कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

सिलौटोमा पीडा पिनिरहेकी आमा

राजुलाई मन छ– लुसुक्क गाउँ जाउँ र लुकेर बसौं आमाको काखमा । राजुसँग केही सम्झना अझै जीवित छन्– आमाले नुन–खुर्सानी पिनेको उही सिलौटोको, अगेनामाथिको बासी ढिँडोको । भन्छन्, ‘त्यो सिलौटोलाई थाहा छ, मेरी आमाको नुनिलो आासुको स्वाद ।’ 
दीपक सापकोटा

काठमाडौँ — आमाले आँसुसँगै जीवनका दुःखहरू पिँधेको सिलौटो जोगाइराखेका छन्– राजु परियारले । उनलाई बोध छ– त्यो मेरी आमाले केवल मसला र नुन–खुर्सानी होइन, आफ्नो कर्म र दुःख पिँधेको सिलौटो हो । मध्य जेठको सहरी गर्मीमा राजु गाउँ र आमा हिँडिआएका बाटाहरू सम्झना गर्छन्, ‘जीवनबाट सबै कुरा हराओस् तर त्यो सिलौटो नहराओस् । किनभने त्यो ढुंगो मात्रै होइन, म हुर्केको साक्षी पनि हो ।' 

सिलौटोमा पीडा पिनिरहेकी आमा

सहरी जीवनमा राजु त्यो सिलौटोमार्फत आमाका पिँधिएका अनेकन रहर–सपना र सिंगो जिन्दगी स्मरण गर्छन् । ‘मेरी आमाको जिन्दगी नदी किनारमा हिँडेको पीरैपीरको दुःख यात्रा हो,’ रातको एकान्तमा बजेको नादझैं सुनिए राजु । मानौं त्यो ब्रह्मको धुन (नाद) नै उनको जीवनको पनि धुन हो । उनी आमाको दुःख–शृंखला सुनाइरहेका छन् । भन्छन्, ‘मेरी आमा आफैंमा एउटा कृति हो । मान्छेहरूले जिन्दगीको किताब पढेका हुँदैनन् तर मेरी आमाले आफ्नै जिन्दगी पढेकी छन् ।’


मान्छेभन्दा ठूलो जात कुन छ र ?,

मैले छुँदा पानी विष हुन्छ र ?

जति सक्छेउ तर्क मायालु,

मैले छुँदा छोइन्छ भने त

सुनपानीले छर्क मायालु ।

...

कतै कुनै ठाउँ छ र चोखो,

अछुत भन्ने जातले नछोको

रुमाल धो’को छु,

यो खोलीको पानी कोइ नखानू

मैले छो’को छु...

गायक राजु परियारका ब्रान्डेड गीत हुन् यी । राजु गीतका यी पंक्तिमा देख्छन्– आफ्नै जीवनको ऐना । भन्छन्, ‘यी गीत मेरो जिन्दगीकै दर्पण हुन् ।’ यी गीतले उनको उदास–हतास दिनहरूको कथा वाचन गर्छन् । नेपाली समाज बाँचेको धरातल र उकुसमुकुसको लामो आख्यान सुनाउने उनका गीतमा प्रश्नहरूको लस्कर छ– ‘मान्छेभन्दा ठूलो जात कुन छ र ? मैले छुँदा पानी विष हुन्छ र ?’

करिब १० हजार गीत गाइसकेका लोकगीतका सिद्धहस्त र सचेत गायकको पुरानो समयको पुस्तिका पल्टाइहेरे देखिन्छ– जीवनको तीरमा ‘सिलौटोमा दर्द पिँधिरहेकी’ एक दलित आमाको पीरको कथा, केवल विभेद र विभेदको लामो यात्रा गरेर पनि नथाकेकी राजुकी आमा सन्तमाया परियार (७७) को । उनको गाउँमा बोलाउने नाम हो, माइली । नागरिकतामा भने छ– सनसरी ।


लमजुङ बेंसीसहर–२, चिसापानीकी सन्तमाया अर्थात् सनसरी भजन गाउँथिन्, रत्यौलीमा नाचगान गर्थिन् । राजुका हजुरबुबा नौमती बजाउँथे, बा गीत गाउँथे । लमजुङका गुरुङ बस्तीहरूमा राजु रोदी बसेको देख्थे । गाउँको पुरानो त्यो जीवन पूरै सांगीतिक थियो । सानै छँदादेखि गीत गाउन थाले राजुले, १० वर्ष नपुग्दै– व्रतबन्ध, विवाहहरूमा । उनले गीत गाउँदा त्यो तालमा गाउँलेहरू नाच्थे तर धारामा पानी थाप्न पुगेका राजुलाई तिनैले भन्थे, ‘तिम्ले छोएको पानी चल्दैन ।’ अनि आ–आफ्ना गाग्री लिएर परै बस्थे ।

यसरी समाजमा अलग्गै पारिएका राजुले सानै छँदा आमाले गाएका गीतहरू सुने, जुन उनी रत्यौलीमा गाउँथिन्–

लेकतिर जाउँला, ढुकुर मारी ल्याउँला,

मिसाउँला त्यही सिमीमा,

छिर्केमिर्के केलाई भन्छौ नानी,

दिल बस्यो तिम्रै पिँढीमा...

अहिलेसम्म औपचारिक संगीत सिकेका छैनन् राजुले । गाउँतिर आमाहरूले रत्यौलीमा, कोदो टिप्दा, मेला–पर्ममा गाएका तिनै गीत, बाख्रा चराउन जाँदा डाँडातिर घाँस काट्नेहरूले गाएका भाका र गुरुङ बस्तीका रोधीलाई नै आफ्नो संगीतको पाठशाला ठान्छन् उनी । सोच्छन्– लोकगीत त बाआमासँग पो छ ! ‘गाउँका आमाहरूका अघि म कुनै गायक नै होइन, उहाँहरूले गाउने गीत त्यही स्तरको हामी गाउन सक्दैनौं,’ राजु आमा–महिमा गाउँछन्, ‘आमाबाको जीवन नै लोकगीत हो । उहाँहरूको थ्रिलिङ–कट्–घाँटी चलाई म टिप्नै सक्दिनँ, टिपे पनि न्याय गर्न सक्दिनँ । ती गीतमा ठूलो दर्शन लुकेको हुन्छ । पानी पार्ने, आगो बाल्ने ती गीतको गुणस्तर नै कहाँ हो कहाँ !’

राजुलाई लाग्छ– जतिसुकै तपस्या गरौं, गीतमा म बल्लबल्ल ‘के छ साइँली, के छ माइली’ सम्म मात्रै पुगेको छु । एक बेला राज गरे राजुले, लोकदोहोरीमा । ती ‘राजुमय’ दिनमा उनको नाम मात्रै टाँसे पुग्थ्यो, गीति एल्बम बिक्न । महोत्सव होस् वा गीति कार्यक्रम गुन्जिने उनै हुन्थे । ‘लालुपाते नुग्यो भुइँतिर’, ‘रुमाल धो’को छ’ु, ‘सुनपानीले छर्क मायालु’, ‘वनमा काँडा छ’, ‘तिमी घाम म छाया’, ‘फूलमा भमरा’, ‘धोका दिनेलाई के भनौं र खोइ’, उनका बहुचर्चित गीत हुन् ।


आमा सन्तमायाबारे राजुको परिभाषा छ– मेरी आमा आफ्नै जिन्दगीसँग लडिबुडी खेल्दै उठेकी, छोरालाई ‘छोरा’ बनाउन हिँडेकी हुन् । भन्छन्, ‘आमाले भोगेको कथा पढ्नुभयो भने धेरैलाई आफ्नै कथा पढेझैं लाग्ला, कोहीलाई लाग्ला– ए, यस्तो पनि हुन्छ र ? तर, आमाका कथा भुलेर भुलिसाध्य छैन ।’ गाउँका धारा, कुवा, पँधेरा र शमीको चौतारोमा रात–साँझ राजु गीत गाइबस्थे– बिहानको बासी ढिँडो खाएर । उनको याद सुदूर गाउँतिर पुग्छ– चौतारामा सोनी रेडियो घन्केको हुन्थ्यो– सुबेदार्नी दिदी र लप्टन बाको, रेडियो नेपालको क्षेत्रीय प्रसारणबाट बज्ने ती गीत सुन्थे र रौसिन्थे । तर, घरमा त आमाको पीडा–दुःख पहाडझैं ठडिएको थियो ।

भनिसकियो, राजुकी आमाको कथा साँच्चै दुःख–दर्दले भरिएको छ । राजु २ वर्ष छँदै बुबा मंगलसिंह परियार घर छाडी चितवन हिँडे र अर्को बिहे गरे । त्यसपछि राजुकी आमाको दुःख झन् थपियो । गरिबीसँगै दलित हुनुको दुःख पनि खप्टिएको थियो सन्तमायाको जीवनमा । गरिब र दलित महिलाको जीवनतिर पसेपछि मात्रै नेपाली आमाहरूको असली जिन्दगी–कथा थाहा होला । बाल्यकालमाथि घोरिँदा उनलाई लाग्छ– आमाले मेलापात, लेकबेंसी, ऐँचोपैँचो–पर्म गरेर हुर्काएको छोरो हुँ म । बुबाले गाउँ छाडेर अर्की बिहे गरेपछि राजुकी आमा झमझम असारे साँझमा पिँढीमा बसेर विरह भाका गाउँथिन्– ‘गयौ माया नौडाँडा काटेर, आउँछ मनमा बादलु फाटेर, नीलो पटुकी, यो मनको पीरैले डाँडै कटुँ कि ?’

सन्तमाया बेलाबेला ढिँडो मस्काउँदै, दाउरा फुक्दै, रसिला आँखा लिएर टुकी उज्यालोमा राजुलाई भन्थिन्– बूढाले छाडेर गए पनि म छोराहरू छाड्न सक्दिनँ । सन्तमाया भन्थिन्– जाने त गइहाले, म हरेस खान्न । सुनको मुनाजस्ता भुराहरूलाई हुर्काउन पाए पुग्छ, कर्ममा भए एक दिन फर्केर आइहाल्छन् । कर्ममा जे छ, त्यही नभोगी सुखै छैन । ‘आमाले आफू भोको रहेर हामीलाई हुर्काउनुभयो, त्यसको बयान म गर्न सक्दिनँ, शब्दमा । आमाको हिजोको दुःख देखेको मलाई अझै थाहा छैन– सुख के हो ?,’ राजु अतीत याद गर्छन् ।

राजुलाई लाग्छ, आमा चराजस्तै हुन् । सन्तमायाले २ छोरा जन्माइन् । गाउँलेका मेला जाँदा पाएको मकै–गेडागुडी पटुकीमा बोकेर घर ल्याउँथिन्, ‘छोराहरूले खान्छन्’ सोचेर । आमाका ती दिनलाई राजु चरासँग तुलना गर्छन् । जसरी चराले आफ्ना बचेराका लागि चारो खोजेर ल्याउँछ, उनकी आमा पनि उसैगरी छोराहरूका लागि चारो खोज्न गाउँतिर चहार्थिन्– मेलातिर र साहुका घरहरूमा । र, केही मुट्ठी चामल, मकै बोकेर घर आउँथिन् । राजुलाई ती दिन झलझली याद आउँछन्– हामीले कुनै पनि दसैं–तिहार दसैं–तिहार जसरी मान्न पाएनौं गाउँमा छँदा ।

राजु ५ वर्षको छँदा बुबा घर फिरे, केही दिनका लागि । फेरि कान्छी श्रीमती भए ठाउँ फर्किए । उनलाई बुबाको रहर लाग्थ्यो । दसैं–तिहारमा अरूका बुबा देख्थे, उनको बाल मस्तिष्कले सोच्थ्यो– बुबा फर्किनुहुन्छ होला तर कहिल्यै बुबासहित कुनै पनि चाडबाड मान्न पाएनन् । हुर्कंदा राजु पनि ऐँचोपैँचो–मेलापर्ममा जान थाले– आमा–हजुरबा–हजुरआमाको पछिपछि । तर, अहँ ! उनकी आमाको दुःख फेरिएन ।

बालापनको यादमा आमाको आँसु मात्रै सम्झना आउँछ राजुलाई । आमा नरोएको कुनै दसैं नै थिएन, पीडा बुबाकै थियो । तर, एक्लै रुन्थिन्, सकेसम्म छोराहरूलाई आँसु देखाइनन् । राजु बुबाले छोडेको छोरो, त्यसमाथि दलित र समाजले अपहेलित गरेको पात्र । ‘मलाई सधैं लाग्थ्यो– कुनै पनि चाडबाड नआइदिए हुन्थ्यो । चाडबाडमा गाउँका अरूको घरमा हर्ष हुन्थ्यो, मेरो घरमा आँसु र पीडा मात्रै ।’

मामाघर जाँदा पनि विभेद भोग्थे राजु । मामाहरू आमालाई मात्रै बोलाउँथे । ‘बाउले छोडेको बच्चा’ भन्थे मामाहरू पनि । ‘त्यो घटना सम्झिँदै काँडा उम्रिन्छ जीउमा । हर कुराबाट तिरस्कृत हुँदै यहाँ आइपुगें तर बेलाबेला सोच्छु– म त्यहीँ र त्यही बिन्दुमा छु र मेरी आमाले उही दुःख गरिरहनुभएको छ,’ राजु भन्छन् । गाउँमा चाडबाडमा खसी काटेर भाग लगाउँदा पनि सन्तमायालाई छुट्याइन्थ्यो । गाउँले भन्थे– ‘यसको श्रीमान् छैन, कसले दिन्छ पैसा !’ तर, राजुलाई मासु खान मन लाग्थ्यो, उपाय थिएन । त्यसपछि आमा आँसुमै भिज्थिन् र रात बित्थ्यो । राजुको सम्झनामा गुन्द्रीको भकारीको अन्न सकिएपछि भोकै सुतेका रात कति छन् कति ! तर, सन्तमायाको अनुहारमा चिन्ताका रेखा हुँदैनथे । भन्थिन्– आज हामीलाई भोकै बस्न लेखेको रहेछ, ठीकै छ ।


गीतको रस पसेका राजु स्कुलमा गीत गाउँथे, प्रतियोगितामा भाग लिन्थे, सबैतिर प्रथम हुन्थे । छोराको प्रगति–ग्राफ देखेर आमाको अनुहारमा रातो लालीगुराँस फुल्थ्यो । तर, सुखको सास फेर्न पाइनन् ।

राजुलाई आमाको पीर सम्झिँदा ‘संसारै भास्सिएको छ’ भन्ने अझै लाग्छ । उनलाई आमाले सिकाएको एउटै कुरा हो– दुःख गर्नुपर्छ केटा ! एक जोर कपडाले वर्ष कट्थ्यो । नयाँ कपडा किन्न दसैं नै कुर्नुपर्थ्यो, सन्तमाया छोराहरूलाई एकसरो कपडा हालिदिन्थिन् दसैंमा । छोराहरूका लागि हात्तीछाप चप्पल किन्ने पैसा नहुँदा खुब रोएकी छिन् उनी । गायकीबाट कमाएर आमाका लागि राजुले चप्पल किनिदिएको त्यो दिन पनि उसैगरी रोएकी थिइन् सन्तमाया, सायद पुराना दिनका यादहरूले घेरिएकी थिइन् ।

दसैंका बेला सन्तमायाले नयाँ कपडा किनिदिएपछि राजु चौतारामा गएर उभिन्थे– ‘कसैले हेरिदिए हुन्थ्यो’ सोचेर । गाउँका गरिब–दलितहरूले नयाँ चप्पल लगाउँदा, नयाँ कपडा लगाउँदा र मीठोमसिनो खाँदा त्यो समाजको चासोको विषय बन्थ्यो । धनी र ठालुहरू प्रश्न गर्थे– त्यसले कहाँबाट ल्यायो पैसा ? ‘त्यो समाज केही फेरिएको छ । तर, विभेदको बाछिटाचाहिँ छँदै छ समाजको नजरमा,’ राजु भन्छन् । बालापनमा राजु अन्य बालबालिकाझैं खेलेर हिँड्न पाएनन्– अर्मपर्म, मेलापात र स्कुल–घर नै थियो दैनिकी ।

सखारै निस्केकी सन्तमाया झमक्क रात परेपछि मात्रै घर पस्थिन् । बर्खामासमा घुम ओढेर निस्केकी आमा नआउन्जेल राजुको छाती पीरले डम्म हुन्थ्यो, बाढी–पहिरोको पीर छँदै थियो । भेलबाढी–पहिरो एकातिर, जिन्दगीकै पहिरो अर्कोतिर । रात गाढा हुञ्जेलसम्मै आमाको बाटो हेरेर बस्थे राजु, जसरी चराको बचेराले गुँडमै बसेर माउको बाटो हेरिरहन्छ । ‘त्यसपछि पानीमा भिज्दै घुम ओढेर आमा घर पसेपछिको हर्ष म अहिले पनि बयान गर्न सक्दिनँ,’ राजु भन्छन् ।

हुर्कंदो किशोर उमेरमा पनि ‘साथीहरूसँग रमाउन पाइन’ भन्ने दुःख छँदै छ राजुसँग । ‘लोकगीततिरै लहसिएँ, जवानी कसरी आयो, कसरी गयो ? पत्तै पाइनँ,’ उनी भन्छन् । उनलाई अहिले पनि लाग्दैन– म सुखमा छु । भन्छन्, ‘के सुख छ र जिन्दगीमा ? त्यही दिनले, तिनै दुःखले झस्काइरहन्छ । कतै पुगेर मीठोमसिनो खाँदा पनि तिनै दिनले झस्काउँछन्– एक छाक रोटी र ढिँडो पनि खान नपाएर भोकै बस्नुपरेका दिनहरूले ।’


अरू ग्रामीण आमा र आफ्नी आमाको जिन्दगी पूरै फरक देखे राजुले । आमाका दौंतरीले नै उनीमाथि छोइछिटो गरेको देखे । छोइछिटो त संस्कृतिजस्तै भइसकेको थियो । अलिअलि बुझ्ने भएसँगै बानी परिसकेको थियो– छोइछिटोको । त्यो कुनै नौलो घटना नै लाग्दैनथ्यो उनलाई । ‘यस्तै त हो जिन्दगी, यसरी नै चलिरहन्छ’ भन्थिन् उनकी आमा । ‘तर पनि भोगाइ त दर्दनाक थियो नै । जब म गायन प्रतियोगितामा पहिलो हुँदै गएँ र मान्छेले चिन्न थाले, त्यसपछि समाजले मेरो आमालाई हेर्ने नजर फेरियो,’ राजु भन्छन् ।

गाउँका तिनै ‘ठूला’ हरूले सन्तमाया अर्थात् सनसरी अर्थात् माइलीलाई सम्बोधन गर्न थाले– राजुकी आमा । गाउँलेहरू भन्थे– ‘तेरो छोरो राम्रो कलाकार बन्यो, तैंले दुःखै गरेर हुर्काइस्, अब सुख पाउँछेस् ।’

तर, आमाको र आफ्नो जीवनको जरा सम्झिँदा राजुको आङमा अझै काँडा उम्रिन्छन् । ती दिन कहालीलाग्दा लाग्छन् । मनमा वेदना उस्तै छ । आकाशे नीलो सर्ट र गाढा नीलो पाइन्ट लगाएर स्कुलमा सँगै बेन्चमा बस्ने साथीहरूझैं उनले पानीको गाग्रो छुन कहिल्यै पाएनन् । पानी पिउन मन लागे उनले अर्को गैरदलित साथीलाई कोट्याउनुपर्थ्यो र अञ्जुली थाप्नुपर्थ्यो । साथीले बेन्चमाथिबाट राजुको अञ्जुलीमा पानी खन्याइदिन्थ्यो । सामूहिक भोजनमा अलग पारिन्थ्यो । उनको समुदायका मान्छे छुट्टै बसेका हुन्थे । राजुको प्रश्न छ, ‘पैसा मेरो पनि परेको छ, अन्न मेरो पनि परेको छ । त्यही पैसा, त्यही अन्न एकै ठाउँ मुछिँदा म किन मुछिन सकिनँ ?’


गाउँमा भर्ती लाग्ने प्रतिस्पर्धा थियो । केटाहरू भर्ती हुन हरदिन गाउँ छाडिरहेका हुन्थे । केटाहरूझैं राजु पनि लाहुरे छनोटमा नगएका होइनन् तर तौल पुगेन । लाहुरे सपना त्यागेर ०५६ मा काठमाडौं पसे राजु । त्यही साल पहिलो एल्बम निकाले– ‘किसिमकोटमा चरी नाचेको’ । एल्बम आएपछि उनका गीत रेडियोमा खुब बजे, सन्तमाया खुसी भइन् । घरमा रेडियो थिएन, रेडियो भएकाको आँगन पुगेर ‘मेरो छोरोको गीत लाइदेऊ न’ भन्थिन् सन्तमाया । गाउँलेहरू र ‘राजुकी आमा’ कोदो रोप्दै र धान रोप्दै खेतमा सुन्थे राजुका गीत । तर, गाउँलेहरूले भनिरहे– ‘भर्ती हुनुपर्ने मान्छे, तेरो छोरोले गीत गाउने पेसा रोजेछ ।’

आमाले भने जवाफ दिइरहिन्, ‘मेरो छोरोको कर्ममा ईश्वरले जे दिएको छ, त्यही गरेर खान्छ ।’ राजुले सहरबाट पैसा पठाउन थालेपछि सन्तमाया खुसी हुन्थिन् । ‘छोरोले पठाएको पैसा’ भन्दै गर्वले फुल्थिन् र पटुकीभित्र पनि थैलीमा गाँठो पारेर राख्थिन्, राजुलाई भन्थिन्– ‘तिमेरको सम्पत्ति राख्द्या छु । आफूलाई चाहिने मेला गएर कमाइहाल्छु... ।’

आजकल काठमाडौं आउँछिन्, फर्किहाल्छिन् सन्तमाया । भन्छिन्– गाउँको जस्तो हावापानी यो सहराँ भएन । राजुलाई सन्तमायाको सुझाव हुन्छ, ‘कर्ममा लेखेभन्दा बढी पाइँदैन, पाएभन्दा बढी आशा कहिल्यै नगर्नु । सुख त सुनको दरबारमा पनि हुँदैन । मैले तिमेरलाई लुंगीको टालोमा हुर्काएँ । त्योभन्दा ठूलो आशा नगर्नु ।’

गाउँ बसेकी आमा सम्झेर सहरमा राजुले गीत गाएका छन्–

आमा तिम्रो दूधको भाराले,

नसरापोस् आँसुको धाराले

रुँदारुँदै हिजो आमा हो,

तिम्रो सम्झनाले सिरानी नै भिज्यो

राजु आमा र आमाहरूको अनुभव खोज्न गाउँ पुग्छन्, केश फुलेका बा–आमाको गीत सुन्छन् । ‘तिनै गीतले अरू ऊर्जा थप्छन्,’ राजु भन्छन् । वार्तामा केही पटक राजुले उही लाइन दोहोर्‍याए– कसैले देवीदेवतालाई पुकार्लान्– मेरो देवीचाहिँ आमा हो । आमाबा भएको घरमा आरती गर्नु पर्दैन । आफ्नी ग्रामीण आमा याद आउँदा एउटै तस्बिर आउँछ राजुको मस्तिष्कमा– मैलो धोती–चोलो लगाएर, एक हातमा कोदाली र अर्को हातमा स्याखु बोकेर ओह्रालो लागिरहेकी आमा । सन्तमाया गाउँ बस्छिन् अर्को छोरासँग । राजु काठमाडौंमा संघर्ष गरिरहेकै छन् । उनलाई अझै मन छ– लुसुक्क गाउँ जाउँ र लुकेर बसौं आमाको काखमा । भन्छन्, ‘म हिजोकै त्यो फुच्चे राजु परियार हुँ, त्यही दुःखमा छु ।’

यो सहरमा केही सम्झना जीवित छ राजुसँग– आमाले नुन–खुर्सानी पिनेको उही सिलौटोको, अगेनामाथिको बासी ढिँडोको । भन्छन्, ‘त्यो सिलौटोलाई थाहा छ, मेरी आमाको नुनिलो आँसुको स्वाद । त्यो साक्षी हो, मेरी दलित आमाका घोर दुःखका दिनहरूको ।’

प्रकाशित : जेष्ठ २९, २०८१ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x