श्रीमती च्याटर्लीको सर्वहारा प्रेमी- कोसेली - कान्तिपुर समाचार
क्लासिक

श्रीमती च्याटर्लीको सर्वहारा प्रेमी

पक्षाघातग्रस्त पतिप्रति कोनीको दायित्व र करुणाभाव कहाँ हरायो ? डीएच लरेन्सको उपन्यास ‘लेडी च्याटर्लिज लभर’ (सन् १९२८) माथि यो प्रश्न आज पनि उठाइन्छ । अश्लीलताको आरोपमा उपन्यास थुप्रै देशमा प्रतिबन्ध लाग्यो । लरेन्सको स्मृति–दिवस (मार्च–२) को सन्दर्भमा ‘लेडी च्याटर्लिज लभर’ माथि विमर्श :
अभय श्रेष्ठ

आधारभूत रूपले हाम्रो युग त्रासदीपूर्ण छ, त्यसैले हामी यसलाई त्रासद रूपमा स्विकार्न अस्वीकार गर्छौं ।’ यी दार्शनिक शब्द हुन् उन्नाइसौं शताब्दीका महान् बेलायती उपन्यासकार डीएच लरेन्सका । बहुचर्चित र बीसौं शताब्दीको सबैभन्दा विवादास्पद उपन्यास ‘लेडी च्याटर्लिज लभर’ को पहिलो वाक्यबाटै उनी यसरी सिंगो युगको अनुदारतातर्फ संकेत गर्छन् ।

विवाहइतर प्रेम सम्बन्धको कथा हो यो । आधुनिकताको पर्याय मानिने अमेरिकामा विवाह र सम्बन्धविच्छेद सामान्य प्रक्रिया हो । ओ हेनरीका कथामा त्यसको कति राम्रो चित्रण पाइन्छ ! फ्रान्सेली समाजमा विवाहेत्तर गोप्य प्रेम सम्बन्ध सामान्य हो । अर्थात् सबैजसो जोडीको गोप्य सम्बन्ध हुन्छ भन्ने लगभग त्यहाँ सर्वस्वीकृत छ । गुस्ताभ फ्लुबर्ट र मोपासाँका कृतिमा त्यसको राम्रो झलक पाइन्छ । तर, बेलायती समाज परम्परालाई गौरव ठान्छ । यो विश्वविजयी बेलायतको श्रेष्ठ मानसिकता र भिक्टोरियाली नैतिकताको देन हो । चार्ल्स डिकेन्सको उपन्यास ‘ओलिभर स्टोन’ पढ्दा बेलायती समाजको मानसिकताबारे राम्ररी बुझ्न सकिन्छ । उनको विचारमा विवाहित जोडी हिन्दु समाजमा जस्तै ‘भगवान्ले जुराउँछन्’ । प्रेम र यौन प्राकृतिक विषय हुन् भने विवाह र नैतिक बन्धन समाज निर्मित विषय । जब यस सत्यको तहमा जीवनको साक्षात्कार हुन्छ, नैतिकताले बाँधिएको समाजमा दस रेक्टर स्केलको भुइँचालो जान्छ । लरेन्सको प्रहारको विन्दु यही कथित आदर्श हो ।

विवाह र प्रेम

‘लेडी च्याटर्लिज लभर’ उच्च वर्गको सैनिक अधिकारी सर क्लिफोर्ड च्याटर्ली र पद्मिनी देहकी कोनी (कोन्सटान्स) बीच असफल विवाहको कथा हो । त्यसभन्दा बढी यो कोनीजस्ती युवतीको नैसर्गिक आकाङ्क्षा र अधिकारको वकालत गर्ने विवाहेत्तर प्रेम सम्बन्धको कथा हो । प्रथम विश्वयुद्धमा घाइते क्लिफोर्डको कम्मरमुनिको भाग निको नहुने गरी पक्षाघात हुन्छ । यस्तो अवस्थामा उसको यौन जीवन निष्काम हुनु स्वाभाविक हो । त्यसको असर उसलाई भन्दा नीला आँखा, सुनौला कपाल, चञ्चल मन र पद्मिनी देहकी उसकी सुन्दर पत्नीलाई पर्छ । त्यसको हिसाब पवित्रताको रेखा कोरेर बस्ने आदर्श समाजले राख्दैन । बस ! त्यो आदर्शको भित्ता त्यहीँबाट चिरिन सुरु हुन्छ । ह्वीलचेयरमा सीमित क्लिोफोर्ड र कोनी लन्डनबाहिर र्‍याग्बी गाउँको मौजामा बस्छन् । क्लिफोर्डको अथाह पैतृक सम्पत्ति छ । छिमेकमा उसको ठूलो धाक–रवाफ छ । उसकी धर्मपत्नी कोनी नामले भन्दा बढी लेडी च्याटर्ली उपाधिले चिनिन्छे । उपन्यासमा क्लिफोर्डको पक्षाघात बेलायती कुलीन समाजकै गतिहीनता र अक्षमताको प्रतीक हो । लरेन्सजस्ता विद्रोही लेखकको लडाइँ यही गतिहीनताविरुद्ध हो । फेबियन पारिवारिक पृष्ठभूमिकी कोनीको विवाहपूर्वको जीवन रोम, पेरिस, फ्लोरेन्सजस्ता कलासचेत सहरमा कवि, कलाकार र दार्शनिकको संगतमा बितेको हुन्छ । शरीर र मन दुवैले ऊ अत्यन्त प्रेमिल छे । उसको पति शारीरिक रूपले अक्षम, तर मानसिक रूपले पारिवारिक सत्ता चलाउने पुरुष अहम्ले भरिएको छ । दिनभरि पतिको सेवा, टहल गर्नु, नुहाइदिनु, खाना पस्कनु, खाटबाट ह्वीलचेयर, ह्वीलचेयरबाट खाटमा बसाउनु, ह्वीलचेयरमा घरबाहिर घुमाउन लैजानु कोनीको दिनचर्या हुन पुग्छ । यदाकदा उनीहरू महान् साहित्यका अंशहरू पढेर एकअर्कालाई सुनाउँछन् ।

क्लिफोर्ड ख्यातिप्राप्त लेखक हो । उसका प्रशंसक र मित्रको संख्या अगणित छ । ती यदाकदा मौजामै पाहुना बनेर बस्छन् । यस दम्पतीको साथी सर्कलमा प्रेम, विवाह र यौन जीवनबारे खुला चर्चा हुन्छ । एउटा मित्र भन्छ, ‘यौन क्रिया महिला र पुरुषबीचको शारीरिक वार्तालाप हो ।’ तर, यी आधुनिक बुद्धिजीवी केवल गफ गर्छन्, रक्सी धोक्छन्, चुरोटको कुइरीमण्डल धूवाँबीच साँझ बिताउँछन् । तिनको जिन्दगीमा खोक्रोपनबाहेक जिन्दगीको ऊर्जाशीलता केही हुँदैन ।

