ब्याडमिन्टनका प्रिन्सले ओलम्पिक खेल्ने, इतिहासकै पहिलो खेलाडी  

वैशाख ३०, २०८१

ध्रुव तुलाधर

The Prince of Badminton is the first player in history to play in the Olympics

काठमाडौँ — नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् । नेपाली खेलकुदको लामो इतिहास बोकेको ब्याडमिन्टनले पहिलोपल्ट ओलम्पिक खेल्ने लागेको हो । जुनियर विश्व ब्याडमिन्टन वरीयताको पहिलो स्थान पुगेर इतिहास रचिसकेका प्रिन्सले फेरि अर्को इतिहास बनाएका छन् ।

ब्याडमिन्टन संघ २००८ सालमा स्थापना भएपछि नेपालमा संस्थागत रूपमा ब्याडमिन्टन खेलिन थालेको हो । तर, त्यो भन्दा धेरै अगाडिदेखि नेपालमा ब्याडमिन्टन खेलिने गरेको इतिहास भेटिन्छ ।

लामो इतिहासको सेरोफेरोमा पहिलो पटक यस खेलले ओलम्पिक खेल्ने सफलता पाउनु नेपालका लागि ठूलो उपलब्धि भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताउॅछन् । उनले कान्तिपुरसॅग भने, ‘लामो इतिहास बोकेको ब्याडमिन्टनले पहिलो पटक ओलम्पिक खेल्न पाउनु हाम्रा लागि ठूलो र ऐतिहासिक उपलब्धि हो । यसले समग्र ब्याडमिन्टनलाई उत्साह दिएको छ । यो सफलताको हकदार प्रिन्स (दाहाल) बनेका छन् । उसले ओलम्पिकमा पनि राम्रो गर्दै नेपाली ब्याडमिन्टनको उचाइ बढाउने विश्वास छ ।’ 

फ्रान्सको पेरिसमा जुलाई २६ देखि अगस्ट ११ सम्म हुने ओलम्पिकका लागि ब्याडमिन्टनमा विश्वका १ सय ७२ खेलाडी छानिएका छन् । त्यसमा ४९ देशका खेलाडी परेका छन् । त्यसैमध्ये एकमा परेका हुन् प्रिन्स । पेरिस ओलम्पिकमा उनले मेन्स सिंगलमा प्रतिस्पर्धा गर्नेछन् । 

उमेरले प्रिन्स २० वर्षमा दौड्दै छन् । उनले आफ्नो सानैदेखिको ओलम्पिक खेल्ने सपना साकार हुन लागेको बताए । प्रिन्सले खुसी साटे, ‘यो खबर सुनेदेखि एकदमै उत्साह र खुसी लागिरहेछ । सानैदेखि ओलम्पिक खेल्ने सपना थियो । त्यो पूरा पेरिसमा पूरा हुँदै छ ।’

उनले नेपाली ब्याडमिन्टनको उचाइ बढाउन पाएकोमा आफूलाई गौरव महसुस भएको सुनाए । त्यसका लागि आफूले धेरै मिहिनेत र परिश्रम गरेको उनको भनाइ थियो । 

दार्चुलामा जन्मिएका प्रिन्सले ६–७ वर्षको उमेरदेखि नै र्‍याकेट समाएका थिए । किरोशावस्थामा पुग्दा नपुग्दै उनले घरेलु प्रतियोगिताहरूमा सफलता हात पार्न थाले । १५ वर्षको उमेरमा त उनले अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता दुबई इन्टरनेसनल सिरिजमा स्वर्ण पदक नै जिते । त्यो सन् २०१९ को सेप्टेम्बरमा थियो । त्यहाॅ उनले भारतका वरुण कपुरलाई हराएपछि विश्व वरीयतामा ठूलो फड्को मारेका थिए । त्यसपछि उनले वरीयताका समावेश प्रतियोगिताहरूमा सफलता पाउॅदै जुनियर वरीयताको शीर्षस्थान ओगेटका थिए । 

घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा डबल्सतर्फ दुई कांस्य जितेका प्रिन्सले गत वर्ष चीनमा भएको हाङचाउ एसियाड पनि खेलेका थिए । एसियाडमा उनी राउन्ड अफ ३२ मा पराजित भएका थिए । 

