कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पातमा आकृति

तीन वर्षयता रूखका पातमा आकृति कोर्दै आएका जुम्लाका विराज भण्डारीले आफ्ना लागि पढ्ने खर्च मात्रै जुटाएका छैनन्, २५ विद्यालयका १२ सयभन्दा बढी विद्यार्थीलाई ‘लिफ आर्ट’ बारे प्रशिक्षण पनि दिइसकेका छन् । 
डीबी बुढा

जुम्ला — पहिलो पटक पातमा आकृति कोर्ने प्रयास गर्दा जुम्ला चन्दननाथ नगरपालिका–२ का विराज भण्डारीको मनमा अन्योलता थियो । ‘पातमा पनि आकृति कसरी बनाउन सकिएला ?’ भन्ने लाग्थ्यो उनलाई । तर करिब एक सातामा नै उनले पातमा सुन्दर आकृति बनाउन थाले ।

पातमा आकृति

टिकटकमा भारतको ताजमहलको आकृति भारतीय कलाकारले बनाएको देखेका उनले पहिलो पटक ओखरको पातमा लिपुलेकसहितको नेपालको नक्साको आकृति बनाए ।

पहिलो आकृति सामाजिक सञ्जालमा पोस्ट गरेपछि धेरैले रुचाए । उनको आकृति बनाउने कलामा झनै निखारपन आउन थाल्यो । २४ वर्षीय विराज अहिले पातमा आकृति बनाउने आकृतिकारका रूपमा चिनिएका छन् । पिपलको पातमा क्षणभरमै आकृति बनाएर देखाउनु उनको क्षमता हो । कोभिड महामारीका बेला सामाजिक दूरी कायम गर्नेदेखि बिनाकाम घरबाहिर निस्कन बन्देज लगाइयो । विराजले त्यतिबेला आकृति बनाउने कलाका विषयमा युट्युबमा हेर्न थाले । टिकटक नियाल्न थाले । लिफआर्ट प्रतिस्पर्धा अनलाइनबाटै गर्न थाले । पातमै मानिसलगायतका विभिन्न वस्तुको आकृति बनाएपछि उनी एकाएक चर्चामा पनि आए । अहिले पातलमा आकृति बनाइदिनुपर्‍यो भन्दै धेरै व्यक्ति, संस्थाहरू विराजको सम्पर्कमा आउने गरेका छन् । पातमा आकृति कोरेर आम्दानी गर्न थालेको उनले बताए ।


विराजले एउटा पातमा आकृति बनाएको खुसीले एक हजारदेखि ४ हजार पाँच सय रुपैयाँसम्म दिने गरेको अनुभव सुनाए । ‘आकृति कोर्न सिकेको तीन वर्ष जति भयो,’ विराजले भने, ‘आकृति कोरेर यसबीचमा १२ लाख रुपैयाँभन्दा बढी आम्दानी भयो । पढ्ने खर्चसमेत यहीबाट जुटेको थियो ।’ पातमा आकृति बनाउने उनको कलामा परिवारको पनि साथ छ । तर हिउँदे सिजनमा सबै पात झर्ने भएकाले बाह्रै महिना पातमा आकृति बनाउन सकिने अवस्था छैन । ‘आकृति बनाउन हरियो पात नै चाहिन्छ,’ उनले भने, ‘जुम्लामा ६ महिना जति पात नै पाइँदैन । परिपक्व पात हुन जेठ नै लाग्छ । त्यही भएर नियमित रूपमा आकृति बनाउने कार्य अघि बढाउन कठिन छ ।’

विराजले देशभरका झन्डै २५ विद्यालयमा झन्डै १२ सयभन्दा बढी विद्यार्थीलाई ‘लिफ आर्ट’ बारे प्रशिक्षण पनि दिइसकेका छन् । ‘आर्ट जान्नेले पातमा राम्रो आकृति बनाइरहेका छन्,’ उनले भने, ‘नजान्नेले पातमा नाम लेख्न र आकृति बनाउन पात कसरी काट्दा रहेछन् भन्नेसम्म सिकेका छन् ।’ तीन वर्षदेखि पातमा आकृति कोरेर विराज रमाइरहेका छन् । टिकटक र युट्युबमा हेरेर पातमा त्यसको नक्कल धेरै गरे । पहिले धेरै बिग्रिए पनि अहिले तस्बिरअनुसारको आकृति जस्ताको तस्तै बनाउने गरेको उनको भनाइ छ ।

पछिल्लो समय विराजको आकृति बनाउने कलाको सर्वत्र प्रशंसा भइरहेको छ । विराजमा आकृति बनाउन झनै उत्साह थपिएको छ । पातमा वन्यजन्तु, चराचुरुंगीदेखि विभिन्न व्यक्तित्वको आकृति बनाउन थाले । आकृति कोर्ने उनको दैनिकी जस्तै छ । पातमा दुई हजार पाँच सयभन्दा बढी आकृति कोरिसकेको उनको भनाइ छ । ‘पातमा मान्छे, जीवजनावर, विभिन्न ठाउँ र वस्तुको आकृति बनाइरहेको छु,’ उनले भने, ‘ब्लेडले पात काटेर आकृति बनाउन गाह्रै छ ।


तर मैले त्यही काम गर्न सकिरहेको छु र खुसी पनि छु ।’

पहिलो पटक पातमा आकृति कोरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेपछि धेरैले मन पराए । त्यो नै उनका लागि अघि बढ्ने मार्ग बन्यो । उनले बनाएका आकृति जिल्लाका अधिकांश कार्यालयमा राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री केपी ओली, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन), धरान उपमहानगरका मेयर हर्क साङपाङ लगायतका आकृति बनाएर उनले भेटघाटमा दिइसकेका छन् । कुलमान घिसिङ, लक्ष्मीप्रसाद देवकोटा लगायतका आकृति पनि कोरेका छन् । उनले प्रायः पिपलका पातमा आकृति कोर्छन् ।

विराजको कला देखेर कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापा पनि दंग छ । पातमा चित्र बनाउने र आकृति कोर्ने कला निकै राम्रो छ । अब यो कला अरूलाई पनि सिकाउनुपर्ने प्रमुख थापाको भनाइ छ । उसो त कर्णाली प्राविधिक शिक्षालयमा गएर विराजले विद्यार्थीलाई आकृति बनाउने तरिकाबारे पनि सिकाइसकेका छन् । त्यस्तै, डोल्पा, जुम्ला, झापा, मोरङ र इलामका विभिन्न विद्यालयमा पुगेर उनले पातमा आकृति बनाउने प्रशिक्षण दिएका छन् ।

जनता मावि महत गाउँमा मावि शिक्षा हालिस गरेका विराजले नासा कलेज काठमाडौंमा उच्च शिक्षा हासिल गरेका थिए । गौरादहमा बीएस्सी एजी उत्तीर्ण गरेका विराजले आफ्नो सीप दौंतरीमा समेत आदानप्रदान गरेका थिए । उनको घरमा पाँच जनाको परिवारमा उनी जेठो छोरा हुन् । डोल्पाको मुड्केचुलामा ६ महिना कृषि अधिकृतका रूपमा कार्य गरेका विराजले अहिले आफ्नै युनिक होम डेकोर सप्लायर्स खोलेका छन् । कर्णाली प्राविधिक शिक्षालयमा कृषि विषयमा अध्यापन गराइरहेका उनी सामाजिक कार्यमा पनि क्रियाशील छन् ।

प्रकाशित : फाल्गुन १, २०८० ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×