सुप्रसिद्ध कवि पाब्लो नेरुदा भन्थे, ‘कवि आफ्नो समयको कथावाचक हो । उसले आफ्नो समयको प्रेम, घृणा, राजनीतिदेखि समाजका सबै अंग र आयामबारे लेख्छ ।’ कविता साहित्यको यस्तो स्वरुप हो, जसले भाषाको सौन्दर्यशास्त्र र लयबद्धतालाई अद्भूत रुपले संयोजन गरेको हुन्छ । भनिन्छ– मानिसले सिर्जेको सबैभन्दा प्राञ्जल, ओजपूर्ण र सुसंस्कृत भाषा नै कविता हो । त्यो कविता नै हो, जसले बृहत् संस्कृति निर्माण गर्छ, समाज सिर्जनशील बनाउँछ । ‘विश्व कविता दिवस’ (२१ मार्च) को साइतमा ‘कोसेली’ को यो अंकमा हामीले विश्वका कवि र कवितामाथि विमर्श गर्ने प्रयास गरेका छौं ।












