कविता यात्रा: श्लोकदेखि रिल्ससम्म

‘पोलिटिकल–डिप्रेसन’ मा जीवित नेपालका कविहरूले बाटो भुलेका त छैनन्, तर अल्झिएका छन्– रिल्समा, ट्रेन्डिङमा, भाइरलमा, लाइकमा, भ्युजमा, सेयरमा, स्क्रोलमा, टिकटकमा । कविहरूको दुःख के छ भने तिनका कविताका भाव पनि सञ्जालको चमकधमकमा ‘स्क्रोल’ भइरहेको छ ।

चैत्र ७, २०८२

दीपक सापकोटा

A Poetry Journey: From Verses to Reels

What you should know

काठमाडौँ — सम्भवतः नेपाली समाजले कविताको सामर्थ्य र शक्ति जनआन्दोलन–२०६२/६३ ताका आत्मसात् गर्‍यो । हातमा ‘बिसे नगर्चीको बयान’ को प्रति लिएर आन्दोलनकारीहरू राजतन्त्र ढाल्न उद्यत थिए । कविहरू गोली खाने जोखिमसहित सडकमा उत्रिएको पनि यही आन्दोलन–याममा हो । यसो भनूँ, कविहरूले सत्तासँग निर्भयतापूर्वक आँखा जुधाएको त्यो ऐतिहासिक क्षण थियो । एक प्रकारले त्यो कविताको शक्ति स्थापित भएको बिरलाकोटी क्षण थियो ।

विश्वविख्यात आख्यानकार गाब्रिएल गार्सिया मार्खेजले ‘कुनै पनि भाषामा बीसौं शताब्दीका महानतम् कवि’ मानेका पाब्लो नेरुदा भन्थे, ‘कवि आफ्नो समयको कथावाचक हो । उसले आफ्नो समयको प्रेम, घृणा, राजनीतिदेखि लिएर समाजका सबै अंग र आयामबारे लेख्छ ।’

उनले यसो भन्नु सयौं वर्षअघि नै कुनै ‘जुम्ली कवि’ ले आफ्नो समयको कथा हालिसकेका थिए, ‘भातु खाय शुभान शाही ताउली हाल्य कुम्ला/जिती आए गोख्य जनि मार जुम्ला (बाबुराम आचार्य, पुराना कवि र कविता) ।’ एउटै निष्कर्षमा पुग्न गाह्रो छैन– कविले आफ्नो समय लेख्छ, आफ्नो समयको जटिलता लेख्छ, कटुता र मिठास लेख्छ ।

मेरो ‘सतही’ बुझाइमा नेपाली पाठकले सबैभन्दा बढी पढेका तीन विदेशी कविमा पर्छन्– पन्जाबी कवि अवतारसिंह पास, चिलियन कवि पाब्दो नेरुदा र जर्मन कवि बर्तोल्त ब्रेख्त । उसो त नेपालीको पठन र्‍याडरमा टर्केली नाजिम हिक्मेत, फिलिस्तिनी मोहम्मद दार्विशदेखि हिन्दी केदारनाथ सिंह पनि पर्छन् । यी सारा कविहरूको एउटा साझा विशेषता के हो भने यी सबैले सत्तासँग पौंठेजोरी खेलिरहे, सामान्य मान्छेका राग–अनुराग, जीवन निर्वाहका क्रम–उपक्रम पक्रेर कलमको निब घोटिरहे ।

अहिलेसम्म अस्तित्व जोगिएको सबैभन्दा पुरानो महाकाव्य २१०० इसापूर्वमा मेसोपोटामियामा लेखिएको ‘एपिक अफ गिलगमेश’ लाई मानिन्छ । त्यसपछि प्राचीन ग्रिक कवि होमर र रोमन कवि भर्जिलले पश्चिमा सभ्यताको साहित्यिक जग हाले । ‘इलियाड’ र ‘ओडिसी’ बाट कथानकसहितको काव्यलेखन परम्परा सुरु भयो । प्राचीन ग्रिक कविहरूलाई पाश्चात्य जगत्को बौद्धिक परम्पराको थिति बसाल्ने अवदानकर्ताका रूपमा लिइन्छ ।

A Poetry Journey: From Verses to Reelsजब–जब कविताको सन्दर्भ आउँछ, सेक्सपियर भूतो न भविष्यति धरोहरका रूपमा प्रकट हुन्छन् । उनका सारा नाटक काव्यविपुलताले भरिपूर्ण छन् । भन्न सकिन्छ, चार सय वर्षयता संसारको सदाबहार ‘सेलेब्रिटी पोएट’ कोही छ भने त्यो सेक्सपियर नै हो ।