पेरिस ओलम्पिक सहभागितालाई थप ऐतिहासिक बनाउने लक्ष्यमा छन् प्रिन्स । भन्छन्, ‘ओलम्पिक सहभागितालाई स्मरणयोग्य बनाउन सक्दो प्रयास गर्नेछु । थप मिहिनेत गर्नेछु ।’

त्यसका लागि उनी छिटै श्रीलंकामा प्रशिक्षणका लागि जाँदै छन् । यसअघि पनि उनले श्रीलंकामै इन्डोनेसियाका प्रशिक्षकबाट प्रशिक्षण लिइरहेका थिए । उनी ओलम्पिक छात्रवृत्तिप्राप्त खेलाडी हुन् । त्यसका लागि ओलम्पिकबाट उनलाई मासिक ७ सय ५० डलर प्राप्त हुन्छ ।

ओलम्पिक यात्रासम्म पुग्दै गर्दा प्रिन्सले आफ्नो परिवार, विशेषत मामा, ब्याडमिन्टन संघ, ओलम्पिक कमिटी र सबै गुरुहरूको योगदान उल्लेखनीय रहेको सुनाए । सबैलाई धन्यवाद भन्दै उनले भने, ‘उहाँहरूको साथ र सहयोगमा म यो स्थानसम्म आइपुगेको छु । मप्रतिको उहाॅहरूको अपेक्षालाई थप सफलतामा परिणत गर्नेछु ।’  

कसरी छानिए ओलम्पिकमा प्रिन्स ?

ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले सन् २०२३ को मे १ देखि २०२४ को अप्रिल २८ सम्म विभिन्न प्रतियोगितालाई ‘रोड टु पेरिस’ चक्रको रूपमा छनोट प्रतियोगिताको मान्यता दिएको थियो । ओलम्पिकमा पाँचै महादेशका खेलाडीको प्रतिनिधित्व रहोस् भनेर कोटा निर्धारण गर्दछ । 

महिला र पुरुष दुवैतर्फ गरी १ सय ७२ खेलाडीलाई पेरिस ओलम्पिकमा स्थान थियो । त्यसमध्ये महिला–पुरुष ८३–८३ गरी १६६ खेलाडी प्रतियोगितामार्फत सिधैं छानिन्थ्यो भने युनिभर्सालिटी (सार्वभौमिकता) कोटा चार र आयोजक राष्ट्रको कोटा दुई थियो । 

नेपालका प्रिन्स विश्व वरीयताको १७९ औं स्थानमा छन् । उनी युनिभर्सालिटी कोटामै परेका हुन् । त्यसका लागि त्रिपक्षीय आयोग (अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, वर्ल्ड ब्याडमिन्टन फेडेरेसन र आयोजक नेसनल ओलम्पिक कमिटी प्रतिनिधि सम्मिलित) ले युनिभर्सालिटी कोटामा पर्ने खेलाडी छान्दछ । त्यो कोटामा पर्न आईओसी छात्रवृत्तिप्राप्त हुनुपर्ने, र्‍याकिङ प्रतियोगिताहरूमा गरेको प्रदर्शन र देशको उच्च वरीयताको खेलाडी हुनुपर्ने मापदण्ड छ । 

नेपाल ओलम्पिक कमिटी, नेपाल ब्याडमिन्टन संघको धैरै प्रयासपछि प्रिन्सको ओलम्पिक यात्रा तय भएको संघका अध्यक्ष श्रेष्ठ बताउॅछन् । उनले भने, ‘हाम्रो प्रयास र उनको मिहिनेतले यति ठूलो उपलब्धि हासिल गरेका हौं । विगतमा पनि हामीले प्रयास नगरेका होइननौं । तर, ती सबै पूरा गर्न सकेका थिएनौं ।’

प्रिन्सले अघिल्लो महिनामात्र चीनमा भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा दुई खेल जितेका थिए । उनले बहराइनका एडनान इब्राहिमलाई २–१ र बंगलादेशका खानदोकार अब्दुसलाई २–० को सेटमा पराजित गरेका थिए । जुन प्रदर्शनले उनको ओलम्पिकको ढोका खोल्नमा ठूलो मद्दत गर्‍यो । 

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully