कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

रोल्पाली ‘दिदीबहिनी खेती’ को सम्झनामा

यो प्रकृतिप्रेमी मिश्रित बालीको सम्झनास्वरुप लेखिएको प्रेमपत्र हो, त्यो प्रणालीले यतिखेर रोल्पा, रुकुमका कुनातिर अन्तिम सास फेरिरहेको छ
नवीन विभास

उत्तरी रोल्पा जैपामा भुइँ उज्यालो बसेपछि जेईले तीतेपातीको आठ/दसवटा मुर टिपिन् । नाकमा झुन्डिएको सुनको बुलाकीमा पाती मुर छुवाइन् । त्यसलाई मकैको बीउमा राखिन् । तलमाथि चलाइन् ।

रोल्पाली ‘दिदीबहिनी खेती’ को सम्झनामा

त्यसैबेला बाबै गनगन पनि चुलियो, ‘गौलेले दुई/तीन जुवाली कम्द जोत्न लागिसके । तमरु भर्कल्न घोगाको बीउ चोख्याऊ ।’ जेईले भनिन्, ‘भयो, कति गनगन गरेको ।’

त्यो बीउ जेईले पिरुङ्ङाबाट झिकेर गाँजा रेसाको बोल्लामा खन्याएकी थिइन् । बोल्लाबाट पनि दुई/चार किलो ऊनी झोलामा राखिन् । कुरा चालीस दशकको मध्यतिरको हो । मातृभाषा गुमाएका रोल्पाली मगर मकैलाई नै घोगा भन्थे, क्षत्रीले मका ।

‘छक्कालै छ’ भन्दाभन्दै जिलाधुरीमा घाम झुल्क्यो । माल्दाजुले बाट्लेपाटामा कौरे र माले भल्द नारे । चेप्टे घोगा बीउले भरिएको ऊनी झोला बोकाउँदै बाबैले भने, ‘कान्छा, स्कुल जानुअघिसम्म तेरो भाग बीउ रोप्ने ।’ बाबैको कुरालाई जेईले उकेरा लगाइन्, ‘पाइला गन्दै बीउ रोपेस् है, कान्छा । बाक्लो भए छाँट्न धौ हुन्छ, पात्लो भए कोप गर्न ।’

‘हेर हेर, साटा हेर, छेउ माले’ भन्दै माल्दाजु जोत्न तम्से । झोला कुममा भिरेँ । हलोको सियो बाटो हिँड्दै जोतिरहेका माल्दाजुको पछि लागेँ । चार/पाँच गेडा दायाँ हातमा लिएँ । बूढीऔँला र चोरऔँलाले बीउ बियालेँ । जेईले भनेअनुसार एकेक पाइलाको फरकमा हलोको स्हेमा बीउ खसालेँ । बीउ खसाल्दा बेलाबेलामा पाती मुर पनि खस्यो ।

बाट्लेपाटा हाम्रो सवारा कम्द (धेरै मल हालिएको घरछेउको बारी) थियो, जहाँ चेप्टे घोगा रोप्दैथिएँ । बाँकी कम्दमा सेते, प्हेले, काले । खोर्रेडाला भनिने कमसल कम्दमा चाँडै पाक्ने काले घोगा रोपेँ । बाँकी बीउ जेई आफैले रोपिन् । कति बीउ त जोत्नुअघि नै रोपिन्, जो जोत्दाखेरि माटामा पुरियो । ती बीउ कति गेडागुडीका थिए त कति तरकारीका । पिराल (पिँडालु), भट्ट (भटमास), सिमी, कब्ली (फर्सी), बोरी (बोडी), स्यानो करेलाका बीउ थिए । कम्द ढिकतिर जेईले भाङ्ङु (गाँजा), बिथु र माटे रोपिन् । साना दाना भएका तिल, सिलङ्ङे, भाँरे

(फापर), चोंटा (मुला), काँक्राका बीउ भने जोतेपछि हुर्रहुर्र छर्दै पैतलाले सोरसार पारिन्, ता कि माटाले त पुरियोस्, तर धेरै गहिरो होइन ।

जोत्नुअघि नै कम्दमा समानुपातिक ढंगले छरिनेगरी गोबर र सोत्तर कुहाएको मल छरे । बाट्लेपाटा आधाउधि जोते । बिश्राम गर्नुपर्ने भयो । माल्दाजुले भने, ‘कान्छा, तेर्भउजूलई आँसी माग् । किमुको घाँस खसाल् । हेर्तो, भल्द भोकाए ।’ हँसिया लिएँ । बाट्लेपाटा ढिकमा ठिंग उभिएको किमुको रूख चढेँ । आठ/दस हाँगा खसालेँ, जुन हाँगामा कति पाकेका त कति काँचा किमु फल थिए । ‘कान्छा, किमु पनि टिप् । पाकेको देखेर मुखै रसायो,’ जेईले भनिन् । त्यसपछि गाँजा रेसाले बुनेको जाबा लिन भनिन् । जाबा बोकेर फेरि किमुको रूखमा उक्लिएँ ।

‘कान्छा, लोट्लास्, ख्याल गरेस्,’ कम्दमा डल्ला फुटाउँदै झरेको जेईको आवाज कानमा ठोक्किरह्यो ।

किमु बोटभन्दा आठ/दस मिटर पर उभिएको ओखरको बोटमा कुक्कु करायो, कुक्कु कुक्कु । जुन ओखर घाट्रा थियो, पर्व आउँदा रोटा झान्ने तेल । घिउ सकिएको बेला तिहुन झान्ने तेल । जाबाभरि किमु लिएर किमु रूखबाट ओर्लिएँ । ओर्लंदा तीतेपातीको झाङतिर हुत्तिएँ । तीतेपातीको तीतो वासना बसायो । जुन झाङबाट नै जेईले बीउ चोख्याउने पाती मुर टिपेकी थिइन् । अलि परबाट तीतेपातीलाई सिस्नो झाङले एकटक हेरिरहेथ्यो । सिस्नो झाङछेवैमा बसेर भुटेको गहुँ, भाङ्ङुको फल र भट्ट मिसाएको खाजा माल्दाजुले मुखमा घान हाले । दुई हप्ता लाग्दा कम्दमा मकै एक बित्ता अग्लो भयो । मकैसँगै तरकारी र गेडागुडी पनि अग्लिए । गोडमेल भयो । जुन गोडमेलको नाउँ थियो, कुटेने ।

कुटेने बेलादेखि भाजी, भाँरे तिहुन भएर भान्सामा भित्रिए । त्यसपछि क्रमशः कब्लीको मुर र फल, पिरालको पात, सिमी ...। मकै दुई/तीन हातको भयो । हावाको दिशाअनुसार मकै बोटलाई लम्पसार ढाले । जसलाई ढाल्ने भने । केही दिनपछि सिंगाने जरा जन्माएर मकै बोट त आफै जुरुक्क उठे । कम्द ढिकमा सिपाहीजसरी गाँजा, माटे, बिथु उभिए । कम्द माझ मकैको नल्ठा (डाँठ) समाउँदै सिमी, बोरी, काँक्रा, स्यानो करेला लहरिए । चोँटा, भट्ट, पिराल, भाजी, कब्ली (फर्सी) एकापसमा हेराहेर गर्दै झुले ।