वर्ड्स्वर्थ, कलरिज र सेलीजस्ता रोमान्टिक कविले वीररसले भरिपूर्ण महाकाव्यबाट व्यक्तिगत भावना र प्रकृतिको बखानतर्फ कवितालाई मोडे । डिकिन्सन, ह्विट्म्यानजस्ता कविले कविताको संरचनामै धावा बोले र आजको आधुनिक छन्दविहीन कवितालेखन परम्परा बसाए । त्यसपछि कविता छन्दको बन्धनबाट मुक्त भयो । यससँगै सांस्कृतिक विविधता कवितामा भित्रियो ।

उता, ल्याङस्टन ह्युज अनि अलि पछिकी माया एन्जेलुले कवितालाई ‘एस्थेटिक्स’ को बोझबाट मुक्त गरे । उनीहरूले एक्टिभिजम, राजनीति र पहिचान मिसाएर कवितालाई निमुखाहरूको आवाज बनाए ।

आजको डिजिटल युगमा कविता कागजभन्दा बढी सामाजिक सञ्जालमा लेखिन थालेको छ । ‘स्ल्याम पोएट्री’ जस्ता नयाँ ढाँचा जन्मेका छन् । कविता कलाका कारण मात्र होइन– तिनले भाषा, संस्कृति र पहिचानलाई आकार दिने हुनाले ज्यादा महत्त्वपूर्ण छ । हो, एन्हेडोनाको स्तुतिदेखि रूपी कौरको इन्स्टाग्रामका पंक्तिसम्ममा कविताको आकारप्रकार र रूपरङ बदलिएको छ । तर, मानवीय आत्मालाई अभिव्यक्त गर्ने यसको मुख्य काम हिजो पनि उही थियो, आज पनि उही छ ।

मान्छेको एक्लोपनको कथा सुनाउने एक असरदार र भव्यतम् फिल्म छ– ‘भुठान’ । फिल्म भन्छ– जरा बिर्सिएको मान्छे कहिल्यै शान्त हुँदैन ।

डिजिटल युगमा कविता कागजभन्दा बढी सामाजिक सञ्जालमा लेखिन थालेको छ । ‘स्ल्याम पोएट्री’, एन्हेडोनाको स्तुतिदेखि रूपी कौरको इन्स्टाग्रामका पंक्तिसम्ममा कविताको आकारप्रकार र रूपरङ बदलिएको छ । तर, कविताको मुख्य काम हिजो पनि उही थियो, आज पनि उही छ– मानवीय आत्मा अभिव्यक्त गर्नु ।‘पोलिटिकल–डिप्रेसन’ मा जीवित नेपालका कविहरू पनि शान्त छैनन् । ‘पोलिटिक्स’ र ‘पावर’ बीच च्यापिएर ती ‘स्यान्डविच’ जीवन बाँचिरहेका छन् । ती सडक किनारमा उभिएका छिनछिनमै दृश्य फेरिइरहने बिजुलीका होर्डिङ बोर्डजस्तै अशान्त छन् । तिनले बाटो भुलेका त छैनन् तर अल्झिएका छन्– ३० सेकेन्डको रिल्सको गतिमा, ट्रेन्डिङमा, भाइरलमा, लाइकमा, भ्युजमा, सेयरमा, स्क्रोलमा, टिकटकमा... । कविहरूको दुःख के छ भने तिनका कविताका भाव पनि सञ्जालको चमकधमकमा ‘स्क्रोल’ हुँदै छ । 

नेपाली साहित्यको आकाशमा कविता प्रशस्तै र प्रशस्तै लेखिएको छ तर कविताको रुखमा हरिया पात छन् कि त्यसबाट सबै पात झरिगएका छन् ? कविता हिँडेको यो मार्गमा नीरस, अँध्यारो, अभाव र सुनसान छ कि त्यहाँ उज्यालै उज्यालो छ ?

A Poetry Journey: From Verses to Reelsकवि र कवितामाथि नेपाली समाजमा गम्भीर मजाक गरेर अनेकौं जोक बनाइएका छन्, कथा लेखिएका छन्, टेलिसिरियल निर्माण गरिएका छन् । कुनै बेला कविता किताब छापेर आफैं निःशुल्क बाँड्दै हिँड्ने कविहरू अहिले राम्रा–राम्रा प्रकाशन गृहबाट गतिला किताब छपाएर रोयल्टी खान्छन्, सानदार प्रेक्षालयका कविता कन्सर्टमा कविता वाचन गरिरहेका हुन्छन् । तर, कविलाई हेर्ने सामाजिक दृष्टि भने उस्तै छ । कविमाथिको मजाकको हद कहाँसम्म पुग्छ भने, जस्तो एउटा प्रचलित चुट्किलामा भनिन्छ– हेलिकोप्टरबाट ढुंगा बर्साउँदा घाइते हुने आधा त कवि नै हुन्छन् र बाटोमा तीन जनासँग ठोक्किए दुई कवि पर्छन् ।

मजाक छ, तर कवि कविता लेखिरहेकै छ, दैनिक नयाँ कवि जन्मिरहेकै छन् । कविता वाचन, पुरस्कार वितरणदेखि टिकट र टिकटकसम्म कविता वाचन अनवरत छ ।

