सोलोभे ! मलाई एक मुठी माटो देऊ

युद्धका कारण हजारौं निर्दोष बालबालिका र परिवारहरूको घर, भविष्य र बाल्यकाल चकनाचुर भएको छ, उनीहरू दैनिक रूपमा असुरक्षा र त्रासदी भोगिरहेका छन्।

चैत्र ७, २०८२

शकुन्तला जोशी

Solovey! Give me a handful of soil.

काठमाडौँ — प्रिय सोलोभे !

के तिमी मलाई 

एक मुठी माटो दिन सक्छौ ?

मलाई तिम्रो जस्तै तेज आँखाहरु मन पर्थे

मलाई तिम्रो जस्तै हलुवा पखेटाहरु मन पर्थे

मलाई तिम्रो जस्तै चुच्चो र मसिना पाउहरु मन पर्थे

साँच्चै भनुँ त, मलाई तिमी जस्तै उड्न 

खुला आकाश मन पर्थ्यो

तर म मान्छे हुँ, 

मसँग तिम्रो जस्तो हलुका पाउ छैन

मसँग तिम्रो जस्तो हलुवा जिउ छैन 

प्रिय सोलोभे !

तिमी जस्तो हलुका नभएर के भो र,

तिमीले झैं हाम्रा लागि भोजनको जोहो गर्न

बिहान सखारै तिमीसँगै ब्युँझन्थे हाम्रा बा

तिमीले पहिलोपल्ट पखेटा फड्फडाउँदा 

हाम्रो बिहानी भोजन सिर्निकी बनाइसक्थिन् हाम्री आमा 

तिम्रा बचेराहरुसँगै ब्युँझन्थ्यौं हामी पनि 

र दौडन्थ्यौं खारकिभ नदी किनारा छुन

साँच्चै भनुँ त, बिना पखेटै 

जिन्दगीको रङहरु टिप्न तिमीसँगै दौडन्थें म बरोबर

तर समयले कोल्टे फेर्‍यो,

एक झिसमिसे तिमी ब्युँझनु अघि 

कसले हल्लायो हाम्रो जमिन ?

कसले थर्कायो हाम्रो आकाश ?

हामीहरु एकसाथ काँपिरहेका थियौं

एकसाथ चिच्याइरहेका थियौं

तिमी र तिम्रा बचेराहरु

हामी र हाम्रा बा–आमाहरु

एक साथ भागिरहेका थियौं 

कसले छोडिरहेथ्यो तिमीभन्दा तेज उड्ने मिसाइल हाम्रो बस्तीतिर ?

कसले फालिरहेथ्यो बम र गोलाबारूद हाम्रो छानातिर ?

हेर्दाहेर्दै जल्यो हाम्रो फूलबारी

देख्दादेख्दै ढल्यो हाम्रो घरबारी

हातमा अधुरो प्रेमपत्र च्यापेर

सोध्नै नपाई– ढलिन् मेरी दिदी मेरै सामु

लड्दा लड्दै भोकमरीसँग

थकित मेरी आमा ढलिन् मेरी आमा मेरै सामु

भाग्दा भाग्दै सैन्य ट्यांकहरुसँग

पराजित मेरा बा बुझ्नै नपाई– ढले मेरै सामु

कामना गरिरहें– बमको शरयामाथि मात्र निदाइरहेकी होऊन् आमा

कामना गरिरहें– रकेट लञ्चरका चाङमाथि

मात्र आरामले झकाइरहेका होऊन् बा

तिमीसँगै उड्न सिकिरहेकी सेतो गुलाफ जस्तै थिई नूर

पुतलीसँग खेल्दाखेल्दै 

आफ्नै रगतले डुब्दै गरेको घाम हुँदै गई मेरी बहिनी

मेरा साथीहरु स्कुल ब्यागसँगै ढलिरहेका थिए 

धूँवा उठिरहेको थियो उनीहरुको बीचबाट

सायद अक्षरहरुसँगै जलिरहेका थिए

हामीले मात्र उभिन एक हात जमिन मागेका हौं

हामीले मात्र श्वास फेर्न एक खुल्ला आकाश चाहेका हौं

तर किन खसाल्यौ बम हाम्रो टाउकोमाथि ? 

ए संयुक्त राष्ट्रसंघ ! के तिम्रा झन्डाको रङ निलो छ अझै ?

कि हाम्रो रगतले रातो हुँदै छ ?

हे धरती ! म तिम्रो काखमा नफुल्दै खसें

प्रिय सोलोभे ! के तिमी मलाई 

तिम्रो चुच्चोले च्यापेर एक मुठी माटो दिन सक्छौ ?

सोलोभे– युक्रेनको राष्ट्रिय चरा, नाइटिङ्गेल

शकुन्तला

Link copied successfully