योपान्त सुन्न श्रोतागण अभिशप्त हुन्छ । मलाई जे मन मर्दैन, श्रोताहरूमाथि मैले त्यो चीज थोपर्न चाहिनँ । मेसँग यो खेस्रा टिपोट छ । म यो पढ्दिनँ । यसका आधारमा म रेशम विराहीको ‘देब्रे आँखा’ बारे आफ्नो आस्वादकीय टिप्पणी प्रस्तुत गर्छु ।

‘देब्रे आँखा’ को अगाडि र पछाडि गरी पुस्तकमाथि नौ जना विद्वान्का प्रशंसामय कथनहरू राखिएका छन् । कतिपय कथन त पुस्तकको सामथ्र्यले धान्नै नसक्ने गरी अतिरञ्जित महिमा मण्डनयुक्त छन् । सामान्यतया पुस्तकको अन्तिम पृष्ठमा एकाध ब्लर राख्ने प्रचलन छ । पुस्तकमाथि आएका प्रतिक्रियाहरूबाट दोस्रो संस्करणमा अरू एकाध कथन थप्ने प्रचलन वा फेसन पनि छ । तर प्राय: शिष्टतावश यतिविधि प्रशंसाका वचनहरूको ओइरो लगाइँदैन ।

पुस्तकको अगाडि र पछाडि प्रशंसायुक्त कथनहरूको यो लामबन्दी देख्दा भुइँचालोले हल्लाएको फुकीढल भवनलाई निम्छरा टेकाहरूले अडयाउन खोजेजस्तो लाग्छ । पाठकले जब यो पुस्तक पढिसक्छ, उसलाई यी टेकाहरू एकदमै अनावश्यक लाग्छन् । कारण आफूलाई अविचल राख्न पुस्तक आपैंm समर्थ छ ।

‘देब्रे आँखा’ का लेखकको परिचाय दिन र यो पुस्तकको महत्तामाथि प्रकाश पार्न श्यामलको सुन्दर भूमिका नै पर्याप्त छ । प्रशंसाकारी वचनको यो ओइरो लेखकको रुचि र रोजाइ हो भने त्यसको अर्थ हुन्छ, लेखकमा आफ्नो रचनात्मक सामथ्र्यप्रति यथेष्ट आत्मविश्वास छैन । यो प्रकाशकको रुचि र रोजाइ हो भने त्यसको अर्थ हुन्छ, प्रकाशकमा छिटो लगानी उठाउने र लाभ हात पार्ने आतुरता छ । कारण जेसुकै होस्, पुस्तकमा सँगालिने यस्ता प्रशंसाकारी वचनहरूको आधिक्यले पाठकहरूको आलोचनात्मक चेत र निर्णयकारी सामथ्र्यमाथि धावा बोल्छन् ।

रेशम विरहीको व्यक्तित्व उनले कर्म गरेका तीन विधा अर्थात् राजनीति, साहित्य र पत्रिकारिताको सुन्दर संगम हो । विधागत कार्यक्षेत्रको यो विविधताका कारण विरहीका अनुभूति र अनुभवहरूमा मनमोहक विविधता छ । त्यसैले विरहीका निबन्धहरूको विषयगत र पात्रगत वृत्त एवं दृष्टिक्षितिज फराकिलो छ । यी निबन्धहरू विचार र अनुभूतिको एक रङ र एक रस, एक लय र एक सुरको सरलरेखीय रूढपनाबाट निकै नै मुक्त छन् । र नै पढ्नलाई यी रुचिकर छन् ।

