आमा त्यो फूल थियो, फुली थिएन

साथीको नाकको फुली बेलाबेला टल्किन्थ्यो । म नाक छाम्थें, त्यो खाली थियो । मलाई फुली खोइ ? आमा भन्नुहुन्थ्यो– ‘तेरो साथी छेत्रिनी हो, लाउँछन् । हामी नेवार, हाम्रो नाक छेड्नै हुन्न । फेरि नाक छेड्दा दुख्छ नि, किन छेड्नु बेकारमा ?’
शकुन्तला जोशी

शरदमा खुलेको नीलो आकाश राम्रो कि त्यो नीलो क्यानभासमा कोरिएको बादलको बुट्टा ? पहिरोमा तानिएको बोटमा फुलीरहेको गुलाबको फूल राम्रो कि फूलका पत्रहरूमा अडिएका शीतका थोपा ? चरचरी चिरिएका हातको चित्र राम्रो कि तिनै हातले ओढाएको घरको छाना ? सात/आठवर्षे कलिलो उमेरमा खोपडी यस्तो सौन्दर्यचेत मनन गर्ने गरी हुर्किसकेकै थिएन । फूलबारीमा फुलेका गुलाबका फूलभन्दा बढी मलाई सुशीला मन पर्थी । उसो त मन पर्नुको परिभाषा पनि मैले बुझेको होइन, तर उसको सान्निध्य खूब रमाइलो लाग्थ्यो । कक्षामा हामी एउटै बेन्चमा बस्थ्यौं, सँगै खेल्थ्यौं ।

आमा त्यो फूल थियो, फुली थिएन

म थिएँ, हेडसरकी छोरी । बुबाको प्रभावले होला, अरू साथी पनि मसँग नजिकिन खोज्थे । मचाहिँ सुशीलाको मसिनो आवाजसँग सम्मोहित थिएँ । ऊ प्रायः सेतो सर्ट र नीलो स–साना चुना भएको फर्क लाउँथी । उसको खुट्टामा कहिले चप्पल हुन्थ्यो, कहिले खाली । उसको नाकको फुली भने घरीघरी टल्किन्थ्यो । कहिलेकाहीँ म पनि नाक छाम्थें, तर मेरो नाक खाली थियो । घर आएर आमालाई सोध्थें, ‘ममी ! सुशीलाले फुली लाएको छ त, मलाई किन नलगाइदिएको ?’ आमा भन्नुहुन्थ्यो– ‘तेरो साथी छेत्रिनी हो, उनेरले जातले पाएका, लाउँछन् । हामी नेवार, हाम्रो नाक छेड्नै हुन्न । फेरि नाक छेड्दा दुख्छ नि, किन छेड्नु बेकारमा ?’

मैले एउटा उपाय लगाएँ– घाँसका बीचमा राता, नीला, पहेँला, गुलाबी, बैजनी र इन्द्रेणी रङका मसिना फुली आकारका फूल हुन्थे । मैले तिनै फूल टिपें, फूलको फेदमा थुक लगाएर नाकमा टाँसे । अनि एउटा आँखा चिम्लेर आफ्नै नाक हेर्ने कोसिस गरेँ । यसरी रङरङका फूल टाँसेको एक दिन अजाले देख्नुभो, अजिलाई संकेत गर्दै सातो टिप्नुभो, ‘हेर्–हेर् यो उम्रिँदैको तीन पात ! नाकमा फुली पो लाउँदै छ त ।’ अजी मात्रै हाँस्नुभो । मैले हत्तपत्त नाक पुछें । त्यसपछि पनि मैले धेरैपल्ट नाकमा इन्द्रेणी रङका फूलहरू टाँसिरहें, तर अजाले नदेख्ने गरी । सुशीलालाई देखाउन कत्तिपल्ट किताबबीच च्यापेर फूलका झुप्पै स्कुल पुर्‍याएँ । मसिना, कोमल फूल स्कुल पुग्दा किताबमै टाँसिइसक्थे ।

