शरदमा खुलेको नीलो आकाश राम्रो कि त्यो नीलो क्यानभासमा कोरिएको बादलको बुट्टा ? पहिरोमा तानिएको बोटमा फुलीरहेको गुलाबको फूल राम्रो कि फूलका पत्रहरूमा अडिएका शीतका थोपा ? चरचरी चिरिएका हातको चित्र राम्रो कि तिनै हातले ओढाएको घरको छाना ? सात/आठवर्षे कलिलो उमेरमा खोपडी यस्तो सौन्दर्यचेत मनन गर्ने गरी हुर्किसकेकै थिएन । फूलबारीमा फुलेका गुलाबका फूलभन्दा बढी मलाई सुशीला मन पर्थी । उसो त मन पर्नुको परिभाषा पनि मैले बुझेको होइन, तर उसको सान्निध्य खूब रमाइलो लाग्थ्यो । कक्षामा हामी एउटै बेन्चमा बस्थ्यौं, सँगै खेल्थ्यौं ।
जसै यो आरु फुल्न थाल्छ मलाई आफ्नै जोवन फर्केर आएजस्तो लाग्छ । तर, सधैं फुलिराख्दैन । फुलेका पनि सधैं अडिराख्दैन । कोही चिचिला भएर हुर्कन्छन्, कोही ईः यसरी भुँई झर्छन् । हाँगा पनि सधैं कहाँ यस्तै रहँदो हो । सुक्ला एकदिन र भुइँ झर्ला ।’ हजुरआमा (अजी) का कुरा नयाँ थिएनन्, तर अभिव्यक्ति बडो मार्मिक !