A Poetry Journey: From Verses to Reelsअसलमा काव्यको संसार कस्तो हुन्छ ? र, कोचाहिँ वास्तविक कवि हुन् ? आफ्ना लेख/निबन्धमा कविताका पंक्ति उद्धरण गरिरहने, कविता–चर्चा गरिरहने, पुराना कविता पढिरहने प्रकृतिप्रेमी लेखक एवं वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठको बुझाइमा आफ्नो जिन्दगीको अर्बिट (ग्रहपथ) भन्दा बाहिर जाने द्वार हो– कविता । ‘वास्तविक कविताको टाइम एन्ड स्पेस हुन्न । माहुरीले मह भेट्टाउन फूलको भित्री पत्रमा पुग्नुपर्छ, कविमा चाहिँ जीवनको गहिराइसम्म पुग्ने क्षमता हुनुपर्छ । कवि पहिले आफ्नो अर्बिटबाट बाहिर गएर अरूको अर्बिटमा प्रवेश गर्नुपर्छ । ठोस परिस्थितिभन्दा टाढा गएर जीवनलाई हेर्ने कोसिस गर्नुपर्छ । पृथ्वीलाई गोलो देख्न अन्तरिक्षमा पुग्नुपर्छ । त्यस्तै अरूको जीवन देख्न कवि पनि अरूको अर्बिटमा प्रवेश गर्नु जरुरी हुन्छ । आफ्नो जीवनको रेखाभन्दा फरक अरूको रेखामा पुग्नुपर्छ,’ तीर्थबहादुर भन्छन् ।

थाहा छैन, कविहरूले तीर्थबहादुर–औंल्याइएको यो भारीभरकम दायित्व निर्वहन गर्न सक्छन् कि सक्दैनन् ! अनि अर्को कुरा, चार्ल्स बुकाउस्कीजस्ता आफ्नै अर्बिटमा निमग्न कवि बाँचिरहेका भए उनले तीर्थबहादुरसँग कस्तो काव्य विमर्श गर्दा हुन् ? किनभने, आफ्नै अपानवायुमाथि उनले कविता लेखेका छन्, जसमा कुनै उदात्तता फेला पर्दैन ।

कविताप्रेमी–शिक्षाविद् केदारभक्त माथेमालाई कविताका नौनी हरफहरू कण्ठस्थ छ । प्राण भएका देशी/विदेशी कविताहरूले उनको हृदयलाई झंकृत तुल्याउँछ । जापानका लागि राजदूत छँदा उनलाई भेट्न क्राउन प्रिन्स दीपेन्द्र पुगेका थिए । माथेमाको हातमा कविताको किताब थियो । क्राउन प्रिन्सले मुसुक्क हाँस्दै ‘म पनि लेख्छु नि’ भनेको सुनाउँछन् माथेमा । ‘तर अहिले लेख्न छाडेको छु’ पनि भनेको सम्झिन्छन् उनी ।

वडर््स वर्थले भनेका थिए, ‘कविता एउटा अति शक्तिशाली ओभरफ्लो हो अनुभूतिको ।’ त्यसैलाई सम्झिएर माथेमाले क्राउन प्रिन्सलाई ‘यु क्यान रिकलेक्ट ब्याक अगेन’ भनेका थिए । माथेमा भन्छन्, ‘कविता फिलिङ आएकै बखत लेख्नुपर्छ भन्ने छैन, फिलिङ कलेक्ट गरिराखेर जहिले लेखे पनि हुन्छ । सायद दीपेन्द्र एकदमै गहिरोसँग केही भन्न चाहन्थे र उनले कविता लेखे । शक्ति, ऐश्वर्य र चाहनाले मात्रै मनको कुरा भनिदिँदैन ।’

सायद कवि हो– एक ध्यानमग्न ऋषि, जसले शब्दको सूक्ष्मतामा संसारको गहिराइ टेक्छ । कवितालेखन निःशब्द ध्यान हो, जसको काव्यिक सत्यले हृदय तरंगीत बनाउँछ । भनिन्छ– कविताको एक हरफले सम्पूर्ण जीवनको बाटो बदल्न सक्छ, एक पंक्तिले आन्तरिक शक्तिको अनन्त स्रोत खोलिदिन सक्छ । के पनि भनिन्छ भने एउटा असल कविताले आफैंलाई पुनर्जन्म दिन्छ ।

A Poetry Journey: From Verses to Reelsकुनै पनि घटना वा परिस्थितिको महत्त्व के होला ? वा त्यसको असर कति लामो समयसम्म रहिरहला ? आम मानिसबारे फरक परिणाम आउलान् तर एक कविलाई त्यसले अक्सर लामो समयसम्म गहिरो असर पारिरहेको हुन सक्छ । जसले उसको चिन्तनमा पनि निश्चित रूपमा प्रभाव पारेको हुन्छ । र, उसले निकास खोज्न थाल्छ– शब्दको सहारामा । पहिलेको कुनै अनुभवका कारण कहिले तुरुन्तै केही आउँछ, कहिले आउन मान्दैन । अनि चिन्तनको बादल कवि–मनमा छाइरहन्छ । अनि विचार र भावको ‘फर्मेन्टेसन’ पछि आवश्यक समय लगाएर मात्रै जन्मिन्छ कविता– स्मृतिको जून र विचारको किरण मिसिएर, जीवन अनुभवको कविता ।

