कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रुपन्देहीमा छन्द बहस

बुटवल — कवितालाई रस र सारयुक्त बनाउने माध्यम हो छन्द । छन्दकै कारण कविताको सन्देश जनजिब्रोमा पुर्‍याउन सकिन्छ ।

रुपन्देहीमा छन्द बहस

विडम्बना, पछिल्लो समयका प्राय: कविले छन्दको प्रयोग छोडेका छन् । छन्दोबन्द्ध कविताको रचना पातलिँदै गएको छ । यही चिन्ताले छन्द कविताको उत्थानका लागि भन्दै रुपन्देहीमा छन्द कविता महोत्सवको आयोजना भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र छन्दवादी समाज नेपालद्वारा ‘तिलोत्तमा बृहत् छन्द कविता महोत्सव’ मा पहिलो दिन पाका पुस्ताले नयाँ पुस्तामाझ छन्द कविता हराएकामा चिन्ता गर्‍यो । छन्दमोह ब्युँताउन जिल्लाजिल्लाबाट अभियान थाल्न पनि आग्रह गर्‍यो । 

तिलोत्तमा नगरपालिकाको तीनधुरेस्थित जनता माविमा भएको कार्यक्रममा समकालीन छन्द कविताका प्रवृत्तिहरूबारे प्राडा हिरण्यलाल ज्ञवालीले कार्यपत्र प्रस्तुत गरे । उनले छन्द कविता सबै विधामा लेख्न सकिने बताउँदै त्यसको प्रमाण समकालीन छन्द कविता देशभक्ति, राष्ट्रप्रेम, सामाजिक यथार्थ, प्रगतिवादी, हिंसाविरोधी रहनु रहेको उल्लेख गरे । डा. घनश्याम न्यौपाने परिश्रमी, डा. नारायण नेपाल र माधव वियोगीले कार्यपत्रमाथि टिप्पणी गरे ।

प्रज्ञा प्रतिष्ठानको काव्य विभागका प्रमुख डा. अमर गिरीले कविताको मर्म बुझाउने छन्दलाई अझै प्रभावशाली रूपमा विकास गर्नुपर्ने सुझाव दिए । ‘प्रयोग र सिर्जनाले मात्रै यो सम्भव हुन्छ,’ उनले भने ।

नेपाली छन्द कविताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत प्राडा विष्णुराज आत्रेय (लाटो साथी) र डा. देवी नेपाल ‘छन्दरथी २०६३’ बाट सम्मानित भए । 

दोस्रो दिन कवि गोष्ठी भयो । सन्ध्याकालीन अवसर पारेर वरिष्ठदेखि नवोदित कविसम्मले छन्द कविता वाचन गरे । गजलकार बुँद राना, रामचन्द्र भट्टराई, गोर्खे साइँला, रामदेव पाण्डे, खामा तराम मगर, गिरीश श्रीसमगर लगायतले आफ्नो पालो सकिएपछि नवोदितहरूलाई हौसाए । छन्दमा लगाव र मिहिनेत बढी चाहिने सुझाए पनि ।

कार्यक्रममा चितवन, कास्की, पाल्पा, धनगढी, दाङ, रुपन्देही लगायतका कविहरूको सहभागिता थियो । छन्द महोत्सवमा सहभागी छन्दप्रेमी कविले जिल्लाजिल्लामा छन्द कविता सिर्जनालाई ब्युँताउने प्रण पनि गरे । 

प्रकाशित : पुस १३, २०७३ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?