लक्ष्मीप्रसाद देवकोटादेखि उपेन्द्र सुब्बासम्मका कविता पढिरहेका छन्, जेन–जी । तिनलाई जीवन, मानवता र दुःखका विविध आयामदेखि देशको वर्तमान संकटमाथि लेखिएका काव्य–पंक्तिले छुन्छन् ।
What you should know
काठमाडौँ —
एक समय प्रेरणा र आदर्श मानिएका व्यक्तिबाटै हिंसामा परेको तीन दिन मात्रै भएको थियो– ‘गौशाला २६’ । तर, त्यो घटनाबारे ‘आवाज उठाउने कि मौन रहने ?’ उनी निष्कर्षमा पुगेकै थिइनन् । ठीकठाक जीवनमा एक्कासि आइपरेको आपत्बारे अरूलाई बताउँदा कस्तो प्रतिक्रिया आउला ? त्यो डर उनमा थियो । संयोग, कक्षा १२ मा पढ्दै गरेकी उनलाई अंग्रेजी शिक्षकले कक्षाकोठाअघि बोलाए– जुलिया बुर्गोसको कविता ‘आई वाज माई वन रुट’ माथिको व्याख्या सुनाउन ।
२० औं शताब्दीकी महिला अधिकारवादी कवि जुलियाले त्यो कवितामार्फत महिलाको ‘जिन्दगी पुरुषले निर्धारण गर्ने होइन, आफ्नो बाटो आफैं कोर्ने हो’ भन्ने विचार लेखेकी थिइन् । लैंगिक असमानता र पुरुषले महिलालाई हेर्ने दृष्टिकोण उनको कवितामा अभिव्यक्त भएको थियो ।
‘म पुरुषहरूले चाहेजस्तो बन्न चाहन्थें
जीवनको एउटा प्रयास,
आफ्नै अस्तित्वसँग लुकामारीको खेल ।
तर, म वर्तमानबाट बनेकी थिएँ’
(कविताको नेपाली अनुवाद)
उनले कक्षामा त्यो कविता व्याख्या गर्दै भनेकी थिइन्– संसारभरिका नारीले एउटै भाषा बोलेका हुन्छन्, त्यो भाषा भनेको मौनताको भाषा हो ।उनले यी हरफमा आफू अरू महिलाले जस्तो लुकामारी खेलेर बस्न नसकेको लेखेकी थिइन् । उनलाई आफ्नो चिनारी आफैं बनाउनु थियो, आफ्नो बाटो आफैं कोर्नु थियो । ‘यो कविता प्रस्तुत गरेपछि उकुसमुकुस भएको मन फुकाउनुपर्छ भन्ने लाग्यो,’ उनी सम्झिन्छिन्, ‘त्यही कवितापछि नै मैले मेरो एक साथीलाई आफूमाथि भएको घटनाबारे सुनाएकी थिएँ ।’
उनले कक्षामा त्यो कविता व्याख्या गर्दै भनेकी थिइन्– संसारभरिका नारीले एउटै भाषा बोलेका हुन्छन्, त्यो भाषा भनेको मौनताको भाषा हो । आफ्नो व्याख्या सकेपछि साथीहरूले उनको सम्मानमा गड्गडाहट ताली बजाए, जुन आफूले भागेको पीडासामु निरर्थक थियो । यद्यपि, करिब १५ मिनेटसम्म धारा प्रवाह कविताको व्याख्या गरेपछि उनलाई अन्यायविरुद्ध आवाज उठाउने आँट आएको थियो । विद्रोह गर्ने साहस आएको थियो । आवाज नउठाए पूरै जिन्दगी पश्चातापमा बित्छ भन्ने लागेको थियो ।
‘कविता कति शक्तिशाली हुन्छ भन्ने यो घटनाले देखाउँछ, कविता केवल शब्दहरूको संयोजन होइन– मानवीय संवेदनाको अभिव्यक्ति पनि हो,’ जेन–जी अगुवा एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य प्रदीप ज्ञवाली भन्छन्, ‘कहिलेकाहीं कविताले मान्छेको भावनालाई सिधै स्पर्श गर्छ, जसले पाठकको जीवनमा ठूलो प्रभाव पार्न सक्छ ।’
ज्ञवाली स्वयं कविता पढ्न र लेख्न रुचाउने जेन–जी हुन् । जेन–जी आन्दोलनको अग्रमोर्चामा सहभागी उनलाई रमेश क्षितिजका कविताका पंक्तिहरूले असाध्यै प्रेरित गरेको थियो । ‘सम्भावना’ शीर्षकमा क्षितिजले लेखेको कविताले सोध्थ्योः
‘इतिहाससँग रिसाएको कोही विद्रोहीले
रातभरि खुकुरीमा धार लगाएको सुन्यौ ?’