कवितालाई साहित्यको अमृत मान्छन्– कवि विप्लव प्रतीक, ‘पोएट्री इज दि नेक्टर अफ लिटरेचर ।’ जब साहित्यको अमृत हो कविता, त्यो कति गम्भीरतापूर्वक र संवेदनशील भएर लेखिएको हुनुपर्छ आफैं अन्दाज लगाउने विषय हो । तर, रातारात धनी हुन मनलाग्ने नेपाली समाजमा साहित्यकार पनि रातारातै हुन खोज्ने मोह अधिकांशमा छ । साहित्यकार हुन गरिनुपर्ने अभ्यास र साधना, धारण गर्नुपर्ने संवेदनशीलता र गम्भीरता भने जताततै बेपत्ताको अवस्थामा छ । बजारमा देखिएझैं कविताको फर्ममा लेखिएका अधिकांश ‘कविताहरू’ ले नेपालमा मात्रै कविताको दर्जा पाउँछन् ।

अहिलेसम्म मानिसले सिर्जना गरेको सबैभन्दा प्राञ्जल, ओजपूर्ण र सुसंस्कृत भाषा कविता नै हो भन्छन् कवि– रमेश क्षितिज । ‘सौन्दर्यलाई उचाइको हदसम्म पुर्‍याएर प्रयोग गरिन्छ कवितामा । कविताले बृहत् संस्कृति र सभ्यताको निर्माण गर्छ । समाजलाई सिर्जनशील र गतिशील बनाउँछ । असल बाटोमा वा न्यायको बाटोमा हिँड्न अभिप्रेरित गर्छ,’ उनी भन्छन् ।

लामा वर्षहरूदेखि कवितामा साधनारत कवि प्रगति राईको विचारमा कविता सिर्फ बिम्ब हो– प्रकृतिको बिम्ब, संवेदनाको बिम्ब । ‘कुन मान्छेले त्यो बिम्बलाई आकर्षक ढंगमा उतार्न सक्छ, ऊ नै कवि हो, त्यो परिचित साइनो नै कविता हो,’ प्रगति भन्छिन्, ‘अहिलेका कविहरू सोचेर, मान्छेलाई टार्गेट गरेर, बजारलाई हेरेर लेख्छन् । त्यसैले मेकअप गरेकी सुन्दरीजस्ता चम्किला हुन्छन् आजकलका कविता । एक पाठकको माग छ– बिहान उठ्नेबित्तिकैको मान्छेको रूप आउनुपर्‍यो कवितामा, धेर शृंगारपटार हुनुभएन ।’

A Poetry Journey: From Verses to Reelsसंसारभरका अर्थविद्, राजनीतिज्ञ, वैज्ञानिक वा त्यस्ता व्यक्तित्व (जो स्वयं कवि होइनन्), आफ्ना विचार सम्प्रेषण गर्न वा अभिव्यक्तिलाई पूरा गर्न बारबार कविताका सान्दर्भिक हरफहरूको सहारा लिन्छन् । यसको पनि संकेत यही हो कि मानिसलाई जिन्दगीको सफर गर्दा कहिले आनन्दका निम्ति, कहिले मार्गदर्शनका निम्ति र कहिले चिन्तनका निम्ति कविता सहायक हुन्छ । तर, धेरै मानिसले सोचेजस्तै एउटा कविले छिनछिनमै फुर्रफुर्र कविता किन फुराउन सक्दैन होला ?

‘पोलिटिकल–डिप्रेसन’ मा जीवित नेपालका कविहरूले बाटो भुलेका त छैनन्, तर अल्झिएका छन्– रिल्समा, ट्रेन्डिङमा, भाइरलमा, लाइकमा, भ्युजमा, सेयरमा, स्क्रोलमा, टिकटकमा । कविहरूको दुःख के छ भने तिनका कविताका भाव पनि सञ्जालको चमकधमकमा ‘स्क्रोल’ भइरहेको छ ।आठौं शताब्दीका आचार्य वामनले काव्यको आत्मा रीति (शैली) लाई मानेका छन् । कविको हृदयको प्रतिविम्ब पनि हो कविता । त्यसैले आफूमा भएको लोभ, मोह, ईर्ष्या र अहंकारबाट मुक्त हुन सक्नुपर्छ भन्छन् प्रतीक । र, कविता साहित्यको यस्तो स्वरूप हो, जसले भाषाको सौन्दर्यशास्त्र र लयबद्धतालाई अद्भुत रूपले संयोजन गरेको हुन्छ । कवितामा विश्वका विभिन्न दर्शनसँग मिल्दो र त्योभन्दा उपल्लो सोच हुन्छ भन्ने तर्क पनि छ । त्यस्तो गम्भीर विषयमा अभ्यासचाहिँ कसरी भइरहेको छ त ? 

