कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

एक्लो दाबेदार दयाहाङ

गत वर्ष दयाहाङ राईका ९ फिल्म सार्वजनिक भए । ०८० साल खासमा उनकै वर्चस्वमा बित्यो । यस वर्ष पनि उनको एउटा फिल्म प्रदर्शनमा आइसकेको छ, दुई फिल्मले मिति पर्खिरहेका छन् । फिल्म जुनसुकै हुन्, पछिल्लो समय आदिवासी–जनजाति समुदायका कथाका मूल पात्रका एक्लो दाबेदार बनेका छन्, दयाहाङ । 
डिग्री माइला’को माइला बन्न दयाहाङले नेपाली राजनीतिमा आँखा डुलाए, आफ्नो अस्तित्वका लागि आवाज उठाइरहने तर अर्काको अस्तित्व अस्वीकार गर्ने प्रवृत्ति हेर्दै यो चरित्र निर्माण गरेको उनी बताउँछन्
रीना मोक्तान

काठमाडौँ — नेपाली फिल्मको कुरा गर्दा वर्ष २०८०, दयाहाङमय रह्यो । अघिल्लो नयाँ वर्षको सुरुवात नै दया अभिनीत ‘बिहेपास’बाट भयो । वैशाखमै दयाको अर्को फिल्म प्रदर्शनमा आयो, ‘जारी’ । जेठमा अर्को फिल्म चल्यो, ‘नीरफूल’, भदौतिर ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आयो । कात्तिकमा ‘दिमाग खराब’, माघमा ‘दयारानी’, फागुनमा ‘रंगेली’ अनि चैतमा ‘डिग्री माइला : एम ए थर्ड क्लास’ ।

एक्लो दाबेदार दयाहाङ

एकै वर्षमा ९ फिल्म, २०८० दयाकै वर्चस्वमा बित्यो । अघिल्लो वर्षझैं २०८१ पनि दयाकै वर्ष बन्ने पक्का छ ! दयाहाङ अभिनीत ‘मनसरा’ अहिले हलमा चलिरहेछ । प्रदर्शन मिति तय भइसकेको ‘गाउँ आएको बाटो’ ले जेठ २५ मा हल तताउँदै छ । थुप्रै फेस्टिभल घुमेर घरेलु बजारमा प्रदर्शनको तयारीमा रहेको फिल्म करिअरकै उत्कृष्ट रहेको दयाहाङको दाबी छ । असार २८ को मिति कुरेर बसिरहेको छ, ‘घरज्वाइँ’ ।

आखिर दयाहाङलाई फिल्म क्षेत्रले यतिविघ्न किन रुचाइरहेको छ ? फिल्म समीक्षक अनुप सुवेदी समावेशिता र पहिचानका मुद्दाले दयाहाङलाई फिल्म क्षेत्रमा यस्तो स्थान बनाइदिएको धारणा राख्छन् । समाजले उनलाई स्वीकार्न थालेसँगै बजारले पनि मन पराइदियो । हिट बनेसँगै बजारले उनलाई पछ्याउन थाल्यो । ‘हाम्रो समाजमा समावेशिताको कुरा उठ्यो, सबैले स्थान पाउनुपर्छ भन्ने बहस छेडियो । दयाहाङले स्थान पाउनुको एउटा कारण त्यो हो । अर्को त पहिचानको मुद्दाका कारण दयाहाङलाई एक खालको समुदायले आफू निकटको ठाने,’ सुवेदी भन्छन्, ‘फिल्मकर्मीको रोजाइभन्दा पनि समाजको स्वीकार्यताले दयाहाङ फिल्ममा दोहोरिरहेका छन् ।’

कलाकार दयाहाङ राई । तस्बिरहरू : दीपक केसी/कान्तिपुर

लगातार फिल्ममा देखिएसँगै पछिल्लो समय एउटा भाष्य सिर्जना भएको छ, ‘दयाहाङ हेर्दाहेर्दा वाक्क’ ! अब त दयाले फिल्मबाट ‘ब्रेक’ लिनुपर्ने प्रतिक्रिया पनि पुरानै भइसक्यो । चाहेरै पनि ‘ब्रेक’ लिन नसकिरहेका दयाहाङका आफ्नै बाध्यता छन् । अहिले दयाहाङ जोसँग फिल्म गर्दै छन्, उनीहरू लामो समय संगत गरेका दौंतरीहरू । उतिबेलादेखिका साथीका फिल्म नगरौं भन्ने पनि त भएन उनलाई, मनैले दिँदैन । त्यसैले उनी दोहोरिरहे– रामबाबु गुरुङ, उपेन्द्र सुब्बा, दीपेन्द्र लामालगायतका फिल्ममा ।

निर्देशक नवीन सुब्बाले ‘इन्डिजिनियस फिल्म आर्काइभ’ सञ्चालन गरिरहँदासम्म पनि नेपाली फिल्ममा बलिउडको हस्तक्षेप बढ्दो थियो । सुब्बा नेपाली फिल्मको कथ्य वाचन शैलीमाथि आवाज उठाइरहन्थे । सबै समुदायको आ–आफ्नै कथा भन्ने शैली हुन्छ । सुब्बा नेपाली फिल्मको मुहार बदल्न विभिन्न समुदायका मूल्यमान्यताभित्र नै कथा वाचनका शैली खोज्नुपर्नेमा जोड दिन्थे । ‘नुमाफुङ’ पछि सुब्बालाई पछ्याउँदै आफ्नो कथा भन्न हौसिए, रामबाबु, उपेन्द्र, माउत्से, दीपेन्द्र । उनीहरूले आफ्नो समुदायको कथालाई फिल्ममा ल्याउन थाले । थकाली समाजको कथा, गुरुङ समुदायको कथा । कहिले तामाङ त कहिले राई समुदायकै कथा । दयाहाङ कहिले लिम्बू बने त कहिले मगर । यी समुदायको कथामा उनको अनुहार मिल्दै गयो, अनि उनी दोहोरिँदै ।

‘दीपेन्द्र, उपेन्द्रहरू कोही पत्रकारिताबाट त कोही साहित्यबाट फिल्म लेखनमा आए । जसले कथा लेखे पनि उनीहरूले आफ्नै परिवेशको कथा लेखे । उनीहरूले फिल्म गरिरहे, मैले फिल्म पाइरहें । त्यसैले गर्दा म अलि बढी देखिन थालें,’ दयाहाङ भन्छन्, ‘ती फरक चरित्रमा मैले न्याय गरें वा गरिनँ । तर, मैले त्यो समुदाय र संस्कृतिको मूल्य–मान्यता र जीवन दर्शन बुझ्ने मौका पाएँ । मूलतः नेपाली समाज नै बुझ्न पाएँ । मैले त्यो अवसरलाई समात्दै जाँदा, बजारमा धेरै देखिएँ । तर, त्यसको अर्थ यो धेरै नै भयो भन्ने पनि होइन ।’

समीक्षक सुवेदीले भनेझैं बजारमा हिट भइसकेपछि जोखिमका हिसाबले पनि दयाहाङलाई रोज्नेहरू बढ्न थाले । २०८० मा ९ फिल्म प्रदर्शनमा आउनु यसकै नतिजा हो । दयाहाङ जानकार छन्– समाजले सहजै उनको अनुहारलाई स्वीकार्न थालेको होइन । राजनीतिले पहिचानको मुद्दा बोक्दै जाँदा फिल्म क्षेत्रतर्फ नवीन सुब्बाहरूले ‘आदिवासी जनजाति फिल्म फेस्टिभल’मार्फत फरक समुदायको कथा र अनुहारको स्वीकार्यताका लागि बहस चलाए । उपेन्द्र सुब्बा, राजन मुकारुङहरूले कवितामा आफ्नोपनको कविता लेख्न थाले । बिस्तारै समाजको चेतना विस्तार हुँदै आयो ।

अनि दयाले महसुस गरे, ‘कथा त हाम्रो पनि हुन्छ, त्यो कथा भन्ने पात्र म पनि हुन सक्छु ।’ फिल्म क्षेत्रकै चेतनामा भने तुरुन्तै बदलाव आएको होइन । ‘कबड्डी’ गर्दासम्म पनि निश्चित अनुहार देख्नेबित्तिकै जनजाति फिल्मको ट्याग लाग्थ्यो । फिल्मलाई बजारमा ल्याउनै ठूलो चुनौती थियो । तर, बिस्तारै यी फिल्मले नेपालीको दर्जा पाउँदै आएको अनुभव दयाहाङले गरेका छन् । ‘कथा जनजाति समुदायकै होला तर अहिले यी फिल्म नेपाली नै हो भनेर हेर्न थालिएको छ । अहिले त यो गुरुङ पात्र रहेछ, लिम्बू समुदायकै कथा भने पनि नेपाली फिल्मका रूपमा हेरिदिन थालेका छन्,’ दयाहाङले भने । एक दशकअघिसम्म पनि फिल्म क्षेत्रले सौन्दर्य मापदण्डलाई काँधमै बोकेको थियो । तर, जब दयाहाङले नाटक हुँदै ‘दासढुंगा’ खेले, तब उनमा पनि पर्दामा देखिन्छु भन्ने आँट बढ्दै आयो । ‘दासढुंगा गर्दा अब त वर्षमा कम्तीमा एउटा फिल्म त पाउँछु अब भन्ने आँट आएको थियो,’ उनी भन्छन् ।

हरेक वर्ष आफूलाई मन परेको स्क्रिप्ट छुटाउन चाहँदैनन् दयाहाङ । त्यसैमा पर्छन्, ‘गाउँ आएको बाटो’, ‘राजागञ्ज’ । वर्षमा एक जना डेब्यु निर्देशकसँग काम गरौं भन्ने उनको योजना नै हुन्छ । त्यसमा दौंतरी/साथीभाइका फिल्म थपिएको संख्या बढ्दै गएको हो । खासमा चलेका बेला कमाइहालौं भनेर फिल्मको संख्या बढेको होइनन् उनका । ‘भोलि डामाडोल हुन्छ, आजै कमाउनुपर्छ भनेर सोच्दिनँ । आज पाएको काम राम्रोसँग कसरी गर्न सकिन्छ भन्ने हुन्छ,’ उनी भन्छन्, ‘भोलिलाई सोचेर को बस्छ ?’

डेब्यु निर्देशकका सवालमा भने उनीहरूलाई स्थान दिन पनि काम गरेको दयाहाङको भनाइ छ । ‘डेब्यु निर्देशकसँग नयाँ जोस हुन्छ, व्यावसायिकताबाट पर रहेर फिल्म गर्छु भन्ने होडबाजी हुन्छ,’ उनी भन्छन् । त्यही लोभले उनी नयाँ निर्देशकसँग जोडिन चाहन्छन् । ‘उनीहरूको काम गर्ने टेक्निक नै नयाँ हुन्छ । निःस्वार्थ सोचसहित कथा भन्ने हेतुले फिल्म बनाउन आउँछन् । त्यसैले नयाँ जोसमा नयाँ कुरा सिक्न म लोभिन्छु । तर दोस्रो फिल्म बनाइसकेपछि उनीहरूलाई बजारले न्याकिसकेको हुन्छ,’ उनको अनुभव छ । रामबाबु, दीपेन्द्र, निगम श्रेष्ठ, निश्चल बस्नेत, उपेन्द्र सुब्बा, दीपक रौनियारसँग डेब्यु निर्देशनदेखि जोडिएका दयाहाङ भन्छन्, ‘मलाई पत्याएको पनि नयाँ निर्देशकले नै हो । नवीन सुब्बाबाहेक नयाँ निर्देशकसँगै काम गर्दै यहाँसम्म आइपुगें ।’

‘धेरै देखियो’ भन्ने बजारको भाष्यलाई फरक दृष्टिकोणबाट हेर्न सुझाउँछन्, दयाहाङ । अनुहार एउटै देखिए पनि फरक फिल्ममा उनी फरक चरित्र चित्रणमा देखिन्छन् । फिल्मले फरक मूल्य–मान्यता बोक्ने हुँदा, ती फिल्म हेर्दा आफ्नो अनुहार भुलेर त्यसले उठाएको मुद्दामा ध्यान दिनुपर्ने उनको धारणा छ । ‘पोस्टर र ट्रेलरमा देखिने मेरो अनुहारलाई बिर्सेर एकपटक फिल्मले उठाएको मुद्दालाई मिहिन ढंगबाट हेर्नुस् । फिल्मसँग गाँसिएर आएको थुप्रै कुरा त्यसपछि तपाईंले भेट्नुहुन्छ,’ दयाले भने ।

‘मनसरा’मा दया मानहाङको चरित्रमा छोटो समय पर्दामा देखिन्छन् । सोल्टिनीलाई छाडेर परदेश हराएका अनि पछि त्यही सोल्टिनीको खोजी गर्दै हिँड्ने पात्रका रूपमा उनी देखिएका थिए । फिल्मले निःसन्तान दम्पतीको पीडासँगै एकल आमाको दुःख र साहस देखाउने प्रयास गर्‍यो । ‘डिग्री माइला’मै पनि डिग्री गरेका माइलाहरू कसरी शैक्षिक बेरोजगार बने, बेरोजगारीले युवाहरूमा पारेको प्रभावको विषय उठाउन खोजिएको छ । त्यस्तै, ‘रंगेली’ मा उनी उत्पीडनविरुद्ध उठेर शक्ति प्राप्तिका लागि अगाडि बढिरहेको चरित्रमा देखिए । प्रदर्शनको तयारीमा रहेको ‘गाउँ आएको बाटो’मा उनी केही फरक चरित्रमा देखिएका छन् । ‘फिल्म निर्देशकको माध्यम हो, निर्देशककै दृष्टिकोणअनुसार कथा अगाडि बढ्छ । समकालीन फिल्मकर्मीसँग काम गर्दा चरित्रमाथि नियन्त्रण गर्न मलाई नै स्वतन्त्र छाडिदिन्छन् । तर, यो फिल्ममा निर्देशकले उक्त चरित्रमाथि आफूले चाहेअनुसारले नियन्त्रण गर्नुहुन्थ्यो,’ निर्देशक सुब्बासँग काम गर्दाको अनुभव साट्छन् उनी ।

झट्ट हेर्दा ‘गाउँ आएको बाटो’मा ‘माइला’ बन्दा दयाहाङ भयंकर नौलो देखिएका छैनन् । चरित्र निर्माणमा दयाले अपनाएको शैलीले माइला चरित्रमा केही फरक भने देखिनेछन् । यो फिल्ममा उनले पुराना फिल्ममा दोहोर्‍याउँदै आएका कति शैलीलाई भत्काएका पनि छन् । उदाहरणका लागि, एउटा दृश्यमा दयाले कुनै कार्य (एक्सन) गर्नुपर्ने छ । क्यामराले खिच्दै गर्दा उक्त कार्यलाई समयमा पूरा नगर्दा त्यसलाई ढाक्न दयाले कहिले शरीरको लुगा मिलाउँछन्, त कहिले के गर्छन् । दयाका पुराना फिल्ममा हिँड्दा, बोल्दा दोहोरिरहने यस्तै ‘एक्सन’माथि निर्माण टिमले अध्ययन टोली खटाएको थियो । त्यही पुराना कमजोरीलाई हटाउँदै दयाले ‘माइला’ चरित्रमा अभिनय गरेका छन् ।

चरित्र चित्रणका यी मिहिन कमजोरी दर्शकले फिल्ममा नदेख्लान् तर यी पक्षलाई अवसरका रूपमा सिक्दै दयाहाङ ‘माइला’ बने । माइला चरित्र निर्माणमा दयालाई उक्त पात्रको पेसाले निकै सहयोग गरेको सुनाउँछन् । यसअघिका कति फिल्ममा त दयाहाङले पात्रको काम के हो भन्ने नै थाहा पाउँदैनथे । तर, यो पात्रले चोयाको काम गर्छ भन्ने स्क्रिप्टमै लेखिएको थियो । दयाहाङले वास्तविक रूपमै चोया काढेपछि भने चरित्रको रिदम समातियो । चोया काढ्दै गर्दा त्यो बाँसलाई जोगाउन दयाको ओठ अनायासै चल्यो । त्यसलाई चरित्र निर्माणमा हालिदिए । छायांकनको तेस्रो दिनसम्म माइला बन्दा ओठलाई त्यसरी नै प्रयोग गरे । चौथो दिनदेखि आफूले देखाउनकै लागि उक्त ‘जेस्चर’ दोहोर्‍याइरहेको भान भएपछि छोडिदिए । चौथो दिनको छायांकनमा निर्देशक सुब्बाले समातिहाले, ‘तिमीले त्यो जेस्चर नछोड्नु ।’

यो चरित्र हिँड्दा पनि दयाहाङले चोया काढ्दाकै रिदममा हिँड्ने कोसिस गरिएको दाबी गर्छन् । निर्माण टिमले उनलाई यस्तो चप्पल दिएका थिए, जसमा दयाको खुट्टाले टेक्दाभन्दा विपरीततर्फ टेक्ने भाग थियो । त्यसले उनलाई सहजै हिँड्न दिएन, फेरि चोया काढ्ने मान्छे जतनसहित हिँड्दो हो । ‘मैले बिस्तारै हिँड्छु भनेर सोचें होला । तर, त्यसरी सोचेर अभिनय गर्दा त मेकानिकल हुन्छ । तर, जब प्रप्सले मलाई त्यस किसिमको चप्पल दियो, त्यसमा हतारले हिँड्नै मिलेन । यसरी चरित्र निर्माण गर्दै आएँ,’ दया भन्छन्, ‘फिल्ममा यी सबै पक्ष भयंकर देखिन्छ भन्ने होइन । तर, फिल्म निर्माण यति मिहिन ढंगले गरिएको छ ।’

दयाहाङ स्क्रिप्टको तथ्यमा बसेर चरित्र निर्माण गर्छन् । स्क्रिप्टमा उल्लेख गरिएकै तथ्यभित्र रहेर चरित्र निर्माण गर्ने कोसिसमा हुन्छन् । स्क्रिप्टलाई २०/२२ पटक पढेपछि मात्र त्यसभित्रको तथ्य पक्रेर उनी चरित्र निर्माण गर्छन् । हरेक चरित्र पाउनासाथ पात्रको पृष्ठभूमि खोज्नु नै चरित्र निर्माणमा उनले अपनाउने पहिलो कदम हो । त्यसपछि चरित्रको विश्वास, सामाजिक मूल्यमान्यता र उसको उद्देश्य बुझेर चरित्र बनाउँछन् । ‘रंगेली’मा ‘ग्याङस्टर’ बन्दा उनले अन्तरमुखी स्वभावतर्फ धेरै नियाले । उक्त पात्रको मूल उद्देश्य छैन, अरूले बनाइदिएकै विचार पछ्याउँदै अगाडि बढ्छ, विजय । त्यसैले त्यो पात्रलाई धेरै नबोल्ने चरित्रका रूपमा निर्माण गर्नेतर्फ दयाहाङले काम गरे । ‘डिग्री माइला’को माइला बन्न उनले नेपाली राजनीतिमा आँखा डुलाए । आफ्नो अस्तित्वका लागि आवाज उठाइरहने तर अर्काको अस्तित्व अस्वीकार गर्ने प्रवृत्ति हेर्दै यो चरित्र निर्माण गरे ।

फिल्म जुनसुकै होस्, पछिल्लो समय आदिवासी, जनजाति समुदायका कथाका मूल पात्रको एक्लो दाबेदार हुन् दयाहाङ । फिल्म क्षेत्रमा पहिचानको मुद्दा उठाउँदै आएका निर्देशक नवीन सुब्बाको ‘गाउँ आएको बाटो’मा काम गरेका दयाहाङ पछिल्लो समय कथा वाचनमा नौलो अभ्यास भइरहेको दाबी गर्छन् । ‘कतिले भौगोलिक अवस्थाका लेयर्सलाई समातेर कथा भन्दै छन्, कतिले सामाजिक मूल्यमान्यता पक्रँदै कथा भनिरहेका छन् । कतिले समाजलाई पात्रको दृष्टिकोणमा भनिरहेका छन्,’ दयाहाङ भन्छन्, ‘बलिउड छाप बोकेर यी फिल्मलाई हेर्ने हो भने सुन्दर ढंगले कथ्य वाचन गर्ने अभ्यास भइरहेको छ । आदिवासी जनजाति मात्रै होइन, समग्र फिल्मकर्मीले आफ्ना समुदायका कथा भन्ने कोसिस गरिरहेका छन्, जसले फिल्म क्षेत्रलाई नयाँ मोडतिर लैजाने निश्चित छ ।’

प्रकाशित : जेष्ठ १०, २०८१ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?