दोस्रो बाटो थियो दुःख,जसलाई भोग्न तत्काल लामबद्ध भए मानिस,गरे भव्य स्वागत,र लुटिनबाट जोगाए त्यसलाई,राखे आफूभित्र लुकाएर
What you should know
काठमाडौँ —
तीनवटा बाटो हुँदै
धर्तीमा आएका हुन् ईश्वर
पहिलो बाटो थियो अज्ञानता
मानिसले आफ्नै आवाजको प्रतिध्वनि नचिनेर
त्यसैलाई मानेका थिए ईश्वर
जसलाई– मानिसकै हुलबाट लुटेर लगे शासकहरुले
दोस्रो बाटो थियो दुःख
जसलाई भोग्न तत्काल लामबद्ध भए मानिस
गरे भव्य स्वागत
र लुटिनबाट जोगाए त्यसलाई
राखे आफूभित्र लुकाएर
तेस्रो बाटो थियो प्रेम
त्यस बेला, मानिसका लागि–
सबभन्दा अप्ठ्यारो बाटो नै यही थियो
भिरालो, भत्किजाने, मर्मत गरिरहनुपर्ने
त्यसैले– प्रेमको बाटो आएको ईश्वरलाई
मानिसहरुले जानीजानी अनदेखा गरिदिए
ईश्वरहरुकै साम्राज्यबाट
प्रमिथसझैं आएको थियो त्यो ईश्वर
पैगम्बरले झैं सुनाएको थियो उसले मुक्तिमन्त्र
तर, विरुपाक्ष मुद्रामा देखेर उसलाई
डराए मानिस
र उल्टै अपमान गरे प्रेमको
अज्ञानताको बाटो हुँदै आएको ईश्वर
भयो भाषा भाव नभएको मूर्ति
स्वयं पुजारीले लाउनुपर्ने भयो उसको आकारको अर्थ
स्वयं भक्तले खोज्नुपर्ने भयो भावको गहिराइ
दुःखको बाटो हुँदै आएको ईश्वर
भयो– पहाड, जंगल, खोला, बतास, आकाश...
त्यहीं, मानिस अल्मलियो युगौं
तेस्रो बाटो आएको ईश्वर
मानिसहरुकै चाला देखेर भयो निराकार
बिना प्रेम त मानिस, मानिस रहने कुरै थिएन
तब तिनले फेरि–
खोज्न थाले निराकार ईश्वरलाई
प्लेटो हुन् कि ?
कार्ल मार्क्स हुन् कि ?
बुद्ध हुन् कि ?
...को हुन् ईश्वर ?
अज्ञानताको बाटो हुँदै आएको ईश्वर
स्वयं फसेको थियो दुःखमा
दुःखको बाटो हुँदै आएको ईश्वर
स्वयं भएको थियो अज्ञानी
खोइ हाम्रा मुक्तिदाता ?
फेरि मानिस अलमलिए युगौं
यही बेला–
जिससलाई निर्वस्त्र देखेर
शिवलाई लथालिङ्गै भेटेर
अल्लाहलाई नभेटेर, नदेखेर
नित्सेले गर्यो ईश्वरको मृत्युको घोषणा
तर त्यो त उसको
मात्र आवेग थियो, स्वप्नमय भ्रम थियो
थपे त्यसमै जोन मिचेलले, आइन्स्टाइनले
हुलरले, हकिङले
तर, एक दिन अचानक
त्यही अज्ञानताको बाटो हुँदै
दुःखमा फसेको ईश्वरसित
बादलभित्रको चन्द्रमामा चाँदीको घेराजस्तो
प्रेमको सानो अंश देखियो
जसलाई देखेर एउटा मानिस
आश्चर्यचकित भयो
ऊ उठ्यो र आङ तन्कायो
नेमेसिस !
त्यो मानिस अरु कोही थिएन
म थिएँ
म छु
म हुनेछु।
(नेमेसिसः ग्रिक मिथककी प्रसिद्ध देवी)