‘देब्रे आँखा’ का दुई खण्ड छन्— दृष्टि र सोच । दृष्टि खण्डमा लेखकले जीवनका भिन्नभिन्न कालखण्डमा संगत गर्न पाएका केही राजनीतिज्ञ र लेखक–कलाकारहरूको विचार, सिर्जना र व्यक्तित्वमाथि दृष्टिपात गरिएको छ । र, दोस्रो खण्डमा लेखकले आफ्नो जीवनका अनेक कालमा र अनेक ठाउँमा राजनीति, पत्रकारिकता र साहित्य साधनाको क्रममा आर्जन गरेका अनुभूति र अनुभवहरूका शब्दचित्रहरू सजिएका छन् । प्रायजसो निबन्ध पढ्दा लाग्छ, लेखकको मनोदशा सैलुङे लेकको मौसमझैँ छिनछिनमा फेरिइरहन्छ र सँगसँगै फेरिन्छ निबन्धको शैलीगत बान्की पनि । एउटै निबन्ध कतै कोरा र सपाट अभिव्यक्तिमा प्रकट हुन्छ, कतै माधुर्ययुक्त लयद्वारा सज्जित भएर आउँछ ।

एउटै निबन्धमा निहित यो शैलीगत असंगतिले निबन्धको लय भंग गर्छ, पाठकको पठन–आनन्दमा बाधा पार्छ र परिणामस्वरूप रचनाको पाठकमाथिको प्रभावलाई निम्छरो तुल्याउँछ । तथापि यी निबन्धहरूले पाठकसामु यहाँ बिम्बित व्यक्तिहरूका सोच, कर्म र कृतिहरूका न्यूनाधिक सजीव चित्र अवश्य प्रस्तुत गर्छन् । यिनमा खास गरेर जीवन आचार्य र प्रेमविनोद नन्दनको व्यक्ति–बिम्बको चित्रण कथ्य र सीपको संयोजनका दृष्टिले सुन्दर छन् । ‘सोच’ खण्डका ‘स्विपर मालती’ र ‘चपरगौढी डायरी’ लाई पनि रचनाको यही कोटिमा राख्न सकिन्छ ।

दृष्टि खण्डमा ‘भाङ्ग्राको टोपीमा गुएँलीको फूल’ शीर्षकको निबन्धमा चेतकान्त नामक कवि छन्, जो आम पाठकलाई निबन्ध पढिसकेर पनि सायद अपरिचित वा अज्ञय लाग्छन् । चेतकान्त नवलपरासी कतैका कवि हुन् । तिनका कृतिहरूको पहुँच र प्रभावद्वारा तिनको परिचय राष्ट्रिय तहमा उठेको मलाई थाहा छैन । निबन्धकारले भूगोलको स्थानीय वृत्तमा सीमित तिनको परिचयलाई तिनका सामान्यीकृत विशिष्टताहरूको जगबाट उच्च र व्यापक तहमा उठाउने चेष्टा गरेका छैनन् । त्यसैले रैथाने परिवेशबाहिरका पाठकका लागि अपरिचित चेतकान्त निबन्धको अन्त्यमा पनि अपरिचिततुल्य नै रहन्छन् । यो सम्प्रेषणको संकट हो । सोच खण्डमा यस्तै एउटा निबन्ध छ, ‘पूर्णलाल चुकेलाई पत्र’ ।

सायद आमपाठक यो निबन्ध पढिसकेर पनि पूर्णलाल चुकेलाई चिन्दैन । निबन्धबाट यति मात्र थाहा हुन्छ— पूर्णलाल चुके प्रकाशक हुन्, रेशम विरही उनको प्रकाशनका स्तम्भकार । निबन्धभरि लेखकको उल्झिएको आवेगको उत्ताल वेग व्याप्त छ । त्यो चुकेको निन्दा हो कि प्रशंसा हो पाठकले भेउ पाउँदैन । पाठकले केवल लेखक र प्रकाशकमाझ केही न केही खटपट छ भन्ने अनुमान मात्र गर्न सक्छ । 

