कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रत्नशमशेरलाई भूपी काव्य

कास्की — कवि भूपी शेरचनको ८१ औं जन्मजयन्तीको अवसरमा भूपी काव्य पुरस्कारबाट कवि/गीतकार रत्नशमशेर थापा सम्मानित भएका छन् ।

रत्नशमशेरलाई भूपी काव्य

थकाली सेवा समितिले पोखरामा गरेको भूपी जन्मजयन्ती तथा कवि गोष्ठी कार्यक्रममा क्षेत्रीय प्रशासक खगराज बरालले थापालाई दोसल्ला ओढाएर ५० हजार रुपैयाँसहितको पुरस्कार हस्तान्तरण गरे । भूपीसँगै साहित्य क्षेत्रमा लागेका थापाका विभिन्न कविता र गजल संग्रह प्रकाशित छन् । 

‘भूपी र म समकालीन थियौं, साथी थियौं,’ कार्यक्रममा थापाले भने, ‘साहित्यका लागि धेरै संघर्ष गरियो । भूपी नरम बोल्थे, मचाहिँ कडा । नेपाली साहित्यलाई भूपीको योगदान अतुलनीय छ ।’ नेपाली साहित्यको विस्तार गर्न मिलेर केही समय ‘सिउँडी’ नामक पत्रिका निकालेको स्मरण गर्दै उनले प्रजिअ कार्यालयले दर्ता नगरिदिएपछि त्यो पत्रिका त्यत्तिकै हराएको बताए । कवि तीर्थ श्रेष्ठले भूपीले थोरै कृति लेखे पनि जनताको मन जितेको बताए । सरल भाषामा समसामयिक विकृतिमाथि व्यंग्य गर्ने आधुनिक साहित्यका विशिष्ट कवि भएको उनले बताए । ‘भूपीको सम्मानमा अब सालिक बनाउनुपर्छ,’ उनले भने । 
आयोजक सेवा समितिका विश्वमोहन गौचनले नयाँ पुस्ताले भूपीको सोच र विचारलाई अगाडि बढाउनुपर्ने बताए । जनप्रिय कविका रूपमा भूपीलाई नेपालीले सम्झना गरेको बताउँदै उनले भूपीका कृतिका विभिन्न भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रिय क्षेत्रसम्म फैलाउनु आवश्यक रहेको औंल्याए । कवि सरस्वती प्रतीक्षा, बाबा राणा, मन क्षत्री र दीपक समीप लगायतले पनि भूपीको योगदानबारे बोलेका थिए ।
भूपेन्द्रमान शेरचनका रूपमा विसं १९९२ पुस १० गते मुस्ताङको थाक टुकुचेमा जन्मेका भूपीको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता संग्रह सबैभन्दा लोकप्रिय कृति हो । उनका ‘परिवर्तन’ नाटक, ‘नयाँ झ्याउरे’ गीतिकविता संग्रह, ‘निर्झर’ कविता संग्रह लगायत प्रकाशित छन् ।

प्रकाशित : पुस १२, २०७३ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?