मौजाभित्रै क्लिोफोर्डको कामदार ओभिलर मेलोर्सको दिनचर्याको वर्णन शानदार छ । लरेन्सको वर्णन यस्तै सर्वसाधारणप्रतिको प्रेम र सहानुभूतिमा जीवन्त लाग्छ । क्लिफोर्डको महलभित्र शिष्ट, शालीन र बौद्धिक परिवेशको तुलनामा कामदार वर्गको दिनचर्या सत्य र मानवीयतासँग नजिक छ । पाठकलाई लरेन्सले गर्न चाहेको ध्यानाकर्षण पनि यही हो । क्लिफोर्डलाई महलबाहिर घना जंगलमा डुलाउन जाँदा एक दिन कोनीको भेट आवाराझैं देखिने एक आकर्षक युवकसँग हुन्छ । यही व्यक्ति मेलोर्स हो । युद्धकालमा ऊ क्लिफोर्डकै मातहतको सैनिक थियो, अहिले उसको निजी कामदार । घना जंगलबीच बस्न ऊसँग केवल सानो झुपडी छ । रुष्ट भएर पत्नीले उसलाई छाडेर गएकी छ । उसको देहाती अंग्रेजी लवजमा उच्च वर्गप्रति गहिरो व्यंग्य झल्किन्छ । कोनी ऊप्रति आकर्षित हुन्छे र मौका मिल्नासाथ उसको झुपडी पुग्छे ।

यसबीच क्लिफोर्डको नाटककार मित्र मिकेलसँग कोनीको शारीरिक सम्बन्ध रहन्छ । मिकेल सम्भोगको अर्थ दुवैको भोग हो भन्ने बुझ्दैन । तुच्छ र क्षणिक आनन्दमै स्खलित हुने यो पात्र आफ्नो अक्षमतापूर्ण असभ्यताको दोष स्त्रीको उद्दाम इच्छामाथि लगाइरहन्छ । नाटककारको अक्षमतालाई लरेन्स यहाँ प्रकृतिबाट टाढिएको, कृत्रिम जीवन बाँचिरहेको कुलीन समाजकै अक्षम जीवनका रूपमा संकेत गर्छन् । उपन्यासमा पात्रहरूबीच यौन प्रक्रियाबारे प्रस्ट संवाद चलिरहन्छ । कथावस्तु सुन्दा धेरैलाई यो यौनकेन्द्रित उपन्यासजस्तो लाग्छ । तर, होइन । खासमा यो प्रकृति र सभ्यता, प्रकृति र सामाजिक परम्परा तथा नैतिक बन्धनबीचको द्वन्द्वको कथा हो । अभिजात वर्गलाई केवल आफ्नो इच्छासँग सरोकार छ । स्त्री तिनका लागि मात्र एक वस्तु हो, सहयात्री होइन । कोनी प्रकृतिको पक्षमा निर्भीकतापूर्वक उभिने उदाहरणीय पात्र हो । लरेन्स कोनी र मेलोर्सको पक्षमा उभिएर क्लिफोर्ड र मिकेलको कृत्रिमताले भरिएको कुलीनतन्त्रलाई धुस्नो पारिदिन्छन् ।

त्यसपछि कोनीको जीवनमा बलियोसँग जोडिन आइपुग्छ, उही जंगलको पहरेदार मेलोर्स । उनीहरूबीच गहिरो माया बस्छ । शारीरिक सम्बन्ध पनि हुन्छ । यसअघि कोनीको जीवनमा मन र शरीर दुवैको भाषा बुझ्ने कोही आएको थिएन । कोनी उसैबाट बच्चा जन्माउन चाहन्छे । यसपछि उपन्यासमा लरेन्सले महिला–पुरुष सम्बन्धबारे गम्भीर विमर्श गराएका छन् । अभिजात वर्गको झिल्के मखुन्डो खोलिदिएका छन् । कोनी गर्भवती हुन्छे । भेनिस यात्रामा ऊ यो कुरा दिदी हिल्डा र पितालाई सुनाउँछे । सुनेर दुवै हैरान हुन्छन् । त्यहाँ कोनीको भेट पूर्वपरिचित चित्रकार डंकन फोर्बेससँग हुन्छ । समाजलाई देखाउन फोर्बेस कोनीको हुनेवाला बच्चाको पिता बन्न राजी हुन्छ, तर कोनीलाई ऊ आफ्नो स्केचका लागि नग्न मोडल बन्न आग्रह गर्छ । र्‍याग्बी फर्केर कोनी पतिलाई आफ्नो गर्भबारे सुनाउँछे । हतप्रभ भए पनि यस गोप्यताको उद्घाटन कतै नहुने सर्तमा बच्चालाई ऊ आफ्नो उत्तराधिकारी मान्न तयार हुन्छ । कोनीलाई समाज र उच्च वर्गको कृत्रिमताप्रति घृणा छ । यही कुरा ऊ मेलोर्सलाई सुनाउँछे । ‘तिम्रो इच्छा के छ ?’ ऊ सोध्छ ।

‘म तिमीसँगै बस्न चाहन्छु’ ऊ भन्छे ।

उपन्यासको मज्जा के छ भने घटना यहाँ त्यति महत्त्वपूर्ण छैन जति महत्त्वपूर्ण त्यसमाथि पात्रहरूको विमर्श छ । मेलोर्स सर्वहारा हो । अभिजात वर्गप्रति उसलाई घृणा छ । ऊ सदैव मुक्त र गतिशील जिन्दगी बाँच्न चाहन्छ, जुन कुलीनतन्त्रमा असम्भव छ । ऊ भन्छ, ‘म गतिशील स्वभावको मान्छे हुँ । आर्थिक रूपले तन्नम छु । पैसासँग मलाई मोह छैन । तिमी धनी छौ । म तिमीमाथि निर्भर रहने कल्पना गर्न सक्दिनँ ।’

‘हामीबीच प्रेम जीवित रहिरहोस् । यही काफी छैन ?’ ‘यही स्थितिमा चाँडै नै तिम्रो प्रेम घृणामा बदलिनेछ ।’ ‘तिमीलाई ममाथि विश्वास छैन ?’