उसलाई जडी कुराको तत्त्वबोध हुँदैन । सम्प्रेषणसम्बन्धी अघिल्लो निबन्धको उही समस्या यहाँ पुनरावृत्त भएको छ । सायद कुनै रैथाने पत्रमा रैथाने वृत्तमा सीमित विषयको निबन्ध छापिएको हुँदो हो । त्यसलाई जुरुक्क उचालेर ज्यूँका त्यूँ संकलनमा राखियो । र, फेरि सम्प्रेषणको संकट उत्पन्न भयो । ‘माल्दाइ २ : विचारको सकस’ र ‘चालीस वर्षपछि’ पुनरावृत्तिको अर्को उदाहरण हो । योचाहिँ विषयगत पुनरावृत्ति हो । यो पछिल्लो निबन्ध झन्डैझन्डै पहिलो निबन्धको कार्बनकपीजस्तो लाग्छ । यी त पुनरावृत्तिका केही मात्र उदाहरण हुन् ।

शीर्षक ‘देब्रे आँखा’ ले यसै पनि संकेत गर्छ— लेखक रेशम विरही देब्रे ढल्कुवा मनुवा हुन् । लेखकले ‘सोच’ खण्डभरि आफू क्रियाशील कर्ता र सजग अवलोकनकर्ता दुवै भएर यात्रा गरेको, मसिनोसँग नियालेको र आफ्नै ढंगले बुझेको नेपाली कम्युनिस्ट आन्दोलनका यात्राका डोबहरू अंकित गरेका छन् । लेखक परे कम्युनिस्ट आन्दोलनभित्रको जडवत् प्रवृत्ति, अवसरवाद, ढोङ, द्रव्यतृष्णा र भोगलिप्साका भुक्तभोगी साक्षी । र नै ‘सोच’ खण्डमा वामवृत्तका खास गरेर लेखकलाई रुष्ट, क्षुब्ध र मर्माहत तुल्याउने घटना र पात्र एवं मनोवृत्ति र प्रवृत्तिको आलोचनात्मक चर्चा छ ।

माक्र्सवाद रहस्यवादको समेत रहस्योद्घाटन गर्ने भौतिकवादी दर्शन हो । तर आफूलाई अविचल माक्र्सवादी मान्ने विरहीको माक्र्सवादमा यत्रतत्र रहस्यवादको छनक पाइन्छ । कतिपय घटना, पात्र र तिनका प्रवृत्ति रहस्यको कुहिरोभित्र लुकेका वा लुकाइएका लाग्छन् । यहाँ प्रत्येक निबन्धमा प्रवेश नगरी माक्र्सवादी विरहीका यस्ता रहस्य र चिन्तनका केही असंगतिले मेरो मनमा पैदा गरेका केही जिज्ञासा वा प्रश्नहरूको म उठान गर्छु ।

‘साधनाको महानाटकीय यन्त्रशाला’ की इन्द्रमाया के हो ? स्वैरकल्पनाको उपज कि सांसारिक यथार्थ मानव ? लेखकसँग केवल भावुक सम्बन्धको झीनो तुन्तुले बाँधिएकी इन्द्रमाया पाठक होइन । तथापि ऊ किन लेखकका हजार पुस्तक लिन्छे र दिन इन्कार गर्छे ? अनि उही इन्द्रमाया पछि पुस्तकालयलाई प्रदान गर्न लेखकलाई पुस्तक किन दिन्छे ? ज्ञात मानवचरित्रभित्र यो अज्ञात रहस्य माक्र्सवादी चिन्तनमा कहाँनेर कसरी फिट हुन्छ ? र, यो रहस्यको रचनामा लेखकको माक्र्सवादी यथार्थवाद कहाँ विलुप्त छ ?

