काब्राको रुख

समयले ऋतु बदलिइरहे पनि वसन्त कहिल्यै आएन काब्राको जीवनमा / पालुवा पलाउनुअघि नै चुफामै टिपेर, नुनचुक मोलेर, डब्बामा खाँदेर/ बन्द गरिदिए छिमेकीले ।

चैत्र ७, २०८२

अस्मिता वादी

Cabbage tree

 

हत्केला र पिठ्यूँमा बनेका घाउबाट

बगेको रगतमिश्रित पानीबालुवा चाल्नेहरुको प्यास र पसिना पखाली

बगिरहने भेरीले पनि

बगाउन नसकेको चट्टान फोडेर कसोकसो उम्रियो,

खोइ कसरी पो उम्रियो– एक्लो, सिङ्गो, काब्राको रुख !

पसिनाले पाखा लगाइदियो कि ?

बतासले पो पोखाइदियो कि ?

कुनै चराले बिस्ट्याइदियो कि ?

खैर ! बिउको काम उम्रनु हो, उम्रियो । 

झरे पनि उम्रियो, खसे पनि, पोखिए पनि बिस्टिए पनि उम्रियो ।

कसैले नरोपे पनि उम्रियो ।

चट्टानको कापबाट निक्लिएर, जेठमासको धूपमा पानी नपाएर

चर–चर चर्किएको गह्रा जस्तै चर्किएकै कुर्कुच्चामाथि 

ठिङ्ग एक्लै उभियो एउटा काब्राको रुख ।

खोइ के–के सपना सँगाल्दै बढ्यो ?

छेवैको माटोमा उभिएको सालजस्तै

आकाशै छुने सपना पो देख्यो कि ?

आजसम्म कहिल्यै सुसेलेन

उसले आफ्ना सपना गीतहरुमा– या मैले सुनिनँ । 

उल्टै बाले बनाइदिएको घाँसे आँसीले

उस्कै फेदमा खोपेर लेखिदिएँ आफ्नो सपना– 

आफ्नो नाम, पूरा नाम ।

काब्राको छातीमा मैले आफ्ना सपना कोरेकै दिन बिर्सेको हुनुपर्छ

उसले आफ्ना सपना 

र, बाँच्न थालेको हुनुपर्छ मेरा लागि ।

नत्र माटोमा जरा नै नभएको रुख कसरी उभिइरहन सक्छ ?

कसरी बाँचिरहन सक्छ मलाई छहारी दिन ?

जरा टेकाउन माटो नै थिएन ऊसँग,

न त कुनै रहर, न कुनै चाहना ।

उसलाई त केवल जरा गाड्ने माटो चाहिएको छ ।

उसको आवश्यकताको आयतन नै कति सानो ?

सपनाका आकर नै बालुवाका कणजत्रा–

भातले भरिएको भड्डु

खुर्सानी, लसुनको तिहुन, दूध हालेको चिया

झरी र बतासमा ओत लाग्ने धुरी र मेरा आँखामा साहस !

कहिलेकाहीँ लाग्छ– चट्टानमै उम्रिएपछि त सुनाखरी हुनु ।

रुखै भए त लालीगुराँस हुनु । 

या त सिउँडी नै भएर पनि

आफ्नै लागि बाँच्नु ।

रहर त थिए होलान् कि ?

तर, खोइ कुन विवशताले बनायो

काब्राको रुख ।

भुइँभरि आफ्नै रहरका पात ओछ्याएर

आफू रित्तै, नाङ्गै उभिरहने ?

समयले ऋतु बदलिइरहे पनि

वसन्त कहिल्यै आएन काब्राको जीवनमा ।

पालुवा पलाउनुअघि नै चुफामै टिपेर, नुनचुक मोलेर, डब्बामा खाँदेर 

बन्द गरिदिए छिमेकीले । 

उनको आजादी– कसैगरी अप्ठ्यारो हाँगामा बचेका पालुवा !

पात बनेर हावासँगै लहराउनै लाग्दा, फेदैबाट काटेर

बाख्रालाई घाँस हालिदिए बाले 

र, त्यति नै बेला टुंगियो उसको

आकाश छुने सपना ।

काटेको घाउ बोकेरै

बञ्जर पत्थरमा उभिएको छ

काब्राको रुख– मेरो घर बनेर ।

मेरो काब्राको रुख प्रायः सधैं पारिजात बन्यो,

सयौं रात अरुकै लागि फुल्यो ।

आफ्नै सास पनि आफ्नो लागि नफेरी

वर्षौं पुरानो पुलिस्टरको

कटकटिएको, काखी र फेरमा भ्वाङ परेको

म्याक्सी एकजोर कुममा झुन्ड्याएर

झरीबतासको वितण्डामा पनि

कसैको टेवाबिना एक्लै उभिएको छ–

मेरो काब्राको रुख ।

अस्मिता

Link copied successfully