एक दिन म सुशीलाको घर गएँ । चुवाडे डाँडा, मान्छे उडाउलाजस्तो हावा चल्ने । त्यो साँझ हामी सँगै हावामा फ्रक उडाउँदै उसको घर ओरालियौं । उनीहरूको घर अछामे टोलमा थियो । आमाले खाजा दिनुभो, खाएपछि उसले मलाई तलामाथि लगी । उसको ओछ्यान वरिपरि किताब र लुगाफाटो छरपस्टै थिए । छरिएको किताब–कापीसँगै एउटा चिल्लो चीज थियो । सुशीलाले त्यो टिपेर मेरो अनुहारमा आफ्नो अनुहार जोड्दै भनी, ‘ऐनामा हेर त ! तिमी मभन्दा कति राम्री छौ ?’ ‘ऐना ?’ मेरो मुखबाट फुत्त निस्क्यो । हो त ! ऐनाले हामीलाई फरकफरक अनुहारमा देखाएको थियो । मैले ऐना लिएर आफ्नो मात्रै अनुहार हेरें । फेरि सुशीलातिर हेरें । पुनः ऐनाभित्रको अनुहार अनि सुशीलाको अनुहार । पहिलोपल्ट आफ्नो अनुहार देखेर म अवाक भएँ– ‘अहो ! म सुशीलाजस्तो छैन पो ? म त अर्कै पो रहेछु !’

अचम्म ! ऐनाले मलाई मेरै अनुहार देखाइदियो, मलाई चिनाइदियो । तर, मलाई आफ्नै अनुहार स्वीकार्य भइरहेको थिएन । म त सुशीलाजस्तै हुनु पर्ने नि ! किन अर्कै ? मेरो आँखा, नाक, मुख केही पनि सुशीलाको जस्तो छँदै थिएन, फुलीबिनाको मेरो नाक पनि मलाई राम्रो लागेन । मलाई आफ्नो अनुहार सुशीलाको जस्तो नभएकोमा कस्तो नरमाइलो लाग्यो । खुसीले उफ्रिँदै साथीको घर पुगेको मलाई आधारातसम्मै छटपटी भयो ।

भोलिपल्ट खाना खाएर हामी स्कुल गयौं । दिनभरिमा मैले धेरैपल्ट आफ्नो अनुहार छामें, सायद त्यति नै पल्ट सुशीलाको अनुहार हेरें ।

आमाको बट्टे ऐना

साँझ घर फर्केँ । गोठमा घाँस हाल्दै गरेकी आमालाई हत्त न पत्त सोधें– ‘ममी, हाम्रो ऐना छैन ?’ घाँसको मुठा खोल्दै आमा फरक्क मतिर फर्केर मेरो अनुहारमा हेर्नुभो– ‘ऐना ? किन चाहियो बेला न कुबेला तँलाई ?’

‘भन्नु न छ कि छैन ? सुशीलाको घरमा त ऐना छ, हाम्रो छैन ?’

‘ए ! भनेपछि सुशीलाले तँलाई ऐना देखायो । अनि हेरिहालिछस् त, फेरि किन चाइयो ?’ म चुपो लागें । भैंसीलाई घाँस हालिसकेर आमा सिकुवातिर फर्किनुभो । म पनि सँगसँगै गएँ । आमाले लिस्नु कुनाको सिंगौरीमा झुन्डिएको ध्वाँसे झोलाबाट एउटा गोलो डब्बा निकालेर देखाउनुभो– ‘ईः यही हो हाम्रो ऐना ।’

