१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बदलिँदो टुँडिखेल

इतिहास
टुँडिखेलबारे लेख्नेले यसलाई एसियाकै सबैभन्दा ठूलो ‘कवायद खेल्ने चउर’ भनेका छन्। राणाकालमा यसलाई ‘परेड ग्राउन्ड’ पनि भनियो। राणाकालमा जंगबहादुरका भाइ रणउद्दीप सिंहबाट आदेश भई टुँडिखेलको विस्तार गरिएको थियो। 
अर्जुन पन्थी

काठमाडौँ — खड्मास भएर होला, भद्रकालीको आकासेपुलबाट हेर्दा टुँडिखेल पुंmग देखिन्छ। वरिपरिका विशाल भवनले यसलाई रङ्गहीनशाला बनाइरहेका छन्। बहत्तरे भूकम्पपछि धरहरालाई मसान बनाई सुतिरहेको टुँडिखेलको दक्षिणी फेँदमा गएको वर्षायाममा झपक्कै झारहरू हल्किएका थिए।

बदलिँदो टुँडिखेल

तर हिजोआज धरहराको त्यो अवशेष पनि देखिन्न। बाँकी रहेका इँटा वरिपरि छरिएको र धूलै देखिन्छ, टुँडिखेल। यसको कुनाकुनामा वायुपंखीजस्ता देखिने हरिया राणा अश्वारोहीका सालिकहरू पनि धूलाम्यै देखिन्छन्। बेलाबेलामा टुँडिखेलको किनारैकिनार हिँड्दा यसको स्वरूप कसरी बदलिँदै गए होला भनेर मन खल्बलिन्थ्यो, त्यसैले आफ्नो पहुँचमा भएका पुस्तक, लेख, सम्झनाहरू बटुलेर यो लेख तयार पारेको हुँ।


दरबार स्कुलका मास्टर पुण्यरत्न बज्राचार्यले २०२० सालको गोरखापत्रमा टुँडिखेलबारे लेखेका छन्। त्यसमा टुँडिखेलको नामकरण र किंवदन्तीबारे चर्चा छ। जस्तो कुनै बखत त्यो चउरमा ‘टुँडिल’ नामकी देवी थिइन्। काठमाडाँैको स्थानीय भाषामा चउरलाई ‘ख्य’ भनिने हुनाले, उनै टुँडिल देवीको चउर ‘टुँडी ख्य’ हुँदै टुँडिखेल रहन गएको बज्राचार्यको कथन छ। उनले प्रस्तुत गरेको अर्को किंवदन्तीमा इटुमबहास्का केशचन्द्रको लामो कथा छ। कुनै बखत केशचन्द्रको विलौना सुनेर परेवाले बिस्टाएका सुनलाई गुरुमापा नामको राक्षसद्वारा बोकाइ सहरभित्र छिराएका थिए। गुरुमापाले सहरभित्र छिरेपछि स्वभावअनुसार उपद्रव गर्न बाँकी राखेन। तर सहरवासीले त्यसो गर्न नदिई त्यो राक्षसलाई सहरभन्दा बाहिरको ठूलो चउरमा बसाउन योजना बुने। उसलाई मनाउन फागु पूर्णिमाको दिन सहरबाहिरको त्यो चउरमा आई वर्षको एकपटक एउटा राँगोको मासु र दस पाथी चामलको भात ख्वाउने कबुल गरियो। गुरुमापालाई पनि त्यो कुरा मञ्जुरी भयो। यसरी त्यो राक्षसलाई राखिएको चउरलाई कसैले ‘तिनिख्यस्’ पनि भनेका छन्। जुन अहिलेको टुँडिखेल हो। यो किंवदन्तीबाट टुँडिखेललाई राक्षसको आँगन भन्ने बुझियो। तर पछि परेड खेल्ने गरी राज्यको आँगन बन्न पुग्यो। अचेल बजारले घेरिँदै गइरहेको छ।


टुँडिखेलबारे लेख्नेले यसलाई एसियाकै सबैभन्दा ठूलो ‘कवायद खेल्ने चउर’ भनेका छन्। राणाकालमा यसलाई ‘परेड ग्राउन्ड’ पनि भनियो। टुँडिखेललाई कुन बेलादेखि ठूलो बनाई सिपाहीहरूलाई कवाज खेलाउने गरियो, भन्नेबारे योगी श्री देवीनाथद्वारा सम्पादित ‘देवमाला’ नामक वंशावलीमा लेखेका हरफ पुण्यरत्नले उद्धृत गरेका छन्। त्यसअनुसार अघि पनि तिनिख्यस् सानै थियो। राणाकालमा जंगबहादुरका भाइ रणउद्दीप सिंहबाट आदेश भई यसको विस्तार गरियो। टुँडिखेल विस्तार गरी, त्यहाँ युरोपका अश्वारोही शासकहरूको झैँ सालिक राख्ने जङ्गबहादुरको चाहना थियो। त्यसलाई उनैका भाइ रणोद्दीपले साकार पारे। पुण्यरत्नले भनेका छन्, वीरशमशेरले १९३५ सालमा टुँडिखेललाई विस्तार गरी पहिले छाउनीमा हुने पल्टनको कवायद टुँडिखेलमा सारे। यसप्रकार गुरुमापाको टुँडिखेललाई जङ्गबहादुर र उनीसँगै युरोप भ्रमणमा गएका राणाहरूले कवायद मैदानमा परिणत गरेका थिए।


त्यो बेला टुँडिखेलको विस्तार गर्दा रानीपोखरीको डिलदेखि दशरथ रङ्गशालासम्म माटोले पुर्दै पुर्दै समतल गराइएको थियो। बुल्डोजरको कल्पना पनि नहुने त्यो बेला सारा काठमाडौँका जनताले गैँची बेल्चा प्रयोग गरेर टुँडिखेल सम्याएका होलान्, इतिहासमा राणाहरूकै नाम लेखिए पनि। अर्कैको श्रमलाई अर्कैको नामले पुकारिने विषय पनि न हो इतिहास !


टुँडिखेल हुर्कँदै जाँदा यसमा खरीको चौतारो सिबाय अरू कुनै भौतिक सम्पदा थिएनन्, ठिङ्ग उभिएको त्यो बोट मात्र थियो। १९८९ सालमा निजामती सेवामा पसेका भीमबहादुर पाँडेले यो बुटो देखेका थिए र ‘त्यसबखतको नेपाल’ मा लेखेका छन्। सम्भवतस् अहिलेका परम आयुवालाहरूले पनि त्यो देखे हुनन्। यो एक्लो छहारीमा बसेर राणाकालीन उच्च पदाधिकारीहरूले निसाफ गर्थे। ठूलठूलो पर्वोत्सवको बखत यसलाई प्रयोग गरिन्थ्यो। अहिलेको घोडेजात्रामा सैनिक मञ्च प्रयोग गरिएझैँ। रेडियोजस्तै माध्यम नहुँदा झ्याली पिटेर होस् या विगुल फुकेर खरीको बोटमा झिकाइ विभिन्न ऐतिहासिक घोषणाहरू सर्वसाधारणलाई सुनाइन्थ्यो। निरक्षर रैतीका लागि पनि राज्यको सूचना पाइने थलो थियो, त्यो। यो चौतारोमा राणाहरूबाहेक अरू उक्लन पाउँदैनथे। त्यही चौतारोमा उक्लिएर दासहरू अमलेख गरिए। फर्पिङको बिजुली समारोह गरियो। यसमा अरू धेरै कार्यक्रमको लर्को कोर्न सकिन्छ। राणाकालको समाप्तिसँगै खरीको बोट ढले पनि केही सम्पदा बाँकी छन्। तीमध्ये केही टुँडिखेल वरिपरिका सालिकहरू हुन्।


उहिलेका हरिया बलौटे र अहिलेका धूलौटे बन्दै गएका अश्वारोही सालिकहरू टुँडिखेलमा छन्। यसको किनारैकिनारबाट हिँड्दा अझै पनि देखिन्छ। यी आकर्षक सालिक दुइटा खुट्टाको भरमा कसरी अडिएका होलान् भनी सुरुमा देख्दा मन कल्पन्थ्यो। पछि नेपाली कलाकारको इन्जिनियरिङ कलाले उभिएका होलान् भन्ने गर्व पनि नलागेको हैन। तर यी बेलायत तथा फ्रान्समा बनेका रहेछन्। राणाकालीन नेपालको झल्को दिने यी सालिकहरू जङ्गबहादुर राणा, रणोद्वीप सिंह, धीरशमशेर, वीरशमशेर, चन्द्रशमशेर, जुद्धशमशेरका हुन्। भद्रकालीको पीठमा पृथ्वीविक्रम शाहको पनि सालिक छ। पूरातत्त्व विभागबाट प्रकाशित हुने ‘प्राचीन नेपाल’ पत्रिकामा श्यामसुन्दर राजवंशी र जयन्ती श्रेष्ठले यसबारेमा लेखेका छन्। उनीहरूका अनुसार २०१७ सालपछि बाटो विस्तार गर्ने क्रममा यी सालिकहरू पुरानो ठाउँबाट त्यहाँ सारिएको हो। बाटो विस्तारको कल्पना पनि नगरिएको समयमा बनेका यी सालिकहरू यथास्थानबाट आफैं विस्थापित भए।


यसप्रकार टुँडिखेल वरिपरिको थलो तत्कालीन शासकहरूको खुला म्युजियमजस्तै छ। त्यहाँ रानीपोखरी, धरहरा, दरबार स्कुल, वीर अस्पताल, त्रिचन्द्र कलेज, चन्द्र मिलिटरी अस्पताल, जुद्ध सडक, रत्नपार्क आदि तत्कालीन शासकका सम्झना सम्पदाको रूपमा रहेका छन्। यस्ता सम्पदा निर्माण गर्दा आफ्नो कीर्ति रहोस् भन्ने उद्देश्य लुकेको पनि देखिन्छ। जस्तै अश्वारोही सालिकको मुनी अक्षर वा चित्रमा आफ्नो कार्यकालको उपलब्धि लेखेर छाडिएको छ। यस्तो खुला स्थान वरिपरिका सम्पदामा ‘राज्य’ वा शासकको इतिहास पनि देखिन्छ।


यी सम्पदाहरू बन्ने क्रममा टुँडिखेलको स्वरूप फेरिँदै गयो। कतिपय मेटिए, कति थपिए। यसको भौतिक स्वरूपमा परिवर्तन हुँदै गयो। दशरथ रङ्गशाला, सहिद गेट, ‘सैनिक मञ्च’, रत्नपार्क, बसपार्क आदि बन्दै गए। यसै क्रममा दक्षिणतिरबाट रंगशालाले टुँडिखेललाई खुम्चाउँदै गयो।


महाँकालबाट माटो पुर्दै ल्याएर अहिलेको रंगशालामा पुर्‍याउन आँट्दा यसका अभियन्ताहरू रणोद्दीप र धीरशमशेर रहेनन्। त्यो खाल्डाको खाल्डै रह्यो। कमल दीक्षितले ‘हिमाल खबरपत्रिका’ को आफ्नो सम्झनामा लेखेका छन्, त्यो खाल्डोलाई सानो टुँडिखेल भनिन्थ्यो। ठूलो टुँडिखेल बन्न नसकेको त्यो खाल्डोमा अन्ततस् २०१३ सालमा दशरथ रङ्गशाला बन्यो। ती अभियन्ता रहेका भए ठूलो टुँडिखेलदेखि त्रिपुरेश्वरसम्म एउटै सतहमा रहन सक्थ्यो। यो सानो टुँडिखेल महेन्द्रको राज्याभिषेक अघि घेरिएको थियो। र पछि विकसित हुँदै रङ्गशाला बन्यो। यो रङ्गशाला जति आधुनिक बन्दै गयो त्यति सर्वसाधारणलाई फलामे बार लाग्दै गयो। अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद हुँदा बिनाटिकट त्यो ‘सानो टुँडिखेल’ मा छिर्न पाइँदैन, अरू बेला पनि त्यहाँ फलामे गेट लगाइएको हुन्छ। जहाँ दरबार स्कुलबाट पढेर फर्कँदा दीक्षित र उनका साथीहरू क्रिकेट खेलेर घर जान्थे।


यो रंगशालामाथिको टुँडिखेलमा पनि सेनाको बसोबास छ। उसले दक्षिणतिरबाट विशाल घरहरू बनाउँदै लगेको छ। सामरिक हिसाबले पनि सेनाहरू सहरको बीचमा विशाल घर बनाउँदै बस्ने र व्यावसायिक हिसाबले पेट्रोलपम्पको व्यापार गर्नुहुन्थ्यो ररु भन्ने प्रश्नहरू नगरिएको हैन। तर उबेला ‘टुँडिखेलमुनिको तोपखाना’ भनेर चिनिने बृहत् टुँडिखेलको एउटा अंगले त्यही नियति भोगिरहेको छ। गण भएको छ, त्यो ‘गठ्ठाघर’। गठ्ठाघर, समयको जनाउ दिनलाई तोप पड्काउने बेलाको कुरा हो। देवशमशेरको पालादेखि यस्तो समयसूचक तोप राखिने भएकाले यसलाई तोपखाना पनि भनिन्थ्यो। तोपखाना या गठ्ठाघरबाट तोप लतार्दै ल्याई टुँडिखेलको डिलमा राखेर पड्काइन्थ्यो। त्यति बेलाको सेनाले जनतालाई समयको सूचना दिन त्यो काम गथ्र्यो। गण वा ब्यारेकको कल्पना थिएन। घण्टाघर बनेपछि गठ्ठाघरको त कामै नहुनुपर्ने हो। बरु त्यहाँ घण्टाघर हुनुपर्ने थियो। तर उबेलै टुँडिखेलले औंलो दिँदा डुँडुल्नो गुमायो।


१०४ वर्षसम्म राणाहरूले राजालाई दरबारको कोटरीमा थन्क्याएर राखेकाले टुँडिखेलमा राजाहरूका सालिक धेरै मौलाएनन्। तर उनीहरूलाई सालिक बनाउन नपाएको धोको त हुँदो हो, बाटो विस्तार हुँदा पनि नफालिने गरी सहिदगेट बन्यो। जहाँ चलाख महेन्द्रले चार सहिदहरूका शिरमा आफ्ना बाबुलाई राखेका थिए। कसैले पनि फाल्न नसकोस् भनेर। तर २०६८ फागुनमा सहिदगेटबाट त्रिभुवनको सालिक नारायणहिटी संग्रहालयमा सारिएको थियो। नभन्दै महेन्द्रको सपनाअनुसार त्यो सालिक फेरि पनि सहिदको शिरमाथि फर्किएको छ। टुँडिखेलको प्रसंगमा फर्कने हो भने यो सहिदगेट पनि टुँडिखेलकै कम्मरपेटी थियो। जहाँ चौबाटोको कल्पना गरेर महेन्द्रको निर्देशनमा सहिदगेट बनेको थियो। अहिले टुँडिखेलको त्यो कम्मरपेटीबाट पुरानो बसपार्कलगायतका लागि सयौँ गाडीहरू हुत्तिँदै दौडिन्छन्।


टुँडिखेलको उत्तरी भाग पनि समयक्रममा फेरफार हुँदै आएको छ। रानीपोखरीसँगै हालको रत्नपार्क अगाडि पहिले एउटा बाटुलो चौतारी थियो। गाउँबाट काठमाडौँमा आउने मानिस यहीं चौतारीमा बास बस्थे। यो बास तत्कालीन रानी रत्नलाई खुसी पार्न २०२० सालमा भत्काइयो। त्यो चौतारीलाई बाटुले पाटी पनि भनिन्थ्यो। यो पाटीसँगै रहेको प्रताप मल्लको परिवारैसहितको सालिक रानीपोखरीतिर सारियो। तीर्थनारायण मानन्धरले ‘काठमाडौँ उहिले र अहिले’ पुस्तकमा लेखेअनुसार गाउँबाट आउनेलाई बाटुले पाटी मासेपछि बासका लागि विद्युत् प्राधिकरणको छेउमा अर्का चारओटा टहरा बनाइएको थियो।

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको, सोही बाटो विदेशी पाहुना ओहोरदोहोर गर्ने र बाटोमा पर्ने ती टहरावरिपरि ढाक्रेहरूले बिस्ट्याएको भनी त्यो पनि बाँकी राखिएन। फेरि सारियो। हालको मस्जिद नजिकै तीनतले धर्मशाला बनाइयो। त्यहाँ फाट्टफुट्ट ढाक्रेहरू बस्न लागेको बेला त्यो घर सरकारले आफैं कब्जामा लियो। ‘रातो घर’ भनिने त्यो पाहुना घरमा ढाक्रेहरू खासै बसेनन्। पञ्चायती सरकारले खोसेको त्यो घर, प्रजातन्त्र आएपछि विद्यार्थीहरूले आफ्नो कार्यालय राखे। रत्नपार्क केन्द्रित राजनीति गर्ने थलो भएको नाममा त्यसलाई पनि भत्काइयो। त्यसको नजिकै अहिले आकासेपुल बनेको छ। बाटुले पाटी भत्काउने ताका नै रत्नपार्क बनाइएको थियो।


राजधानीलाई शोभा दिने नाउँमा टुँडिखेलको उत्तरतिर रत्नपार्क बन्यो। यसका दुई कारण देखिन्छन्। एक तत्कालीन रानीलाई खुसी पार्न महेन्द्रको निर्देशनमा बनेको भन्ने तर्क छ। पाल्पाको रानीमहलजस्तै। दोस्रो, नेपालको वैदेशिक सम्बन्ध विस्तार हुँदै गएको सन्दर्भमा उनीहरूलाई राम्रो पार्क छ भनी देखाउन बनाइएको हो। उन्नत देशहरूको राजधानीमा पनि पार्क हुन्छन् भन्दै रत्नपार्क बनाइएको बुझिन्छ। ‘काठमाडौँलाई उन्नत देशको राजधानीहरूको जस्तै सुन्दर र सुविधायुक्त बनाउनु युगको माग हो’ रत्नपार्कबारे २०२० सालको गोरखापत्रको एक सम्पादकीयमा भनिएको छ।

उक्त सम्पादकीयमा लर्को तानिएको छ, ‘सहरको साँगुरो छेडोमा बस्नेहरूलाई १।२ घण्टा भए पनि रत्नपार्कले खुला हावामा सास फेर्ने अवसर प्रदान गर्नेछ।’ गोरखापत्रका सपनाअनुसार नजिकैका वीर र चन्द्र मिलिटरी दुवै ठूलठूला अस्पतालका बिरामीहरूलाई रत्नपार्कले एउटा मनोहर दृश्यको आनन्द दिनेछ। यसो भनिए पनि पञ्चायतले नै बृहत् टुँडिखेललाई साँघुरो गराउन सुरु गरेको थियो। यस्तो आधुनिक पार्क जीवित गराउन भनी उही बेला रत्नपार्कमा ‘पार्क रेस्टुराँ’ पनि खोलिएको थियो। जुन पछि भत्काइयो। त्यही रत्नपार्क मुन्तिर खुलामञ्चको छेउमा महेन्द्रकै निर्देशनमा सैनिक मञ्च बनाइएको थियो।


२००७ सालअघि पल्टन ब्यारेकमा नरहने भएकाले टुँडिखेलमा कवाजको खटनपटन गर्न खरीको बोटमा चौतारा हाली काम चलाइएको थियो। कुनै कार्यक्रममा विदेशबाट अतिथि आए पनि त्यसैमा बस्थे। पछि यसलाई भत्काइयो। २०२० सालको गोरखापत्रले दाबा गरेको छ, कि राणाकालीन समयमा पञ्चायतमा जस्तो अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुक अघि बढेको थिएन। उसले लेखेको छ, ‘अब हामी त्यति पछाडि छैनौं र संसारका धेरै देशसँग कूटनीतिक सम्बन्ध जोडिएको छ, विभिन्न देशका मानिस आउन पनि थालेका छन्। विभिन्न प्रतिष्ठित अतिथिहरूलाई चौतारोमा भेला गरेर सैनिक वा अन्य प्रदर्शन इत्यादि देखाउनु आजको संसारमा आधुनिक दृष्टिबाट पनि नराम्रो हुने र असुविधासमेत भएकाले पञ्चायती सरकारले सहिद मञ्च बनाएको हो।’ त्यो ‘सहिद मञ्च’ लाई हिजोआज सैनिक मञ्च भनिन्छ। आफ्ना सहिदलाई हेर्न जनता छिर्न नपाउने भएकाले यसलाई ‘सहिद मञ्च’ किन भन्नेरु जनताले नै यसको नाम सैनिक मञ्च राखिदिएका होलान् †

सैनिक मञ्च बन्ने नाममा खरीको बोट र रत्नपार्क बन्दा बाटुले पाटीजस्ता राणाकालीन सम्पदा पञ्चायतद्वारा नासिए। विदेशीका अगाडि चौतारामा बसेर पनि के भाषण गर्ने भन्ने लाज लागेर तिनमाथि गैँची बेल्चा लगाइयो। आधुनिक

देखिन अहिले गाउँघरमा पनि बाटो खन्ने नाममा डोजर लगाउँदा निर्ममतापूर्वक बाटोमा पर्ने ठाँटी चौतारीहरू भत्काइएजस्तै। पोखरीहरू पुरिएजस्तै। आधुनिकताले पनि टुँडिखेललाई कस्न छाडेको छैन। उत्तरदक्षिण लमतन्न बृहत् टुँडिखेलको बदलिँदो तस्बिरबारे तथ्य र तर्क कतिपय अझै लुकेका होलान्, भन्दै टुँडिखेलबारेको यो लेखलाई मैले यहीँ बिट मार्नै लागें।


अन्तमा, टुँडिखेल सम्भँmदा भद्रकालीको आकासेपुलबाट देखिने पुंmग उडेको चौरको तस्बिर मात्र आउँछ। तर बृहत् टुँडिखेल धरहराको टुप्पोबाट मात्र देखिन्थ्यो। अहिले धरहरा नै छैन, विशाल टुँडिखेल पनि देखिँदैन। दक्षिणतिरबाट विशाल भवनहरू, अग्लिँदै गएका सिटी मल, काठमाडौँ मललगायतले धरहरालाई गिज्याइरहेका थिए। यो देखेर, भूकम्पमा धरहराले दुस्ख लुकायो। टुँडिखेलवरिपरिको खुला क्षेत्रलाई बजार प्रणालीभित्र घुसाएर आम्दानी स्रोत बनाउने काम राज्यले गरिरहेको छ। पञ्चायतको सुरुबाटै यसको सुरुआत भएको थियो। ‘पार्क रेस्टुराँ’ यसको उदाहरण हो। अहिले पनि झन्डै रानीपोखरी ‘स्विमिङ पुल’ बनेन। रानीपोखरी नबने पनि टुँडिखेल बजारको चौहद्दीभित्र पौडिएकै छ। २०७३ वैशाखदेखि तीन वर्षका लागि खुलामञ्च अस्थायी बसपार्क पनि भएको छ। यहाँ २०६५ सालदेखि फुटपाथ व्यापारीहरूलाई व्यवस्थापन पनि गरिएको छ। खुलामञ्चमा हुने मनोरञ्जनात्मक कार्यक्रमहरू टुँडिखेलमा सरेका छन्। विचारको खुलामञ्च गाडीको पार्किङ मञ्च भएको छ, अस्थायी किन नहोस्। बजारको बिस्कुन बनिरहेको छ टुँडिखेल। बजार, सहरीकरण, सत्ताको परिवर्तन, आधुनिकता, वैदेशिक सम्बन्ध आदिले खल्बलिएको टुँडिखेल के अब लागू हुने संघीयताले बौरिएलार?


प्रकाशित : माघ १३, २०७४ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?