कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

थकालीलाई देउता भेट्न हतार !

काठमाडौं — हरेक १२ वर्षमा मुस्ताङमा एउटा पर्व हुन्छ– ल्हफेव । यसको अर्थ हुन्छ– देउता उदाउने/निस्कने । मुस्ताङको संस्कृतिको अभिन्न पाटो मानिने यो पर्व यस वर्ष परेको छ । यही मौकामा संसारभरका थकालीहरू यति बेला आफ्नो थातथलो फर्किंदै छन् ।

थकालीलाई देउता भेट्न हतार !

‘हामीलाई देउता भेट्न हतार छ,’ राजधानीको बालाजुस्थित थकाली सेवा समितिमा सोमबार भेटिएकी शिला शेरचनले भनिन्, ‘बाह्र वर्षपछि यो मौका जुर्दै छ ।’ 
ल्हफेव पर्वकै जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शिला लगायतका महिलाहरू आफ्नै मौलिक परिधानमा सजिएका थिए । न्होकोन चोली र कण्ठी फ्रमा लगाएका उनीहरू अर्को साता राजधानीमा भेटिनेछैनन् । मुस्ताङमा लाग्ने १७ दिने पर्वमा उनीहरू व्यस्त हुनेछन् । कोही मौलिक परिकार बनाउँदै, कोही रथ तान्ने मेलामा सहभागी हुँदै त कोहीचाहिँ पाहुनापातलाई सत्कार गर्दै भेटिनेछन् हिमालपारिको यो जिल्लामा । ल्हफेव मूल आयोजक समितिले दैनिक पूजा, रथयात्रा, कविता प्रतियोगिता, खुला म्याराथन दौड, तारो हान्ने खेलदेखि स्वास्थ्य शिविर, कन्सर्ट र सुन्दरी प्रतियोगितासम्मको कार्यक्रम तय गरेको छ । 
फिल्म निर्माता मनोज शेरचन पनि मुस्ताङ जाने हतारोबीचमै भेटिए । भुवन केसीसित मिलेर ‘जेरी’ बनाएका शेरचन काठमाडौंको व्यावसायिक सेडयुअल बिट मारेर छिट्टै मुस्ताङ जाने तयारीमा छन् । ‘यो पर्व मुस्ताङकै मौलिक सांस्कृतिक चिनारी हो,’ उनले भने, ‘संसारभरका थकालीहरू जम्मा हुन्छन् । 
पछिल्लो समय पर्यटकहरूका लागि पनि यो पर्व आकर्षणको विषय बन्दै आएको छ ।’
उनकै छेउमा थिए, जापानबाट आएका शरद गौचन, जो ३६ वर्षपछि बाह्रवर्षे मेला हेर्न आफ्नो गाउँ पुग्दै छन् । मुस्ताङ लेतेका उनी तीन दशकदेखि जापान बस्दै आएका छन् । जापानमै स्नातकोत्तर गरेर उतैको सरकारी जागिरमा व्यस्त बनेका उनी यसपटक बाह्रवर्षे छोरोसहित आएका छन् । 
‘छोरोले गाउँ नै देखेको छैन,’ एनआरएन जापानका सल्लाहकारसमेत रहेका शरदले भने, ‘यसपटक गाउँ र देउता दुवैलाई उसले भेट्न पाउने भएको छ ।’
थकाली सेवा समिति, जापानका संस्थापक र संरक्षकसमेत रहेका उनलाई सानै छँदाको ल्हफेव मात्रै याद छ । ‘आफ्नो संस्कृतिको माया मुलुक बाहिर पुगेपछि बढी नै हुँदो रहेछ,’ उनले भने, ‘त्यही भएर यसपटक छोरोसहित आएको छु ।’
भूकम्पपीडितको सहयोगार्थ एनआरएनका लागि आफ्नै अगुवाइमा ५ करोड रुपैयाँ संकलन गरेर हस्तान्तरणसमेत गरेका शरदसँगै ‘देउता उदाउने’ पर्वबारे बखान गरिरहेका थिए, पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचन । लौरो टेक्दै आएका यी वृद्ध पनि आफ्नो थातथलो पुग्ने हतारोमै छन् । 
‘यो पर्वका बेला थकालीहरूका चारवटा देउतालाई बाहिर निकाल्ने र धोईपखाली गरेर रथयात्रा गर्ने चलन छ,’ उनले भने, ‘हजारौं वर्षदेखि यस्तो चलन चल्दै आएको छ । अहिले त पर्यटकीय हिसाबले पनि यसको महत्त्व बढ्यो ।’ हरेक बाह्र वर्षमा देवता बाहिर निस्कने र उक्त देवताको दर्शनले पाप र दु:खबाट मुक्ति पाइने विश्वास रहिआएको उनले बताए ।
संस्कृतिविद् वसन्त भट्टचनका अनुसार थकालीको चारचन समुदाय (तुलाचन, भट्टचन, शेरचन, गौचन) का इष्टदेवलाई अन्य समय मन्दिरभित्रै बन्द बाकसभित्र राखेर पूजा गरिन्छ । ‘चन्द्र पात्रोअनुसार हरेक बाह्र वर्षको प्रल्हो (बाँदर वर्ष) को अन्त्यमा देउताहरू निकालिन्छ र झन्डै एक महिनासम्म धुमधामको जात्रा मनाइन्छ,’ उनले भने, ‘देउता निकाल्ने र रथयात्रा गर्ने थलोमा भने लौरो टेक्न, घोडा चढ्न, सुसेली हाल्न र रातो टीका लाउन नपाउने चलनसमेत छ ।’ ‘त्यही भएर नाचगान अरू मनोरञ्जनका कार्यक्रमहरू नजिकैको गाउँ लेतेमा राखेका छौं,’ थकाली सेवा समितिकी अध्यक्ष कृष्णकुमारी शेरचनले भनिन् ।
यसपटक ल्हफेव यही शुक्रबारदेखि सुरु हुँदै छ । मेलालाई भव्य बनाउन सम्पूर्ण तयारी सकिएको अध्यक्ष शेरचनले बताइन् । सुरुमा प्रचारप्रसार अभावमा मुस्ताङ वरपरका बाहेक कसैले जानकारी नपाएको र पछिल्लो समय पर्यटकहरूको समेत चासोको विषय बनेको समितिका महासचिव नरेशकुमार तुलाचनको दाबी थियो । पत्रकार सम्मेलनमा डा. ज्योति भट्टचन, खगेन्द्र भट्टचनलगायतले पनि ल्हफेवबारे बोलेका थिए । 
मेला उद्घाटन वाणिज्यमन्त्री रोमी गौचन थकालीले गर्दै छन् । 

प्रकाशित : पुस १२, २०७३ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?