यो कविता आन्दोलनको मर्मसँग समेत मेल खान गएको लागेको छ उनलाई । भन्छन्, ‘पछि मैले उहाँका अरू थुप्रै कविता पढें ।’ आफूले पढ्ने कविताले आन्दोलन, सामाजिक न्याय र समानताका मूल्यसँग सम्बन्धित चेतना विकास गर्न मद्दत गरेको उनको बुझाइ छ । ज्ञवाली भारतीय कवि पीयूष मिश्राबाट पनि प्रभावित छन् । ‘तुम्हारी औकात क्या है’ शीर्षकको कविताको यी हरफहरू उनी दोहोर्याइरहन्छन्
‘मैं ना भी होता क्या होता...
नदी नाले बरखा बादल
वैंसे के वैसे रहते
पर फिर भी जो ना होता ‘वो
जो ना होता’ वो क्या होता...’
‘म भइनँ भने के हुन्थ्यो होला...
नदी, नाला, वर्षा, बादल
जस्ताको त्यस्तै रहिरहन्थे
तर फेरि पनि ‘जो हुँदै हुन्नथ्यो
भएन भने त्यो के हुन्थ्यो’ (नेपाली अनुवाद)
क्रान्तिकारी भाव, विद्रोह र देशप्रेम जोडिएको कविता पढ्न रुचाउने ज्ञवाली स्वयंचाहिँ शृंगारिक कविताहरू कोर्छन् । ‘ककटेल’ शीर्षकको उनको कविताले भन्छः
‘म आएँ
सधैंझैं उही पुरानो चौपारीमा
तिमीलाई पर्खी बस्ने चौपारी
पहिले पर्खंदा तिमी आउने गर्थ्यौ
तर यसपालि तिमी आएनौ
मात्र तिम्रा यादहरू आए ।’
उपेन्द्र सुब्बाका कविताहरू समेत उनको रुचिभित्र पर्छन् । फुर्सदमा क्याफेमा बसेर कविताका कृति पढ्न रुचाउने प्रजिता नारायणी तिवारीचाहिँ आफूलाई दर्शन र जीवनसँग नजिकबाट जोडिएका कविताहरू मन पर्ने बताउँछिन् । ‘जीवनलाई गहिराइबाट बुझ्न, आफ्नै अस्तित्वलाई प्रश्न गर्न र यथार्थ स्वीकार गर्दै अगाडि बढ्न प्रेरित गर्ने कवितातर्फ मेरो बढी रुचि छ,’ उनी भन्छिन्, ‘म धेरैजसो यस्ता कविता पढ्न मन पराउँछु, जसले केवल आशावाद होइन, जीवनका कठोर यथार्थहरूलाई पनि स्पष्ट रूपमा प्रस्तुत गर्छन् ।’
जीवन, मानवता र दुःखका विविध आयाम समेटिएका लक्ष्मीप्रसाद देवकोटाका कवितादेखि जीवनको कठोर यथार्थ उजागर गर्ने पारिजातका रचना उनका रुचि हुन् । भन्छिन्, ‘मलाई लाग्छ पारिजातको लेखनीले जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्न सिकाउँछ ।’
उनी कवि विप्लव प्रतीकका कविताहरूमा आधुनिक चेतना र दर्शन पाउँछिन् । ‘उहाँको मनमीत शीर्षकको कविता जसले ‘सबै फूलको चर्चामा मग्न रहे सहरमा...’ भन्छ, त्यो मलाई असाध्यै मन परेको कविता हो,’ तिवारी भन्छिन्, ‘त्यसले मेरो जीवनमा गहिरो प्रभाव पारेको छ ।’ कहिलेकाहीं उनी आफू स्वयम्ले लेखेका कविताहरू समेत सार्वजनिक मञ्चमा सुनाउने गर्छिन् । तिवारीको ‘तिमीलाई भेटेपछि’ शीर्षकको कविताले भन्छः
‘तिमीलाई भेटेपछि
मनको अनन्त अँध्यारोमा
एक टुक्रा प्रकाश खस्छ
जुगौंदेखि ओसिएको हृदयको कुनाकुनामा
एक थोपा आशाको मधुरो घाम उदाउँछ
तिमीलाई भेटेपछि
निथ्रिएको मौनता बोल्न थाल्छ
सारा संसार तिमीमै पुगेर रोकिए जस्तो लाग्छ ।’
कविता पढ्न अनि सामाजिक सञ्जालमा छोटा–छोटा पंक्ति राख्न रुचाउने रोशना ढुंगाना नेपालीसँगै हिन्दी र उर्दू कविता पढ्ने बताउँछिन् । ‘अंग्रेजी कविता पनि नपढ्ने होइन, तर यी भाषाका कविताले मलाई धेरै रिलेट गरे जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘त्यसमा पनि मलाई माया, प्रेमसँगै क्रान्ति जोडिएका कविताहरूले छुन्छन् ।’ उर्दू कवि साहिर लुधियानवीदेखि पाकिस्तानका क्रान्तिकारी कवि हबिब जालिबसम्मका कविता उनी पढ्छिन् । साहिर लेख्छन्
‘भूख और प्यास की मारी हुई इस दुनियां में
इश्क ही एक हकीकत नहीं कुछ और भी है...’
(भोक र तिर्खाले पीडित यो दुनियाँमा
माया मात्रै सत्य होइन, अरू पनि केही छ)
उनी अमृता प्रितमदेखि मिर्जा गालिबसम्मका कविता–किताब पढ्न रुचाउँछिन् । प्रितमका कविता सरल हुन्छन्, शब्दका भावनाले छुन्छन् । प्रेम, विद्रोहको मिश्रण अनि महिलाको स्वतन्त्रता र पहिचानको खोज झल्किने हुनाले उनको कविता आफूलाई रुचिकर लाग्ने ढुंगाना बताउँछिन् । गालिबले आफ्नो रचनामा प्रेम, पीडा र आत्मचिन्तनलाई जोड दिएको बोध छ ढुंगानालाई । नेपाली कविताहरूमा उनलाई मनु मञ्जिल, बुद्धि सागर, विप्लव प्रतीकहरूको लेखनी मन पर्छ । ‘म कुनै विशेष कविले लेखेको भनेर भन्दा पनि सिधै कविता पढ्न रुचाउँछु,’ उनी भन्छिन्, ‘त्यसो हुँदा मलाई कविताले तान्यो भने बल्ल कविको नाम थाहा हुन्छ ।’
समाजका कथा भन्ने कविताहरू आफूलाई औधी मन पर्ने गरेको ओझाको भनाइ छ । ‘मान्छेका कथा बोल्ने यथार्थवादी र अग्रगामी कविताहरू मेरो रोजाइ हो,’ ओझा भन्छन्, ‘पछिल्लो पुस्ताका कविमा मलाई रूपेश श्रेष्ठ पनि मन पर्छ ।’जेन–जी युवराज खत्रीको रोजाइमा चाहिँ भूपि शेरचनदेखि नवराज पराजुलीसम्मका कविता पर्छन् । ‘म थोमस ग्रेको कविता ‘एलेगी रिटन इन अ कन्ट्री चर्चयार्ड’ बाट पनि प्रभावित छु, आफ्नो साथीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखिएको यो कविताले ग्रामीण जीवन, मृत्यु, समानता, असमानताको आवाज बोल्छ,’ कानुनमा स्नातक गरिरहेका उनी भन्छन् ।