‘पैसा तिम्रो, निर्णय तिम्रो, मालिक तिमी । म प्रेमी हुँ, तिम्रो खेलौना बनेर बस्न सक्दिनँ ।’

कोनी अन्ततः इङ्ल्यान्ड छाडेर दिदी हिल्डासँग स्कटल्यान्ड जान्छे । जति वैचारिक मतभेद भए पनि कोनी र मेलोर्स दुवै एक दिन पति–पत्नीका रूपमा रहने कामनासहित उपन्यास सकिन्छ ।

विवाद र बहस

सन् १८८५ मा बेलायतको नटिंघमसायरमा जन्मेका लरेन्सका कथा र उपन्यास मात्र नभई निबन्ध र कवितासमेत विश्वविख्यात छन् । ‘वमन इन लभ’, ‘रेन्बो’ उनका सर्वश्रेष्ठ उपन्यास हुन् । ‘लेडी च्याटर्लिज लभर’ उनको सर्वाधिक चर्चित कृति हो । जम्मा ४४ वर्ष बाँचेका लरेन्सले यस उपन्यासको तीन प्रारूप तयार गरेका थिए । यो चर्चा तेस्रो प्रारूपको हो, जसलाई उपन्यासको पूर्ण प्रारूप मानिन्छ ।

आफ्नो नैसर्गिक आकांक्षासामु पक्षाघातग्रस्त पतिप्रति कोनीको दायित्व र करुणा भाव कहाँ हरायो ? उपन्यासमाथि यो प्रश्न आज पनि स्वाभाविक रूपमा उठाइन्छ । सन् १९२८ मा इटालीमा छापिएदेखि बीसौं शताब्दीको मध्यसम्ममा यही प्रश्न छुरा बनेर उभिरह्यो र अश्लीलताको आरोपमा बेलायत मात्रै होइन, अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान र भारतमा समेत किताबमाथि प्रतिबन्ध लाग्यो । प्रकाशक पेन्गुइन बुक्सले मुद्दा जितेपछि सन् १९६० मा बेलायतमा यसको खुला प्रकाशन भयो । तत्कालै ३० लाख प्रति बिक्री भयो ।

कोनीले विद्रोह गरेपछि क्लिफोर्डप्रतिको मानवीय दायित्व विधवा धाई मिसेज बोल्टनले निःस्वार्थपूर्वक निर्वाह गर्छे । लरेन्सले मानवीय दायित्व बिर्सेका छैनन् । तर, उनी त्यसमा विस्तृत जाँदैनन् । किनभने उपन्यासमार्फत उनलाई कुलीनतन्त्रको झिल्के मखुण्डो उतार्नु छ र मान्छेको प्राकृतिक अधिकारको सवाल स्थापित गर्नु छ । खासमा अश्लीलताका कारण नभई नारीको नैसर्गिक आकांक्षाका नाममा अभिजात वर्गको परम्परामाथि प्रहारका कारण पुस्तकमाथि प्रतिबन्ध लगाइएको थियो । अश्लीलता शब्द र वर्णनमा हुँदैन, नियतमा हुन्छ । उपन्यासको नियत अश्लीलता फैलाउने नभई नारीको नैसर्गिक आकांक्षाको उद्घाटन गर्नु हो । परम्पराको नाममा महिलाको मन, शरीर र प्राकृतिक अधिकारमाथि दमन हुँदा हुने विद्रोह नै यही हो । कुनै समय प्रतिबन्धित यही उपन्यासलाई आज महान् साहित्यिक उपलब्धि मानिन्छ ।

एक ठाउँमा मेलोर्सका शब्दमाथि टिप्पणी गर्दै कोनी भन्छे, ‘तिमी यौन प्रक्रियाबारे सारै ठाडो भाषा प्रयोग गर्छौ ।’ उपन्यासमा लरेन्स स्वयं यौनक्रियाको सूक्ष्म वर्णन गर्छन् । त्यस क्रममा उनी शरीरका हरेक अंग सञ्चालनको वर्णन नृत्यमय भाषामा प्रकट गर्छन् । यसलाई उनी अश्लीलता होइन, जीवनको प्राकृतिक प्रक्रियाको उद्घाटन ठान्छन् ।

अन्त्यमा

पारिजातको प्रसिद्ध उपन्यास ‘शिरीषको फूल’ को नायक सुयोगवीर मनले सकम्बरी र देहले मुजुरालाई प्रेम गर्छ । ऊ भन्छ, ‘म बरीलाई प्रेम गर्छु, तर स्वास्नी कस्ती हुनुपर्छ भनेर कसैले सोधे त्यहाँ मुजुरालाई उभ्याउन चाहन्छु ।’ यता लरेन्स भन्छन्, ‘मनबिना देह र देहबिना मनले मात्र प्रेम गर्न सम्भव छैन । त्यहाँ दुवैको स्थिति अनिवार्य छ ।’ सायद लरेन्स अलि बढी सत्यको नजिक छन् । सत्य के पनि हो भने यौन प्रेमकै एउटा हाँगा हो, तर मान्छे सचेत प्राणी हुनाले प्रेममा यौन अनिवार्य हुँदैन । करुण स्थितिमा यौन आवश्यकै हुँदैन ।

प्रकाशित : फाल्गुन २७, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

मिसन मसला : पृथ्वीलाई एक फन्को

पूर्वको रैथाने मसलाले मध्यकालीन युरोपको भान्सा मोहित भयो । मसला फल्ने भूगोलसम्म पुग्न थुप्रै साहसी/दुस्साहसी यात्रा भए । तर, भूगोलबारे तथ्य कम र मिथक ज्यादा प्रचलनमा रहेको त्यस युगमा पृथ्वीलाई एक फन्को लगाउने फर्डिनान्ड मेगलनको यात्रा अभूतपूर्व थियो । विश्व आर्थिक, राजनीतिक र सांस्कृतिक इतिहासमा त्यो यात्रा एक महत्त्वपूर्ण मोड थियो ।
विकास बस्नेत

एक मुट्ठी ल्वाङयुफ्रेटस नदीतटको सानो सहरमा आगलागी भयो इसापूर्व १७२१ तिर । पुजुरुम भनिने एक व्यक्तिको घर जल्यो (पहिलो पटक मान्छेले यही भूगोलमा क्युनिफर्म/स्फान लिपिमा लिखित अभिलेख राख्न आरम्भ गरेको समय थियो त्यो) । घर जलेपछिको खरानीको थुप्रोमा पुरातत्त्वविद्हरूले माटाको भाँडामा दुरुस्तै जोगिएको एक मुट्ठी ल्वाङ फेला पारे ।

त्यो एक आश्चर्य थियो । इन्डोनेसियाको मोलुका द्वीप समूहमा मात्रै पाइने रैथाने ल्वाङलाई सिरियाको मरुभूमिमा कसले र कसरी पुर्‍यायो ? यो झनै आश्चर्य थियो । पुजुरुमको भान्सामा पुगेको ल्वाङको कथा त इतिहासको गर्तमा बिलायो । तर, करिब ३२ सय वर्षपछि स्पेनबाट मसलाको खोजमा विश्व–यात्रामा निस्केका फर्डिनान्ड मेगलन र उनको टोलीले फर्किंदा ल्याएको २६ टन ल्वाङको अभूतपूर्व यात्रा–कथा रोचक र सम्झनलायक छ । यो कथाले मसलाको इतिहासको परिभ्रमण गराउँछ ।

सेप्टेम्बर ६, १५२२ । स्पेनको सानलुकार दे बारमादा बन्दरगाहको क्षितिजमा एक जीर्ण पानीजहाज देखापर्‍यो । जहाजको पाल झुत्रो भएको थियो । पाटपुर्जा खियाले खाएर खङ्ग्रङ्ग देखिन्थ्यो । वास्तवमा जहाजको नाममा त्यो अस्थिपञ्जर थियो । जहाजभित्रको दृश्य झन् कारुणिक थियो । त्यहाँ थिए कुपोषणले हाड–छाला मात्रै बाँकी भएका नाविकदलका १८ जना सदस्य । तिनीहरूसँग बोल्ने सामर्थ्य पनि बाँकी थिएन, जिब्रो सुन्निएको थियो, ठेउला र पानीफोकाले जिलजिल भएको थियो शरीर । जहाजका कप्तान र अधिकांश सदस्य बाटैमा मरिसकेका थिए ।

तीन वर्षमा ६० हजार माइल दूरी यात्रा गरेको जहाजले सर्वस्व गुमाएर पनि अति जतनले बोकी ल्याएको एक मात्रै त्यो वस्तु थियो– ल्वाङ । र, इतिहासमै पहिलोपटक पृथ्वीको एक फन्को परिक्रमा गरेको थियो त्यस जहाजले । हिउँदे ठिहीमा ज्यानको परवाह नगरी आफ्नो लुगाफाटोसमेत बेचेर इन्डोनेसियाको मोलुका द्वीपमा किनिएको थियो त्यो ल्वाङ । यात्राका कप्तान जनरल थिए– फर्डिनान्ड मेगलन । ‘अन्वेषण युग’ को त्यो अभूतपूर्व यात्रालाई मसलाको महकले नै ऊर्जा दिएको थियो (ओभर द एज अफ द वर्ल्ड, लरेन्स बरग्रिन) ।

मसलाको महक

त्यसबेला ल्वाङ, दालचिनी, मरिच, जाइफल, अदुवाजस्ता मरमसलाको महकले युरोपको भान्सा मोहित भइसकेको थियो । १३ औं शताब्दीको एउटा रेसिपीले बंगुरको मासुमा पर्याप्त अदुवा, दालचिनी, मरिच, ल्वाङ र जाईफल हाल्न सुझाएको छ । सन् १४२४ मा एक मध्यमवर्गीय परिवारले औसत १७ पाउण्ड मरिच, १४ पाउण्ड अदुवा र १७ पाउण्ड ल्वाङ–दालचिनि उपभोग गर्थ्यो । पाहुना सत्कारमा समेत यी मसला प्रयोग हुन्थे । सन् ११९४ मा रिचार्ड प्रथमको पाहुना बनेर बेलायत पुगेका स्कटल्याण्डका महाराजलाई प्रत्येक दिन दुइ पाउण्ड मरिच र चार पाउण्ड दालचिनी टक्र्याइएको थियो (टेस्ट अफ प्याराडाईज, वुल्फग्याङ्ग चिभेलबुस) ।

अमेरिकी महादेशको पूर्वीतटीय क्षेत्र मात्रै युरोपको सामान्य जानकारीमा आएको समय थियो त्यो । त्यसैले त्यहाँको रैथाने आलु, टमाटर तथा मकै युरोपको भान्सामा पुगिसकेको थिएन । त्यहाँ अमिलो कागती, गुलियो चिनी, तातो चिया र कफी थिएन । यस्तोमा युरोपेली परिकारमा स्वादको विविधताका लागि ल्वाङ, मरीच, जाइफल, दालचिनी र अदुवा बिस्तारै अनिवार्य बन्यो । सबैलाई थाहा थियो– यी मरमसला पूर्वका रहस्यमयी भूगोलबाट आउँथे । इडेनको बगैंचा यही धरतीमा कतै रहेको बुझाइ थियो इसाईहरूको । उनीहरूको विश्वास थियो– जेरुसेलमभन्दा पूर्वपट्टि छ त्यो बगैंचा । इसाई मानचित्रकारले पनि सुदूरपूर्वतिर स्थापित गरेका थिए– स्वर्गको ठेगाना । कट्टर इसाई समाजका लागि स्वर्ग र मसला दुवै पूर्वमा हुनु एक संयोग मात्रै थिएन । र, मसलाको महक सिधै स्वर्गको महक हो भन्ने ठानियो । त्यसबेला यही मान्यता निकै गहिरोसँग स्थापित भयो । आम जिब्रो अनि मनोविज्ञानमा मसला स्वाद, सुवास, ओखती र प्रसाद बनेर छाएपछि युरोपमा यसको मागले आकाश छोयो । साहुहरूले मसलाको व्यापारमा अथाह पैसा देखे । नदेखून् कसरी ? मेगलनको त्यो जीर्ण जहाजमा आइपुगेको ल्वाङले मात्रै यात्राको सबै खर्च कटाएर नाफा कमाएको थियो । मसलाको व्यापारमा अथाह पैसा थियो, अर्थात् तिनका लागि पनि पूर्वको भूगोल एक स्वर्ग थियो । तर ‘स्वर्ग’ पुग्ने बाटो सहज थिएन (आउट अफ द इस्ट, पाउल फ्रिडम्यान) ।

अड्चन

रोमन साम्राज्यको पतनसँगै युरोप र भारतबीच स्थापित प्राचीन सोझो व्यापारिक सम्पर्क टुटेको थियो । इजिप्टमा मुसलमान र भूमध्यसागर क्षेत्रमा अरबीहरूले युरोपलाई भारततर्फ ढिम्किनै दिएका थिएनन् । युरोपेली जहाज लालसागर पार गरेर हिन्द महासागरमा छिर्न पनि पाउँदैनथ्यो भने स्थलमार्ग हुँदै भारत पुग्न अरबीहरूको चर्को अड्चन थियो । भारतको मालबार तटको मरीच, श्रीलंकाको दालचिनी, अम्बोनियाको ल्वाङदेखि बान्दाद्वीपको जाइफलले लुटपाट, आँधीहुरी र घामपानी छल्दै युरोपसम्म आइपुग्न महिनौं लामो यात्रा गर्नुपर्थ्यो । दर्जनौं बिचौलियाको हात फेर्दै युरोपको भान्सासम्म पुग्दा मरमसालाको भाउ हजार गुणा बढिसकेको हुन्थ्यो । सबैभन्दा सस्तो मानिने एक पाउन्ड मरीच किन्ने पैसाले एउटा सग्लो सुंगुर नै किन्न पाइन्थ्यो । इस्लाम र अरबी अवरोध तोड्न सम्भव नभएपछि भारतलगायत पूर्वी क्षेत्र पुग्ने नयाँ बाटाको खोजीमा व्यापक बेचैनी थियो स्पेनमा ।

मेगलन सूत्र

त्यसै बेला जन्म/कर्मभूमि पोर्चुगलमा नपत्याइएका मेगलन मसला द्वीपसम्म पुग्ने छोटो बाटाको योजना लिएर स्पेन आइपुगे । मेगलनको प्रस्ताव ‘र्‍याडिकल’ थियो– ‘पूर्वको मालवस्तु पूर्वी दिशाबाटै आउनुपर्छ भन्ने जरुरी छैन । यदि पृथ्वी गोलो छ भने पश्चिम हुँदै पनि पूर्व पुग्न सकिन्छ ।’ मेगलनको त्यो प्रस्ताव नवीन भने थिएन । सन् १४९८ मा कोलम्बसले यस्तै असफल प्रयास गरिसकेका थिए । दक्षिण अमेरिकाको क्यारेबियन तट टेकेका उनले भारत पुगेको प्रमाणस्वरूप ‘दालचिनी’ ल्याएका थिए । तर, त्यो रुखको बोक्रा दालचिनी भन्ने पुष्टि भएन । मरीच भेटिने कुरै थिएन । बरु साथै ल्याएको ‘अजी’ भनिने अत्यन्तै पिरो फल केही दशकमै खुर्सानीका नाममा दुनियाँभरि तीव्र गतिमा फैलियो ।

मेगलनको सामुद्रिक यात्रापछि युरोपको मेनुमा थपिए नयाँ मसला । त्यो यात्रापछि फोरियो मान्छेको रुचि र स्वाद । मेगलनको टोलीले पृथ्वीलाई एक फन्को घुमेपछि दुनियाँ फेरि उस्तै रहेन ।

मेगलनलाई थाहा थियो– प्रशान्त महासागर र आन्ध्र महासागरको बीचमा अमेरिकी भूगोलको अवरोध छ । साथै दक्षिण अमेरिकी महादेशको दक्षिणी पुछारतिर कतै न कतै प्रशान्त र आन्ध्र महासागरलाई जोड्ने गल्छी वा कोरिडोर छ भन्ने दृढ विश्वास थियो उनमा । त्यही कोरिडोरबाट प्रशान्त महासागर प्रवेश गरी उनी एसिया पुग्न चाहन्थे । पृथ्वीको फैलावट र भूगोलबारे मेगलनको अज्ञानता नै उनको विश्वासको आधार थियो ।

अधुरो/अपुरो ज्ञान

पृथ्वीको फैलावट र यसको भूगोलबारे विज्ञहरू कुहिरोको कागझैं थिए । ग्रीक खगोलविद् तथा गणितज्ञ टोलेमीले बनाएको पृथ्वीको मानचित्रमा प्रशान्त महासागरै थिएन । पछिल्ला मानिचत्र पनि तथ्य र मिथकको मिश्रण थिए । त्यसबेलाको सबैभन्दा चर्चित मार्टिन बाहिमको ‘नरेम्बर्ग ग्लोब’ ले समेत दक्षिण–अमेरिकी भूगोललाई समेटेको थिएन । कोलम्बसले युरोपको क्यानरी द्वीपबाट जापानसम्मको दूरी कुल २४ सय माइल भएको अनुमान गरेका थिए । यसलाई नकार्ने तथ्य भेला भइरहँदा पनि मेगलनले कोलम्बसलाई नै सही ठानिरहे । यिनै प्रमाणका आधारमा मेगलनले स्पेनका राजा चार्ल्ससामु एसिया पुग्ने नयाँ मार्गको प्रस्ताव गरे ।

अन्ततः सन् १५१८, मार्च २२ मा मेगलनले यात्राको अनुमति पाए । राजा चार्ल्सले यात्राका लागि पाँच पानीजहाज, २६० नाविक–दल र रसदपानी उपलब्ध गराए । ऋणमा डुबेका चार्ल्सले ‘हाउस अफ फ्युजर’ बैंकका बैंकरमार्फत १४ प्रतिशत ब्याजमा ऋण काढेर त्यो खर्च जोहो गरेका थिए ।

यात्रा आरम्भ

सन् १५१९, सेप्टेम्बर २० का दिन बन्दरगाहमा आतशबाजी भयो । सलामी अर्पण गरियो । इतिहासकै अभूतपूर्व मानिएको एक महायात्राको धुमधामसँग आरम्भ भयो । ‘अर्माडा डे मोलुका’ नाम दिइएको बेडाका पाँच पानीजहाज आन्ध्र महासागरमा हेलिए । सन लुकारबाट हिँडेको एक सातामा पाँचै जहाज क्यानरी टापुमा रोकियो– रसदपानी भर्न । त्यहाँ रहँदा स्पेनबाट हान्निएर आएका मेगलनका ससुराले एक खुफिया सूचना दिए– अन्य जहाजका स्पेनी कप्तानहरू मौका पाउनेबित्तिकै विद्रोह गर्नेछन् । सान एन्टोनियोको कप्तान जुवान डे कार्टागेनासँग सतर्क रहन उनले मेगलनलाई सुझाव दिए । पोर्चुगलले पनि जन्मभूमिविरुद्ध गद्दारी गरेको भन्दै आफूलाई पक्रन खुफिया जहाज पठाएको खबर पाए मेगलनले । र, हतारहतार यात्रा अघि बढाए ।

पोर्चुगाली खतरा टार्न मेगलनले जहाजलाई नियमित पश्चिम रुटतर्फ लगेनन्, बरु अफ्रिकी महादेशको तट–छेउ भएर दक्षिणतर्फ हिँडाए । एकाएक जहाज आँधीमा फस्यो । भरपर्दो नक्सा थिएन, अगाडिको बाटो पनि थाहा थिएन । पानीको छाल ओइरिएर आगो बाल्न दिएन, कोही पनि सदस्य राम्ररी सुत्न पाएनन् । ६० दिनसम्म निरन्तर आँधीमा लपेटिएको जहाजको खाद्यान्नमा क्षति भयो । मेगलनले नाविक–दलको खाना कटौती गरे । त्यो कटौतीले जहाजमा असन्तुष्टि पैदा गर्‍यो । र, यही मौकामा अन्य जहाजका कप्तानले विद्रोहको तयारी गरे ।

त्यो असफल विद्रोह

कार्टागेनाले मेगलनलाई जासुसको आरोप लगँउँदै जहाजलाई गलत बाटोतिर हिँडाएर सबै यात्रुको ज्यान जोखिममा पारेको आरोप लगाए । एकबाहेक बाँकी जहाजका कप्तानहरू मेगलनविरुद्ध षड्यन्त्रमा सामेल भएको पत्तो लाग्यो । यही मौकामा मेगलनले सहयोगीमार्फत कार्टागेनालाई नियन्त्रणमा लिएर बन्दी बनाए । अरू विद्रोही डरले चुप बसे । त्यसको तीन हप्तासम्म जहाज अझै उपयुक्त मौसमको पर्खाइमा दक्षिणतर्फै बढिरह्यो । अन्त्यमा हावाको बहाव अनुकूल हुन थालेपछि मेगलनले जहाजलाई ब्राजिलतर्फ पश्चिम मोडे । र, यसको दुई सातापछि टोली सन् १५१९ डिसेम्बर १३ मा रियो द जेनेरियो पुग्यो ।

तर, मेगलनको समूह पुगेकै दिन दुई महिनाको खडेरी तोडिएर ठूलो पानी पर्‍यो । यो संयोगलाई ‘अलौकिक’ ठान्दै त्यहाँका आदिवासीले हर्षोल्लास मनाए । र, स्वागत गरे । वरपरबाट नग्न/अर्धनग्न भेला भएका महिलाले कुखुरा, हाँस, फलफूल ल्याइदिए । १५ दिनसम्म बन्दरगाहको जुनेली रातमा आदीवासी महिला र मेगलनका नाविकहरू नाचगान र मस्तिमा रमाए । एक थान काइँयोसँग एक अँगालो हाँस, सानो चक्कुको बदलामा सातवटा कुखुरा, एक थान ऐना र कैंचीको बदलामा दस जनालाई पुग्ने दरले खाना साटियो । दुई हप्तापछि जहाज ब्राजिलको तटीय किनार हुँदै दक्षिणतर्फ हान्नियो ।

घर छाडेको पाँच महिना भइसकेको थियो । नाविक–दलका सदस्यलाई घरको न्यास्रो, एक्लोपन, विमार र तनावले छोप्न थाल्यो । माछाको सिद्रा र मासु कुहिएर दुर्गन्धले जहाजमा बसिनसक्नु हुन थाल्यो । मुसा र छुचुन्द्रो जहाजभर रगरग गर्न थालिसकेका थिए । जुम्रा, उडुस र उपियाँ नभएको लुगाफाटो कुनै थिएन । ब्राजिलबाट दक्षिण लाग्दै गर्दा कुनै पनि गल्छेडो, पानीको निकास, नदीको मुख, खाडी वा इनलेट नछुटोस् भन्नेमा विशेष ध्यान दिइयो । प्रशान्त र आन्ध्र महासागरलाई जोड्ने पानीको त्यस्तो कोरिडोर दक्षिणतर्फै छ भन्ने विश्वास थियो मेगलनको । तर, ब्राजिल छोडेको तीन महिना बितिसक्दा पनि त्यस्तो च्यानल वा गल्छी कतै फेला परेन । दक्षिणी ध्रुवमा हिउँद सुरु भएकाले चार घण्टाको मात्रै हुन थालिसकेको थियो दिन । अत्यधिक ठन्डा मौसम सुरु भएकाले मेगलनले थप अघि बढ्ने जोखिम मोल्न चाहेनन् । हिउँदभरि सुरक्षित ओत लाग्न मेगलनले सेन्ट जुलियान बन्दरगाहलाई मुकाम बनाए ।

विद्रोह

मेगलनले मोलेको जोखिमप्रति असन्तुष्ट स्पेनी कप्तानहरूले उनलाई मार्ने योजना बनाए । अप्रिल १, इस्टरका दिन साँझपख तीनवटा जहाज विद्रोहीको नियन्त्रणमा पुग्यो । भोलिपल्टै नाटकीय रूपमा मेगलनले विद्रोह दबाउन सफल भए । विद्रोहीमध्ये भिक्टोरियाका कप्तानको टाउको काटियो । मृतकको हात–खुट्टा गिँडेर चेतावनीस्वरूप सबैले देख्ने स्थानमा टाँगियो । अर्का विद्रोही ग्यास्पर दे कुसादालाई सबैका अगाडि आफ्नै भाइद्वारा टाउको काट्न लगाइयो । जुवान डे कार्टागेना र मतियार पुष्टि भएका पादरीलाई निर्जन टापुमा मर्नका लागि छाडियो । विद्रोहमा संलग्न चालीस जनालाई क्रूर र यातनापूर्ण तरिकाले मारे मेगलनले । थप चालीसलाई साङ्लोमा बाँधियो र जाडोभरि जहाज मर्मत तथा अन्य श्रममा जोतियो ।

मेगलन स्ट्रेट

दुई महासागर जोड्ने जलसन्धि/कोरिडोर फेला पार्नु मेगलनको एक मात्रै ध्याउन्न थियो । जुलियान बन्दरगाहमै रहँदा अप्रिलको अन्त्यतिर यसैको खोजीमा सान्टियागो जहाजलाई पठाइयो । सान्ता क्रुज नदीको मुखलाई सम्भावित प्यासेज ठानेर अघि बढ्दा जहाज डुब्यो । जहाजमा रहेका ३७ जना पौडेर किनारमा आइपुगे । दुई जना दिन–रात हिँडेर ११ दिनमा जुलियान बन्दरगाह पुगे । र, मात्रै बाँकी सदस्यको सहज उद्धार हुन सक्यो । सान्टियागोमा रहेको खाद्यान्नमा ठूलो क्षति भयो । नाविक–दलको आत्मविश्वासमा र आफ्ना कप्तानमाथिको उनीहरूको भरोसामा सबैभन्दा ठूलो क्षति भयो ।

जुलियान बन्दरगाहमा पाँच महिनाको सकसपूर्ण बसाइपछि अगस्ट २४ मा अर्माडा डे मोलुकाले फेरि यात्रा सुचारु गर्‍यो । बाटामा देखिने साना–ठूला कुनै पनि गल्छी, खाडी वा नदीको मुखको निरीक्षण गर्न छाडिएन । अन्त्यमा एक दिन ३५ डिग्री दक्षिणमा फराकिलो किनारसहितको नदीको मुखजस्तो प्रवेश–मार्ग फेला पर्‍यो । मेगलनले जहाज अघि बढाउन आदेश दिए । नभन्दै त्यो प्यासेज कुनै नदीको मुख थिएन, आन्ध्र र प्रशान्त जोड्ने कोरिडोर थियो । वास्तवमा यसैको खोजीमा मेगलनको टोली भौंतारिएको थियो लामो यात्रामा । यसैबीच सान आन्तोनियो जहाज बीचैमा भागेर स्पेनको बाटो लाग्यो । मेगलनलाई अर्को झड्का लाग्यो । यात्राको एकछेउ नसकिँदै मेगलनले दुई जहाज र साठी जना सहयात्री गुमाइसकेका थिए ।