लेखक रेशम विरही सत्र वर्षको लामो कालखण्ड बिताएको नेपालगन्जबाट अतिशय विषादको मुद्रामा पाखा लाग्नुको पाठकले चाल पाउनु नुहने कारण के होला ? ‘स्विपर मालती’ को मुखबाट लेखकले नेपालगन्जको आफ्नो जीवनको कारुणिक बिम्ब उतारेका छन् ।

मालतीको मुखबाट लेखक बोल्छन्, ‘उसले धेरैलाई कृतार्थ बनायो तर कसैले पनि कृतार्थबोध गरेनन्, कृतघ्न भएर बिर्सिए ।’ र मालती थप्छे— नेपालगन्जबाट बाटो लाग्ने बेलामा उसलाई एक कप चिया खुवाउने पनि कोही भएन । सामाजिक सत्संगका तीन–तीन विधामा साधना गरी व्यापक जनपहिचानको निधि आर्जन गरेका जोदाहा, कवि र पत्रकार नेपालगन्जमा किन त्यतिसाह्रो एक्ला, तिरष्कृत र निरीह ? यो एक्लोपना, तिरष्कार र निरीहताको कारण लेखकबाहिरको लोकमा मात्र छ कि लेखकभित्रको अव्यक्त ग्रन्थिमा पनि छ ? बृहत्तर समाज यतिबिघ्न कृतघ्न हुने गरी पतित भएको हो र ? लेखकले बाहय लोकलाई हेर्ने दृष्टि आफ्नै अन्तरतर्फ लगाएका भए आभ्यान्तरिक यथार्थको कस्तो चित्र गोचर हुँदो हो ?

राजनीतिक कार्यव्यापारमा उदात्त आदर्शका संवाहक पात्रहरूको वैचारिक र नैतिक पतन आदर्श स्वयंको पतनको पर्याय किमार्थ होइन । र, असल व्यवस्थाका सञ्चालकहरूको भ्रष्टता व्यवस्था स्वयंको भ्रष्टताको परिचायक किमार्थ होइन । तर लेखक विरही अतिशय आक्रोशित आवेगको प्रभावमा कम्युनिस्ट नामक पात्रहरूको पतनलाई तिनले बहन गरेको उदात्त आदर्शलाई नै निषेध गर्ने गरी किन प्रक्षेपण गर्छन् ? यो अप्रीतिकर प्रक्षेपण हेर्दा प्रश्न उठ्छ— के कम्युनिस्ट रेशम विरहीलाई सबभन्दा मन नपर्ने मानिस कम्युनिस्ट नै हो ? के पुस्तकमा यत्रतत्र जम्काभेट हुने विरहीका यस्ता अभिव्यक्तिहरू साँच्चि नै उनको अभिप्रायका यथार्थपरक प्रतिबिम्बन हुन् ?

यो संग्रहमा एउटा ठग पात्र छ, ठक्करसिंह । लेखकको निरुपणमा ठग ठक्करसिंह माओवादी प्रवृत्तिको प्रतिमूर्ति हो । लेखकको दृष्टिमा माओवादी दानव हो र माओवादीकृत जनयुद्ध दानवी ताण्डव हो । सत्य हो, माओवादी जनयुद्ध ज्यादतीमुक्त थिएन । त्यसमा चर्को हिंसामोह थियो । त्यसमा व्यापक अराजकता र उग्र असहिष्णुता थियो । तर यो सब त इतिहास भयो । जनयुद्धको ज्वलन्त परिणाम वर्तमानमा प्रत्यक्ष छ ।

व्यापक जनजागरण, गणतन्त्रको स्थापना, धर्मनिरपेक्षता, संघीयता र समावेशिताका दृष्टान्त एवं प्रक्रियाहरूको पछिल्तिर, मेरो विचारमा, मूलत: उही जनयुद्धको भूमिका छ । के माओवादीको ऐतिहासिक भूमिकालाई निरपेक्ष रूपले निषेध गर्दा गणतन्त्र र संघीयता आदि पनि स्वत: निषेधमा पर्दैनन् ? लेखक विरहीको यो आग्रह माक्र्सवादी सर्जकको इतिहासदृष्टिमा कहाँनेर फिट हुन्छ ?

‘भुङ्ग्रो, खड्कुलो र बन्दुक’ मा लेखक भन्छन्, ‘म कम्युनिस्ट कदापि थिइनँ र होइन पनि तथापि माक्र्सवादको वैचारिक जगमा कतै विचलित भएको पनि छैन ।’ उता श्यामलसितको ‘मित्र संवाद’ मा उनै लेखक भन्छन्, ‘म एमालेमा वर्षको २ सय २५ तिर्ने कार्यकर्ता हुँ ।’ पार्टीलाई लेबी तिर्ने कम्युनिस्ट हुनु र छातीमा मुड्की ठोकेर म कम्युनिस्ट हुँ भन्ने हयाउ नहुनु कस्तो कम्युनिस्ट हुनु हो ? पुस्तकमा अंकित लेखकको अन्तर्विरोधी धारणाको यो दृष्टान्त पहिलो र अन्तिम होइन । यस्ता अन्तर्विरोधी धारणाहरू पुस्तकमा यत्रतत्र व्याप्त छन् ।

भूमिका नभनिएको भूमिकामा श्यामल रेशम विरहीको अस्तित्वको चित्रण यसरी गर्छन्, ‘द्रव्यदास र शक्तिपूजक संस्कृतिमा ऊ द्रव्यहीन र शक्तिहीन देखिएको छ ।’ श्यामलको यो कथनमा विरहीप्रति करुणाजनक सहानुभूतिको आभास हुन्छ । बागी दृष्टियुक्त सिर्जनशील लेखक समाज र सत्ताको सतत: आलोचक हो । ऊ आफ्नो स्वत्व र निजत्वको रक्षा गर्न सदैव सत्तादेखि निश्चित दूरीमा बस्छ । तसर्थ द्रव्यहीन र शक्तिहीन हुनु त लेखकले राजीखुसीले राजेको नियति नै होइन र ?

विचार र शिल्प दुवै तहमा गोडमेल नपुगेजस्तो लाग्ने यो निबन्धसंग्रह मलाई एक अभागी कम्युनिस्टको कारुणिक बकपत्रजस्तो लाग्यो । रेशम विरहीजस्ता आफ्नो स्वत्व र निजत्वको सबल जगमाथि उभिएका समर्थवान् लेखकमा यो निरीह आत्म–कारुणाभाव किन ?

(र्‍यान्डम रिडर्स, पोखरामा बोलिएका कुराको सम्पादित र थोरै विस्तारित संस्करण)

प्रकाशित : माघ २२, २०७३ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्

ताप्लेजुङमा पाथिभरा मात्रै छ ?

ताप्लेजुङको विशेषता के हुन् भनेर सोध्दा तोङ्वा र सुकुटी भनेर त आयोजकले पनि ख्याल गर्दै उडाउँछन् । तोङवा र सुकुटी बेचेरै संस्कृति जोगिएला त ?

ताप्लेजुङमा जन्मे–हुर्केर काठमाडौंमा गीत गाउन आएँ । तर, गायिका भएर संगीत खोज्नचाहिँ फेरि ताप्लेजुङ नै फर्किनुपरेको छ । फर्किने क्रममा जे देखे जे भोगे, यो भोगाइ अरूको भन्दा भिन्न हुन सक्छ ।

संगीत भनेको संस्कृति हो, यो संस्कृतिभित्र धेरै कुरा जोडिएका छन् । जस्तो— भाषा, खानपान, पहिरन, नाचगान आदि । भाषा एक समुदायदेखि अर्को समुदायसम्म आफ्नो कुरा पुर्‍याउने माध्यम बनेको छ भने पहिरन मौसमअनुसारको कुरो मात्रै होइन, सांस्कृतिक सेतु पनि हो । खानपान पनि समय र समुदाय अनि ठाउँअनुसार खाँदै जाँदा थपिंदै जाने कुरा हो ।

अहिले यसमा पनि ‘यो मेरो समुदायको, त्यो उसको समुदायको खाना’ भनेर छुटयाउन थालिएको छ । अब चाडबाड र नाचगानहरू प्राय: सँगै जोडिएर आउन थालेको पाइएको छ । मठ–मन्दिर, पूजाआजा, चाडबाड र नाचगान यसरी एकै ठाउँमा आएका छन् । मानिसमा बढ्दै गएको चेतनाले चाडबाड जन्मायो, भगवान्–देवता जन्मायो, धर्म जन्मायो ।

मठ मन्दिर बने, भजन गाउन थालियो, नाचगानबाट एकअर्काको खुसी साटासाट गर्न थालियो । यी सबै चेतनाले हुर्काए–बढाएका बिषय हुन् । तर, आवाज भने यो चेतनाको खोजीभन्दा अघि जन्मिएको हो । संगीत पनि त्यस्तै स्वतस्फूर्त आविष्कार हो । आफ्नो जन्मथलो ताप्लेजुङसँग जोडिएर यो आवाज र संगीत जन्मको कुरा म यहाँ उल्लेख गर्दै छु ।

यसर्थ जुन समुदाय अथवा भेग/क्षेत्र हो, त्यसलाई चिनिने पहिलो र प्राथमिक आधार आवाज हो । हामी आजसम्मै त्यही कुरालाई बेवास्ता गरेर बसेका छौं । आ–आफ्नो समुदाय र क्षेत्रबाट आफ्नो मौलिक आवाज (संगीत) का बारे के सोधीखोजी हुन सकेको छ ? कि यो मनोविनोद र रमाइलोको विषय मात्रै हो । यहाँका कलेज/विश्वविद्यालयमा पढाइ हुने संगीतको शिक्षाबाट नेपाली (मौलिक) संगीतको कुन पाटोलाई फाइदा भएको छ ? सांस्कृतिक संस्थान, संगीत–नाटय प्रज्ञा प्रतिष्ठान, जनजाति प्रतिष्ठान आदि निकायबाट यसतर्फ के–कति काम भए ?

‘ताप्लेजुङमा पाथिभरा मात्र छ,’ जस्तो गरेर मिडियादेखि पर्यटन व्यवसायी सबै प्रचारमा लागेका देखिन्छन् । तर, ताप्लेजुङको अस्तित्व र चिनारी त्यत्ति मात्रै होइन । मुन्धुममा बिजुवा उठाउँदा सुरुमा नै ‘सेमुत्ती मुत्ती फोमा/कोक्मा’ भनेर पुकारिन्छ । त्यही ठाउँलाई युमाले तान बुनेको ‘मुक्कुमलुङमाको शिर’ भनेर पनि सम्बोधन गरिन्छ भने अहिलेचाहिं यहाँनेर बाहिरपट्टि एउटा आधुनिक खालको निकै आकर्षक मूर्ति राखिएको छ र, नामकरण गरिएको छ— पाथिभरा । त्यो शक्तिपीठको पछाडिपट्टि छ— मुक्कुमलुङमाको शिर । त्यहाँ पूजापाठ पनि हुँदैन र, त्यसको आफ्नो (मौलिक) नाम स्थानीयबासीसमेतलाई थाहा छैन । बरु, त्यसको महत्त्वबारे पनि अरू बनिबनाउ कथाहरू जोड्दै सुनाउने गरिएको रहेछ ।

ताप्लेजुङकै नाङ्खोल्याङमा अर्को एक ऐतिहासिक थलो छ— केसाप्लुङ । यसको पनि धार्मिक–ऐतिहासिक महत्त्व छ । सबै हिमाली र पहाडी क्षेत्रको खोलानाला मिसिंदै गंगामा पुगेपछि त्यही गंगाजल बन्छ, हिन्दु धर्मको अत्यन्तै पवित्र तत्त्व । गंगासम्म पुग्दा राम्रा–नराम्रा सबै कुरा बहँदै गएको हुन्छ, तैपनि त्यो पवित्र मानिन्छ । त्यसको मूल हो— तमोरखोला । ‘इम्बिरी याङ्थाङवा’ बाट ‘तावामा’ (पानी उम्रने) भयो । तावामाबाट ताम्वर हुँदै अहिले तमोर खोला भयो । वरिपरि हिमशृंखलाहरूको मनमोहक दृश्यसंँगै बीचमा मानव, चराचुरुंगी, गाईको उत्पत्ति र गायनको सुरुआत गरेको किंवदन्तीको ठाउँ हो यो, बाजागाजाको उत्पत्तिस्थल पनि यही हो ।

ताप्लेजुङमै मानव सृष्टि भएको भनेर मानिएको ठाउँ ‘काई लुङथुङ’ नामले चिनिन्छ । यो लेलेप गाविसमा छ । स्थानीयले यो ढुंगालाई ‘हल्लिने ढुंगा’ भन्ने गरेका छन् । यो ढुंगालाई एक जनाले एक्लै पनि हल्लाउन सकिने भएकाले यसलाई हल्लिने ढुंगा भनिएको रहेछ । यो सँगैको अर्को ढुंगामा मुन्धुमअनुसार तेत्लारा लाहादङनाले सृष्टिक्रममा टेकेको भनिएको देब्रे खुट्टाको पाइला पनि छ । यसलाई चैं स्थानीयले ‘लिम्बुनी पाइला’ भन्ने रहेछन् ।

त्यस्तै ‘तागेरा फुक्को’ भित्र यस्ता धेरै आकृति छन् जो संसारका विश्वविख्यात कलाकारले बनाएको पेन्टिङ अथवा कँुदेको कलाभन्दा विछट्टै मौलिक र आकर्षक छ । यो हरेक चित्रहरूको आफ्नै विशेषता छ । नेपाल तथा भारतभरि जति पनि मानिएका र विश्वास गरिएका शक्तिपीठहरू छन्— त्योभन्दा धेरै अभूतपूर्व त्यस्ता ठाउँहरू तमोरखोला आसपास एकै ठाउँमा पाइन्छ ।

जीवनदेखि मृत्युसम्मका मानव सभ्यताको मूलभूत कुरा मुन्धुममा पाइन्छन् भने त्यसको प्रमाणस्वरूप त्यहाँको ढुंगा, माटो, चट्टान, रूखपात अझै उभिएका छन् । हाम्रै ठाउँमा भएका त्यस्ता ऐतिहासिक, धार्मिक स्थलहरूको प्रचार–प्रसार नभएको हो कि ? अथवा, स्थानीय तवरबाट केही सरोकार नजुटेर हो कि ? यही कारण केन्द्रमुखी पद्धतिको राज्यले थाहा पाउन नसकेको हो कि ?

यस्ता पवित्र स्थलहरूलाई संरक्षण र प्रचारप्रसार गरेर राष्ट्रिय सम्पदा सूचीमा राख्न पाए संसारभरिका संस्कृतिका शोधकर्तादेखि, तिर्थालुसम्म भित्र्याउन सकिन्छ । धेरै हिँड्न नपर्ने गाडीको बाटोबाट ओर्लिएपछि यी सबै ऐतिहासिक ठाउँहरूको दर्शन गर्न छोटो समयमा सकिने गरी बाटोको रुट मिलाउन र यसको सही प्रचार गर्न सके सांस्कृतिक पर्यटनको ठूलो सम्भावना देखिन्छ ।

विदेशी पर्यटक नेपाल घुम्न आउँदा गोरो छाला देख्नेबित्तिकै स्वर्गबाट भगवान्को अर्को रूप अवतरण गरेझैं सम्झिएर एकोहोरिएर सर्वस्व छाड्ने मनस्थितिमाझ आफ्नो मौलिकता कहाँ छ ? केही विदेशी नेपाल आएर ‘यहाँको स्थानीय भाका सुनाउ त’ भन्दा सगर्व आफ्नो धुन, रागरागिनी सुनाउँदै दंग परेर आतिथ्य गर्ने हामीहरू नै हौं । त्यसबापत हातमा ५ सय, १ हजार रुपैयाँ पर्‍यो भने हामी दंगै हुन्छौं । हाम्रो धुन (टयुन) लगेर त्यसलाई साउन्ड–कन्भर्ट गर्दै कुनै पराइले आफ्नो बनाइरहेको हुन्छ । कहाँ छ, हाम्रो कपी राइट ? कहाँ छ पेटेन्ट राइट ?