बाट्लेपाटामा मकैले धानेबाला फाल्यो । जुँगा हाल्यो । मकैका बोटमा सिमी, बोरी, काँक्रा, स्यानो करेला सिरुरु फुले । लटरम्म फले । जसरी दिदीले बहिनीलाई पिठ्युमा बोकेर हुर्कन्छन् । त्यसरी नै कब्ली, माटे, भाङ्ङु, बेथे फुले । भाँतीभाँतीका बाली एकअर्कालाई ‘सकअसक’मा सघाए । यसरी एकअर्काको सहारामा हल्कने हुनाले अंग्रेजीमा मिश्रित बालीलाई नाम दिइएको रहेछ, सिस्टर क्रपिङ अर्थात् दिदीबहिनी खेती । रोल्पाली दिदीबहिनी खेतीले बाट्लेपाटा कम्दको रूप फेरियो । हिउँद (गहुँ वा जौसँगै तोरी, सर्सु, मसुरा, घोराकोसा, कुट्लीकोसा आदि बाली लगाउने) मा पनि त्यसरी झकिझकाए । सुन्दर समावेसी । बहुरङी । गज्जब त के भने, साउने झरीमा तिनका पातमा ओर्लने पानी थोपा भुइँ झर्दा सुनूँसुनूँ सङ्गीतमा गीत गाए ।

आकाशे पानीमा निर्भर गाउँको खेती र उत्पादन निर्वाहमुखी थियो । त्यसैले मौसम लरकघरक हुनेबित्तिकै पनि अनिकाल आयो । कहिले अतिवृष्टि भएर त कहिले अनावृष्टि भएर । कम्दमा ठाउँठाउँमा उभिएका तीतेपाती मुसार्दै जेई भन्थिन्, ‘पाती नफाले है । बीउ चोख्याउन चाहिन्छ । खनजोत गर्दा घाउचोट लागे निचोरेर हाल्ने ओक्तो यै हो ।’

कम्दकै तीतेपातीको धूप बनाएर बाबैले असारमा कम्दमै सिमेभूमे पुजे । भदौ १२ गते चोखेढुंगा हाने । तीतेपातीले त जैविक विषादी काम पनि सम्हाल्दो रहेछ । बालीनालीमा लाग्ने सानातिना कीरा पातीले पार लाउँदोरहेछ ।

तिहुन खान आलु खने । चोँटा खने । चोँटाको सिन्की बनाए । पिराल पात उसिनेर गाभा बनाए, डाँठ उसिनेर पाप्रो । साग मारे (तातो पानीमा उमालेर रायो साग सुकाउनु) । जो हिउँदमासे तिहुन ‘सामा’ थिए । पूर्वी रोल्पाको जैमाकसला, पोबाङतिर त कम्दमा आलुको बदला कोदो रोपे । उत्तरी रोल्पातिर भाङ्ङु त मकैसँगै रोपे । बाट्लेपाटामा जस्तै एउटै कम्दमा अन्न फल्यो । तरकारी फल्यो । फल्यो, गेडागुडी पनि ।

असोज लागेपछि घोगाको जुँगा सुक्न थाल्यो । मकैको नल्थामा लहरिँदै पाकेका सिमी जेईले टिपिन् । बेथु, माटे, तिल, कब्ली, काँक्रा घरमा थकानिन्, जोत्ने बेला पिराल ।

घरमा लगेको घोगा उधारे । घोगाको भुस फाल्नुलाई घोगा उधार्ने भन्थे । कल्ले र किट्करी अलग गराए । कल्ले भनेको राम्रा दाना भएको घोगा हो । कल्ले घोगा उरुममा राख्नुअघि बाबैले भने, ‘कान्छा, जा तो पाती ले । धूप बाल्न परो ।’ पहिलो डोको घोगा उरुममा राख्नुअघि बाबैले तीतेपातीको धूप बाले, ‘अन्न सह लागोस्, तम् गोस्स्या भेटा, तम् दाइना भए ।’

...

रोल्पा, रुकुमका कुनामा सरकारी र गैरसरकारी कृषि पुगेको थिएन । पुगेको भेगमा कृषि कर्मचारीले रासायनिक मल र विषादी हालेर उत्पादन बढाउने बुटी बाँडे । एकल बाली लगाउन लगाए, जो ‘हरित क्रान्ति’ को सिको थियो । बढ्दो जनसंख्यालाई पुग्ने उत्पादन गर्न प्रविधि, रासायनिक मल, बिकासे बीउ र जहर प्रयोग गर्ने । पञ्चायत व्यवस्थाले कृषि आधुनिकीकरण गर्ने भन्यो । जो जहर, विकासे मल र प्रविधि प्रयोग थियो । रैथाने बीउ होइन, बिकासे बीउ थियो ।

२०४६ मा आएको बहुदलले पञ्चायतकै गला घाँस्यो ।

बहुदलकालमै चल्यो, माओवादी ‘जनयुद्ध’ । मिश्रित बाली प्रणाली अपनाइरहेका आदिवासी मगरबहुल रोल्पा, रुकुम नै माओवादी ‘केन्द्र’ बने । ‘माओवादी मक्का’ मानिने रोल्पा थबाङमा अजम्मरी जनकम्युन खुल्यो । छिमेकी जेलबाङमा जलजला कम्युन त रुकुम छिपखोलामा बलिदान र जाजरकोट जुर्कनेपानेमा जुनी कम्युन चले । चार कम्युन थलोमा मात्र होइन, माओवादीले आफ्नो लालगढभित्रको पनि थप ‘लाल’ मानेको रोल्पा राङ्कोटदेखि रुकुम मैकोटसम्मको भूभाग ‘विशेष जिल्ला’ बनायो । कम्युन र विशेष जिल्लामा ‘जनवादी खेती’ लगायो । पञ्चायत, बहुदल, माओवादीको एउटै लय थियो, एकल बाली प्रणाली । खै कसरी हो, थबाङलगायतका भेगमा मिश्रित बाली प्रणाली पूर्ण रूपमा नष्ट हुनबाट धन्न जोगियो ।

‘हामी त एक दर्जनजति बाली लगाउँछौँ । थबाङमा आजसम्म विषादी र रासायनिक मल प्रयोग गरेका छैनौं । घरेलु विषादी प्रयोग गर्छौं । साबिक थबाङ गाउँ बिकास समिति हुँदा अर्गानिक खेती गर्ने गाउँ घोषणा गरेका थियौँ । पछिल्लो चरणमा आधुनिकताको नाममा छिमेकतिर पाखापानी, जिनाबाङलगायतका भागमा रासायनिक मल र विषादी प्रयोग गर्न थाले,’ थबाङका युवा अमिट घर्तीमगर भन्छन् । थबाङसँगै कुम जोडेको भूमे गाउँपालिकाले त रैथाने बालीलाई प्रश्रय दिने नीति नै बनाएको छ । स्थानीय स्कुलका विद्यार्थी/शिक्षक, गाउँपालिका तालिम र गोष्ठीमा स्थानीय उत्पादनकै खाजा खान्छन् । खाना खान्छन् । पूर्वजले यस्तो मिश्रित बाली प्रणाली किन अपनाए होलान् हँ ?

गाउँघरमा बाली आकाशे पानीको भरमा थिए । कहिले खडेरी त कहिले पानी धेरै पर्ने । कुनै बाली खडेरीले पनि त्यति फरक नपार्ने त कुनै बाली धेरै पानीले पनि फरक नपार्ने । एउटा बाली नहुँदा अर्को बाली त कसो नहोला भनेर मिश्रित बाली अभ्यास गरे कि ?

एकअर्काका हात समाएर पो बाली उभिए । त्यसैले पो पूर्वजले मिश्रित बाली अभ्यास गरे कि ? आज अध्ययनले भन्यो कि, जरामा गाँठो भएका सिमी, भट्टले उत्पादन गर्ने नाइट्रोजन अन्य बालीका लागि अत्यावश्यक पोषण हो ।

माटोको गुणस्तर कायम राख्न पनि सहयोगी हुने हुनाले पनि मिश्रित बाली प्रणाली अपनाए कि ?

