मूर्ख बादशाहहरु, पटमूर्ख राजाहरु , स्टुपिड अमेरिकन प्रेसिडेन्टहरु
मूर्ख बादशाहहरु, पटमूर्ख राजाहरु
स्टुपिड अमेरिकन प्रेसिडेन्टहरु
जनी गर, अब म काढ्न सक्दिनँ फिँज
बोक्न सक्दिनँ भरोसाको अभिशाप
म केवल तिमीहरुका हातका रगत पखाल्न सक्छु
हत्या पखाल्न सक्दिनँ, क्रूरता पखाल्न सक्दिनँ
अपराध, बदनियत, घृणा, दुष्टता, पाप, लालसा, जुलुम
अहा... केही पनि पखाल्न सक्दिनँ
जबर्जस्ती घोटेर मलाई
तिमीहरु जो ठान्दछौ पखाल्न सकिन्छ इतिहास
तर, म दागी एक क्षण पनि पखाल्न सक्दिनँ
कत्रो उत्साहले, कति उदात्त अभिप्राय लिएर
जन्मेको थिएँ म, कि—
बनाउनेछु मानव जगत्लाई सुकिलो, सुग्घरी र एवम् रीतले सुन्दर
हिजोको मेसोपोटामियालीदेखि आजको नेपालीसम्मलाई
दिनेछु मैलोबाट मुक्ति
निष्ठापूर्वक पखालिरहें वस्त्र र देहको मैलो
र, यसरी मान्छेहरुलाई विश्वास हुन थाल्यो
साबुनले जे पनि धुन सक्छ
शनैः शनैः उनीहरु
मनभित्र एक पहाड मैलो पालेर बस्न थाले
पखालूँ भन्छु कुपोषित नानीहरुका
गालामा जमेका आँसुका नागबेली निस्सा
तर, चौरासी व्यञ्जनको भोजनपश्चात् डकारमग्न
कुनै थसुल्लो शेखको हातको जुठो पखालिरहेको हुन्छु
धोऊँ भन्छु उनान्सय प्रतिशतका
अन्धकार कटकटिएका आङहरु
तर, एक प्रतिशतका देदीप्यमान अनुहारहरु
धोइरहेको हुन्छु
मेटाऊँ भन्छु दुःखग्रस्तका नीला दागहरु
तर, दुःखदायीका अस्त्रमा थेग्रिएका थोरबहुत सबुतहरु
मेटाइरहेको हुन्छु
म थाकिसकें
धोकेबाजहरुको धोका पखाल्न घोटिँदा–घोटिँदा
कसुरदारहरुको कसुर पखाल्न रगडिँदा–रगडिँदा
कुन तेल, कुन क्षार मिसाएर
आविष्कार गर्नु एउटा दुस्साहस
र, नजर मिलाउनु
त्यस अगाधमना जनावरसँग
जसले मान्छेहरुको मैलो मेट्न
आफ्नो बोसो उत्सर्ग गरेको छ
कुन मुटुले भन्नु
खेर गयो तिम्रो सहादत ।
