युगान्तकारी मोड

राजनीति
२०७४ अभूतपूर्व रूपमा सहमतिको वर्ष पनि हो। यसले अब देश संविधानभित्रै बसेर सहमति र संवादका साथ अघि बढ्छ भन्ने प्रस्ट संकेत दिएको छ।
नीलाम्बर आचार्य

काठमाडौँ — नेपालको राजनीतिक इतिहासका लागि २०७४ साल अत्यन्तै महत्त्वपूर्ण रह्यो किनभने यसले कैयौं युगान्तकारी मोडहरू ल्याएको छ। यसै वर्ष संविधान कार्यान्वयन मात्रै होइन, त्यसको अभ्यास पनि भएको छ। 

यो वर्ष निर्वाचनहरूको वर्ष पनि भन्न सक्छौं हामी। यही वर्ष नेपालमा पहिलो पटक स्थानीय, प्रादेशिक र संघीय गरी एकै पटक तीनै तहका सरकारको निर्वाचन भयो। यही वर्ष राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भयो। अनि यही वर्ष प्रतिनिधिसभाको मात्रै होइन, राष्ट्रिय सभाको पनि निर्वाचन भयो।

अझ महत्त्वपूर्ण के भने, यी निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सबैलाई स्वीकार्य हुने गरी भयो। कसैले पनि यो निर्वाचन भएन भनेर कराउनुपर्ने अवस्था रहेन।

यो वर्षले बन्द, हडताल र उथलपुथलबाट नेपाललाई मुक्ति दियो। यो वर्षमा नेपालीहरूले फाटफुटबाहेक लोडसेडिङ बेहोर्नुपरेन। छिमेकीसँग नाकाबन्दीपछि बिग्रेको सम्बन्धमा पनि सुधार आयो र मुुलुकको सम्मान पनि बढ्यो।

यस्तो त हुँदै नहोला, अब नेपालले दु:खैदु:ख पाउने भयो भन्नेजस्ता कैंयौं आशंकालाई यो वर्षले गलत सावित गरिदियो। जस्तो : तीसतीसवटा पार्टी संसद्मा हुन्छन्, नेपालको राजनीति अब कसरी सम्हाल्ने होला भन्ने चिन्ता थियो हामीलाई। तर निर्वाचनबाट आउँदा त पाँच मात्रै पार्टी भए। चुनावै हुँदैन कि भन्ने आशंका थियो। तर, चुनाव भयो त्यो पनि सफलताका साथ।

यो वर्षको अर्काे विचित्रता के भने यसले तीनवटा प्रधानमन्त्री देख्यो। अब ०७५ मा कति हुने होला भन्ने पिरलो थियो। तर, ०७५ मा त एउटै नयाँ प्रधानमन्त्री नहुने भयो, ०७४ ले नै प्रदान गरेको प्रधानमन्त्रीको निरन्तरता हुन्छ भन्ने सोच यो वर्षले दियो जो अस्थिर राजनीतिबाट वाक्कदिक्क भइसकेका नागरिकको मनमा उदाएको आशाको सुनौलो किरण हो।

स्थानीय तहको पहिलो निर्वाचन गर्दा प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो। तत्पश्चात् शेरबहादुरजी प्रधानमन्त्री हुनुभयो र अन्य निर्वाचन पनि सम्पन्न भए। राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन गर्दा ओलीजी आउनुभयो। र पहिलो पटक निर्वाचनपूर्व गठबन्धन भयो र त्यसले बहुमत ल्यायो।

अघिपछि के देखिन्थ्यो भने, दलहरू निर्वाचनमा जान्थे। त्यसपछि गठबन्धन हुन्थ्यो अनि सत्ताको अदलबदल भइरहन्थ्यो। यस पटक त्यस्तो भएन। दुई ठूला दलको चुनावअघि नै गठबन्धन भयो। उनीहरूले जनतालाई भने, ‘हामीलाई बहुमत दिनुहोस्, हामी स्थायित्व दिन्छौं।’

