संसारैभरको काव्यजगत्मा प्रभाव जमाउने कवि धेरै छन् । उनीहरू हुन्– आधुनिक मानवतावादी, प्रगतिवादी चेतना र संघर्षशील परम्पराका महान् कवि ।
What you should know
काठमाडौँ — मेरा आँखा दृढ जहाजको आधार खेद्दै छन्
जहाज साहसी र गम्भीर छ
तर ए मुटु ! मुटु ! मुटु !
ए राता राता रगतका थोपा
जहाजमा त मेरा कप्तान पल्टिएका छन्
मृत र चिसै भएर ।
– (वाल्ट ह्वीटमन, ‘ओ क्याप्टेन ! माई क्याप्टेन !’ को अंश अनुवाद तारानाथ शर्मा)
ह्वीटभन्दा पनि अगाडिका कवि हुन् बेलायती कवि पर्सिभिस सेली । सन् १७९२ अगस्ट ४ मा जन्मेका यी कवि जम्मा ३० वर्ष बाँचे । तर, उनका कविताको सिर्जनशीलता शताब्दिऔंको अभ्यासले खारिएर उन्मुक्त भएझैं लाग्छ ।विश्वविख्यात अमेरिकी कवि वाल्ट ह्वीटमनले राष्ट्रपति अब्राहम लिंकनको हत्यामा लेखेको यस कविताले पाठकको मुटु हल्लाउँछ । ऊ स्वयं लिंकनको मृत्यु शोकमा संलग्न भएको अनुभूत गर्छ । संसारलाई यस्तरी हल्लाउने र आधुनिक चेतना फैलाउने महान् कवि ह्वीटमनको काव्यिकतालाई उनी जिउँदो रहुन्जेल कसैले चिनेन ।
आज संसारभरिका आधुनिक मानवतावादी र परिवर्तनकारी चेतनाका कविले सम्झने एउटा आदर्श नाम हो, ह्वीटमन । उनको पहिलो कविता संग्रह ‘लिभ्स अफ ग्रास’ (सन् १८५५) आज संसारकै महान् र अमूल्य कविता कृति मानिन्छ । प्रकाशनताका अमेरिकी आलोचकहरूले गर्नुसम्म यसको निन्दा गरेका थिए । पहिलो संस्करण कवि आफैंले खर्च लगाएर छापेका थिए, जसमा १२ कविता थिए । पछिल्ला संस्करणहरूमा कविता थपिँदै गए । परम्परागत आलोचकहरूले यसलाई छन्द न बन्दका, लय न ढंगका भनिदिए । बोलीचालीको फरासिलो भाषा भएकाले यसलाई अश्लीलसमेत भनियो । तारानाथ शर्माको पुस्तक ‘पश्चिमका केही महान् साहित्यकार’ का अनुसार, कुलीन समालोचकहरूले कि त यसलाई बेवास्ता गरे, कि ‘सुँगुरले गणित नजानेझैं कला के हो थाहा नभएको ह्वीटमन नामको स्वाँठलाई छाला काढ्ने गरी कोर्रा हान्नुपर्छ,’ खालका टिप्पणी गरे ।
सन् १८१९ मे ३१ मा अमेरिकाको न्युयोर्कमा जन्मेका ह्वीटमन सन् १८९२ मार्च २६ मा न्युजर्सीमा बिते । मृत्युको ३० वर्षसम्म उनका कवितालाई समालोचकहरूले भाउ दिएनन् । बिस्तारै उनको जनबोलीको सम्प्रेष्य भाषा र तीव्र अभिव्यक्ति क्षमताको प्रशंसा हुन थाल्यो । आज अमेरिकीहरू उनलाई आफ्नो हृदयको आवाज बोल्ने सबैभन्दा महान् कवि ठान्छन् । संसारभरिका लगभग सबैजसो भाषामा उनका कविताको अनुवाद भइसकेको छ । उच्च चेतनायुक्त उनका कविताको जनबोलीयुक्त भाषा, मौलिक लय, अनुप्रास, पुनरावृत्तिको सौन्दर्य र सन्तुलन आज संसारभरिका कविताको मूल प्रवृत्ति बनेको छ ।