शब्दको थुप्रो मात्रै कविता हुन सक्दैन, त्यसमा प्राण हुन भाव चाहिन्छ । कविताको फर्ममा शब्द थुपारेर लेखिएका अधिकांश समकालीन नेपाली कवितामा प्राण वा आत्मा छ त ? अधिकांश समीक्षकलाई सवाल नलागेको खुलदुलीको जवाफ काव्य–अभ्यासमा रुचि राख्ने समीक्षक राजकुमार बानियाँ यसरी दिन्छन्, ‘कविताबारे मेरो बुझाइमा थुप्रै सीमा छन् । हिजोआजका कवितामा छाया र प्रतिछाया, बक्ररेखा, हृदयस्पर्शी शब्दार्थ वा इन बिट्विन द लाइन्स नदेख्नु मेरो आफ्नै सीमा हो ।’

यौटा युगको गाथा बुझ्न यौटा मात्र कविको कविताले पुग्दैन र असंख्य कविहरू चाहिन्छन् भन्छन् प्रतीक, ‘तर, गम्भीरता चाहिन्छ कविमा । साधना चाहिन्छ । लेखेर चर्चामा आउन चाहने चर्चित होलान् तर उनीहरूको कवितामा प्राण हराइसकेका बारे उनीहरू आफैं अनभिज्ञ हुन्छन् । चर्चित पनि यस्तो कि तिनको अवसानपछि जतिन्जेल उनीहरू आफन्तको स्मृतिमा रहन्छन्, तिनका कविता त्यसअघि नै विस्मृत भइसकेको हुनेछ ।’

सम्पन्नले वा शासकले कविता लेख्नु हुँदैन भनेर वकालत गर्ने पनि नभएका होइनन् । तर, अरूको हृदयलाई सुमसुम्याउन सक्ने सीप भएका जसले लेखे पनि हुन्छ । जोसँग भाव छ, शब्दको सम्पत्ति छ, लेखे हुन्छ । सबै पहिले नै भनिसकिएका छन् भन्ने यथार्थलाई बुझेर जोसँग नौलो र आत्मास्पर्शी तरिकाले भन्न सक्ने शिल्प छ, लेखे हुन्छ । तर, अधिकांश कविको दर्जा पाएका र कविको पदवी धारण गर्न लालायितहरूमा भने आवश्यकताभन्दा ज्यादा आत्मविश्वास देखिन्छ समकालीन समयमा ।

त्यस्ता ‘कवि–अवतार’ बारे कवि श्रवण मुकारुङ टिप्पणी गर्छन्, ‘यो घटनाले के प्रमाणित गरिरहेछ भने कविताले आफूप्रतिको विश्वास गुमाएको छैन । कविको मूल्य सुरक्षित छ । समाजका नेता, व्यापारी आदिले जस्तो कविले विश्वास नगुमाएकैले कवि बन्नु असल कुरा हो भनेर कविहरूको अनुसरण गरिएको हुन सक्छ ।’

A Poetry Journey: From Verses to Reelsनेता–व्यवसायीहरूको काव्यमोहलाई उनीहरूले पनि कलाको मूल्य बुझेका रूपमा लिन्छन् कवि मनु मञ्जिल । ‘इतिहासका राजा–महाराजाहरूले ठूल्ठूला कवि–संगीतकारको मद्दत लिएर पनि आफ्नो रचनाको परिष्कार गरेको र प्रचार गराएको पाइन्छ,’ मञ्जिल भन्छन्, ‘तिनीहरूले कलात्मक अभिव्यक्तिको शक्ति बुझेको हुनुपर्छ । कला प्रतिष्ठाको श्रीपेच पनि हो । मान र ऐश्वर्यले सम्पन्न व्यक्तिलाई कलात्मक वरदानको कमी महसुस हुँदो हो । कलाको साथमा सायद ऊ आफ्नो पूर्णताको अनुभव गर्न चाहन्छ । सान, शक्ति र धन–दौलतको प्राप्तिपछि कविता लेख्ने भनेको चाहिँ सेलेब्रिटी वर्सिप सिन्ड्रोमको यौटा अंश हो ।’

मान्छेले जे बन्न खोजे पनि त्यो बन्न सहज छैन । कवि चन्द्रवीर तुम्बापो भन्छन्, ‘गोपीकृष्ण कहोको रटानपछि लोक सेवा पास गरेर अफिसरमा नाम निकाल्न सक्नु होइन कवि बन्नु । नेताको चाकडीपछि तुरुन्तै सांसद हुनु वा मन्त्री पड्काउनुजस्तो होइन कवि बन्नु । यौवनकालमा अरूतिरै ध्यान दिने, एकाएक बुढेसकालमा कविताको फर्ममा केही लेख्ने र कविमा आफ्नो नाम दर्ज गर्ने– यो मानिसभित्र लुकेको कुरूप लोभ हो ।’ तर, बानियाँको विचार बेग्लै छ । उनका अनुसार, काव्यिक भावना जागेर आउनु कुनै खोटको विषय पनि होइन । उनी भन्छन्, ‘इकोनोमिक्सका कारण इमोसन्स दबाएर बसेकाहरूले जीवनको एक छेउमा उभिएर स्वैच्छिक तवरले कविता लेख्नुलाई किन अन्यथा मान्नु ?’ बानियाँको यो उदार मत लोकतन्त्रसम्मत पनि छ ।

कविताले के गर्छ ? किन नेपालमा बाहेक संसारका अधिकांश मुलुकमा सानैदेखि बालबालिकाहरूलाई काव्यचेत सिकाइन्छ ? के नैतिक शिक्षाजस्तै हो कविता भनेको ? जसले मानिसलाई नैतिकवान जीवन बाँच्न सघाउँछ ? अहिलेको अशान्त संसारबीच कविता कहाँनेर उभिएको होला ? मुकारुङको विचारमा ‘कविता भनेको एउटा विशिष्ट थेरापी हो’ । भन्छन्, ‘संवेदना व्यक्त गर्ने उपयुक्त माध्यममध्ये छोटो र सजिलो माध्यम कविता, गीत, संगीत नै हो ।’

फेसबुकको सञ्जालमा नेपाली कविता वाचन र साक्षात्कारको लहर उर्लिएको छ । भर्खरैको चुनावी याममा पनि फेसबुकमा खुब कविता लेखिए– आफ्ना प्रिय नेता र दलको समर्थन अनि प्रचारमा । यसबाट समकालीन नेपाली साहित्य र साहित्यकारको साहित्यचेतको अभिलेखीकरण भएको छ, जुन प्रशंसनीय छ । तर, सवाल पनि उठेकै छ– कविताको नाउँमा रसहीन काव्यले पाठकमा काव्यप्रति नै वितृष्णा त जगाउँदैन ? के सेलेब्रिटी कविहरू सेल्फीब्रिटीको सिकार भएका छन् ?

असलमा भौतिक दौडमा सामेल हुँदैन कवि । भ्रष्ट आचारसँग दूर सुदूरसम्म उसको साइनो हुँदैन । ईर्ष्या, लोभ, अहंकारजस्ता मानसिक विकारलाई पखाल्ने अभ्यास गर्नुपर्छ कविले । तब पो उसका कवितामा जीवनदर्शन भेटिन्छ अनि गुराँस, इन्द्रेणी र जूनको पर्याय बन्छ कवि । कवि कहलाइनका लागि कोही लेख्छ भने त्यो कवि हुँदैन । जंगलमा फुलेको फूलले ‘म फूल हुँ’ भन्दै चिच्याएको त मैले आजसम्म सुनेको छैन– विप्लव प्रतीकको धारणा हो यो । यदि यही धारणासँग सहमत हुने हो भने समकालीन साहित्य कुन मार्गतर्फ बढ्दै छ ?

कोभिड कालमा उहिले नै बितिगएको लकडाउनका दिनतिर फर्किहेरौं एक पटक । लकडाउनको त्यो सिजन सुरु भएदेखि नै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती कविता–वाचनले त्यस समयको मनसुनलाई माथ गरेको थियो । त्यो कविता–लहरले कवि चन्द्रवीर तुम्बापोको ‘ब्लड प्रेसर’ पनि बढाइदिएको थियो । लकडाउनको एक साँझ उनले भनेका थिए, ‘कहिल्यै कविता नलेख्नेले पनि कविता लेख्दै पोस्ट गरिरा’छन् । यसरी रातारात कवि भइन्छ ? एक–दुई थान कविता राष्ट्रिय दैनिक पत्रपत्रिकामा छापिँदैमा, संग्रह ल्याउँदैमा वा वाचन गर्दैमा कवि भइन्छ ? सामाजिक सञ्जाल हेर्दा लाग्छ, सबैभन्दा सजिलो काम कवि हुनु हो । यो पछिल्लो सामाजिक मनोविज्ञानले खेलेको भूमिका हो । प्रकारान्तरले यो हानिकारक छ ।’

महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका थिए, ‘स्वस्थ कल्पना गर्ने मानिस कवि हुन्छ ।’ तर, दृश्य यस्तो पनि देखिन्छ– शक्तिमा बसेका, सबै क्षेत्रमा पहुँच पुग्ने प्रधानमन्त्री, सांसद, मन्त्री र सचिव, व्यवसायीदेखि सामान्य साक्षर जनतासम्म सबै कवि बन्ने दौडमा छन् । सबैलाई कवि हुन मन लागेको किन ? अनि यस्तो परिदृश्यमा लेखिएका कवितामा कविताको आत्मा छ त ? बानियाँ भन्छन्, ‘कविता लेख्दैमा वा पढ्दैमा आत्मा भेटियो कसरी भन्ने ? अहिलेको काव्य संसार ‘ग्रेट क्राई, लिटिल ऊल’ जस्तो छ । अर्थात् बढी भ्याभ्या गर्ने भेडोकै जीउमा सबैभन्दा थोरै ऊन ।’