अनौठो यो छ कि हामी अर्काको देशमा गएर मरीमरी काम गर्छौं । अनि, हामीचैं विदेशी अनुसन्धाता र खोजकर्ताले हामीकहाँ आएर केही गरिदिउन् भनेर आस गर्छौं । प्रचार–प्रसारका लागि र देखाउनैका लागि केही डकुमेन्ट्री बनाइन्छ । महोत्सव हुन्छ । भाषण–गोष्ठी पनि चल्छ । तर, त्यो सबै सदरमुकाम केन्द्रित हुन्छ । 

यो वर्ष सुकेटार विमानस्थलतिर यस्तै सांस्कृतिक झाँकी देखाउने र काठमाडौंका केही ट्रयाक–कलाकार लगेर गीत सुनाउने काम धुमधामसँग भयो । ताप्लेजुङका विशेषता के हुन् भनेर सोध्दा तोङ्वा र सुकुटी भनेर त आयोजकले पनि ख्याल गर्दै उडाउँछन् । तोङवा र सुकुटी बेचेरै संस्कृति जोगिएला त ? सदरमुकाममै महोत्सव गरे पनि भित्री लुकेका र ऐतिहासिक थातथलोको तस्बिरसम्म मात्रै देखाउन सके पनि ठूलै काम गरेको ठहर्ने थियो ।

जिल्लामा राजनीतिक पार्टीका कार्यकर्ताहरू एकअर्काको मुख ताक्नैमा व्यस्त हुने रहेछन् । संरक्षक समितिमा पनि राजनीतिक भागबन्डा खोज्ने रहेछन् । आफ्नो ठाउँको प्रचार, संरक्षण र संवद्र्धन कञ्चनजंघा संरक्षण (केक्याप) अन्तर्गत गर्दा पनि हुने थियो । यो केक्याप पनि कञ्चनजंघा/कुम्भकर्ण हिमाल वा केही जीवजन्तु र फूल–वनस्पतिकै सेरोफेरोमै हराइरहेको पाउन सकिन्छ । जुन ठाउँको ‘मुन्धुम’ गौरवलाई कसैले याद नगरी बाहिरी आवरणलाई मात्र प्रचार गरिएको छ, यसबारेमा के भन्न सकिन्छ र ?

ताप्लेजुङको पानीका मूलहरू, तालतलैया र ढुंगा–ओडारको कथा मुन्धुमले मात्रै भन्छ । तर, पर्यटन भनेको हिमाल मात्रै हो कि झैं पर्यटन बोर्ड बसेको भान स्पष्ट हुन्छ— ताप्लेजुङ पुग्दा । अहिले त सडकको बाटो छिरुवानीसम्म जान्छ, ओलाङचुङगोलासम्म जोडिने काम धमाधम हुँदै छ । सडक बाटो खन्दा कहाँबाट लैजाने, के–कति कुरा खन्ने अथवा के नभत्काउने भन्ने सामान्य विवेकसम्म पनि ठेकेदार–प्राविधिकले राखेका रहेनछन् ।

छिरुवानीमा यसपालि गाडीको बाटो खन्ने क्रममा स्थानीय ऐतिहासिक थलोहरू खन्ने–भत्काउने तयारी भइरहेको थाहा पाएर स्थानीय र बाहिरबाट आएका जानकारले यसको विरोध गरेपछि बाटो घुमाउने निर्णय भएको थियो । अब यो बहुआयामिक समस्या र सरोकारलाई सुनिदिने कसले ? 

झुमा लिम्बू

प्रकाशित : माघ २२, २०७३ १५:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×