कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरियामा साहित्य–संस्कृति बहस

लेखन
रत्नमणि नेपाल

सम्मेलन परिदृश्य
नेपाली लेखक संघ र दक्षिण कोरियाको युरासिया कल्चर फोरम नामक दुई संस्थाबीच कला संस्कृति आदानप्रदानको पछिल्लो कडी गत जुलाई १५ सोलमा आयोजित अन्तर्राष्ट्रिय साहित्य सम्मेलन बन्यो ।

कोरियामा साहित्य–संस्कृति बहस

सम्मेलन परिदृश्य

नेपाली लेखक संघ र दक्षिण कोरियाको युरासिया कल्चर फोरम नामक दुई संस्थाबीच कला संस्कृति आदानप्रदानको पछिल्लो कडी गत जुलाई १५ सोलमा आयोजित अन्तर्राष्ट्रिय साहित्य सम्मेलन बन्यो । म्यङ्जी विश्वविद्यालयमा आयोजित सम्मेलनमा कोरियालगायत उज्वेकिस्तान, मलेसिया र नेपालका लेखक बुद्धिजीवी सहभागी थिए । सहभागीहरूले आ–आफ्ना देशका साहित्य–संस्कृतिका विविध पक्षमाथि विचार राखेका थिए ।
कोरियाका प्राध्यापक सो जुङ नाले कोरियाली उपन्यासले विभिन्न समयका सामाजिक समस्याहरूलाई कस्ता चरित्र र संवादमार्फत अभिव्यक्त गरे भन्ने विषयमा बोलेकी थिइन् । उनले कथाका चरित्रहरूमा लाग्ने रोग र अपाङ्गताजस्ता विशेषताका माध्यमबाट उपन्यासले कुन समयलाई कसरी प्रस्तुत गर्न खोजेका हुन् भन्ने विषय बडो मिहिन ढंगले प्रस्तुत गरिन् । यसमा कोरियाली युद्धकालीन उपन्यासदेखि आजभोलि लेखिएका उपन्यासको समेत उद्धरण पेस गरेकी थिइन् । मलेसियाका मोहम्मद मोख्तर अबु हसनको साहित्य समालोचना बारेको दृष्टिकोण निकै भिन्न थियो । उनले त्यहाँको समग्र साहित्यलाई व्यवस्थापन विधिबाट विवेचना गरेका थिए । उज्वेकिस्तानका प्राध्यापक एन्तोनिया पाकले त्यहाँ जन्मेका र रूसमा रहेका कोरियनहरूलाई कोरियन साहित्यको मूलधारबाट कसरी अलग राखिएको छ भन्नेबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले पहिलो पुस्तादेखि पछिल्लो पुस्तासम्मका उज्वेकी कोरियनहरूले कस्तो सांस्कृतिक विचलनका माझ संघर्ष गर्नुपरेको छ भन्ने विचारसमेत व्यक्त गरिन् । मलेसियाली साहित्यमा मुस्लिम नवलेखकहरूले कसरी लोकप्रिय साहित्य सिर्जना गरिरहेछन््, उनीहरूले मूलधार र गैरमूलधारबीचको सीमालाई कसरी भत्काइरहेछन् भन्ने विषयमा ऐतिहासिक अध्ययन प्रा. योन लीले प्रस्तुत गरेकी थिइन् ।

नेपाली उपस्थिति
पाँच देशका साहित्य सांस्कृतिक विषयहरूमाथि छलफल गर्न आयोजित सम्मेलनमा नेपालका दुई विषयवस्तु प्रस्तुत भए । प्राज्ञ श्रवण मुकारुङले नेपाली साहित्यको साङ्गोपाङ्गो परिचय प्रस्तुत गरेका थिए । नेपाली भाषामा लेखिएको साहित्य मात्र नेपाली साहित्य होइन । नेपालमा बोलिने १२३ भाषाहरूमध्ये उन्नाइस–बीसवटा भाषामा साहित्य लेखिन्छन् । ती सबै नै नेपाली साहित्य भएको उनले बताए । भाषिक दृष्टिकोणबाट समेत नेपाली साहित्यको परिचय दिंदै मुकारुङले नेपालको जातीय सम्मिश्रण आर्य र मंगोलजस्ता दुई बृहद् परिवारबाट बनेको र भाषा साहित्यमा समेत त्यसको प्रभाव रहेको विचार व्यक्त गरेका थिए । सम्मेलनमा प्रस्तुत अर्को कार्यपत्र पंक्तिकारको थियो जसमा पूर्वीय हिन्दु परम्परामा अंकको प्रयोग र तिनमा जोडिएका व्याख्याका विषय समेटिएको थियो । हिन्दु परम्परामा १०८ र ९ जस्ता अंक किन सर्वाधिक महत्त्वका साथ प्रयोग हुन्छन् भन्ने प्रश्नमाथि उक्त पत्रमा छलफल प्रस्तुत गरिएको थियो । अनुवाद साहित्यमा काम गरिरहेका मोहन कार्कीले नेपाल र कोरियाबीचको साहित्य सम्बन्धमा बालसाहित्यको भूमिका विषयमा अनुसन्धानमूलक गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।

साहित्य र राजनीति
नेपाली साहित्य विषयक गरमागरम बहस भने कोरियामा रहेका नेपाली कवि–लेखकहरूसँग भयो । उक्त बहस वैचारिक र सिर्जनात्मक दुवै हिसाबले उच्चकोटीको थियो । उनीहरूले छुट्टै कार्यक्रम गरेका थिए । त्यहाँ भेला भएका नेपालीहरू लामो समयको श्रमले थाकेझैं देखिए पनि उनीहरूको चेतना अनुहारको आभासँगै झल्किरहेको थियो । उनीहरूमध्ये केही त नेपालमै नाम चलिसकेका लेखक थिए । कोही भने त्यहाँ पुगेपछि लेख्न थालेका पनि भेटिए । आधा रात बितिसक्दा पनि उनीहरूमा सिर्जनाको भोक मरेको थिएन । म उनीहरूका आँखामा तिखा प्रश्नहरू देख्थें जो समयलाई उधिन्न सक्थे । साहित्यमा के लेख्ने ? राजनीति र साहित्यको के सम्बन्ध छ ? जस्ता प्रश्नहरू कलिला दिमागमा अटाउने होइनन् जो उनीहरूले हामीसँग राखे ।
प्रश्न साहित्यमा राजनीति आयो भन्ने हो कि साहित्यकारले राजनीति गर्‍यो भन्ने हो ? जहाँसम्म साहित्यमा राजनीतिको सन्दर्भ छ त्यो अनिवार्यजस्तै छ । विचारबिनाको साहित्यको कसरी कल्पना गर्ने ? राजनीति साहित्यमा प्रयुक्त हुने त्यही विचार हो । जब साहित्यकार राजनीतिविमुख हुन्छ उसले कसरी साहित्य लेख्छ ? उसले कसरी विषय रोज्छ ? उसले पाठकलाई के भन्छ ? कुनै उत्कृष्ट रचना छान्ने हो भने त्यसले त्यो समयको राजनीतिलाई गहिरो गरी आत्मसात् गरेको हुन्छ । साहित्यमा राजनीति हुनु हुँदैन भनेको त लेखकलाई सामाजिक दायित्वबाट मुक्त ठान्नु हो । साहित्यकार लक्ष्यहीन फकिर त हुनु हुँदैन ।
सायद साहित्य र राजनीति विषयक प्रश्न नेपाली लेखक संघका पदाधिकारीसामु तेस्र्याइएका थिए । साथीहरूको जिज्ञासा तिमीहरू लेखक संघमा बसेर राजनीति त गरिरहेछौ नि भन्ने पनि थियो होला । मेरो विचारमा यसमा अन्कनाउनुपर्ने कुरा केही पनि छैन । साहित्यकारले राजनीति गर्नु हुँदैन भन्ने होइन । हामी लेखक संघमा बसेर राजनीति नै गरिरहेछौं । यति हो लेखक संघ स्थापनाकालमा जस्तो अवस्थामा थियो आज पनि त्यही नै अवस्थामा छ । कुनै दलसँग प्रत्यक्ष सम्बन्ध स्थापना नभएको अवस्थामा । तर हाम्रो विचारले हामी लोकतान्त्रिक धारमा हिँड्छौं । हामी अभिव्यक्ति स्वतन्त्रता कसैको निर्देशनमा बाँध्नु हुँदैन भन्छौं । अझ स्पष्ट भन्दा दलविशेषको निर्देशनले लेखकको लेख्ने हक कुण्ठित हुनुु हुँदैन भन्ने हाम्रो विचार हो । अथवा हामी पार्टी साहित्य लेख्दैनौं । यसो भन्नु सायद राजनीतिको कुनै एक पाटो नै हो ।

सवाल्टन विचार पनि
साथीहरूका अनेकन प्रश्नहरूमध्ये अहिले नेपाली साहित्यमा के लेखिंदै छ ? हामीले चाहिँ के लेख्ने ? भन्ने प्रश्न पनि थिए । यो प्रश्न सजिलो पनि थियो साथसाथै अप्ठ्यारो पनि । मुख्य कुरो त नेपालमा पनि कोरियाली प्राध्यापक लीले भनेजस्तै मलेसियाको जस्तै अवस्था छ । मलेसियाको समकालीन लेखनमा महिला लेखकहरू मूलधारका लेखक बनेका छन् । नेपालमा पनि त्यही अवस्था छ । उनीहरू महिलाका विषयवस्तु लिएर मूलधारका पुरुष लेखकहरूसँग हार मिलाएर हिँडिरहेका छन् । त्यहाँ मुस्लिम लेखकहरूले आफ्नो साहित्यलाई आम मले पाठकहरूबीच लोकप्रिय बनाएजस्तै नेपालमा पनि विभिन्न जनजाति समुदायका लेखकहरूले आफ्नो संस्कृति–परम्पराका मिथ र विम्बहरूलाई मूलधारका साहित्यसरह लोकप्रिय बनाएको अवस्था छ । यसरी हिजोको भाषा–साहित्यको प्रयोगले सवाल्टन बनाएका भाषा–साहित्यको मूलधारीकरण भइरहेको छ भनेर हामीले भन्यौं ।
तर के भाषा या साहित्य या मिथ र विम्ब मात्र सल्वाटन हुन्छन् ? किनारीकृत हुनेमा समुदाय र उसको संस्कृति मात्र हो ? सल्वाटन भनिएको विषयलाई अलिक फराकिलो दृष्टि लाएर हेर्नुपर्ने देखिन्छ । यसरी हेर्दा एउटा सिंगो सभ्यता, परम्परा या दर्शन र विचार नै पनि सवाल्टन भइरहेको हुन्छ । आज पश्चिमी सभ्यता र परम्पराको दाँजोमा पूर्वीय परम्परा सवाल्टन स्थितिमा छ । इस्लाम, बौद्ध दर्शनको अवस्था दबिएको छ । यी विचार पद्धतिहरू पनि त सवाल्टन भए । यसका लागि समग्र एसियाकै बुद्धिजीवी लेखकहरूले सोच्नुपर्ने अवस्था छ । नेपाली साहित्यमा पछल्लो समय चलाइएको लीलावादी अभियान यसै दिशामा लक्षित देखिन्छ । अन्तरक्रियामा उठेको के लेख्ने भन्ने प्रश्नमाथि यसरी पनि बहस भयो ।

सामूहिक सिकाइ
जुलाई १७ सोमबारको द कोरियन टाइम्समा ली सुन होले कोरिया भ्रमणमा आउनेहरूले सिकेर फर्कने नौला कुराहरू शीर्षकमा एक लेख लेखेका छन् । उनको भनाइमा कोरियाका पहाड, समुद्र र अग्ला–अग्ला भवनहरूभन्दा पनि त्यहाँको परम्परा, बानी व्यहोरा र जीवन दर्शनले पर्यटकहरूलाई अचम्भित पार्छन् । लेखमा उनले धेरै त्यस्ता संस्कारको व्याख्या गरेका छन् जो हाम्रा लागि सामूहिक सिकाइको विषयवस्तु बन्न सक्छन् । लसुन, रातो खोर्सानी र अदुवा मिसाएर बनाइएको मुला या बन्दाकोभीको अचार किम्चीलाई उनीहरूले हरेक प्रकारका खानाको अभिन्न अंग बनाएका छन् । फोटो खिच्दा उनीहरू अंग्रेजीको चीज नभनेर किम्ची नै भन्छन् । खानेकुरामा सागपात र झोलको समुचित प्रयोग गरेर पाचनक्रिया सजिलो बनाइएको हुन्छ । बंगुरको मासु खानुपरे सिलामको पात र रायोको सागको टुक्रामा लपेटिएको हुन्छ । भातलाई कुनै प्रकारको झोलमा डुबाएर खाइन्छ । कोरियन युवायुवतीहरू लोभ लाग्ने गरी राम्रा देखिन्छन् । तन्नेरी देखिइरहन छाला र कपाल नरम पार्ने शृङ्गार सामग्री अनिवार्यजस्तै प्रयोग गर्ने गर्छन् । बाटोमा थुक्नु, फोहोर फाल्नु जहाँ पायो त्यहीँ चुरोट तान्नु संस्कार र कानुनको समेत विपरीत हुन्छ ।
हामी सहभागी भएको कार्यक्रममा आसन ग्रहण र भाषण समावेश थिएन । संस्थाका अध्यक्षले दर्शकदीर्घाबाट आएर मन्तव्य दिन्थे । फर्कन्थे । कोरियाका तर्फबाट कार्यपत्र प्रस्तोता सबै महिला थिए । पुरुषहरूले टिप्पणीको जिम्मा लिएका थिए । सायद जिम्मेवारीको लैंगिक विभाजन होसपूर्वक गरिएको हुँदो हो । यी यस्ता काफी संस्कारहरू हुन् जसले लेखक ली सुन होले भनेजस्तै हामीलाई अचम्भित पारे ।
युरेसिया कल्चर फोरमले नेपाली प्रतिनिधि कविता, कथा र उपन्यास छाप्ने प्रतिबद्धता व्यक्त गरेको छ । कविताको पुस्तक त प्रकाशन भइ नै सकेको छ । यो कुरा हाम्रा लागि पचास वर्ष पुरानो कोरियन रेस्टुराँमा खाएको साम गे थाङको स्वादभन्दा विशिष्ट थियो । साम गिल फोमा समुद्र स्पर्श गर्दाभन्दा बढी नै रोमाञ्चित भएका थियौं हामी । तर जब श्रम गर्न कोरिया गएका नेपालीहरूका प्रतिनिधि कविताको एउटा संग्रह छापेर दुवै देशका श्रममन्त्रीहरूको उपस्थितिमा विमोचन गराउने कुरा महासचिव जङ् देगीले गरे । अनि हामीलाई लाग्यो कोरियनहरू साँच्चै नै अक्षरलाई यति साह्रो माया गर्छन् । कवि ई हेइनले भनेजस्तै :
म तिम्रो जीवन्त सिसाकलम, र
अँध्यारोमा पनि चम्किने मसीले
तिमीलाई मन पर्ने अक्षर लेख्न चाहन्छु ।

प्रकाशित : श्रावण १४, २०७४ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?