कवि बन्ने रहरमा सामाजिक सञ्जालमा छिनछिनमै कविता पोस्ट हुन कसैले रोक्ने कुरा आएन, नरोकिएला पनि । आर्थिक रूपमा सम्पन्नले मनको भाव पोख्नु आश्चर्य नहोला तर आयआर्जनमा सुक्खा लागेको काव्यकुञ्जमा नयाँ पिँढीलाई के विषयले आकर्षित गरिरहेको होला ? तिनमा ‘कवि’ बन्ने आकांक्षा किन खाँदाखाँद देखिन्छ ? मञ्जिल भन्छन्, ‘कुनै सेलेब्रिटीजस्तो लेखेर, गाएर, लाएर, खाएर, खेलेर चर्चामा आउने मनोविज्ञान कविहरूमा हाबी छ । मानिसहरू कविता–कविता भन्दै त्यता ओइरिएका छन् । तर, कलाको हिसाबले यो मिडिया लगभग बेकारको छ । दिनमा सात वटा कविता लेखेर पोस्ट गर्नुको मनोविज्ञान के ? कुनै पनि कविको व्यक्तित्व त्यस्तो हुँदै होइन । कवि त बेलाबेला हाइबरनेसनमा, अन्डरग्राउन्डमा जाने हो । सिरक, डस्ना लिएर सोसल मिडियामा गएर बास बसेर हुन्न । कविको व्यक्तित्व राजेश हमालको जस्तो होइन– सधैं सिल्भर स्क्रिनमा चम्कने । कवि त बेलाबेला उदाउने घामजस्तो हो ।’

कवितामा नवप्रवेशीहरू छिनछिनमा आइरहेकै हुन्छन्, आउनु पनि पर्छ । तर, उनीहरू कुन चेत लिएर आएका छन् भन्ने विषयले ठूलो अर्थ राखेको हुन्छ । मुलुकमा रहेका विभेद, सामाजिक–सांस्कृतिक कुरीति, अन्तर्राष्ट्रिय परिवेश, इतिहास, भूगोल, मानवशास्त्र, समाजशास्त्र र विज्ञानबारे उसको बुझाइ कस्तो छ भन्ने विषयले पनि ठूलो महत्त्व राख्छ । दुनियाँमा हरेक प्रतिभाले अभ्यास, अध्ययन र गम्भीर समर्पण मागेको हुन्छ । समकालीन साहित्यमा कति त्यस्ता सर्जक छन् जो गम्भीर छन्, यस विषयमा भन्ने अर्को बहस होला ।

तर, ती जो आइरहेछन्, कस्तो लेखिरहेका छन् त ? अनि स्थापित कविमध्ये अधिकांश कस्तो लेखिरहेका छन् ? समीक्षक वामदेव पहाडी लेख्छन्, ‘आजको नयाँ कवि सोझो ढंगबाट बोल्न चाहँदैन, सायद स्पष्ट हुन परिस्थितिले उसलाई दिँदैन । साहित्यको संक्रमणकालबाट नयाँ कविहरूले मृत्युको छायाबाट बचाइल्याएको सपनालाई सत्य सावित गरून् ।’

आम मानिस आफ्नो पहिचानको खोजीमा हुन्छ । के कविता लेख्नु पनि आफूलाई चिनाउन खोज्ने प्रवृत्तिकै अर्को रूप हो ? ‘कविता लेख्नु आफूभित्रको ज्वालामुखी हल्का पार्ने बहाना हो’ भन्छन् लेखक राजन गोदार । उनी भन्छन्, ‘न्यूनतम काव्यरस मान्छेको जैविक गुण र साझा मानवीय स्वभाव हो । कसैको मूल फुटेर नदी, पोखरी, ताल, समुद्र बन्छ । कसैको सुक्दै जान्छ । निश्चित आकार र परिकारको अपेक्षा नै गलत हो । जो कसैको पनि काव्यमोह प्रतिष्ठाको भोकभन्दा बढी आफैंलाई हल्का पार्ने लोभ हो । मानसिक एवं शारीरिक मोचनमा हामी आनन्दित जो हुन्छौं ।’

नेपाली कविताको प्राथमिककाल, माध्यमिककाल र आधुनिककालसम्म विचरण गर्दा हामी वीर धारा, भक्ति धारा, शृंगार धारा र परिष्कारवादी धाराका कविताका पंक्तिहरू छिचोल्छौं । कवि सुवानन्द दासको ‘पृथ्वीनारायण’ कवितालाई नेपाली कविताको इतिहासले पहिलो लेख्य कविता मान्छ । अभिलेख भन्छ– त्यसपछिका कविहरू शक्तिवल्लभ अर्याल, उदयानन्द अर्याल, राधाबल्लभ, सुन्दरानन्द बाँडाले वीर धाराका कविता लेखे । प्राथमिककालमा भक्ति धारालाई उचाइमा पुर्‍याएका थिए– रघुनाथ भट्ट पोखरेल र भानुभक्त आचार्यले । रोचक, झर्रो र लोकप्रिय लोकछन्दका कारण भानुभक्त नेपाली साहित्यकै आदिकवि कहलाए । मोतीराम भट्ट, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, माधव घिमिरे, बालकृष्ण सम, युद्धप्रसाद मिश्र, हरिभक्त कटुवाल, वासु शशी, पारिजात, भूपी शेरचन, वैरागी काइँला आदि कविहरूले नेपाली कविताको मार्ग फराकिलो र सुवासित पारेका छन् ।

आधुनिक नेपाली कवितामा ‘कविता–विरासत’ धान्ने कविको चर्चा गर्दा अधिकांश समीक्षक गोपालप्रसाद रिमाल र भूपी शेरचनमा पुगेर टक्क अडिने गरेका छन् । आख्यानकार नारायण ढकालले लेखेका छन्, ‘आधुनिक नेपाली कविताको इतिहासको भर्‍याङ चढेर विचरण गर्नुपर्ने अवस्था आउँदा म अहिले पनि गोपालप्रसाद रिमालसम्म पुगेर टक्क रोकिन पुग्छु । जब कवितामा जीवनको सरोकारको प्रश्न गाँसिन्छ, त्यसको अग्रचेत रिमालले नै कब्जा गरेको स्पष्ट देखिन्छ ।’

आधुनिक नेपाली कविताको ‘आदिकवि’ आफ्नै गाउँको कविते कामीलाई र ‘राष्ट्रकवि’ सेतांगे जेठालाई सम्बोधन गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको विचारमा कोही एक मात्रै मानक वा आदर्श कवि हुनै सक्दैन । ‘कान्तिपुर’ सँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘नेपालमा आदिकवि एक जना मात्रै छैन । राष्ट्रकवि पनि धेरै जना छन् । म जुन समाज वा समुदायमा जन्में–हुर्कें, त्यसले भानुभक्त आचार्य र माधव घिमिरेलाई चिन्दैन ।’

कवितामा प्रवेश गर्ने नवप्रवेशी कविहरूले भानुभक्त, माधव घिमिरे वा देशी/विदेशी कविता पढेका वा नपढेका हुन सक्छन् । तर, तिनीहरूको आँखामा कविताको आगोचाहिँ छ । त्यो आगो धिपधिपे छ कि चर्को छ ? सायद समीक्षाशास्त्रीहरूले यसको व्याख्या कुनै दिन गर्लान् ।

समकालीन नेपाली साहित्यमा कथा र नाटकको जस्तो नाजुक अवस्था कविताको छैन । कविता प्रशस्तै लेखिएका छन् । त्यही भएरै व्यापक वाचन पनि भएको हो । तर, गम्भीर नयाँ–पुराना दुवै पुस्ताले ‘कविता व्यर्थको एकालाप होइन, अति विशिष्ट साधना हो’ भन्ने बुझ्नु उनीहरूले कविताको सम्मान गरेको ठहरिनेछ ।

कवि एक साधक नबनुन्जेल कविताले ‘प्राण’ भेट्टाउँदैन । कविताका किताब प्रशस्त छापिँदैमा, चन्द्रागिरिमा उक्लेर कविता लेख्दैमा वा दैनिक २/४ पटक फेसबुक लाइभमा वाचन गर्दैमा कविवर माधव घिमिरेको भाखामा ‘हामीले कविता उठायौं एसियाको माझमा’ भनेर स्याबास कसैले पाउने छैनन् ।

नेपाली कविताको भविष्य कस्तो छ त ? यस प्रश्नको जवाफमा अरू सिर्जनाका विधालाई पनि सामेल गर्नुपर्छ । नेपाली आख्यानको भविष्य कस्तो छ ? नेपाली फिल्मको, थिएटरको भविष्य कस्तो छ ? संगीतको भविष्य कस्तो छ ? यी सबै विधा एकअर्कासँग जोडिएका, गाँसिएका छन् । एउटा विधाले उन्नत स्तर हासिल गर्‍यो भने त्यसको राम्रोपन र उचाइको रापताप अर्कोमा पनि पुग्न/सर्न सक्ला । अर्थात्, कविताको भविष्य राम्रो हुन उपन्यास/फिल्म/नाटक/संगीत पनि राम्रो हुनुपर्छ । अनि, उपन्यास/फिल्म/नाटक/संगीतको भविष्य राम्रो हुन कविता पनि राम्रो हुनुपर्छ । एक्लै त कुनैको पनि भविष्य सुन्दर हुनेछैन ।

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully