‘कविहरू अलिक सनकी हुन्छन्’

कान्तिपुर संवाददाता

काठमाडौं — विशेषत: लामा कविता लेखेर र कवितामा प्रयोग गर्न रुचाएर अलग पहिचान बनाएकी कवि तोया गुरुङको स्वभाव एकदमैं एकान्तिक र अन्तर्मुखी छ । मीनभवनभित्रको निवासबाट फलफूल वा तरकारी किन्न मात्रै बाहिर निस्कने तोया अक्सर घरभित्रै अध्ययन–मनन अथवा लेखनमै हराइरहन्छिन् ।

उपकुलपति मोहन कोइरालाको कार्यकाल (२०५६) मा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ बनेकी तोयाका ‘देवल घुमेपछि’, ‘धुपी’, ‘सूर्यदह’, ‘पुनरावती’, ‘तोया गुरुङका लामा कविता’ लगायतका कविता–कृति प्रकाशित छन् । तोयाको हालै ‘अस्पृश्य’ (संस्मरण) कृति आएको छ जहाँ जीवन–जगत्का अमूर्तजस्तै, अदृश्यजस्तै र दुर्लभ लाग्ने भोगाइहरूलाई उनले लेखेकी छन् । ७० वर्षीया तोयाको ‘अस्पृश्य’ जीवन–जगत्का बारे गरिएको कुराकानी :

पद्यबाट एकैचोटि गद्यतिर लाग्नुभएको देखियो, यस्तो अवस्था किन आइपर्‍यो ?
यस्तो आकस्मिक र बाध्यकारी अवस्था आएरै संस्मरण लेखेकी होइन । फेरि मैले यसलाई ‘अवधि संस्मरण’ भनेकी छु । मसँग स्कुले विद्यार्थी छँदै डायरी लेख्ने बानी थियो, नियमित होइन तर कुनै विषय वा घटनाले छोएका बेला । ‘इन्ट्यान्जिवल’ अर्थमा महसुस गर्न सकिने तर नदेखिने (अदृश्य), कतिपय अर्थमा अमूर्तजस्तै भोगाइहरूको सिलसिलालाई ‘अस्पृश्य’ मा समेटेकी छु । 

पुस्तक लेखन र प्रकाशनको भीडमा नयाँ पुस्ताको आगमन बढ्दो छ । तपाईंको संस्मरण कृति कति सहजै र कति समयमा छापिएको हो ?
खोइ, यसरी नयाँ र पुरानो भनेर तुलना गर्न म सक्तिनँ । तर, रत्न पुस्तक भण्डारमा पाण्डुलिपि बुझाएको ६ वर्षपछि छापिएको हो । अरू असहज अथवा कठिनाइको अनुभव त्यति छैन । म कतै आग्रह वा पूर्वाग्रह राखेर बस्ने लेखक होइन । एक्लै, एकान्तमा बसेर साधना गरिरहने स्वभाव मसँग छ । कविता लेखनपछि अलग धारमा उभिएर र आफूलाई पनि चित्त बुझ्ने गरी संस्मरण ‘अस्पृश्य’ लेखेकी हुँ, पाठक प्रतिक्रिया पाउन बाँकी छ । 

‘अस्पृश्य’ पुस्तकका विभिन्न सन्दर्भमा मुलुकको राजनीतिक परिदृश्य र परिवर्तनमा असन्तुष्टि जनाएको भान पर्छ नि ? 
होइन, यसरी असन्तुष्टि अथवा विरोध जनाउन खोजेको होइन । एउटै खट्केको कुरा के हो भने हरेक मुलुकमा, हरेक व्यवस्थामा परिवर्तन वा हेरफेरको कुरा गर्दा जनताको स्पष्ट राय (जनमतसंग्रह) लिने गरिन्छ । तर, हामीकहाँ भने ३/४ जना नेताहरू नै मुलुकको, सम्पूर्ण जनताको ‘निर्णायक’ झैं देखिने गरेका छन् । राजतन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि हामी साधारण जनताको राय/अभिमत कहाँ छ (?) भनेर सन्दर्भ परेका बेला सरोकार उठाएकी मात्रै हुँ । ‘अस्पृश्य’ मेरो आफ्नोभन्दा पनि मैले भोगेको पछिल्लो समय र समाजको बायोग्राफी हो । यो संस्मरणमा सन्दर्भ र स्थान हेरेर आफ्ना पछिल्ला ३६ वटा नयाँ कवितालाई पनि समेटेकी छु ।


 
तपाईं आफूलाई एकान्तिक भन्न रुचाउनुहुन्छ । एकान्तमा बसेर पढ्ने रोज्जा सामग्री के हुने गरेका छन् ? 
एकान्त भनेर कुनै भिन्न विरक्ति वा आसक्तिका खुराक पढ्ने होइन । म अंग्रेजी, हिन्दी वा नेपाली कविताहरू असाध्यै पढ्छु । पछिल्लो कुरा गर्नुहुन्छ भने अरुन्धती रोयको ‘द मिनिस्ट्री अफ अटमोस्ट ह्यापिनेस’ भर्खरै पढिसकें, रामचन्द्र गुहाको ‘इन्डिया आफ्टर गान्धी’ पढ्दै छु । अरुन्धतीकै ‘वाकिङ विथ द कमरेड्स’ मा एउटी लेखिकाले जंगलमै गएर माओवादी लडाकु भेटेर लेखेको अनुभव छ, जसले जोकोही लेखकको ऊर्जा र स्रोतलाई नवीकरण गराउन सक्छ । त्यो पढिसक्दा लाग्यो— भारतमा माओवादीहरू जंगलमै छन्, हाम्रा माओवादी कहाँबाट कहाँ पुगिसके । एउटा रमाइलो अनुभव भनौं न । म अक्सर किताब किनेरै पढ्छु । आफूलाई मन परेको पुस्तक पसलमा किताब छान्न दिनभर हराउँछु, कहिले पुस्तकालयहरूमा रमाइरहन्छु । मेरो यो स्वभाव धेरैलाई थाहा छैन । अर्कातिर, नेपाली लेखकका हकमा म साहित्यकार ध्रुवचन्द्र गौतमका कृति अथवा फुटकर रचना खोजेरै पढ्छु । तर, गौतमका फिल्मी टिप्पणी वा सन्दर्भका आलेख भने पढ्न चाहन्नँ । किनभने फिल्मी दुनियाँका बारे म त्यत्तिकै जानकार छु, जति उहाँ हुनुहुन्छ । 

नेपाली पुस्तकमा अथवा लेखाइमा नयाँपन पाउन नसकेको र पुनरोक्ति रहेको धारणा तपाईं दोहोर्‍याइरहनुहुन्छ नि ? 
यसरी ‘जनरलाइज’ गर्न त मिल्दैन, तर यथार्थ यही हो । नेपालमा इतिहासका कुरा, परम्पराजनित विषयमा लेखाइ एकदमै बढी भएको छ । जीवनका कुरा एकदमै कम लेखिएका छन् भन्ने लाग्छ । यसपटक मदन पुरस्कार पाएको लेखक घनश्याम कँडेलको ‘धृतराष्ट्र’ कृतिकै कुरा गरौं न । कृतिको नाम ‘धृतराष्ट्र’ नराखेर अरू केही राखेको भए हुन्थ्यो, मलाई भने सही लागेन । महेशविक्रम शाहको ‘छापामारको छोरा’ पछि त्यही नाम, शैली र निचोडमा अरू पनि भटाभट लेखिन थाल्यो । नयाँपन केही पनि छैन । 

तपाईं आफैं प्रज्ञा प्रतिष्ठानमा बसेर प्रज्ञा र प्राज्ञका बारेमा भिन्न तहमा बोध गर्नुभयो । अहिले भने प्रज्ञा प्रतिष्ठानले के काम गरिरहेजस्तो लाग्छ ? 
एउटा यथार्थ के हो भने प्रज्ञा प्रतिष्ठानजस्तो प्राज्ञिक निकायमा बस्ने हो भने तन–मन–धनको त्याग गर्नैपर्ने हुन्छ । अहिले पनि प्रज्ञा प्रतिष्ठानमा काम भइरहेकै हुनुपर्छ, धेरै थाहा छैन अथवा देखिएको छैन । प्रतिष्ठानमा अहिले बढी ‘प्रशासन’ हावी भएजस्तो लाग्छ, प्रज्ञाभन्दा बढी । प्रतिष्ठानमा कवि/लेखक आउन–जान समय लिने अथवा ‘अपोइन्टमेन्ट’ लिने पद्धति ठीक होइनजस्तो लाग्छ । प्रतिष्ठान त हार्दिक हुनुपर्छ, त्यहाँ सधैं स्वागतयोग्य माहोल हुनुपर्छ । त्यसमाथि साधन–स्रोतको कठिनाइ रहेको स्थितिमा कला, साहित्य र संगीतका तीनवटा प्रतिष्ठान हाम्रो मुलुकमा तत्कालै आवश्यक थिएन भन्ने मलाई लाग्छ । यसकारण पनि काम नदेखिएको हुन सक्छ ।

नेपालमा कवि/लेखकको हालतलाई लिएर सहानुभूतिको स्वरमा बोल्ने गरिन्छ । ‘कविता लेखेरै के हुन्छ’ जस्तो लाग्छ तपाईंलाई ?
त्यसो होइन, लेखेरै सबथोक हुन्छ भन्ने मलाई लाग्छ । २०१९ सालमा पहिलो कविता छपाएकी एउटी सिकारु कविले नाम–काम देखाउने गरी कवितासंग्रह निकालेकी छ, खारिँदै गएर प्राज्ञिक निकायको सर्वोच्च स्थान प्रज्ञा प्रतिष्ठानमा पुगेकी छ, योभन्दा ठूलो उपलब्धि मैले के खोज्ने र ? अझ भनौं, म आफूलाई यो देशकै भाग्यमानी कवि/लेखक हुँ भन्ने ठान्छु । केही नबोलीकन र कहीं कतै केही नमागीकनै मैंले उच्च पददेखि विशिष्ट सम्मानसम्म पाएकी छु । यो सबै कविताकै कारण त हो ।
तपाईंले हाम्रो समाजमा कविलाई हेरिने सहानुभूतिको दृष्टिकोणबारे सोध्नुभयो । यो हो पनि । केहीअघि लेखक पिटर जे. कार्थकले मलाई सोध्नुभएको थियो— नेपालमा कविहरू किन पागलजस्तै हुन्छन् ? मसँग तत्काल जवाफ थिएन । सायद हरिभक्त कटुवाल वा गुमानसिंह चाम्लिङजस्ता कविको इमेजको कारण पो हो कि ? वास्तवमा कविहरू अलिक सनकी (र, लापरबाह पनि) हुन्छन् नै । 

कविता लेखेरै वा होलटाइम लेखक बनेर भएको कमाइको हिसाब राख्नुभएको छ ?
त्यसरी हिसाबै राखेकी छैन । फेरि मेरो श्रीमान्को आर्थिक भरथेग र अरू पृष्ठभूमि राम्रै भएकाले हिसाबै राख्ने अवस्था पनि आएन । तर, यहाँ आफैं लेखक, आफैं प्रकाशक बन्ने र आफैं बेहिसाब बन्ने अवस्था भने निकैतिर छ भन्ने थाहा पाएकी छु । मैले ‘तोया गुरुङका लामा कविता’ का लागि प्रज्ञा प्रतिष्ठानबाट एकपटक ३० हजार रुपैयाँ पाएकी थिएँ, त्यही टड्कारो सम्झना छ । ‘धुपी’ संग्रहको बिक्रीबाट हिमालयन बुक सेन्टरले १५ सय रुपैयाँ दिएको थियो । ‘देवल घुमेपछि’ बाट ३ हजार रुपैयाँ पाएकी थिएँ । पाएको सम्झना यत्ति हो । साझा प्रकाशनमा लेखक कृष्णचन्द्रसिंह प्रधान रहनुभएका बेला २०४२ सालमा हुनुपर्छ, उहाँको आग्रहमा मैले ‘सूर्यदह’ कवितासंग्रह ६ सय प्रति लगेर साझामा बुझाएकी थिएँ । तर, आजसम्मै न पैसा पाएकी छु, न किताब फिर्ता भएको छ । यस्तो अवस्था आइरहने रहेछ— कवि/लेखकका जीवनमा । जीवन भन्नु नै यही नमिलेको हिसाबकिताब हो रहेछ भन्ने लाग्छ । 

प्रकाशित : कार्तिक १८, २०७४ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT