कविता : सीतावाण

निभा शाह

पितृसत्ता नभएर 
मातृसत्ता भएको भए 

कविता : सीतावाण

ईश्वरको नाम ईश्वर होइन

ईश्वरी हुन्थ्यो

शिवलिंगको नाम शिवलिंग नभएर

शिवानीलिंग हुन्थ्यो

प्राण–प्रतिष्ठा

रामको नभएर सीताको हुन्थ्यो

सारा धर्मयुद्धहरु

ईश्वरको नाममा नभएर

ईश्वरीको नाममा हुन्थ्यो ।


पितृसत्ता नभएर

मातृसत्ता भएको भए

सूर्यको नाम सुर्जा हुन्थ्यो

सुर्जाहरुले नै

सारा धर्मग्रन्थको रचना गर्थिन्

सृष्टिकर्ता ईश्वरको ठाउँमा ईश्वरी हुन्थिन्


पितृसत्ता नभएर

मातृसत्ता भएको भए

गीता कृष्ण–उवाच होइन

राधा–उवाच हुन्थ्यो

त्रिपिटक बुद्ध–उवाच होइन

बुधनी–उवाच हुन्थ्यो

बाइबल परमेश्वर–उवाच होइन

परमेश्वरी–उवाच हुन्थ्यो

कुरान–उवाचका लागि

ईश्वरीले पैगम्बर होइन पैगम्बरा चुन्थिन् ।


पितृसत्ता नभएर

मातृसत्ता भएको भए

रामको हातमा रामवाण होइन, चुरा हुन्थ्यो

सीताको हातमा चुरा होइन, सीतावाण हुन्थ्यो

सशस्त्र सीता अशोक वाटिकामा होइन

निःशस्त्र राम अशोक वाटिकामा हुन्थे

अग्निपरीक्षा

सीताको होइन, रामको हुन्थ्यो ।


पितृसत्ता नभएर

मातृसत्ता भएको भए

ईश्वरी मृत्युको घोषणा

नित्सेले होइन

निकिताले गर्थिन्

ईश्वरी, जो छैन

‘उनको मृत्यु हुँदैन’ को घोषणा

शात्रले होइन शाशाले गर्थिन्

‘धर्म अफिम हो’ को घोषणा

मार्क्सले होइन मेरीले गर्थिन् ।


पितृसत्ता नभएर

मातृसत्ता भएको भए

वेश्यालयको नाम

वेश्यालय नभएर

छिनारलय हुन्थ्यो

छिनारलयमा छिनारी नभएर

छिनार हुन्थे, छिनारलयको नाम

सोनागाछी नभएर सोनागाछा हुन्थे ।


पितृसत्ता नभएर

मातृसत्ता भएको भए

स्त्री खुट्टा हुन्थे, पुरुष जुत्ता हुन्थे

स्त्री पोइला होइन, पुरुष जोइला आउँथे

स्त्री सती होइन

पुरूष सता हुन्थे ।


पितृसत्ता नभएर

मातृसत्ता भएको भए

मातृसताको किलोमा

स्त्री होइन, पुरूष बाँधिएका हुन्थे ।


यस्तै हो, सत्ताको सार

जे छ सत्ताको सार, लालपुर्जामा छ ।


लालपुर्जा दहन नहुँदासम्म

समसत्ता हुँदैन, समसत्ता नहुँदासम्म

मान्छे उड्न त उड्छ

चंगा उडेसरी उडिरहन्छ ।


छिनार– थारु, अछामी, डोटेली भाषामा पुरूष यौनकर्मीलाई छिनार भनिन्छ

छिनारी – थारु भाषामा महिला

यौनकर्मीलाई छिनारी भनिन्छ

प्रकाशित : माघ २०, २०८० ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?