त्यसका लागि दल एकीकरणको पनि वाचा गरेर जनतालाई आश्वस्त पार्ने काम गठबन्धनवालाहरूले गरे। चुनावअघि नै यो वाचा गरेकाले जनतालाई स्थायित्व रोज्ने अवसर प्राप्त भयो। त्यसअनुसार सरकार बन्यो। अब एकीकरण पनि हुन लागेको छ। यो देशका लागि ठूलो कुरा हो किनभने जति थोरै दल भए, त्यति दलदल कम हुन्छ। दलैदल हुनु भनेको देश दलदलमा हुनु हो।

२०७४ अभूतपूर्व रुपमा सहमतीको वर्ष पनि हो। संविधानमा नब्बे प्रतिशतको हस्ताक्षर हुँदाहुँदै पनि केही दल संविधानबाहिर गएका थिए। स्थानीय निर्वाचन हुँदा पहिलो र दोस्रो चरणको चुनावमा केही दलले बहिष्कार पनि गरे। तर तेस्रो चरणमा सबै दल आए। प्रदेश र संघको निर्वाचनमा सबको सहभागिता भयो। यसले अब देश संविधानभित्रै बसेर सहमति र संवादका साथ अघि बढ्छ भन्ने प्रस्ट संकेत दिएको छ।

यो वर्ष दृष्टिकोणको पुनरावलोकन भएको वर्ष पनि हो। अस्थिरता, अक्षमता र कलहले गर्दा नेपालीहरू लामो समयदेखि राष्ट्रिय लघुताभासको भासमा रहिआएका थिए। अचानकसँग ०७४ ले त्यसलाई आशा र सपनाहरूले प्रतिस्थापन गरिदिएको छ। आज हरेक नागरिक आशावादी छ। पूरै देश समृद्धिको सपना देखिरहेको छ। अबको राजनीति उस्तै भाँडभैलोले चल्न सक्दैन भन्ने सन्देश ०७४ ले दिएको छ। अब विकासको चरण सुरु भयो। राजनीतिक मुद्दाहरू संसद्मा चल्लान् तर यस्ता मुद्दाले देशै उथलपुथल गर्ने गरी बन्द हडताल गर्न सक्दैनन्। यो एक ठूलो सफलता हो।

मलाई के विश्वास छ भने फाट्टफुट्ट एक दुई उग्रवादी समूह पनि ०७४ कै ट्रेन्डअनुसार नगन्य भएर जान्छन्। यो वर्ष नेपालले बलियोसँग सार्वभौमिकता प्रदर्शन गर्न सकेको वर्ष पनि हो। हामी अरूको सहयोग र हस्तक्षेपबिना नै अघि बढ्न सक्षम छौं भनेर देशले देखाउन सकेको छ। हामीलाई उपदेश नदेऊ भनेर यसै वर्ष कडासँग युरोपेलीहरूलाई भन्न सक्यौं। हाम्रो व्यवस्था र हाम्रो संविधान कस्तो हुनुपर्छ भनेर कसैले भन्छ भने त्यो सह्य हुँदैन किनभने यो सार्वभौमसत्तासम्पन्न देश हो भनेर हामीले राम्रोसँग भन्न सकेको वर्ष हो यो। हो, हामी आर्थिक लाभका निमित्त सम्बन्धहरू गाँस्छौं तर स्वाभिमानको मूल्यमा होइन भन्ने सन्देश पनि युरोपेली प्रकरणले दिन सफल भएको छ यो वर्ष।

यो वर्ष सार्वजनिक अभिमत बलियोसँग आएको छ। त्यसले ठूलठूला संकटलाई शान्तिपूर्ण रूपले पार लगाउन सक्ने सामथ्र्य पनि प्रदर्शन गरेको छ। सर्वाेच्च अदालतमा देखा परेको संकट र सार्वजनिक अभिमतले गरेको समाधान त्यसको एक उदाहरण हो। विकृतिहरूलाई सार्वजनिक अभिमतले लोकतान्त्रिक अभ्यास मार्फत बढारिदिन सक्छ भन्ने गज्जबको दृष्टान्त दिएको छ ०७४ ले।


साथसाथै, यो वर्षले अर्काे अनावश्यक रूपमा हूल र भीडको दबाबबाट झुक्नुहुन्न भन्ने पनि बताइदिएको छ। सरकारले यातायातमा देखिएको सिन्डिकेट तोड्दा भएको विरोधलाई परास्त गर्न सकेको यसै वर्ष हो। विगतमा त सुनमा मिसावट गर्न पाउनुपर्छ भन्नेहरूसँग सरकार वार्ता गथ्र्याे। आज त्यो भएन। राम्रो हो।

