कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

पशुलाई सुत्केरी भत्ता

कृषक उत्साहित
माधव अर्याल

पाल्पा — सरकारले चालू आवदेखि गाईभैसीलाई सुत्केरी भत्ता दिने कार्यक्रम सञ्चालन गरे पनि यहाँका तीन सहकारीले भने यसअघि नै अभ्यास गरेका छन् ।

पशुलाई सुत्केरी भत्ता

जिल्लाको रामपुरस्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी, मस्यामको डुम्रे दुग्ध उत्पादक सहकारी र बौघापोखराथोकको लुहुङ् दुग्ध उत्पादक सहकारीले भत्ता दिँदै आएका हुन् । 

दुई वर्षअघि नै रामपुरको सीताकुण्डले पशुपालक किसानलाई सुत्केरी भत्ता दिन सुरु गरेको हो । अन्य दुई सहकारीले अघिल्लो वर्षदेखि यसको अभ्यसमा जुटेका छन् । सीताकुण्ड र डुम्रेले सुत्केरी भत्तावापत ५ सय रुपैयाँ दिने गरेको छ । लुहुङ्ले भने ५ सय बराबरको भिटामिन र मिनरल्स दिने गरेको छ । सरकारले चालू वर्षमा पाल्पामा गाईभैसीलाई सुत्केरी भत्ता दिने कार्यक्रम राखेको छैन । 

सहकारीमा आबद्ध कृषक, पशुको बिमा गरेको हुनुपर्ने लगायतका नियम राखेर पशुपालक किसानले पशु कतिवटा ब्याएको छ भन्ने प्रमाणित भएपछि भत्ता पाउने गरेका छन् । पशु उत्पादनलाई बढावा दिन, सुत्केरी पशुको आहारा तथा सुसारमा कमी नहोस् भन्ने उद्देश्यले कृषक प्रोत्साहनका लागि निजी प्रयासमा सहकारीले सुरु गरेको हो । ‘सरकारले विपन्न हुनुपर्ने भन्ने नियम ल्याएको छ,’ सीताकुण्ड दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णकुमार अर्यालले भने, ‘हामीले सबैलाई प्रोत्साहन गरेका छौं ।’

पशु बिमा गरेकाले बंगुरले ७ वटा बच्चा जन्माउँदा ३ हजार ५ सय पाएपछि खुसी लागेको रामपुर नगरपालिकाका सुर्जेबहादुर रामजालीले बताए । ‘बिमा गरेको थिएँ, तर सुत्केरी खर्च पाउँछु भन्ने लागेको थिएन,’ उनले भने । बंगुरको बिमा गरेकाले प्रत्येक पशुको ५ सयका दरले रकम पाएको उनले बताए । उनले सोही रकमबाट पोषिलो दाना खुवाउन सहयोग पुगेको बताए । 

रामपुरकै आबुकुमारी मल्लले भैसीको बिमा गरेकै कारण बाँझो हुँदा १५ हजार क्षतिपुर्ति पाएको बताइन् । नेपालमै पहिलो पटक रामपुर भैसी विकास समितिबाट पशु विमा सुरु भएको हो । ‘सुरुमा पशु विमा गर्नुपर्छ भन्ने चेतना नै थिएन,’ गाईपालक किसान गणेश आचार्यले भने । विमा गर्दा सुत्केरी खर्च पनि पाएका छन् । सुत्केरी खर्च बापत पाएको रकमले गाई, भैसी, बंगुरलाई पोषणयुक्त भिटामिन किनेर खुवाउने आचार्यले बताए । ‘पशु सुत्केरी भत्ताले किसानलाई पशुपालन व्यवसायमा ठूलो हौसला मिलेको छ,’ भैसीपालक कृषक विष्णु पौडेलले भने । 

जिल्लाका तीन सहकारीले तीन सयभन्दा बढी पशुलाई सुत्केरीभत्ताको रकम बितरण गरिसकेको पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत तुलसीराम भण्डारीले बताए । ‘मान्छे सुत्केरी हुँदा स्याहार हुन्छ पोषिलो खानेकुरा खुवाइन्छ,’ भण्डारीले भने । पशुपालनमा व्यवसायिकता ल्याउन निजी क्षेत्रबाट कार्यक्रम सुरु गरेको उनले बताए । 

सहकारी संस्थामा विमा गरेका पशु सुत्केरी भएमा संस्थाले खर्च उपलब्ध गराउने नियम छ । पशुमा सरसफाई गर्ने, सुत्केरीमा पोषणयुक्त खानेकुरा खुवाउने चेतना बढाउन यस्तो कार्यक्रम ल्याएको डुम्रो दुग्ध उत्पादक सहकारीका व्यवस्थापक तथा गाईभैसी पालक गोपाल जीसीले बताए । ‘सुत्केरी अवस्थामा खानपिनमा कुनै कमी नआओस् भन्ने चाहना हो,’ उनले भने, ‘यसबाट व्यावसायिक पशुपालनमासमेत वृद्धि हुने आशा राखिएको छ ।’

पशु विमा सुरु गरेसंगै १० बर्षअघिसम्म भैसी र गाई पालन नगर्नेले उन्नतजातका गाईभैसी गाउँमा भित्रयाएका छन् । विमितले तोकिएको विमा रकमको बार्षिक ५ प्रतिशत मात्रै प्रिमियम बुझाउने नियम छ । बािर्षक प्रिमियम बुझाउने किसानले क्षतिपूर्ति वापत ८० प्रतिशत रकम पाउँछन् । सुत्केरी खर्च पाइन्छ भनेपछि भैसीको स्याहार सुसार पनि बढी भएको आफुले पाएको भण्डारीले बताए । ‘पशुलाई सुत्केरीको अवस्थामा स्वास्थ्य अवस्था राम्रो बनाउने र पोषिलो खानेकुरा खुवाउन थालेको पाइएकोछ,’ उनले भने, ‘बंगुर, गाई, भैसीलाई भिटामिन खुवाउने, पोषणयुक्त खानेकुरा खोज्न खर्चले धेरै सहयोग गरेको छ ।’

प्रकाशित : पुस ८, २०७३ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?