सिर्जनशील प्रभाव
हरेकजसो स्रष्टाले आफूभन्दा आदर्श अग्रजको सिर्जनशील प्रभाव गरेको हुन्छ । त्यसलाई नराम्रो मानिँदैन । खासमा त्यो प्रवृत्तिको अनुशरण हो, अनुकृति वा प्लेजरिज्म होइन । यस हिसाबले भन्दा नेपालका गोपालप्रसाद रिमाल ह्वीटमन प्रवृत्तिका सिर्जनशील प्रभाव ग्रहण गरेका सानदार कवि हुन् । त्यसपछिका भूपि शेरचन, बासु शशी, मीनबहादुर विष्ट, विमल निभा, श्यामल, हरि अधिकारी, गोविन्द वर्तमान, पूर्णविराम र पछिल्लो पुस्ताका प्रभावशाली कविहरूमा समेत यो प्रभाव भेटिन्छ ।
ह्वीटभन्दा पनि अगाडिका कवि हुन् बेलायती कवि पर्सिभिस सेली । सन् १७९२ अगस्ट ४ मा जन्मेका यी कवि जम्मा ३० वर्ष बाँचे । तर, उनका कविताको सिर्जनशीलता शताब्दिऔंको अभ्यासले खारिएर उन्मुक्त भएझैं लाग्छ । तारानाथ शर्माका अनुसार, जीवनलाई प्रेमको रसमा डुबाएर, समाजलाई भ्रातृत्वको आडमा उभ्याएर, निरंकुशतालाई भोलिको आसमा ठुन्क्याएर, स्वाधीनतालाई पाठकको मुटुमा घन्काएर कुर्लन सक्ने अद्भुत सिर्जनशील कवि हुन् शेली । जति प्रेममा उनका कविता उन्मुक्त छन्, परिवर्तनकारी चेतनामा उत्तिकै भर्भराउँदा छन् । ‘अ सङ ः मेन अफ इंगल्यान्ड’ शीर्षक कवितामा उनी लेख्छन्–
बिउ छर्ने तिमी, बाली उठाउने अर्कै
कमाउने तिमी, पैसा थुपार्ने अर्कै
कोट बुन्ने तिमी, लगाउने अर्कै
हतियार बनाउने तिमी, भिर्ने अर्कै
छर बिउ, अत्याचारीलाई बाली उठाउन नदेऊ
कमाउ, धोकेवाजलाई कुम्ल्याउन नदेऊ
बुन कोट, अल्छीहरूलाई लाउन नदेऊ
बनाऊ हतियार, आफ्नै रक्षाका लागि भिर ।
नेपाली प्रगतिवादी कवि गोकुल जोशी वा केवलपुरे किसानले यस्तै भाकाको कविताले जनता जगाउने काम धेरै गरे । सेलीले भने उही बेला किसान युगका बेलायती कामदारलाई आगोजस्तो कविता लेखेर अन्यायविरुद्ध लड्न प्रेरणा दिएका थिए । अर्को कविता ‘ओड टु वेस्ट विन्ड’ मा उनी ‘हिउँद आउँछ भने वसन्त टाढा छैन’ भनेर परिवर्तनको सानदार कवितात्मक अभिव्यक्ति दिन्छन् ।
विलियम शेक्सपियरका चौध हरफे सनेट महिला–पुरुषको सम्बन्ध र मुटु चुँडाउने गहिरो काव्यिक अभिव्यक्ति भेटिन्छ । उनका नाटक मात्र होइन, बिजोर पंक्तिहरूबीच अनुप्रास भेटिने सनेटको पनि प्रभाव संसारका धेरै कविमा भेटिन्छ । पूर्वका वेदव्यास, वाल्मीकिजस्तै पश्चिमका दाँते, होमर, गेटेलगायत महान् महाकाव्यकार हुन् ।
कवितामा आत्मबोध