तर, हामीले जे जति परिवर्तन र आशाहरू देख्यौं त्यसअनुसार हाम्रा दल र नेतृत्व कति परिवर्तन भएका छन् भन्ने प्रश्नको उत्तर भने यो वर्षले दिन भ्याएन। हाम्रा नेताहरूको राजनीतिक संस्कार, आचरण र चरित्र २०७४ ले दिएको परिवर्तन सुहाउँदो गरी बदलिएको छ भन्नेमा चाहिँ हामी विश्वस्त हुन सकिरहेका छैनौं। किनभने हामीलाई स्वच्छ प्रशासन र भ्रष्टाचाररहित व्यवस्था चाहिन्छ। राज्यको सम्पत्तिको दुरुपायोग नहोस् भन्ने सुनिश्चितता चाहिन्छ। त्यस्तै हामीले थालेको काम आवश्यकता र प्राथमिकताअनुसार समयमै सम्पन्न हुन्छ भन्ने प्रत्याभूति पनि हामी चाहन्छौं। अनावश्यक रूपमा विदेश भ्रमण र विलासी जीवनमा नेतृत्व नभुलोस् भन्ने पनि हामी चाहन्छौं।

यी चाहनाहरूलाई सम्बोधन गर्न सक्ने गरी हाम्रा दल, नेता, प्रशासन र कर्मचारीहरू बदलिएका छन् त? बदलिनु भनेको वर्तमान समयअनुसार चल्न सक्नु हो। हामीलाई ०७५ का आशालाई अनुभूत गर्ने चुनौतीहरू छन्, त्यसलाई फत्ते गर्न मानसिकता पनि ०७५ कै हुनुपर्छ। युद्धकालीन धङधङी वा अस्थिरताको मानसिकताले अब काम चल्दैन। समृद्धि, स्थायित्व र शान्तितर्फको सकारात्मक परिवर्तन जसरी देखिएको छ त्यो हिजोको मानसिकताले नबिथलोस् भनेर सजगता हामीलाई चाहिएको छ।

सरकार नेतृत्व गर्ने दलमा मात्रै नभएर परिवर्तन विपक्षी दलमा पनि आवश्यक छ। विपक्षी दल हुने नै अल्पमतमा परेर हो। बहुमत भएको भए त सरकारमा गइहालिन्थ्यो नि। त्यसो हुनाले हामी अल्पमतमा पर्‍यौं भनेर रोइधोइ गर्ने आवश्यकतै छैन। पहिलो पटक बलियो र स्थिर सरकार आएको छ। यसले कामै सुरु गर्न नपाई अधिनायकवाद आउँछ भन्नु हुँदैन। राम्रो काम गरुन्जेल विपक्षीले पनि ठीक हो भन्न सक्नुपर्छ। खराब काम गरे पूर्ण जागरणसाथ संसद्मा आवाज उठाउनुपर्छ। नयाँ वर्षले दलहरूलाई दिएको यो भूमिका कति पूरा गर्छन्, हेर्न भने बाँकी छ।

(संविधानविद् आचार्यसँग घनश्याम खड्काले गरेको कुराकानीमा आधारित)

प्रकाशित : चैत्र ३०, २०७४ १२:४४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

क्रिकेटले दिएको खुसी

यो वर्ष नेपाली खेलकुद क्रिकेटमय रह्यो, अझ भनौं क्रिकेटले राजनीतिक, सामाजिक, आर्थिक पक्षहरूलाई पनि उछिनेर मुख्य चर्चाको विषय बन्न सक्यो।
नेपालले क्रिकेटको कुनै पनि स्वरूपमा भारतलाई हराउन सकेको यो नै पहिलोपल्ट हो।
हिमेश

काठमाडौँ — सन्दीप लामिछानेलाई नजिकबाट चिन्नेहरू भन्छन्— उनी सुरुदेखि नै ठूलठूला सपना देख्थे। सपना पनि कस्तो भने विश्वकै सबैभन्दा ठूलो र धनी क्रिकेट प्रतियोगितामा खेल्ने। जति बेला सन्दीपले इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्ने आफ्नो सपना बताउँथे, सायद केही साथीलाई बढी लाग्थ्यो।

अहिले जति बेला सन्दीपले साँच्चै त्यो सपना पूरा गर्ने भएका छन्, साथीहरूलाई फेरि लाग्दो हो, सपना त ठूलै देख्नुपर्ने रहेछ।

खालि चाहिने रहेछ, त्यसप्रतिको इमानदारी, लगाव, अनि लगातारको मिहिनेत। सन्दीपले यी सबै भने पूरा गरेका रहेछन्, त्यसैले त उनी दिल्ली डेयरडेभल्समा आबद्ध भए। सन्दीपले आईपीएल खेल्ने समाचार ठूलो रह्यो, विश्वका लगभग सबै ठूला मिडियाले त्यसलाई पछ्याए। त्यो पनि उत्तिकै महत्त्वले। आखिरमा सन्दीपसँगै नेपाली क्रिकेट पनि त जोडिएर आउने हो, चर्चा नेपाली क्रिकेटको पनि भयो, यसको इतिहास पल्टाउने काम भयो।

वर्ष २०७४ मा नेपाली खेलकुदको सार हो, यो। विश्वकपमा जति पनि राम्रा खेलाडी छन्, सबै त्यसमै खेल्छन्। यस्तोमा सन्दीपका लागि यो निकै राम्रो अवसर हो नै, उनले राम्रो गर्न सके अरू नेपाली खेलाडीका लागि अवसर खुल्नेछ। उनी आफैं भन्थे, ‘आईपीएलमा म धेरैभन्दा धेरै सिक्ने प्रयासमा हुनेछु। जति सिक्छु, त्यो नेपाली क्रिकेटमा प्रयोग गर्छु र अरूलाई पनि सुनाउने प्रयास गर्नेछु।’ सीधै भन्दा सन्दीप नेपालका लागि विश्व क्रिकेट बुझ्ने अवसर हुनेछ।

यो वर्ष नेपाली खेलकुद क्रिकेटमय रह्यो, अझ भनौं क्रिकेटले राजनीतिक, सामाजिक, आर्थिक पक्षहरूलाई पनि उछिनेर मुख्य चर्चाको विषय बन्न सक्यो। यो वर्ष नेपाली क्रिकेटमा सन्दीप मात्र थिएन्, त्योभन्दा ठूलो उपलब्धि पनि हात पर्‍यो। नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वान–डे मान्यता पाउन पनि सफल रह्यो। नेपाली क्रिकेट इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो। अब नेपाली क्रिकेटले यही मान्यतामा टिकेर सन्दीपले जस्तै ठूलठूला सपना देख्न सक्छ।

दोहोर्‍याउनु नै पर्छ, यसका लागि नेपाली क्रिकेटले निकै मिहिनेत गर्नुपर्नेछ, अनि त्यसका लागि चाहिनेछ, उत्तिकै इमानदारी र लगाव पनि। वर्ष २०७४ ले देखाएको बाटो भने यही हो। क्रिकेटमा हात परेको सफलताको दृष्टिकोणले वर्ष २०७४ उत्साहपूर्ण रह्यो। क्रिकेटले नेपालीलाई खुसी दियो भने हुन्छ। अब यही खुसीलाई शक्तिमा रूपान्तरण गर्नुपर्ने हुन्छ। नेपाली टिमका कप्तान पारस खड्काले पनि दोहोर्‍याएर भनेका छन्, ‘यसपल्ट नेपाली क्रिकेटसामु ठूलो अवसर आएको छ, त्यसमा चुक्नु हुन्न।’

मैदानभित्र
सबैभन्दा पहिले क्रिकेटको मैदानमा के कस्तो भयो, त्यसको विश्लेषण आवश्यक हुन्छ। सबैभन्दा पहिला साँच्चै मीठो समाचार आयो, एसीसी यू–१९ एसियाकपबाट। सबैभन्दा पहिला नेपालले त्यो प्रतियोगिता त्यसै खेल्न पाएको थिएन, त्यसका लागि नेपाल एसीसी यू–१९ एसियाकप इस्टर्न क्वालिफायरको विजेता बनेको थियो। क्षेत्रीय विजेताको हैसियतले नेपाल मलेसियामा भएको एसियाकपसम्म पुगेको थियो र त्यहाँ टेस्ट खेल्ने टिमसँग भिड्ने अवसर पायो।

नेपाल प्रतियोगिताको समूह ‘ए’ मा थियो र नेपालको प्रतिद्वन्द्वी थिए, डिफेन्डिङ च्याम्पियन भारतसँगै बंगलादेश र मलेसिया। यो समूहबाट नेपालले सेमिफाइनल पुग्ने सोच कसरी बनाउन सक्थ्यो र? तर त्यस्तै भयो। यसको प्रमुख कारण रह्यो, लिग चरणको खेलमा भारतमाथि नेपालको सनसनीपूर्ण जित। नेपाल त्यस खेलमा १९ रनले विजयी रह्यो। नेपालले पहिले ब्याटिङ गरेर ८ विकेटमा १ सय ८५ रन बनायो। जवाफमा भारतले १ सय ६६ रन मात्र बनाउन सक्यो।

नेपालले क्रिकेटको कुनै पनि स्वरूपमा भारतलाई हराउन सकेको यो नै पहिलोपल्ट हो। भारत पछिल्लो समय विश्व क्रिकेटको महाशक्ति हो। विश्व क्रिकेटमै सबैभन्दा धनी संस्था रहेको छ, भारतीय क्रिकेट बोर्ड बीसीसीआई। भारतको जत्तिको बलियो घरेलु ढाँचा अरू कतै छैन। नेपालले यही भारतको युवा टिममाथि जित निकाल्न सक्यो। यही नतिजाका कारण भारत प्रतियोगिताको अन्तिम चार पनि पुग्न सकेन, लिग चरणसँगै घर फर्कन बाध्य रह्यो।

भारतीय टिमका प्रशिक्षक थिए, राहुल द्रविड। द्रविड आफ्नो समयका त्यही खेलाडी हुन्, जसलाई प्रतिद्वन्द्वीले पनि सम्मान गर्ने गर्छन्। उनै द्रविडले पछि आफ्ना नेपाली समकक्षी विनोद दासलाई भनेछन्, ‘नेपाली टिम जितका लागि हकदार थियो।’ पछि यही भारतीय टिमले युवा विश्वकप जित्यो, केही खेलाडी परिवर्तन गरेर। यता नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग पराजित रह्यो तर यहाँसम्म पुग्नु नै नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि थियो।

यसपछिको पालो नेपाली राष्ट्रिय टिमको रह्यो र टिमले यस्तै ठूलो उपलब्धि हात पार्‍यो। नेपाल नामिबियामा भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–टुको उपविजेता रह्यो। नेपालले आईसीसीको औपचारिक प्रतियोगितामा यति ठूलो उपलब्धि हात पारेको यो नै पहिलो हो। फाइनलमा नेपाल यूएईको हातबाट ७ रनले पराजित रह्यो। लिग चरणको समाप्तिमा भने नेपाल नै शीर्ष स्थानमा रहेको थियो। लिग चरणमा नेपालको प्रदर्शन निकै सनसनीपूर्ण रह्यो।

नेपालले हात पारेका जित निकै साँघुरा थिए। धेरै अवसरमा नेपाल ‘अब त हार्‍यो’ भन्ने स्थितिमा थियो तर नेपालले हार खाएन, उल्टै जित निकाल्यो। यसको सबैभन्दा राम्रो उदाहरण त क्यानाडाविरुद्धको खेल नै छ। नेपालको अन्तिम चरणको खेल क्यानाडाविरुद्ध थियो। त्यसमा जित निकाल्न नसकेको स्थितिमा नेपाल शीर्ष दुईमा रहने थिएन, त्यसको अर्थ नेपाल विश्वकप छनोटका लागि योग्य हुने थिएन। तर खेलको अन्त्यतिर नेपालको स्थिति निकै नाजुक रह्यो।

नेपाल ८ विकेट गुमाएर १ सय ४४ रनको स्थितिमा थियो र हार निश्चितजस्तै थियो। यही बेला करण केसीले ४८ बलमा सनसनीपूर्ण ५१ रन बनाए। उनले सन्दीपसँग ५१ रनको निर्णायक साझेदारी गरे। अन्त्यमा नेपाल १ विकेटले विजयी रह्यो। खेलको अन्त्यमा क्यानाडेली खेलाडी मैदानमै रोइरहेका थिए। आँसु त नेपाली खेलाडीको आँखामा पनि थियो तर त्यो खुसीको थियो। कप्तान पारस खड्कालगायत सबै सिनियर खेलाडी भावविह्वल नरहन सकेनन्।

पारस प्रतियोगिताकै सर्वाधिक रन बनाउन खेलाडी बने भने सन्दीप सर्वाधिक विकेट लिने खेलाडी। सन्दीप प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए। र, यही सफलताको आधारमा नेपालले खेल्न पायो, जिम्बावेमा भएको क्रिकेट वल्र्डकप क्वालिफायर। प्रतियोगितामा १० टिमको सहभागिता थियो र त्यसलाई दुई समूहमा विभाजन गरिएको थियो। नेपालको समूहमा थिए, जिम्बावे, स्टकल्यान्ड, अफगानिस्तान र हङकङ। फाइनल पुग्ने दुई टिमसामु विश्वकपको छनोट हुने अवसर थियो।

भन्न त नेपालको लक्ष्य पनि यही छनोट हो भनियो, तर खासमा त्यस्तो थिएन। नेपालको वास्तविक लक्ष्य थियो, अन्तिम दुई स्थानमा नरहने। नेपालमा त्यसमा सफल रह्यो। नेपालले प्ले अफको पहिलो खेलमा पपुवा न्युगिनीलाई हरायो। नेपाललाई अनुकूल हुने गरेर अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गर्‍यो। लगत्तै नेपाल नेदरल्यान्ड्ससँग हारे पनि प्रतियोगिताको आठौं स्थानमा रह्यो र प्राप्त भयो, वान–डे टिमको मान्यता।

नेपालले के वान–डे टिमको मान्यता पायो, पूरा देश खुसी थियो नै, त्यही खुसीमा सम्मिलित हुने चाहनेमा पुराना नाम चलेका धेरै खेलाडी थिए, अनि पाकिस्तान र श्रीलंकाजस्ता देश पनि। पारस आफैं पनि कम्ती उत्साहित छैनन्, यस उपलब्धिमा। जिम्बावेबाट काठमाडौं फर्केयता उनको भनाइ थियो, ‘वान–डे मान्यतासँगै अब हाम्रो लक्ष्य विश्वकप हुनुपर्छ। अनि विश्वकपको बाटो हुँदै हामी टेस्ट मान्यतामा पनि पुग्नुपर्छ। अबको हाम्रो योजना यही हुनुपर्छ।’

मैदानबाहिर
अब के हुन्छ त? वर्ष २०७४ ले छाडेको प्रश्न यही हो। मैदानमा त खेलाडी खेले र आफूलाई प्रमाणित गरे। अब प्रमाणित गर्ने पालो सरकार र खेलकुदका निकाय तथा यसका पदाधिकारीको हो। मैदानबाहिर मिश्रित खाले भावना रहे। खुसी केमा रह्यो भने निजी क्षेत्रले अपार सफलता र लोकप्रियताबीच ट्वान्टी–ट्वान्टी क्रिकेटका दुई ठूला प्रतियोगिता गरे, काठमाडौंमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) र धनगढीमा धनगढी प्रिमियर लिग (डीपीएल)।

यी दुई प्रतियोगिताको सानदार आयोजनाले सिद्ध गरेको छ, नेपालमा निजी क्षेत्रले पनि यति ठूला प्रतियोगिता गर्न सक्छन्। यसको अर्को पक्ष सरकारको मुख नताकेर पनि यस्ता प्रतियोगिता हुन सक्छन्। तर नेपाली क्रिकेटलाई माथि उकास्न निजी क्षेत्र मात्र तातेर केही हुन्न, सरकार र राष्ट्रिय खेलकुद परिषद्, अनि नेपाल क्रिकेट संघ (क्यान) आपैंm अगाडि सर्नुपर्छ। तर विडम्बना के छ भने आन्तरिक विवादका कारण क्यान आईसीसीको निलम्बनमा छ।

यो निलम्बन कसरी फुकुवा हुने हो, कहिले बोर्ड गठन हुने हो कसैलाई थाहा छैन। क्रिकेटलाई लिएर वर्ष २०७४ को सबैभन्दा निराशाजनक पक्ष यही रह्यो। मैदानभित्रबाट जति खुसीका समाचार आए, मैदानबाहिरका समाचार उत्तिकै निराशाजनक रहे। पूर्वकप्तान विनोद भन्छन्, ‘सबैले चाह्यो भने नेपाली क्रिकेट विवाद तुरुन्तै समाधान हुन सक्छ। जति विवादमा मुछिएका छन्, तिनले के बुझ्नुपर्छ भने नेपाली क्रिकेट रहने भने उनीहरू पनि रहने छैनन्।’

उनको सार छ, ‘साँच्चै नेपाली क्रिकेट प्रतिबन्धमै पर्‍यो भने हामी धेरै पछाडि पर्नेछौं, यो ठूलो धक्का हुनेछ। नेपाली क्रिकेटलाई फेरि पुरानै लयमा फर्कने हो भने समय लाग्नेछ। त्यति बेला अहिले विवाद गरिरहेकाहरू पनि नेपाली क्रिकेटमा पक्कै हुने छैनन्।’ नेपाली क्रिकेटमा रहेको विवाद चाँडै टुंग्याउनु निकै आवश्यक छ, किनभने बोर्ड गठनसँगै नेपाली क्रिकेटका लागि धेरै सम्भावना खुल्नेछन्। यी सम्भावना क्रिकेटसँग मात्र जोडिने छैनन्, देशको समृद्धिसँगै जोडिनेछन्।

धेरै अवसरहरू खुल्न सक्छन्। अहिले नै आयरल्यान्ड र अफगानिस्तानजस्ता देश नेपाल आएर खेल्न इच्छुक छन्। त्यसको कारण पनि स्पष्ट छ, नेपालमा क्रिकेट हुनुपर्छ, दर्शकको कुनै कमी हुन्न। टीयू मैदानमा २० हजार दर्शक पाउन हामीलाई गाह्रो छैन, जुन टेस्ट खेल्ने देशमै पनि विरलै सम्भव हुन्छ, एकाध देशलाई छाडेर। भारतमा खेल्न आउने टिमले तयारी नेपालमा गर्न सक्छ। त्योभन्दा ठूलो नेपाल कसैका लागि तटस्थ भूमि हुन सक्छ, क्रिकेट खेल्नका लागि।

विशेषत: यो भारत र पाकिस्तानका लागि हो, उनीहरू एकआपसविरुद्ध खेल्न इच्छा त राख्छन्, तर आफ्नै मैदानमा सक्दैनन्। नेपाल राम्रो विकल्प हो। अब कल्पना गरौं न, भारत र पाकिस्तानबीच पोखरामा क्रिकेट। लुम्बिनीको वरिपरि अस्ट्रेलिया र इंग्ल्यान्डबीचको. खेल। दक्षिण अफ्रिका विराटनगरमा भिड्दै छ। अनि आईपीएलकै कुनै खेल काठमाडौंमा। हामी किन यस्ता सपना नदेख्ने? यी सब सम्भव हुनेछन्, यदि पूरा देश लाग्ने हो भने।

इंग्लिस क्रिकेट टिमसँगै दसौं हजार समर्थक उसको पछाडि लाग्ने गर्छ। उनीहरू टिमसँगै नेपाल आए भने? नेपालमा भारत र पाकिस्तानको खेल हुनुपर्छ, के यी दुई टिमका समर्थक काठमाडौं आउनेछैनन्? जत्ति पनि आउनेछन् र तिनलाई व्यवस्था गर्न हामीलाई गाह्रो हुन सक्छ। सपना ठूलै देख्नुपर्छ, जति सन्दीपले देखेका थिए। वर्ष २०७४ त यसको आधार पनि तयार पारेको छ। खालि बाँकी छ, किन हामी त्यसलाई साकार पार्नतर्फ नलाग्ने?

प्रकाशित : चैत्र ३०, २०७४ १२:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT