नदीहरु फर्कून्, उनीहरु जहाँबाट आएका थिए—बाढी बनेर होइन,फर्कून सम्झना बनेर ।
काठमाडौँ — नदीहरु फर्कून्
उनीहरु जहाँबाट आएका थिए—
बाढी बनेर होइन,
फर्कून सम्झना बनेर ।
फर्किरहँदा,
उनीहरुलाई अनुमति रहोस्
उपत्यकाको छाला चिथोर्न,
स्मरणमा नरहेका
पानीका मूलहरुबाट
फेरि एकपल्ट खिलखिलाउँदै चिप्लिन,
र, ढङ्गाहरुसँग कानेखुसी गर्न
जसलाई पहिलो पटक
उनीहरुको भारी बोक्नुपर्यो ।
तलाउहरु सुकेर जाउन्
फैलिएका हातहरु जस्तै ।
जम्न नसकेका हिलोका दलदलहरु माथि उठून्,
समुद्रले गहिरोमा गाडिराखेका
कथाहरु भन्दै ।
जरा नाङ्गिएका पिपलका बोटहरु व्याकुल बनून् ।
खडेरीले नुनको वर्णमाला पुनर्लेखन गरोस् ।
डुङ्गाहरु ठहरै सुक्दै जाउन्
बगरहरुमा,
जो अब आकाशतिर चढ्नेछन् ।
उद्गमतिर फर्किएका नदीहरु
कदापि नरोकिउन् ।
अघि बढिरहुन्,
उनीहरुले समुद्र बिर्सुन्,
सदियौंको यात्रा पनि बिर्सुन्,
र, आकाशतर्फ बढिरहुन् ।
अब सायद
आकाश स्वयं रुपान्तरित भएर
समुद्र बन्नेछ,
र, निहार्नेछ पृथ्वीलाई
निःस्तब्ध बनेर ।
