कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

चिकित्सकीय उपलब्धि : मान्छेमा सुँगुरको मिर्गौला प्रत्यारोपण

आनुवंशिक रूपमा परिमार्जित जनावरहरूबाट निकालिएको मिर्गौला ठूलो मात्रामा प्रत्यारोपण गर्न सकिने भएमा डायलासिसको प्रचलन नै हराउन सक्छ ।

काठमाडौँ — अमेरिकाको बोस्टनस्थित म्यासाचुसेट जेनेरल अस्पतालका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा इन्जिनियरिङ गरिएको सुँगुरको मिर्गौला ६२ वर्षीय एक बिरामीमा प्रत्यारोपण गरेका छन् । सुँगुरको मिर्गौलाजीवित मानिसमा प्रत्यारोपण गरिएको यो पहिलो पटक हो । यदि यो सफल भयो भने, मिर्गौला फेल भएका विश्वभरमा लाखौं बिरामीहरूलाई आशा दिनेछ ।

चिकित्सकीय उपलब्धि : मान्छेमा सुँगुरको मिर्गौला प्रत्यारोपण

मिर्गौलाले रगतबाट फोहोर पदार्थ र अतिरिक्त तरल पदार्थ बाहिर निकाल्छ। नयाँ मिर्गौलाले गत हप्ताको शल्यक्रियालगत्तै पिसाब उत्पादन गर्न थालेको र बिरामीको अवस्थामा सुधार भइरहेको म्यासाचुसेट्स अस्पतालका चिकित्सकहरूले बताएका छन्। चिकित्सकहरूका अनुसार बिरामी अहिले अस्पतालभित्र घुम्न सक्ने भएको र छिट्टै डिस्चार्ज हुन सक्ने बताए ।

यदि आनुवंशिक रूपमा परिमार्जित जनावरहरूबाट निकालिएको मिर्गौला ठूलो मात्रामा प्रत्यारोपण गर्न सकिने भएमा डायलासिसको प्रचलन नै सकिन सक्ने अस्पतालका मिर्गौला प्रत्यारोपणका लागि मेडिकल निर्देशक डा. लियोनार्डो वी. रिएलाले भने । अस्पतालको अभिभावक संस्था मास जनरल ब्रिघमले प्रत्यारोपण कार्यक्रमको विकास गरेको थियो।

आठ लाखभन्दा बढी अमेरिकीहरूको मिर्गौला फेल भएको छ र रगतबाट विषाक्त पदार्थहरू फिल्टर गर्न उनीहरूलाई डायलासिस आवश्यक छ । जीवित वा मृत मानव दाताबाट प्राप्त गरिएको मिर्गौला प्रत्यारोपण गर्न एक लाखभन्दा बढी प्रतीक्षा सूचीमा छन्। डायलासिसले मानिसहरूलाई जीवित राख्छ तर सबैभन्दा उत्तम उपाय भनेको अंग प्रत्यारोपण नै हो। तर अंगको चर्को अभावका कारण बर्सेनि हजारौं बिरामी मिर्गौलाको पर्खाइमा मर्ने गरेका छन् । प्रत्येक वर्ष अमेरिकामा कुल २५ हजार मिर्गौला प्रत्यारोपण हुने गर्छ ।

विश्वमै पहिलो पटक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण

मानिसमा जनावरको अंगको प्रत्यारोपण गरिने विधा जेनोट्रान्सप्लान्टेसनलाई दशकौंदेखि एक सम्भावित समाधानको रूपमा हेरिएको छ । यसले मिर्गौलालाई अझ व्यापक रूपमा उपलब्ध गराउन सक्छ। तर यसको चुनौती भनेको मानव प्रतिरक्षा प्रणालीले अर्काको तन्तुहरूलाई अस्वीकार गर्छ, जसले जीवनलाई नै जोखिम हुनसक्ने खालका जटिलताहरू निम्त्याउन सक्छ । राम्रोसँग मेल खाएका दाताहरूबाट लिइएको अंगलाई पनि दीर्घकालमा शरीरले अस्वीकार गर्ने जोखिम रहने विशेषज्ञहरू बताउँछन् ।

हालैका वर्षहरूमा, जिन सम्पादन र क्लोनिङलगायतका वैज्ञानिक प्रगतिहरूले जेनोट्रान्सप्लान्टलाई वास्तविकताको नजिक पुर्‍याएको छ । यसले अंगहरूलाई अझ मिल्दो बनाउन र प्रतिरक्षा प्रणालीद्वारा अस्वीकार गर्ने सम्भावना कम बनाउन जनावरको जिनहरू परिमार्जन गर्न सम्भव बनाएको छ।

यो मिर्गौला बायोटेक कम्पनी इजेनेसिसद्वारा इन्जिनियर गरिएको सुँगुरबाट प्राप्त गरिएको हो, जसले अंगको सम्भावित अस्वीकृतिमा संलग्न तीनवटा जिनहरू हटाएको थियो । साथै, मानव अनुकूलता बढाउन सात मानव जिनहरू पनि सम्मिलित गरिएको थियो । सुँगुरहरू रेट्रोभाइरसका वाहक हुने भएकाले कम्पनीले मानिसलाई सर्ने सम्भावना रहेको भाइरसलाई पनि निष्क्रिय बनाएको थियो ।

सेप्टेम्बर २०२१ मा, न्यूयोर्कको एनवाईयू लागोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला एक मस्तिष्क-मृत व्यक्तिलाई जोडेका थिए । सो व्यक्तिमा यसले काम गरेर पिसाब बनाउन थालेको थियो । केही समयपछि, बर्मिंघमको अलाबामा विश्वविद्यालयका वैज्ञानिकहरूले पनि आफूहरूले गरेको सोही प्रकारको परीक्षण सफल भएको घोषणा गरेका थिए ।

युनिभर्सिटी अफ मेरिल्यान्डका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा परिमार्जित सुँगुरबाट मुटु रोग भएका बिरामीहरूमा दुई पटक मुटु प्रत्यारोपण गरिसकेका छन्। उनीहरूमा सुरुमा अंगले काम गरेको थियो भने शरीरले अस्वीकार गरेको थिएन । तर केही समयपछि भने मुटु प्रत्यारोपण गरिएका दुवै बिरामीको आफ्ना रोगको प्रकृतिका कारण मृत्यु भएको थियो ।

यस प्रकारका अत्याधुनिक प्रयोगात्मक उपचारहरूका लागि सहमत हुने बिरामीहरू प्रायः अत्यन्तै बिरामी हुन्छन् र तिनीहरूसँग थोरै मात्र विकल्पहरू उपलब्ध हुन्छन् । प्रायः उनीहरू मानव अंग प्राप्तिको प्रतीक्षा सूचीका लागि योग्य हुँदैनन् ।

बोस्टनमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका बिरामी रिचर्ड 'रिक' स्लेम्यान हुन् । उनी राज्यको यातायात विभागका पर्यवेक्षक हुन् । उनी धेरै वर्षदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए, र एक दशकभन्दा बढी समयदेखि मास जनरलमा उपचार गराइरहेका थिए।

आफ्नो मिर्गौला फेल भएपछि स्लेम्यानले सात वर्षसम्म डायलासिसमा थिए । अन्ततः सन् २०१८ मा मानव मिर्गौला प्राप्त गरे। तर, प्रत्यारोपण गरिएको अंग पाँच वर्ष भित्रै असफल भयो र त्यसपछि उनले पुन: डायलासिस सुरू गर्नुपर्‍यो । जसका कारण उनमा हृदयघातलगायत अन्य जटिलताहरू विकास भएको डा. विलियम्सले बताए ।

'जब स्लेम्यानले २०२३ मा डायलासिस पुन: सुरु गरे, उनमा गम्भीर भास्कुलर जटिलताहरू देखियो । उनको रक्त नलीहरू जम्दै र असफल भइरहेका थिए । उनलाई बारम्बार अस्पतालमा भर्ना गर्नु परेको थियो,' डा. विलियम्सले भने, 'आफ्नो स्वास्थ्य समस्याको बाबजुद पनि काम गरिरहने स्लेम्यानले अर्को मानव मिर्गौलाको लागि लामो समय पर्खनुपर्ने भएका कारण उनी निराश थिए । मानिसको मिर्गौलाका लागि पाँचदेखि ६ वर्ष कुर्नुपर्ने थियो । जटिलताहरूका कारण उनी यो अवधिसम्म बाँच्न सम्भव थिएन बच्न सक्षम हुने थिएनन् ।'

जब डा. विलियम्सले स्लेम्यानलाई सुँगुरको मिर्गौला प्राप्त गर्नेबारे सोधे, उनीसँग धेरै प्रश्नहरू थिए । तर, अन्ततः अगाडि बढ्ने निर्णय गरे। 'मैले यसलाई मलाई मद्दत गर्ने तरिकाको रूपमा मात्र नभई बाँच्नको लागि प्रत्यारोपण आवश्यक पर्ने हजारौं मानिसहरूको लागि आशा प्रदान गर्ने तरिकाको रूपमा देखेको छु,' मास जनरलद्वारा उपलब्ध गराइएको विज्ञप्तिमा उनले भनेका छन् ।

स्लेम्यानको नयाँ मिर्गौलाले अहिलेसम्म काम गरिरहेको देखिन्छ भने उनलाई डायलासिस आवश्यक परेको छैन । सुँगुरको नयाँ मिर्गौलाले पिसाब बनाउँदै छ भने क्रिएटिनिन र अनावश्यक तरल पदार्थलाई पनि फिल्टर गर्दैछ । चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्थामा दिनानुदिन सुधार हुँदै गइरहेको छ । यद्यपि डाक्टरहरूले स्लेम्यानलाई अंग अस्वीकारको लक्षणहरूका लागि निगरानीमा राखिरहेका छन् ।

मास जनरलको लेगोररेटा सेन्टर फर क्लिनिकल ट्रान्सप्लान्ट टोलरेन्सका निर्देशक डा. तात्सुओ कावाई र डा. नाहेल इलियाससहित सर्जनहरूको टोलीले चार घण्टा लामो शल्यक्रिया गरेको थियो।

प्रकाशित : चैत्र ९, २०८० १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?