कुनै बेला भारतमा पनि यस्तो बाली प्र्रणाली चल्तीमा थियो, जुन कुरा सर अलवर्ट हावर्डकृत ‘एन एग्रिकल्चरल टेष्टामेन्ट’ मा छ, भारतमा एकलबाली प्रणाली थिएन (पृष्ठ १३) । बेलायतले आदिवासीबाट जग्गा खोसेर कपास खेती थालेपछि मात्र अहिलेको भारतमा (अंग्रेजले छोड्नुअघि भारत देश थिएन) एकलबाली प्रणाली सुरु भयो । कपासलगायत कृषिजन्य कच्चा पदार्थ आफ्नो उपनिवेश भारतबाट नै बेलायतले ओसार्‍यो । भारतमा मात्र होइन, अहिले त नेपालका तराई र पहाडका पनि खेतीयोग्य फाँटबाट पनि मिश्रित बाली प्रणाली बिलायो । सुदूर कुनाका गाउँमा मात्र यो प्रणालीको सिला बचेको छ । बचेका भेगमा पनि रैथाने जातका अन्न, गेडागुडी गायब । आकाशे पानीकै भरमा पनि फल्ने पाखे धान छैन, जसलाई गाउँघरमा राते धान भन्थे । रैथाने झौ र भट्टे धान पनि मासियो । प्हेले, सेते, चेप्टे, कालेजस्ता रैथाने मकै जात अलपिए । रैथाने बाली अलपिएसँगै खोर्रे त बाझिए नै, बाट्लेपाटाजस्ता सवारा कम्दसमेत बाझिए । बाझा नभएका तराई र पहाडका खेतीयोग्य कम्द एकलबाली, रासायनिक मल र विषादीले बिताएका छन् ।

...

पर्यावरण र जीवमैत्री मिश्रित बाली प्रणाली पूर्वजले लामो अभ्यासबाट अपनाएथे । त्यसैले त प्रकृतिले पनि मिश्रित खेती प्रणाली सिफारिस गर्‍यो होला । यो अभ्यास प्रकृतिसँग पनि हातेमालो गर्दै पुस्ता, दर पुस्ता सर्दै आयो । त्यसैले होला, पर्यावरण र नारी अधिकारकर्मी डा.वन्दना शिवा भन्छिन्, ‘जैविक विविधताले प्रकृति चल्छ । जो मिश्रित बालीले जोगाएको थियो । एकल बालीले रोगव्यवाधी मात्र होइन, बीउ, मल र जहरको कर्जाले भारतमा अढाई लाख किसानले आत्महत्या गरिसकेका छन् ।’

नेपाली किसान मात्रै होइन, नेपालका गाउँ वा सहरका उपभोक्ता आज (स्वदेश वा विदेश जहाँ उत्पादन भए पनि) अन्न, तरकारी र फलफूल होइन, विषादी खाइरहेछौं । व्यावसायिक र आधुनिक नारासाथ पसेको ‘एकल बाली’ले मानिस, जीवजन्तु, पर्यावरण, माटो ‘जक्खम’ छन्, जसरी बहुरङी नेपाल जक्खम छ– एक रङ, एक लिंग, एक भाषा र एक भेषले । समयमै मिश्रित बालीका गुन र बैगुन केलाएर परिमार्जन गरी व्यावसायिक बनाएको भए, दाता र विदेशी नजरले मात्र उत्पादन र विकासलाई नहेरेको भए, यति भयावह स्थिति आउने थिएन । कारण, कम्युनिटी र इकोसिस्टमको आवश्यकता सम्बोधन गर्न मिश्रित बाली विकास भएको हो, जसले ‘इकोलोजिकल ब्यालेन्स’ कायम राख्यो (वन्दना शिवा, स्टेइङ अलाइभ, वुमन, इकोलोजी एन्ड डेभलप्मेन्ट, पृष्ठ १०५) ।

प्रकाशित : जेष्ठ २७, २०८० ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम लाग्यो ?

x