अन्ततः ३५० माइल लामो र साँघुरो गल्छी ३७ दिनमा छिचोलेर नोबेम्बर २८ मा अर्कोपट्टि आइपुग्दा मेगलनको अघि विशाल महासागरको नीलो पानी लमतन्न फैलिएको थियो । आन्ध्र महासागरको ठीकविपरीत त्यो महासागर भव्य, सौम्य र शान्त थियो । त्यसैले त्यसलाई प्रशान्त महासागर भनियो । त्यसको फैलावट मेगलनको कल्पनाभन्दा बाहिर थियो । पृथ्वीको एकतिहाइ भूभाग ओगट्ने त्यो महासागर आन्ध्रभन्दा दुई गुणा ठूलो छ । यही विशाल जलखण्डको अर्को किनारमा मेगलनको मसला द्वीप थियो । तर, मेगलनसँग त्यहाँ पुग्ने न कुनै नक्सा थियो, न कुनै ठोस योजना, न कोही मार्गनिर्देशक (राउण्ड एबाउट द अर्थ, जोयस इ च्याप्लिन) ।

प्रशान्त कहर

प्रशान्त महासागरमा निस्किएर उत्तरतर्फ मोडिँदै गएपछि बिस्तारै जमिन क्षितिजमा धूमिल भयो । मेगलनको समूह विशाल नीलो शून्यमा कतै बिलायो । दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो, तर एक टुक्रो जमिन पनि कतै देखिएन । प्रत्येक दिन चारैतिरको समुद्रको त्यही नीलो रंगले आँखा बिझायो । प्रत्येक रात अत्यासलाग्दो चकमन्नताले तर्सायो । चारैतिर हर क्षण आँखामा उही दृश्य ! सपना र विपना छुट्टिएन । भ्रम र यथार्थ फरक भएन ।

बिस्तारै खाना सकिन थाल्यो । भाँडाको पानी पहेँलो भएर गन्हाउन थाल्यो । माछा–मासु कुहिएर जहाजमा बसिनसक्नु भयो । बिस्कुट कुहिएर धूलाम्य भयो । मुसाको लिँड र पिसाबले नछोएको कुनै खानेकुरा भएन । भोक र तिर्खाले सबै सदस्य छटपटाउन थाले । ताजा खाना र पानी नपाएको तीन महिना बीस दिन भइसकेको थियो । भिटामिन सीको कमीले नाविक–दलका तल्ला दर्जाका सदस्यमा स्कर्भी फैलियो । दाँतका गिँजा सुन्निन थाले । रोगले भयंकर च्याप्दै जाँदा दाँतहरू झर्न थाले । मृत्यु भएका २९ जनालाई समुद्रमा फालियो (मेगलन्स भोएज, एन्टोनियो पिगाफेटा) ।

दयालुको द्वीप

प्रशान्त महासागर प्रवेश गरेको ९८ औं दिनमा क्षितिजमा बल्ल जमिन देखियो । बल्ल बाँच्ने आशा जाग्यो । जमिन देख्ने पहिलो व्यक्तिलाई मेगलनले पुरस्कारसमेत दिए । त्यो टापुलाई अहिले मारियाना द्वीप समूहको गुआम द्वीप भनी चिनिन्छ । मेगलन स्ट्रेटबाट त्यहाँसम्म आइपुग्दा मेगलनले सात हजार माइलभन्दा ज्यादा दूरी तय गरिसकेका थिए । यो दूरीको समुद्री–यात्रा मात्रै पनि अभूतपूर्व थियो ।

गुआमका चामोरो आदिवासी र युरोपेली समाज त्यहाँ पहिलो पटक भेटिँदै थिए । तर, दुई पृथक् संसारको त्यो पहिलो भेट सुखद भएन । अनौठो जहाजमा नौला मानिस देख्नेबित्तिकै आदिवासीको सानो समूह डुंगा चढेर जहाजसम्म पुग्यो र जहाजका मालसामान उठाउन थाल्यो । यही निहुँमा भएको विवादले लडाइँ मच्चायो । चामोरोसँग सामान्य लौरो र टुप्पोमा हड्डी जोडिएको भालाबाहेक हतियारको नाममा अरू केही थिएन । रमाइलो त के भने यता लडाइँ चल्दै गर्दा अर्को समूहले भने नाविक–दललाई फलफूल र खाना खुवाउन थाल्यो । खानपिन गराइसकेपछि फेरि उनीहरू लडाइँ खेल्न उत्रिए । खासमा जहाजको सामान टिपेर लैजानुलाई चोरी/डकैती भन्छन् भन्ने ती आदिवासीलाई थाहै थिएन । नाफा र निजी सम्पत्तिको युरोपेली अवधारणाबारे उनीहरू बेखबर थिए । त्यसैले पाहुनाले ल्याएको नौलो सामान आफ्नो ठानेर लिए र आफूसँग भएको खानेकुरा पाहुनालाई खुवाए । यही कुरो मेगलनको समूहले बुझ्न सकेन । मेगलनले भोलिपल्ट बस्तीमा आगो लगाइदिए । चामोरोले प्रतिकारसमेत गरेनन् । सात जना आदिवासीको मृत्यु भयो । उनले यो द्वीपको नामै राखे–चोरहरूको द्वीप । खासमा त्यो द्वीपको नाम राखिनुपर्थ्यो– दयालुहरूको द्वीप ।

को पहिलो ?

गुआम छाडेर हिँडेका मेगलनको समूह मार्च १६ मा फिलिपिन्सको होमोनोन द्वीप पुग्यो । चिनियाँ र अरब व्यापारीबीच परिचित फिलिपिन्स द्वीप समूह युरोपेली नक्सामा जोडिएकै थिएन । मेगलनले साथै ल्याएको मसलासँग स्थानीय पनि परिचित भएको देखेपछि आफू मलाका द्वीप वा मसला द्वीप छेउछाउ आइपुगेको विश्वास भयो उनलाई ।

लिमासावा टापुमा मेगलनका दास एनरिकले स्थानीयसँग मले भाषामा संवाद गरेको देखेर सबै चकित परे । मलाका द्वीपमा काम गर्दा मेगलनले एनरिकलाई १० वर्षअघि त्यहाँको कमैया बजारबाट किनेर लगेका थिए वा त्यही लिमासावा टापुबाट कामको खोजीमा वा अन्य दलालको हात हुँदै मलाका पुगेको पनि हुन सक्छ एनरिक, यो प्रस्ट छैन । यदि त्यसो हो भने पृथ्वी परिक्रमा गर्ने पहिलो व्यक्तिको ‘क्रेडिट’ एनरिकलाई नै जान्छ ।

मुर्ख्याइँ र मृत्यु

थप रसदपानी भर्न र व्यापार गर्न सेवु द्वीप पुगेका मेगलनको दोस्ती त्यहाँका राजा हुमाबोनसँग भयो । तोप र बन्दुकसहितको सैनिक प्रदर्शनी देखेर तर्सिएका हुमाबोनले स्पेनको मुकुट र इसाई धर्मलाई स्वीकार गरे । मेगलनले द्वीपका अन्य मुखियालाई समेत इसाई धर्म मान्न र स्पेनी मुकुटको अधीन स्विकार्न चेतावनी दिए । तर, केही द्वीपका मुखियाले उनको उर्दी इन्कार गरे । तीमध्ये मकतान द्वीपका राजा सिलापुलापु एक थिए । रिसले आगो भएका मेगलन मध्यरातमा ६० जना लडाकुलाई डुंगामा हालेर सिलापुलापुसँग लड्न भनी पुगे । मेलगनको अनुमानविपरीत १५ सयभन्दा ज्यादा गाउँले धनुकाँड र भालासहित निस्किए । मेगलनको लडाकु दस्ता आच्छुआच्छु भयो, सात जनाको मृत्यु भयो । आदिवासी लडाकुको विषालु भाला लागेर मेगलन पनि ढले । आफूविरुद्धको षड्यन्त्र, विद्रोह र सबैखाले प्रतिकूलता जितेर आएका मेगलनले आफ्नो अहंकार र मुर्ख्याइँलाई जित्न सकेनन् । मसला द्वीपको खोजीमा त्यत्रो कष्ट झेलेका र पृथ्वी परिक्रमा गरेका मेगलनले गन्तव्यछेवै पुगेर अनाहकमै ज्यान फाले ।

एनरिकको विद्रोह

मालिकको मृत्युपछि एनरिकले आफू मुक्त भएको घोषणा गरे । साथै राजा हुमाबोनसँग मिलेर मेगलनका बाँकी सदस्यविरुद्ध षड्यन्त्रसमेत रचे । उनीहरूलाई एउटा भोजमा निम्त्याइयो । भोजमा आएकामध्ये २७ जनाको हत्या गरियो । मेगलनको समूह छिन्नभिन्न भयो । बाँकी रहेका ११५ जनाले ३ वटा जहाज सम्हाल्न नसक्ने भएपछि कन्सेप्सन नामको एक जहाजमा आगो लगाइयो । बाँकी दुई जहाज मसला द्वीपको खोजीमा ६ महिनासम्म यताउता भड्किरह्यो । अन्ततः नोबेम्बर ८ मा टोली मोलुका द्वीपमध्येको टिडोरे द्वीपमा पुग्यो । आफ्ना लुगाफाटोदेखि जहाजमा भएका सबै सामग्री बेचियो । सबैभन्दा महँगो ल्वाङ किनियो र भिक्टोरिया जहाजमा भरियो ।

घर फिर्ती

मेगलन चढेको मूल जहाज चुहिएर अघि बढ्न नसक्ने भयो । त्यसैले जुवान सेबास्टियन एलकानोको कप्तानीमा भिक्टोरिया मात्रै स्पेन फर्कने तय भयो । घर फर्किन अझै पृथ्वीको आधा गोलार्द्ध दूरी बाँकी थियो । तर, हिन्द महासागर निस्केर अफ्रिकी महादेशको केप अफ गुड होपलाई फन्को मारेर युरोप पुग्ने बाटो व्यस्त र परिचित मार्ग थियो । यही बाटो हुँदै भास्को डी गामा सन् १४९८ मै भारत आइपुगेका थिए ।

मे ६ मा केप अफ गुड होप आइपुगेको भिक्टोरिया जहाजमा भोकमरी फैलिसकेको थियो । थप २२ जनाको बाटैमा मृत्यु भयो । रसदपानी लिन लुकेर केप भर्डे द्वीपमा पुगेकामध्ये १२ जना त्यहीँ पोर्चुगालीको नियन्त्रणमा परे । जसोतसो ज्यान जोगाएर कप्तान एल्कानोको समूह स्पेनको सानलुकार बन्दरगाह पुग्यो । ३ वर्षअघि मसलाको खोजीमा पश्चिम दिशा हुँदै पूर्व हिँडेका थुप्रै यात्रुमध्ये १८ जना यात्रु मात्रै आफ्नो भूमि फर्किए– पृथ्वीलाई एक फन्को घुमेर ।

एक पानोरोमिक दुनियाँ

मसलाको महकले तानेको यो अद्वितीय यात्राले पृथ्वी गोलाकार छ भन्ने पहिलो पटक प्रत्यक्ष प्रमाणित मात्रै गराएन, यसको अनुभूति नै गरायो । छुट्टै महादेशको रूपमा अमेरिका विश्वमानचित्रमा जोडियो । प्रशान्त महासागरको आकार र फैलावट बल्ल बुझियो । पृथ्वी अखण्ड रूपमा पानी र जमिनले जोडिएको एउटै सग्लो ढिक्का हो भन्ने पुष्टि भयो । दुनियाँबारे युरोपेली ज्ञान मिथकबाट इतिहासमा प्रवेश गर्‍यो । सबैभन्दा ठूलो विषय त मान्छेको आँखामा दुनियाँको ‘पानोरोमिक’ तस्बिर खिपिने क्रमको आरम्भ भयो । पृथ्वीको विशालताको सापेक्षमा मान्छेले आफ्नो स्थान/हैसियत थाहा पायो । विश्व रंगमञ्चमा पूर्वीय दबदबाको पटाक्षेप भयो । मसला व्यापारको तागतमा युरोप उदायो । विश्वको ४ कुना जोडियो र विश्वव्यापीकरणको आरम्भ भयो । साथमा युरोपेली उपनिवेश, रंगभेद र मानवीय उत्पीडनको कहालीलाग्दो शृंखलासमेत शुरु भयो ।

१७ औं शताब्दीको छेकोमै युरोपमा मरीचबाहेक अन्य मसालाको क्रेज उस्तै रहेन । नयाँ दुनियाँबाट नयाँ अन्नपात र फलफूल पनि भित्रियो । युरोपेली भान्साको मेनुमा नयाँ परिकार थपिए । मान्छेको स्वादको परख उस्तै रहेन । खासमा मेगलनको टोलीले पृथ्वीलाई एक फन्को घुमेपछि दुनियाँ फेरि उस्तै रहेन ।

प्रकाशित : फाल्गुन २७, २०७९ ११:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×