नदीहरु फर्कून् तिनका उद्गमतिर

नदीहरु फर्कून्, उनीहरु जहाँबाट आएका थिए—बाढी बनेर होइन,फर्कून सम्झना बनेर ।

चैत्र ७, २०८२

मीनबहादुर विष्ट

Let the rivers return to their source.

काठमाडौँ — नदीहरु फर्कून् 

उनीहरु जहाँबाट आएका थिए—

बाढी बनेर होइन,

फर्कून सम्झना बनेर ।

फर्किरहँदा, 

उनीहरुलाई अनुमति रहोस्

उपत्यकाको छाला चिथोर्न,

स्मरणमा नरहेका 

पानीका मूलहरुबाट 

फेरि एकपल्ट खिलखिलाउँदै चिप्लिन,

र, ढङ्गाहरुसँग कानेखुसी गर्न

जसलाई पहिलो पटक

उनीहरुको भारी बोक्नुपर्‍यो ।

तलाउहरु सुकेर जाउन्

फैलिएका हातहरु जस्तै ।

जम्न नसकेका हिलोका दलदलहरु माथि उठून्,

समुद्रले गहिरोमा गाडिराखेका

कथाहरु भन्दै ।

जरा नाङ्गिएका पिपलका बोटहरु व्याकुल बनून् ।

खडेरीले नुनको वर्णमाला पुनर्लेखन गरोस् ।

डुङ्गाहरु ठहरै सुक्दै जाउन्

बगरहरुमा, 

जो अब आकाशतिर चढ्नेछन् ।

उद्गमतिर फर्किएका नदीहरु 

कदापि नरोकिउन् ।

अघि बढिरहुन्, 

उनीहरुले समुद्र बिर्सुन्, 

सदियौंको यात्रा पनि बिर्सुन्, 

र, आकाशतर्फ बढिरहुन् ।

अब सायद 

आकाश स्वयं रुपान्तरित भएर

समुद्र बन्नेछ, 

र, निहार्नेछ पृथ्वीलाई

निःस्तब्ध बनेर ।

मीनबहादुर

Link copied successfully