भारतका सन्त कवि कविर १५ औं शताब्दीका सुरुवातकालीन कवि हुन् । उनका हरेकजसो हरफ सूत्रजस्तै स्मरणीय छन् । सम्भवतः पूर्वी साहित्यमा उनी नै सबैभन्दा बढी उद्धरण गरिएका कवि हुन् । मानवता, प्रगतिपथ, परिवर्तन, करुणा र आत्मबोधका पक्षमा उनका दोहा मुटुमा गहिरो जरा गाडेर बस्ने खालका छन् । ती रुढीवादविरोधी र सत्यबोधी छन्–
निंदक नियरे राखिए, आँगन कुटी छवाय ।
बिन पानी, साबुन बिना, निर्मर करे सुभाय ।।
(निन्दकलाई राख्नु कुटी र आँगनवरिपरि ।
बिना पानी, बिना साबुन, निर्मल राख्छन् घरी घरी ।)
उर्दु कवि मिर्जा गालिबको गजलका त हरेक हरफ हाम्रो जीवनको प्रगतिपथ र आत्मबोधका सूत्र हुन् । उनका बारेमा एउटा किंवदन्ती खुबै प्रचलित छ । एकपल्ट गालिब कुनै महाराजको भोजमा गएका थिए । जनसाधारणको पोसाकमा रहेका उनलाई द्वारपालले छिर्नै दिएनन् । ‘म महाकवि मिर्जा गालिब हुँ’ भन्दा तिनले ‘यस्ता झुत्रे पनि महाकवि’ भन्दै घोक्रेठ्याक लगाए । घर गएर उनले सानदार पोसाक लगाएर आए । द्वारपालहरूले सलाम ठोकेर उनलाई महाराजकहाँ पुर्याए । अनि त महाराजकै सामु उनले त्यो गरिष्ट भोजन आफ्नो कपडामाथि ओइराउन सुरु गरे । महाराजले अचम्भित भएर सोधे । उनले भने, ‘महाराज, यो भोजमा मलाई होइन, मेरो यो पोसाकलाई निम्तो दिइएको रहेछ । अतः मलाई होइन, यो भोज खाने अधिकार केवल यस पोसाकलाई छ ।’ यति भन्दै उनले सबै भोज पोसाकमा खन्याए । उनका सबैजसो गजलमा यस्तै दोहोरो मापदण्डको खण्डन छ । एउटा प्रसिद्ध गजलमा गालिब भन्छन्–
दिल ए नादाँ तुझे हुआ क्या है
आखिर इस दर्द की दबा क्या है
हमको उन से है वफा की उम्मिद
जो नहीं जानते वफा क्या है
जर्मन कवि बर्तोल्त ब्रेख्त संसारभरिका क्रान्तिकारी कविका आदर्श कवि हुन् । उनका कविताका मारक क्षमता अद्भुत छ, तर कला उत्तिकै अब्बल । अग्रगामी परिवर्तनका आवाज उठाउने यी कविले सदैव कामदार र श्रमिक वर्गको सौन्दर्यको कुरा उठाए, ठगी खाने बुर्जुवा वर्गको पाखण्डको पर्दाफास गरे । ‘चेन्जिङ द ह्वील’ शीर्षक छोटो कविता मलाई अत्यन्त प्रभावशाली लाग्छ । यात्रामा चालक गाडीको पाङ्ग्रा फेर्दै छ । यात्रुलाई आफू जाने ठाउँ मन पर्दैन । जहाँबाट आएको हो, त्यो पनि मन पर्दैन । फेरि पनि ऊ उत्सुकतापूर्वक चालकले पाङ्ग्रा फेरेको हेरिरहन्छ । कवितामा यथास्थितिविरुद्ध परिवर्तनको चाहना उच्च कलासहित प्रकट भएको छ ।
क्रान्ति र प्रेमको अद्भुत अभिव्यक्ति
सन् १९७१ को नोबेल साहित्य पुरस्कार विजेता पाब्लो नेरुदा क्रान्तिमा प्रेम र प्रेममा क्रान्तिको हरक दिने संसारकै सर्वप्रिय कविमध्ये एक हुन् । उनको लोकप्रिय कविता ‘तिम्रा पाइताला’ मा उनी आफ्नी प्रेमिकाका पाइतालालाई सबैभन्दा बढी प्रेम गर्छु भन्छन् । किन ? किनभने ती पाइताला पृथ्वी, हावा र पानीमाथि चलिरहन्छन्, जबसम्म तिनले उनलाई भेट्दैनन् । किनभने प्रेयसीलाई उनीसम्म ल्याइपुर्याउने तिनै पाइताला हुन् ।