कविता भन्नेबित्तिकै आफ्नो मनमा पनि भूपि शेरचनको नाम आउने ‘नेपाल जेन–जी फ्रन्ट’ का सदस्य यतिश ओझा बताउँछन् । ‘हरेक वर्ष १ वैशाख शेरचनको ‘नयाँ वर्ष’ शीर्षकको कविता सेयर गरिरहेको हुन्छु, घुम्ने मेचमाथि अन्धो मान्छे र उनका अरू कविता संग्रह पनि पढेको छु,’ उनले भने, ‘पारिजातको मानुषी, एउटी स्वास्नी मान्छेको अन्तर्वार्तालगायतका कविताहरू पढ्दा र उनको समयकाल सम्झिँदा क्रान्तिकारी लाग्छ ।’
समाजका कथा भन्ने कविताहरू आफूलाई औधी मन पर्ने गरेको ओझाको भनाइ छ । ‘मान्छेका कथा बोल्ने यथार्थवादी र अग्रगामी कविताहरू मेरो रोजाइ हो,’ ओझा भन्छन्, ‘पछिल्लो पुस्ताका कविमा मलाई रूपेश श्रेष्ठ पनि मन पर्छ ।’
कतिपयले नयाँ पुस्तामा कविता पढ्ने रुचि कम हुँदै गएको बताउँछन् । तर, जेन–जी पुस्ताका कवि देवव्रत नयाँ पुस्ताले पढ्न छाडेको नभई, स्वाद फेरेको भन्न रुचाउँछन् । ‘रिल्स, टिकटक र इन्स्टा पोयट्रीहरूमा उनीहरूको रुचि ज्यादा छ,’ उनी भन्छन्, ‘बिम्ब, प्रतीक, रस, अलंकार जस्ता काव्यतत्त्वभन्दा बढी महसुस भइहाल्ने क्याप्सनजस्ता छोटा लाइनमा सेलिब्रेट गरेको देखिन्छ ।’ उनले भनेजस्तै छोटा कविताहरूको संग्रह रुपी कौरका ‘मिल्न एन्ड हनी’, बालेन्द्रको ‘अश्र’ नयाँ पुस्ताले रुचाएको छ । काठमाडौंको शंखमूलमा रहेको बुक क्याफे उजामाका सञ्चालक लीलाराम खड्का भन्छन्, ‘हामीकहाँ उर्दू, हिन्दी भाषाका थुप्रै कविता कृति छन्, तर धेरैले छोटा कविता भएको संग्रह मन पराएको पाउँछु ।’
‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ कविता संग्रहका लेखकसमेत रहेका देवव्रत नयाँ पुस्ताका पाठक सबैको रुचि छोटा कवितामा मात्रै पनि नभएको बताउँछन् । ‘मोहन कोइराला, वासु शशी, बैरागी काइँलादेखि श्रवण मुकारुङ र मौन आवाजसम्मलाई पढ्ने जेन–जी पनि छन्,’ उनी भन्छन्, ‘अर्थात्, नयाँ पुस्ता अरूले भनेजस्तो सतही मात्रै होइन, बहुपरत छ । नयाँ पुस्तामा कविताको स्वाद फेरिएको छ, त्यसैले खासगरी गम्भीर प्रकृतिका कविता संकटमा छन् भन्ने धेरैले बताउने गरे पनि मलाई त्यस्तो लाग्दैन ।’