‘आबुई ! यो कस्तो ऐना ममी ? सुशीलाकोमा त कापीजस्तो लाम्चो थियो त !’ मैले भनें । ‘होला नि, तर मसँग त यै बट्टे ऐना मात्रै छ, यै पनि पोहोर पञ्चमी बजारबाट ल्याको,’ आमाले बट्टा खोल्नुभो, ऐनाभित्र आमाले सिन्दूर राख्नुभएको रहेछ । मैले यसो ऐना हेरें । मेरो नाक मात्रै देखियो, फेरि यताउति घुमाएँ, आँखा देखें । आमाले मेरो हात समातेर अलिक पर लैजानुभो, अनि अनुहार पूरै देखेँ । तर, सुशीलाको ऐनामा जसरी पूर्ण मुहार देखिएन ।

‘ममी, म किन सुशीलाजस्तो छैन ?’ प्रश्नले आमा हैरान हुनुभो । ‘हँ ? हन केके भन्छ यो ? अन्तः तँ किन सुशीलाजस्तो हुनुपरो त ?’ अँगेनुमा आगोको झिल्का खोज्दै गरेकी आमा फरक्क मतिर फर्किनुभो । सायद अँगेनुमा बिहानको आगो निभेको थिएन, आमा आगो जोर्न थाल्नुभो, ‘नानी, मान्छेको अनुहार फरकफरक हुन्छ नि, नाम पनि । हेर् त मेरोभन्दा तेरो अनुहार कस्तो राम्रो छ । हाम्रो घरमा हर मान्छेको अनुहार फरक छ, भरै हेर् त । अनि कसरी तँ र सुशीला उस्तै हुन्छौ त ?’

आमाले अरू पनि के–के सम्झाउनु भो, सबै याद छैन । तर, आमाले मेरो कपाल सुम्सुम्याउँदै भन्नुभएको एउटा कुरा चै यादमा छ– ‘तिमी दुईको आँखा फरक छन्, त्यो आँखाले देख्ने संसार पनि फरक हुन्छ नानी । तर, तिमेरु असल साथी भइरहनू । अनि तिमी आफूचैं आफूजस्तै बन्नू, आफ्नो नाम–सुवास राख्नू ।’

वर्षौं भयो सुशीलासँग भेट नभएको, सम्पर्क पनि नभएको । ऊ अहिले कस्ती भइहोला ? उसले देख्ने संसार कस्तो होला ? अँ, नाकमा कस्तो फुली लाएकी होली ? म भने जति सुन्दर देख्छु संसारलाई, उति कुरूप पनि । आमाले भनेको आँखा त विवेकको पो रहेछ । दुनियाँमा मान्छेहरूको दम्भ, स्वार्थ, कलुष कति भयानक छ ! सत्ता र शक्ति प्राप्तहेतु मान्छे कुन हदसम्म गिर्न सक्छ, यो हेर्न आफ्नै समाज, देशतिर फर्के पुग्छ । मानवेतर अन्य सबै प्राणी र वनस्पति त प्रकृतिको नियममा निःसर्त समाहित छन् । मान्छे मात्रै ससर्त प्रकृतिमा उभिन्छ, हर सम्बन्धलाई स्वार्थहेतु ललकार्छ ।

अचेल मसँग सुशीलाको घरको भन्दा ठूलो, आमाको बट्टे ऐनाभन्दा पनि ठूलो भित्ताभरिको ऐना छ । सशरीर उभिएर आफूलाई नियाल्छु । दुनियाँ त ऐनभन्दा बाहिर रहेछ । आमाले भनेजस्तो म कहिले आफूजस्तो बन्ने होला ? आजसम्म अरू नै कोही भएर बाँचिरहेछु ।

किन छेडिनँ नाक ?

हामी लिम्बू समाजमा हुर्केका नेवार हौं । हाम्रोतिरका लिम्बुनी बोजुहरू चिउँडोभन्दा तलसम्म आइपुग्ने झुम्के बुलाकी लगाउँछन् । कानमा चेप्टे सुन, नाकमा ढुंग्री । उनीहरूको बुलाकीमा रातो, हरियो पत्थर पनि टल्किरहेका हुन्थे । बोजूहरू सेरी बटुकोमा जाँड पिउँदा देब्रे हातले बुलाकी अलिकति किनारातिर सार्थे । हाम्रो हजुरआमा, आमा कसैको पनि नाकमा ढुंग्री वा बुलाकी थिएन । नेवाः कन्याहरूले किन नाक छेड्न हुँदैन ? आध्यात्मिक विज्ञानका अध्येता बासव राजोपाध्याय भन्छन्, ‘नेवाः संस्कृतिमा कुनै पनि शुभकार्य गर्नुअघि कुमारीको पूजा गर्ने प्रचलन छ । पूजा गरिने कुमारीको मुखमण्डलमा घाउ चोट नलागेको, दाँत नझरेको, रजस्वाला नभएको हुनुपर्छ । उसो भए इहिः गरिसकेपछि त कन्याको नाक छेडे पनि हुन्छ होला नि त ! प्रश्न आउँछ । इहिःपछि कन्यालाई महालक्ष्मीको प्रतीक मानिन्छ । समुदायमा लक्ष्मीपूजाको चौथो दिन विसर्जन पूजा गर्न विवाहित छोरी आउनैपर्ने प्रचलन छ । यसरी नेवाः संस्कृतिमा कन्यालाई कुमारीबाट महालक्ष्मी अर्थात् मान्छेबाट देवताका रूपमा पूजा गरिने हुनाले नाक छेड्न नहुने प्रचलन छ ।’

मार्क्सवादी अध्येता आहुति यो प्रचलनलाई हाम्रो सभ्यता विकास क्रमसँग जोडेर विश्लेषण गर्छन् । उनका अनुसार, नेपालको उत्तरी तिब्बत या चीन क्षेत्रबाट आएका प्रजातिमा नाक छेडेको पाइन्न । तर, दक्षिणतिर गंगा मैदानको सभ्यतामा गहनाको अत्यधिक प्रयोग हुने, त्यसमा पनि नाकमा फुली वा नथिया लगाउने प्रचलन छ । त्यताबाट आएका प्रजातिमा यो प्रचलन बढी पाइन्छ । तर, उत्तरतिरबाटै आएका अन्य थुप्रै प्रजाति कसरी नाक छेड्ने बने त ? ‘उनीहरू भारत र त्यस आसपास क्षेत्रमा लाहुर जाने परम्परामा गए, पहिलो र दोस्रो युद्धताका त्यो संस्कृति लिएर आए’ भन्ने डा. हर्क गुरुङको विचार आहुति सम्झन्छन् । नेवाः समुदायमा मिथिलातिरबाट मिसिएकाहरूले पनि नाक छेड्न छोडेको उनको तर्क छ ।

नाक छेड्नु र फुली, ढुंग्री, नथिया वा यस्तै प्रकारका आभूषण लगाउनु गहनाकै एक रूप हो । गहनाको प्रचलन आदिम मात्तृसत्तात्मक युगमै समूहको नाइके पहिचान गर्न, उमेर समूह छुट्ट्याउन वा जिम्मेवारी बाँडफाँडको सहजताका निम्ति सुरु भएको महिला अधिकारकर्मी नेतृ एभलिन रिडले ‘सौन्दर्य प्रशाधन, फेसन र नारीजातिको शोषण’ लेखमा उल्लेख गरेकी छन् । पुँजीवादी बजारले गहना महिलाका लागि अत्यावश्यक वस्तुका रूपमा स्थापित गरिदिएको व्याख्या रिडको छ । अहिले गहना पुँजीवादी बजारको सोकेसमा सबैभन्दा अग्रहारमा सजाइने वस्तु हो । अचेल मलाई फुलीको इन्द्रेणी रङमा पनि बजार तिर्मिराएजस्तो लाग्छ ।

प्रकाशित : श्रावण ६, २०८० ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?