ल्याङ्ग्स्टन ह्युजेज र माया एन्जेलो उत्पीडित समुदायका अधिकार र संघर्षबारे लेख्ने संसारकै प्रभावशाली कवि हुन् । ह्युजेज काला जातिको मार्मिक र मनोबल उँचो पार्ने अभिव्यक्ति दिन्छन् । ‘हार्लेम’ शीर्षकको छोटो कवितामा उनी थाती राखिएको सपना बमजस्तै विस्फोट हुने भविष्यवाणी गर्छन् । एन्जेलो काला जाति, त्यसमाथि महिलाको दुःख सानदार ढंगले उठाउँछिन् । ‘एन्ड स्टिल आई राइज’ शीर्षक कवितामा उनी लेख्छिन्–
आफ्ना तीता र असंख्य झुटहरू फैलाएर
मलाई तिमी इतिहासमा लेख वा नलेख
मलाई तिमी कुल्चिएर फोहोरमा दबाऊ
तर उडिआउने धुलोजस्तै म उठ्छु ।
संसारभरि प्रभाव जमाउने कवि अरू धेरै छन् । फेडेरिको गार्सिया लोर्का, मिग्वेल हर्नान्डेज, नाजिम हिक्मत, आलेक्सान्द्र पुस्किन, सर्गेई एसेनिन आदि । यी सबै आधुनिक मानवतावादी, प्रगतिवादी चेतनाका र संघर्षशील परम्पराका महान् कवि हुन् ।
अर्का उल्लेख्य कवि हुन्– अमेरिकी बिट जेनेरेसनका एलेन गिन्सबर्ग । उन्मुक्त र अराजक अभिव्यक्तिको सम्भवतः सबैभन्दा सिर्जनशील उदाहरण उनका कवितामा भेटिन्छ । कवितात्मक सौन्दर्यमाथि परम्परागत दृष्टि राख्नेले त उनका कवितालाई अराजक नारा, अश्लील गाली, युद्धविरोधी नारा पनि भनिदिन सक्छन् । तर ती हुन् युद्धविरोधी र मानवता र प्रकृतिका पक्षमा सानदार अभिव्यक्ति । उनको सबैभन्दा प्रसिद्ध कविता हो ‘हाउल,’ जसमा व्यवस्थाले महान् व्यक्तिहरूको प्रतिभा नष्ट गरिदिएकोमा तीव्र आक्रोश छ । युद्धविरोधी अर्को बहुचर्चित कविता ‘अमेरिका’मा उनी लेख्छन् –
अमेरिका, मैले तिमीलाई सबै दिएँ र अब म केही रहिनँ
अमेरिका, दुई डलर सत्ताइस सेन्ट, जनवरी १७, १९५६
म आफ्नै हृदयलाई सहन सक्दिनँ
अमेरिका, हामी कहिले यो युद्ध अन्त्य गर्दैछौं ?
धत्, तिमी आफ्नै आणविक बमसँग सम्भोग गर
मलाई सञ्चो छैन, दुःख नदेऊ
म अब कविता लेख्ने छैन जबसम्म मेरो मन ठीक हुँदैन
अमेरिका, तिमी कहिले देवदूतजस्तै दयालु हुन्छौ ?
कहिले तिमी आफ्नो लुगा फुकाल्छौ ?
कहिले तिमी आफैंलाई चिहानबाट चिहाउँछौं ?
कहिले तिमी दस लाख ट्रात्स्कीप्रेमीहरूका लागि योग्य बन्छौ ?
अमेरिका किन तिम्रा पुस्तकालयहरू आँसुले भरिएका छन् ?
अमेरिका, कहिले तिमी आफ्नो अण्डा भारत पठाउँछौ ?
म तिम्रा पागल मागहरूको बिरामी छु
अमेरिका, म कहिले विशालबजारहरूको सामना गर्न सक्छु
र राम्रो लागेको सामान किन्न सक्छु ?
