कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

जिन्दगी चल्न त चल्या छ पीरै पीरमा छ...

गायक बन्न १८ वर्ष छँदै काठमाडौं छिरेका भूपू पाण्डेको गीति–संघर्षको कथा रोमाञ्चक मात्रै छैन, उत्तिकै दर्द भरिएको पनि छ, असफल गीतहरूको चाङ लागिरहेका बेला उनको युट्युब च्यानलमा सार्वजनिक भएको पछिल्लो गीत ‘पीरै पीरमा...’ भने छोटो समयमा धेरै हेरिएको भिडियो बनेको छ
रीना मोक्तान

काठमाडौँ —  फूल फुलेर के गर्नु भीरै भीरमा छ
 जिन्दगी चल्न त चल्या छ 
 पीरै पीरमा छ...
एक महिनाअघि युट्युबमा सार्वजनिक ‘पीरै पीरमा...’ गीत यति बेला चर्चामा छ । १० वर्षदेखि गायन क्षेत्रमा संघर्षरत भूपू पाण्डेलाई यही गीतले अहिले भुइँमान्छेबीच जबर्जस्त रूपमा चिनाउने काम गरेको छ । हुन त यसअघि पनि भूपूका गीतलाई ६० लाख दर्शकले हेरेकै हुन् ।

जिन्दगी चल्न त चल्या छ पीरै पीरमा छ...

पैदल हिँडिरहने भूपूलाई यो गीत गाउनुअघि धेरैले वास्ता गर्दैनथे । चिने पनि नचिनेजस्तो गर्थे । तर, जब ‘पीरै पीरमा...’ चल्यो, तरकारी किन्न जाँदा पनि दर्शकले सोध्न थालेका छन्, ‘तपाईंलाई मैले कतै देखेको छु ।’ सधैं रासन किन्ने पसलका साहुजीले भूपूलाई सोधे, ‘जिन्दगी चल्न त चल्या छ भन्ने गीत गाउने तिमी नै हो ?’

भूपूको युट्युब च्यानलमा सार्वजनिक भएको यो गीत सबैभन्दा छोटो समयमा धेरै हेरिएको भिडियो हो । आखिर भूपूको यो गीतले दर्शकको अत्यधिक साथ कसरी पायो त ? जवाफ सजिलो छ, गीतले उठाएको विषयवस्तु । आमनेपाली युवाबीचको चरम निराशा, राजनीतिक अगुवाप्रतिको गुनासो र बेरोजगारीको मूल समस्यामाथि केन्द्रित यस गीतमा अधिकांश युवाले आफूलाई भेट्छन्, देख्छन् र पाउँछन् । त्यसैले सार्वजनिक हुनेबित्तिकै युवा समूहमा गीत अत्यधिक रुचाइयो । सामाजिक सञ्जालतिरको समूह ‘एमआरआर’, ‘दारी ग्याङ’ देखि ‘टिकटक’ मै गीत हिट भयो । अधिकांशले कमेन्टमा भन्न थाले, ‘यो त मेरो गीत हो ।’

खासमा यस पटक तीन गीत लिएर भूपू पाण्डे आफ्नै जन्मघर दाङ, देउखुरी फर्कंदै थिए । तीनै गीतलाई दाङको पहाडमा छायांकन गर्ने उनको चाहना थियो । एउटा भिडियोमा कपाल छोटो भएको दृश्य चाहिने थियो । वर्षौंदेखि पाल्दै आएको लामो डेडलकको माया लाग्यो । त्यसैले डेडलकको सम्झना राख्न एउटा भिडियो त्यही हुलियामा खिच्ने सोचे अनि सुटिङमा जानुअघि आफ्नो डायरी पल्टाए । झट्ट आँखा पुग्यो– ८/९ महिनाअघि कोरेको खेस्रामा । त्यहाँ लेखिएको थियो, ‘फूल फुलेर के गर्नु भीरै भीरमा छ, जिन्दगी चल्न त चल्या छ, पीरै पीरमा छ ।’ यिनै भावनासँगै थप्दै गए अन्तरा । गीतलाई बेरोजगारीसँगै जोड्न चाहन्थे । रोजगारी नपाएका युवा मात्रै होइन, रोजगारी पाएर पनि क्षमताभन्दा कम पारिश्रमिकमा खुम्चिएका युवाको पीडा पोख्न चाहन्थे । भूपू गीत लेख्नेहरूमा त पर्दैनन् तर यो गीतमा उनी समग्र युवाको अनुहार चित्रण गर्न चाहन्थे । दुई दिनमै गीतको शब्द तयार भयो, सुटिङ गर्न दाङ झरे ।

गाउँ जाँदा रमाइलो गर्न साथीहरूसँग डाँडा पुग्दाको क्षण देखाउन वनभोजको दृश्यलाई भिडियोमा खिचे । अनि काठमाडौं फर्केर गीतको रेकर्ड गरे । खासमा सुटिङमा हिँड्नुअघि भूपूले घरमै गीत अरेन्ज गरेर डमी तयार पारे, त्यही डमी भर्सनमा भिडियो बन्यो । काठमाडौं फर्केपछि १० दिन लगाएर गीत रेकर्ड भयो । युट्युबमा सार्वजनिक भइसकेपछि गीतलाई दर्शकले आफ्नो बनाए ।

यो गीतको मुखडा बिम्ब नै बलियो छ । हुर्केका युवालाई ढकमक्क फुलेको फूलसँग दाँजिएको छ । त्यस्तो फूल जुन भीरमा फुल्यो, बेकार ठाउँ, फुल्नुको खासै औचित्य नभएको स्थान । ‘पीरै पीरमा छ...’ भन्नुको अर्थ सबैको जिन्दगीमा पीर छ भन्ने नै हो । हातमा डिग्री बोकेका छोराछोरी बेरोजगार हुँदा आमाबुबालाई पीर छ । आफ्नो देशमा रोजगारी नपाउँदा र विदेशिन बाध्य हुँदा युवा पीरमा छन् । ‘नेपालमा कसले नै भविष्य देखेको छ र अहिले ?’ अरू त अरू, बैंकिङ क्षेत्रमा काम गरिरहेकाहरू नै देश छोडिरहेका छन्,’ भूपू भन्छन्, ‘चट्ट हेर्दा उनीहरूको जिन्दगी दामी छ । तर, उनीहरू पनि त्यही क्षेत्रमा खुसी छैनन् । त्यसैले त विदेश गइरहेका छन् । त्यसैले होला सबैलाई यो गीत आफ्नो लागेको ।’ भूपूले आफ्नो ‘फ्रस्टेसन’ पोखेको यो गीतमा नेपाली युवाको कथा र व्यथा गाइएको छ । त्यसैले भूपू भन्ने गर्छन्, ‘यो गीतको कथा मेरै हो । प्रस्तुत गरिएको फस्ट्रेसन मेरो आफ्नै हो ।’

गायक बन्छु भनेर १८ वर्षको उमेरमा भूपू २०६२ मा काठमाडौं छिरे । आरआर क्याम्पसमा शास्त्रीय संगीत पढे ।

२ वर्षपछि परिवारले ‘पढाउन सक्दैनौं’ भन्यो । पारिवारिक पृष्ठभूमि त्यति बलियो थिएन । काठमाडौंमा बाँच्नकै लागि संघर्ष सुरु भयो । पढाइ खर्च र कोठा भाडा तिर्नै पर्‍यो । एल्बम निकाल्न पैसाको अभाव थियो । ‘गीत कम्पोज गर्नै ५० देखि १ लाख रुपैयाँ मागे । त्यसैले बाध्य भएर आफैं गीत कम्पोज गरें,’ भूपूले भने, ‘काम गर्दै पहिलो एल्बम सार्वजनिक भयो । लगभग ३/४ लाख त्यसमै खर्च भयो होला । सोही लगानी उकास्न अर्को २/४ वर्ष नंग्र्रा खियाएँ ।’

दोस्रो एल्बम ‘मायावी’ सन् २०१६ मा आयो । एल्बमको ‘चम्पा’ बोलको गीत केही हदसम्म चल्यो तर लगानी उठाउने गरी चलेन । त्यो एल्बमको ऋण तिर्न अर्को २/३ वर्ष खर्चियो । बुबाआमाप्रतिको जिम्मेवारी वहन गर्न नसक्दाको पीडा पनि थियो । यस्तै निराशा र पीडालाई भूपूले ‘पीरै पीरमा...’ गीतमा पोखे । गायन क्षेत्रको लामो संघर्षबीच भूपूले निराशा धेरै पाए । त्रिभुवन विश्वविद्यालयबाट शास्त्रीय संगीतमा डिग्री त हासिल गरे तर गायन क्षेत्रमा भने उनको लगानी निरन्तर डुबिरह्यो ।

‘पीरै पीरमा...’ गीतमा देशको नेतृत्वकर्तालाई पनि व्यंग्य गरिएको छ । भूपूलाई थाहा छ, कुशल नेतृत्वकै अभावमा बेरोजगारी समस्या बढेको हो, युवामा चरम निराशा फैलिएको हो । ‘यो बूढो भइसकेको नेतृत्व, ढुंगा हानेर देश चलाउने ठाउँमा आइपुगेका नेताभन्दा पनि भिजन बोकेको नेतृत्व अब युवालाई चाहिएको छ,’ उनले भने, ‘हुन त नयाँले आशा त देखाउँछन् । तर, उनीहरू पनि कहाँ र के कुरामा अल्झिरहेका छन्, उनीहरूलाई नै थाहा छैन ।’ अहिलेको अवस्था आउनुमा पुरानै नेतृत्व कारण भएको उनको निष्कर्ष छ । ‘देशका अगुवा त हाम्रा अभिभावक हुन्, हामी चोकमा उभिएर उनीहरूलाई गाली गलौज गर्न सक्दैनौं । तर, अहिले चोकमा उभिएर नेतालाई गाली गरिरहेका छौं, आखिर किन त ?’

‘पीरै पीरमा...’ को भिडियो गीतको अन्तिमतिर भूपूले नेतालाई झकझकाएका छन् । ‘मापसे गरेजसरी देशलाई नचलाऔं । बेरोजगार युवालाई खाडीतिर होइन, स्वदेशमै रोजगारी र उद्यमतिर धकेलौं,’ उनले भनेका छन् । मापसे गरेजसरी देश चलाउँदा कहाँ पुगिन्छ भन्ने व्यंग्यात्मक सन्देश पनि भिडियोमा देखाइएको छ । भूपू विद्यमान बेरोजगारीले सिर्जित समस्या समाधानका लागि एक घर एक रोजगारीको आवश्यकता देख्छन् । ‘हाम्रा नेताले आफ्नो देशका जनतालाई आफ्नै छोराछोरीलाई झैं व्यवहार गर्नुपर्थ्यो,’ उनले भने, ‘प्रमुख कुरा त एक घर एक रोजगारी आवश्यकजस्तै भइसक्यो ।’

देशमा रोजगारी र अवसर नपाएपछि विदेश जाने लक्ष्य बनाइरहेका युवालाई गीतका विभिन्न अन्तरामा व्यंग्य पनि गरिएको छ । ‘न त पढाइ हजुर, न ठूलो लगानी– अब खाडी हजुर जाने त होला नि,’ उनले भनेका छन्, ‘घरजग्गा भएका, आमाबुबाले सहयोग गर्न सक्नेहरू क्यानडा, अमेरिका, अस्ट्रेलिया पुग्छन् ।’ भूपू आफूले कहिल्यै पनि विदेश जाने सोच बनाएनन् । डीभी भर्ने कल्पनासमेत गरेनन् । उनलाई अहिले पनि लाग्छ, ‘कुनै दिन हार खाइएछ भने विदेश जाऔंला तर अहिलेलाई यही देशमा परिश्रम गरौं भन्ने हो ।’ पुराना गीतमा लगानी डुबाएका भूपूले ‘पीरै पीरमा...’ लाई भने ७० हजार रुपैयाँ खर्च गरेर बनाएको सुनाए । १० मिनेटको यो गीतमा भूपूले देशप्रतिको चिन्तालाई पनि केही अन्तरामा पस्केका छन् । ‘हामी काठमाडौं बसेर लिपुलेक, कालापानीको कुरा गर्छौं । सीमाछेउ बस्ने जनतालाई त्यसले सास्तीमा पारेको विषय वास्तै छैन । अर्कोतिर सीमातिर दशगजा स्तम्भ सारेको कुरा सुनिरहन्छौं । हामी छिमेकीले आफ्नो जग्गा अलिकति मिच्दा मारामार गर्छौं तर त्यता कति किलोमिटर मिचेको कुरा सुन्दा पनि वास्ता गर्दैनौं ।’

लोकशैलीले पहिचान

विसं २०६२ तिर आईए पढ्दै गर्दा टिप्सकै लागि दोहोरी साँझमा निःशुल्क मादल बजाए । गजल र लाउन्जतिर ड्रम प्याड ठोके । काठमाडौंमा बाँच्नकै लागि भूपूले गरेको संघर्षको कथा लामो छ । क्यासिनोमा ड्रम प्याड बजाएपछि भजनतिर लागे । बीए पहिलो वर्षपछि धर्म दर्शनको कुवेर गुरुसँग ६ वर्ष लगातार ड्रम प्याड बजाउँदै जाँदा पूर्वी नेपाल घुमे । विद्यालय हुँदै संगीतमाथिको रुचि भूपूले थाहा पाइसकेका थिए । ६ कक्षा पढ्दा गाउँमा फिल्म हल खुल्यो, हरेक फिल्म नछुटाई हेर्थे । पढाइ बिग्रियो, लाहुरे बन्न भारत गए । मनभित्र लोभ थियो, भारतमा भारतीय फिल्म हेर्न सकिन्छ । छोटु (घरायसी सहयोगी) भएर काम गर्दा मालिकको गाली खुबै खाए । २ वर्ष भारतमा हन्डर खाइसकेपछि १४ वर्षको उमेरमा फेरि गाउँ फर्के । कक्षा ६ मै पुनः भर्ना भएर पढ्न थाले । एक दिन विद्यालयको कार्यक्रममा गीत गाउँदा उनले नसोचेको तारिफ पाए । मौरीघाट माविमा पढाउने सीता रिजालले त्यसपछि उनलाई सधैं गीत गाउन हौस्याइरहिन् । ‘विद्यालयमा हुँदा सीता म्यामलाई गीत सुन्न मन लागे मलाई भनिहाल्नुहुन्थ्यो,’ उनले भने, ‘म दायाँबायाँ केही नसोची गाइदिइहाल्थें ।’ विद्यालय जीवन सकिएसँगै उनै रिजालले नै भूपूलाई संगीत पढ्न हौसला दिइन् । त्यसपछि उनी संगीत पढ्न आरआर क्याम्पमा भर्ना भएको सुनाए । आरआर पढ्दै गर्दा बुबासँग खर्च मागेर किनेको ड्रम प्याडले नै भूपूलाई बाँच्ने आधार दियो । त्यसरी ड्रम प्याड बजाउँदै भूपूले पहिलो एल्बम मोक्षपथ (भजन) निकालेको बताए । त्यसपछि करिब पाँच लाख रुपैयाँ खर्चेर ‘मायावी’ एल्बम निकाले । भजन गाउँदा जोहो गरेको सबै कमाइ यही एल्बमले डुब्यो ।

त्यसपछि रंगकर्मी संगीता थापासँग मिलेर २ लाख रुपैयाँ बजेटमा ‘ट्याग नगर’ गीत निकाले । कम्पनीबाट सार्वजनिक गरेको गीतबाट नगद पनि खासै हात परेन । त्यसपछि ‘छाता’ बोलको गीत आयो, बाँकी रहेको अढाई लाख रुपैयाँ त्यसैमा सकियो । यसरी गीतको लगानीमै गोजी रित्तो भएपछि भूपूले अरेन्ज सिके । विभिन्न गीतमा अरेन्ज गरिदिन थाले । शिव परियारको ‘रानी’, ‘प्रेमको फूल’ गाए । प्रमोद खरेलको ‘मञ्जरी’ मा अरेन्ज गरे । मेलिना राई, प्रविशा अधिकारीले गाएका गीत अरेन्ज गरेकै पैसाले शास्त्रीय संगीत गरे, ‘आयो रे सावन...’ । त्यसमा पनि खासै उपलब्धि भएन । त्यसपछि ‘मरेको लास’ भन्ने गीत गरे । त्यसको पनि लगानी डुब्यो । काठमाडौं बाँच्न र संगीतमा जिउन गरेको अथक मिहिनेत पानीमा मिसियो । जीवन निराशातर्फ धकेलिरह्यो तर भूपूले कहिल्यै हार मानेनन् । ‘लहै लहै’ मा लगानी गर्नुहुन्न भन्नेबारे भने बल्ल परिपक्व बने ।

पहिलो लकडाउनका बीचमा गरेको गीतमा भने भूपूले सफलताको सानो झिल्को देखे । ‘छोटो छ जिन्दगी, फोटो खिचेर राख...’ भन्ने गीतले लगानी उठाइदियो । संगीतमा हौसला थपियो तर त्यसबीच नै लकडाउन भयो । गीतको छायांकन भारतको राजस्थान र सुदूरपश्चिम पुगेर गरेका थिए । सम्पादन गर्ने बेलामा लकडाउन भयो । त्यसपछि प्रहरीको आँखा छलेर लुक्दै भिडियो सम्पादन गर्न हिँडेरै अनामनगर पुग्न थाले । यसरी यो गीत बन्यो । गीतले युट्युब च्यानलको सब्सक्राइबर बढाइदियो । गीतमा नेपालको कुनै गाउँबाट राजस्थान पुगेर दुःख गरिरहेका युवकको कथा छ । कान्तिपुर फिल्म एकेडेमी पढेका योगेश दाहालले गीतलाई खिचेका हुन् । गीतमा भूपूसँगै कलाकार उषा उप्रेतीको अभिनय छ । उक्त गीतले लगानीको ९० प्रतिशत उठाइदियो । आफ्नो बुलेट किन्ने सपना पनि यही गीतले पूरा गरेको भूपूले सुनाए ।

लकडाउनबीच नै चर्चामा आएको हो, ‘जाँदा जाँदै बन्दीपुर पुग्यो... ।’ लकडाउनबीच सिनिमेटोग्राफर योगेशकहाँ पुगिरहन्थे, भूपू । उनी दुईलाई देख्नेबित्तिकै घरबेटी आमै नन्द पन्त आफूलाई पनि गाउने चाहना रहेको बताउने गर्थिन् । ‘आमाले बारम्बार गीत गाउने रहर हामीसामु राख्नुभयो । अनि हामीले एक दिन आमालाई गाउन लगायौं । उहाँले आफूलाई आउने सबै गीत गाउनुभयो,’ भूपूले भने, ‘उहाँले पुराना गीत गाइरहँदा नै बन्दीपुरवाला गीत सुनाउनुभयो । अनि मैले त्यो भाकालाई अरू ठाउँमा खोजें, कसैले नराखेको देखेपछि हामीले आमालाई रेकर्ड गर्न लगायौं ।’

बन्दीपुरपछि भूपूलाई लाग्यो, नेपालीको पहिचान त लोक संगीतमै छ । अनि, शास्त्रीय संगीतमा डिग्री गरेका उनी लोक संगीततिर ढल्किए । ‘हाम्रो माटोको धुन भनेको लोकगीत नै हो । हाम्रो पहिचान नै संगीत हो । मैले सिकेको त भारतीय संगीत हो । त्यसपछि मलाई लोक संगीत गर्नुपर्छ भन्ने लाग्यो,’ ३६ वर्षका भूपूले भने । भूपूको यही बुझाइ ‘पीरै पीरमा...’ गीतमा देखिन्छ । लोकशैलीको यही गीतले भूपूलाई पनि पहिचान दिलायो । ‘क्लासिकल संगीत त सिकेको, पढेको भयो । तर, लोकगीत त हामी नेपालीको नसा–नसामा छ,’ भूपू भन्छन्, ‘त्यसैले लोकगीत सिक्न मलाई गाह्रो परेन । अन्ततः यसैले मलाई पहिचान पनि दिलायो ।’

प्रकाशित : चैत्र २९, २०८० ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?