मुकुन्डो सहर

यहाँ हलियाको कमिजजस्तो छ, जिन्दगीको हुलिया

चैत्र ७, २०८२

देवव्रत

Mukundo city

काठमाडौँ — यहाँ पाक्दछ मन्दिरको प्रसाद मसानघाटमा

पर्दछ पञ्चामृतभित्र रगत पनि

घाइते सैनिकको मजेत्रो जस्तो छ यहाँको माटो

पख्नुस् खोज्न दिनुस्

बाटैबाटाको बाटोमा अल्झिएर

हराएको छ मेरा पैतालामुनिको बाटो

लगाइएको छ धाराको मुखमुखमा ताल्चा

खटाइएको छ शौचालयका गेटगेटमा पालेहरु

अतिथि देवो भवःका होर्डिङ बोर्डमुनि

बाँधिएका छन् भोका कुकुरहरु

काँडेतारमा अल्झिएर च्यात्तिएको

यहाँ हलियाको कमिजजस्तो छ, जिन्दगीको हुलिया

बाल्नु छ दियोको पीँधमा राखेर आफूलाई

छाला च्यात्तिन्जेल बोक्नु छ तस्करहरुका खजाना

हरेक दिन रेट्नु छ दर्शनढुङ्गाले कलेजो

यहाँ सप्रिएको छ– मृत्युको फसल

जहीँ हिँड्नुस्, जतै हेर्नुस्

लहलह फुलेका जहरका फल

यहाँ टुकुचामुनि झर्दछ प्रेमको फूल

भरिएको छ अन्धकारको कटौरा

अदालतका पर्खालभित्र/पर्खालबाहिर

लागेको छ– होलसेल तथा खुद्रा मूल्यको हाटबजार

चोटाचोटाहरुमा

छन् पापले भरिएका गोप्य कोठाहरु

मरेको, सडेको काया भएका मान्छेहरु

मान्छे खाने मान्छेहरु

लासको चुकिलो झोल

मलामीका नुनिला आँसु

तिर्थालु–बर्तालु मान्छेहरु

रगत पिउने मान्छेहरु

यहाँ मान्छेसित अनुहार छैन, मुकुन्डो छ

मुकुन्डै मुकुन्डाले भरिएको छ अनुहार

मुकुन्डो भिर्दाभिर्दा

अब मान्छे, मान्छे हुन बिर्सिसकेको छ

यो मुकुन्डाले भरिएको सहर हो

यो मुकुन्डो–सहर हो

यहाँ मान्छे कम मुकुन्डा ज्यादा छन्

श्रीमतीका लागि श्रीमान्,

प्रेमीका लागि प्रेमिका,

आमाका लागि छोरो,

छोराका लागि बाउ,

साथीसगोत्री र छिमेकीहरु,

यहाँ केवल एक मुकुन्डा हुन्

सम्बन्धहरु मुकुन्डा हुन्

के मान्छे मुकुन्डोबिना बाँच्नै सक्दैन ?

देवव्रत

Link copied successfully