कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघ पछ्याउँदै क्यामराको ताँती

बर्दियामा एक दशकमा बाघको संख्या १८ बाट १ सय २५, प्राकृतिक बासमा गतिविधि हेर्न रमाइलो तर सतर्कता जरुरी
कसले कस्तो अवस्थामा राम्रो फोटो र भिडियो खिच्ने प्रतिस्पर्धा नै चलेको छ, क्यामराधारीहरूको भीड सधैं दिउँसो वन क्षेत्रमा भेटिन्छ
मनोज पौडेल, कमल पन्थी

बर्दिया — वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा बिहान ८ नबज्दै बर्दिया निकुञ्जभित्र प्रवेश गरिसक्छन् । स्थानीय प्रथप्रदर्शक लिएर ल्यान्डरोभर गाडीमा निस्कने उनी निकुञ्जभित्र बाघ देखा पर्ने ठाउँ आसपास निकै समय बिताउँछन् । दिनभर बाघ हेर्ने ठाउँमा बसेपछि साँझ उत्साहित हुँदै फर्कन्छन् ।

बाघ पछ्याउँदै क्यामराको ताँती

उनीजस्तै अमेरिकी वाइल्डलाइफ फोटोग्राफर जोसेलिन स्टोक्सको पनि दिनचर्या छ । उनी बाघको भिडियो खिच्न बिहानै निकुञ्ज पस्छिन् । पिकअप भ्यानको पछाडि ट्राइपोर्टमा ६ सय एमएम लेन्सजडित क्यामरा तयारी अवस्थामा राखेर चारैतिर आँखा दौडाइरहेकी हुन्छिन् । ‘कहाँ कुन अवस्थामा बाघ भेटिन्छ, ठेगान नै हुँदैन,’ उनले भनिन्, ‘त्यही भएर क्यामरा रेडी गरेर हिँड्छु ।’ फोकस गरेर ट्रिगर थिच्नमात्र बाँकी राखेर बन्दोबस्तीका साथ हिँड्ने उनले बताइन् ।

अहिले बाघ अवलोकन याम हो । त्यसैले बर्दिया राष्ट्रिय निकुञ्जमा बाघका तस्बिर खिच्न स्वदेशी, विदेशी वाइल्डलाइफ फोटोग्राफरको भीड नै लागेको छ । कसले कस्तो अवस्थामा राम्रो फोटो र भिडियो खिच्ने प्रतिस्पर्धा नै चलेको छ । क्यामराधारीहरूको भीड सधैं दिउँसो वन क्षेत्रमा भेटिन्छ । सुरक्षित स्थानमा बसेर उनीहरू ट्राइपोडमा लेन्स अड्याइरहेका हुन्छन् ।

...

बाघ जोगाउन उल्लेख्य काम गरेकामा यो वर्ष दुई मुलुकका संरक्षण क्षेत्रले विश्व वन्यजन्तु कोषको टीटूएक्स पुरस्कार पाए । संरक्षण क्षेत्र हुन् बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सत्यमंगलम टाइगर रिजर्भ । संसारमा बाघ १३ मुलुकमा मात्रै पाइन्छन् । ११ मुलुकलाई उछिन्दै पुरस्कार जित्ने दुई संरक्षण क्षेत्रमा १२ वर्षमा बाघको संख्या दोब्बर भएको पाइएको हो ।


तमिलनाडुमा पर्ने सत्यमंगलममा सन् २०११ सम्म २५ वटा बाघ रहेकामा ८० पुगेका छन् भने सन् २०१० पछि अहिलेसम्म बर्दिया निकुञ्जमा बाघको संख्या दोब्बर भएको छ । रुसमा सन् २०११ नोभेम्बरमा बाघ पाइने १३ मुलुकका सरकार प्रमुखहरूको सम्मेलन भएको थियो । सम्मेलनले १२ वर्ष अर्थात् सन् २०२२ सम्ममा प्राकृतिक बासस्थानमा बाघको संख्या दोब्बर बनाउन लागिपर्ने घोषणा गरेको थियो । त्यो बेला बर्दिया निकुञ्जमा १८ वटा बाघ थिए, सन् २०१८ को गणनाअनुसार ८७ र २०२२ मा १ सय २५ पुगेका छन् । सन् २०११ मा नेपालमा १ सय २१ वटा बाघ थिए,  २०२२ मा संख्या ३ सय ५५ पुगेका छन् । नेपालमा बाघको

सर्वाधिक संख्या चितवनमा छ । तर, क्यामराधारीले प्राकृतिक बासस्थानमा बाघ हेर्न र घुम्न बर्दियालाई सहज मानेका छन् ।

तर, बाघ त्यसै जोगिएको वा बढेको होइन । बाघ बढ्दा मानवीय क्षति बढेको छ । गत सोमबार बर्दियाको मधुवन–५ चिरौटे सामुदायिक वनमा दुई महिला घाँस–दाउरा गर्न गएका बेला बाघको आक्रमण परी मारिए । घटनापछि स्थानीय आक्रोशित भए । वातावरण असहज बन्यो । बर्दियाको मध्यवर्ती क्षेत्र र खाता जैविक करिडोरमा चार वर्षमा बाघको आक्रमणमा १८ जनाले ज्यान गुमाएका छन् । यसले बाघप्रति स्थानीयको धारणा सकारात्मकभन्दा नकारात्मक बढी छ । तर, संसारमा बाघको संख्या निकै कम छ । यसलाई जोगाउनुपर्छ भन्ने आवाज सशक्त छ । तर, सानो क्षेत्रमा धेरै बाघ हुँदा आसपासका बस्तीमा जोखिम बढेको छ । यसतर्फ सरकार र निकुञ्जले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिएको छ ।

...

संसारभर बर्दिया निकुञ्जको प्रसिद्धि बाघसँग जोडिएर आएको छ । त्यसैले बाघ खिच्न अहिले विभिन्न ठाउँदेखि चर्चित वाइल्डलाइफ फोटोग्राफर र फिल्म मेकर बर्दियामा ओइरिएका छन् । उनीहरू बाघका गतिविधि हेर्न उत्सुक छन् । जंगलको राजा भनिने बाघको आनीबानीले क्यामराका लागि खोजीको विषय बनेको छ । अमेरिकन इन्टरनेसनल न्युज सर्भिसका फोटोपत्रकार राजेश ढुंगाना निकै उत्साहित छन् । ‘३ वर्षमा ८ पटक बर्दिया आएँ,’ उनले भने, ‘अहिलेजस्तो राम्रो फोटो कहिल्यै खिच्न पाएको थिइनँ ।’ ११ दिनमा ६ पटक बाघ देखेको उनले बताए । निकुञ्जभित्र एक पटक र बाहिर ५ पटक उनले बाघ देखे । निकुञ्जभित्र धेरै भीड बढ्यो । त्यही भएर बाघ मध्यवर्ती क्षेत्रमा बढी छन् । बाघ खिच्न थोरै जोखिम मोल्नै पर्छ । त्यही भएर खाता जैविक करिडोरको खतरा क्षेत्रमा बसेर तस्बिरहरू खिचिरहेका छन् । ‘त्यहाँ निकै डर र त्रास छ,’ उनले भने, ‘फोटो पनि उस्तै बबाल छ ।’


एउटा बाघका गतिविधि हेरेर २७ मिनेट बिताएको उनले सुनाए । त्यस क्रममा थुप्रै तस्बिर खिच्दा जीवनकै अविस्मरणीय आनन्द अनुभव भएको उनले बताए । बाघ नदी र बाटोमा हिँडेदेखि आहालमा बसेको दृश्यलाई उनले तस्बिरमा कैद गरेका छन् । युवादेखि वयस्कसम्मका बाघलाई तस्बिरमा उतारेका छन् । निकुञ्जभित्र ३ सय ९० सट खिचेका उनले बाहिर १ हजार ९ सय ५४ सट खिचेको बताए । उनीजस्तै ८ दिनमा २० पटक बाघ देख्दा वाइल्डलाइफ फोटोग्राफर तथा फिल्ममेकर जोसेलिन स्टोक्सले आनन्द मानिन् । राम्रा भिडियो सट खिच्न पाउँदा निकै उत्साहित बनेको उनले सुनाइन् । निकै डरत्रासका बीच राम्रो भिडियो खिचेको उनले बताइन् । ‘वृत्तचित्र बनाउने योजना बनाएर आएका थियौं,’ उनले भनिन्, ‘सफल भयौं ।’ ६ महिनापछि वृत्तचित्र प्रसारण गर्ने उनीहरूको योजना छ । यसले नेपालको पर्यटन प्रवर्द्धनमा गतिलो टेवा पुर्‍याउने उनले बताइन् । अमेरिकाको एलोइस्टोन नेसनल पार्ककी प्रकृतिविद्समेत रहेकी उनले नदीमा ५ पटक बाघ देखेको र बाघले पानीमा रमाउँदा रोमाञ्चक श्रव्यदृश्य खिचेको सुनाइन् । पहिलो दिन बाघ नदेखेपछि निराश बनेकी उनले दोस्रो दिन ३ फरक बाघलाई ७ पटक देखेर भिडियो खिचेकी थिइन् । आठौं दिन साँझ ६ बजे बाघका भाले र पोथीलाई सँगै देख्दाको क्षण अविस्मरणीय भएको उनले बताइन् ।

...

बर्दिया बाघका लागि विश्वमै चर्चित छ तर त्यसबाट मुलुकले अपेक्षित फाइदा लिन नसकेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रविन कडरियाले बताए । ‘हामीले आफ्नो पर्यटकीय प्रोडक्ट सेल गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘तर, अहिले आएका वाइल्डलाइफ फोटोग्राफर, फिल्ममेकर र वाइल्डलाइफ फोटोपत्रकारले खिचेका फोटो र भिडियोले पक्कै यसको बजारीकरणमा ठूलो सहयोग पुर्‍याउनेछन् ।’ बाघ देखिएर मात्र हुँदैन, यो तथ्य तस्बिर र भिडियोमा दिन सकियो भने मात्रै त्यसको खास अर्थ रहने उनले बताए । ‘जसले पायो उसले यस्ता तस्बिर लिन पनि सक्दैन,’ उनले भने, ‘यसका लागि महँगो उपकरणमात्र भएर हुँदैन । निडर र क्षमतावान् व्यक्ति पनि हुनुपर्छ ।’


वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले तीन दिनमा दुई पटक बाघ देखे । खोला र ढिकमा बाघ देखेर निकै उत्साहित भएको उनले सुनाए । ६ सय एमएमको प्राइम लेन्स र क्याननको आरथ्री क्यामराले राम्रा सट लिएको उनले बताए । ‘मैले खिचिसकेपछि मसँगै रहेका भारतीय पर्यटकले बाघको तस्बिर खिचिदिन अनुरोध गरे,’ उनले भने, ‘भारतीय पर्यटकको क्यामराको चिप्स निकालेर आफ्नो क्यामरामा राखेर बाघका सयौं तस्बिर खिचिदिएँ । उनीहरू पनि औधि खुसी भए ।’ साँझ ६ बजेको लो लाइटमा चितुवाका पनि गजबका सट खिचेको उनले सुनाए । उनीजस्तै अमेरिकाकै चर्चित वाइल्डलाइफ फोटोग्राफर पिटर मंगोल्ड्स पनि बाघका तस्बिर खिच्दै रमाइरहेका थिए । बाघसँग ४ मिटरकै दूरीमा जम्काभेट हुँदाको तस्बिर खिचेको उनले बताए । ‘गाडीमा जाँदै गर्दा बाघ गर्जिदै बाटो क्रस गर्‍यो,’ उनले भने, ‘जीवनकै अविस्मरणीय सट लिएँ । निकै खुसी छु ।’ अमेरिका पुगेपछि यहाँ खिचेका तस्बिर सार्वजनिक गर्ने उनले बताए ।


काठमाडौंका फोटोपत्रकार चन्द्रशेखर कार्की पनि बाघसँगै बर्दियामा रमाइरहेका भेटिए । बर्दियामा पहिलो पटक बाघको तस्बिर खिच्न पाउँदा निकै उत्साहित भएको उनले सुनाए । ‘३ दिनमा ३ पटक बाघ देखें,’ उनले भने, ‘तस्बिरसँगै भिडियो खिच्दा बेग्लै आनन्द आयो ।’

अहिले बर्दियामा ४ विदेशीसहित १० जनाभन्दा बढी वाइल्डलाइफ फोटोग्राफर र फोटोपत्रकार बाघलाई क्यामरामा कैद गर्न जंगल–जंगल चहारिरहेका छन् । बाघ स्वस्थ र सफा पारिस्थितिकीय प्रणालीको सूचक प्रजाति पनि हो । वनको जीवनचक्र स्वस्थ र राम्ररी चलाउन बाघले सघाउ पुर्‍याउँछ । वन्यजन्तुविद्हरूका अनुसार बाघ पाइने वन क्षेत्र हराभरा र पानीका मूल स्वस्थ र स्वच्छ हुन्छन् । पोषिलो आहारा पाइन्छ । वन्यजन्तु र चौपायामा रोगव्याधि लाग्दैन । मानिसहरू मूलको स्वच्छ पानी पिउन पाएर रोगव्याधिबाट जोगिन्छन् ।

बाघले पारिस्थितिकीय प्रणाली सन्तुलित बनाउनुका साथै कृषकदेखि पर्यटन व्यवसायी र प्रकृतिको असल साथी रहेको डा. हेमसागर बरालले बताए । ‘यसले यहाँको रोजगारी मात्रै होइन, आयआर्जन पनि बढाएको छ,’ उनले भने, ‘उत्पादन बढाउँछ । वातावरण स्वस्थ राख्छ । तसर्थ, बाघलाई हिंस्रक जन्तुको उपमा मात्रै दिनु राम्रो होइन ।’

प्रकाशित : चैत्र १३, २०७९ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?