३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१२

कान्तिपुरको कखरा 

जिवेन्द्र सिम्खडा

काठमाडौँ — बिहान ४ बजेको थियो ‘डेस्क क्लोज’ गर्दा । जिल्ला समाचारदाताहरू र काठमाडौंबाट स्थलगत रिपोर्टिङमा गएको विशेष दलले बिहान २ बजेसम्म टिपाएका बुँदाहरूका आधारमा समाचार लेख्न, त्यसलाई कम्प्युटरमा टाइप गर्न, प्रुफ हेर्न र सेटिङ मिलाउन हामीले अलि बढी नै समय लगाएका थियौं ।

कान्तिपुरको कखरा 

तैपनि, बिहान ५ बजे नै ‘एमाले महासचिवको जिप दुर्घटनाग्रस्त’ मुख्य समाचारसहितको पत्रिका वितरणका लागि प्रेसबाट बाहिरियो ।


यो ४ जेठ २०५० को कान्तिपुर राष्ट्रिय दैनिक थियो । वर्ष १ अंक ८८ ।

अघिल्लो दिन, जेठ ३ गते अपराह्न ५:३० बजे नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जिप चितवनको दासढुंगामा

त्रिशूली नदीमा खसेको थियो । त्यो खबर एक कान दुई कान मैदान हुँदै काठमाडौंको थापाथलीस्थित कान्तिपुर कार्यालयमा अपराह्न साँझ ६:३० बजे आइपुगेको थियो । घटनाको नारायणगढस्थित कान्तिपुर समाचारदाता महेन्द्रराज श्रेष्ठले पुष्टि गरेपछि समाचार सम्पादक रवि अधिकारी स्थलगत रिपोर्टिङमा चितवन जान कस्सिनुभयो । रविजी नेतृत्वको विशेष समाचार दलमा रमेश केसी (कान्तिपुर), श्रीकृष्ण उपाध्याय (द काठमान्डु पोस्ट) र फोटो पत्रकार चन्द्रशेखर कार्की सम्मिलित भए । साँझ ७ बजे थापथालीबाट प्रस्थान गरेको विशेष समाचार दलको गाडी राति ११ बजे घटनास्थल पुगेछ ।


त्यतिखेर अहिलेजस्तो सञ्चार सुविधा थिएन । मोबाइल फोन थिएन । ल्यापटप र इमेल पनि प्रचलनमा थिएनन् । जिल्लाका समाचारदाताहरूले ‘सफ्ट न्युज’ हुलाकबाट पठाउँथे । ‘हार्ड न्युज’ कि फ्याक्स गर्थे कि टेलिफोनबाट टिपाउँथे । टेलिफोन र फ्याक्स पनि कहाँ सर्वसुलभ थियो र ∕

हाम्रो विशेष दल स्थलगत रिपोर्टिङ गएको दासढुंगामा पनि टेलिफोन र फयाक्स सुविधा थिएन । त्यसका लागि १५ किलोमिटर पर भरतपुरको नारायणगढ पुग्नुपथ्र्यो । त्यो मध्यरात्रिमा हाम्रा सहकर्मीहरूले कहिले दासढुंगा र कहिले नारायणगढ ओहोर–दोहोर गर्दै यथासम्भव समाचारका बुँदा टिपाएका थिए । नारायणगढस्थित कान्तिपुर समाचारदाता श्रेष्ठले भरतपुर अस्पतालमा उपचार गरिरहेका जिपचालक अमर लामा र डाक्टरहरूसँग भेटेर केही समाचार बेलुका नै टिपाएका थिए ।


चालक लामाले दासढुंगामा जिप अनियन्त्रित भई दायाँ मोडिएर १ सय २० मिटर तल

त्रिशूली नदीमा खसेको, आफूलाई ३–४ जना माझीले किनारामा निकालेको र विदेशीहरू चढेको गाडी रोकेर नारायणगढ आएको बताएका थिए । तर उनको शरीरमा कुनै घाउचोट थिएन । धमिलो नदीमा डुबेको जिप भेटिए पनि किनारामा निकाल्न सकिएको थिएन । मदन–आश्रितको स्थिति अज्ञात थियो ।


घटनास्थलको अवस्थिति तथा चालक लामाको स्थिति र गतिविधिले त्यो दुर्घटना मात्र नभई षड्यन्त्र पो हो कि भन्ने आशंका उब्जिएको थियो । हाम्रा सहकर्मीहरूद्वारा भोलिपल्ट र पछिपछि पनि ‘फलोअप स्टोरी’ हरू फाइल गरे । कान्तिपुरमा सम्प्रेषित समाचार वस्तुनिष्ठ थिए ।

मदन भण्डारीप्रतिका ‘अबिच्युरी’ हरूलाई पनि कान्तिपुरले राम्रो स्थान दिएको थियो । मैले लेखेको ‘एउटा नक्षत्रको अस्त’ जेठ ६ गतेको विचार पृष्ठमा प्रमुख लेखका रूपमा अनि सहकर्मी रमेश केसीद्वारा लिखित ‘मदन भण्डारी : एक कालखण्डको दु:खद अन्त्य’ ९ गतेको साप्ताहिक परिशिष्टांक कोसेलीको पहिलो पृष्ठभरि छापियो । कान्तिपुरले त्यो घटनाका ‘फलोअप स्टोरी’ हरू छाप्यो । विभिन्न दृष्टि र कोणका लेखहरूलाई पनि स्थान दियो । व्यावसायिक पत्रकारिताको मूल्य, मान्यता र शैली पछयाइएका यी काम सय दिन पनि नपुगेको कलिलो दैनिकले गरेको थियो । कान्तिपुरको ‘सगरमाथा आरोहण’ को यो नै ‘बेसक्याम्प’ थियो ।


मुलुकमा त्यतिखेर अनलाइन न्युज पोर्टल थिएन, एफएम रेडियो पनि थिएनन् । टेलिभिजन जम्मा एउटा थियो, सरकारद्वारा सञ्चालित नेपाल टेलिभिजन । साप्ताहिक पत्रिका थुपै थिए र केही लोकप्रिय पनि । ‘ब्रोडसिट’ दैनिक भने भर्खर खुलेका कान्तिपुर र काठमान्डु पोस्टसमेत गरी जम्माजम्मी चारवटा । गोरखापत्र र राइजिङ नेपाल सरकारद्वारा सञ्चालित थिए । खाली मैदानमा दौडिन पाएको एक्लो घोडाजस्तो गोरखापत्र जनमानसमा कतिसम्म स्थापित भने हामीकहाँ सबै लुब्रिकेन्टलाई ‘मोबिल’ भनिएजस्तै पत्रिकाकै पर्यायवाची शब्द बनेको थियो ‘गोरखापत्र’ । तर, सरकारी सञ्चार माध्यमका आफ्नै सीमा र प्रवृत्ति थियो । स्थापित साप्ताहिक पत्रिकाहरूले हप्तामा एक दिन मात्र समाचार– विचार दिन सक्थे । त्यस्तो धरातलीय यथार्थमा मुलुकले लोकप्रिय नेताद्वय मदन–आश्रित गुमाएको दासढुंगा घटनाको वस्तुनिष्ठ र व्यावसायिक ‘कभरेज’ ले गर्दा कान्तिपुर पाठकका मन मस्तिष्कमा ठाउँ ओगट्न सफल भयो । त्यसपछि उकालो लागेको कान्तिपुर मैले २० वर्षअघि २०५४ सालमा छोड्दा नम्बर १ दैनिक बनिसकेको थियो र आजपर्यन्त त्यो स्थान कसैले खोस्न सकेको छैन ।

***


प्रजातन्त्र र पत्रिकाको आयु बराबर हुन्छ भनिन्छ तर हामीकहाँ भने स्थिति बेग्लै थियो । जनक्रान्तिले २००७ फागुन ७ गते जहानियाँ राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गरेको थियो । २०१७ साल पुस १ गते राजा महेन्द्रले सैन्यबलमा त्यो व्यवस्था खारेज गरे र पछि निर्दलीय पञ्चायती प्रणाली लागू गरे । २००७–०१७ को प्रजातान्त्रिक दशकमा ससाना स्तरमा पत्रपत्रिकाहरू प्रकाशित भए पनि ‘ब्रोडसिट’ दैनिक खुल्न सकेको थिएन । बरु राणा प्रधानमन्त्री देवशमशेरकै पालामा, १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा प्रकाशन प्रारम्भ भएको गोरखापत्र राजाको सक्रिय शासनकालमा, २०१७ साल फागुन ७ देखि ‘ब्रोडसिट’ दैनिक बनेको थियो । गोरखापत्रकै सहप्रकाशन अंग्रेजी भाषाको ‘ब्रोडसिट’ दैनिक ‘द राइजिङ नेपाल’ २०२२ पुस १ गतेदेखि प्रकाशित हुँदै आएको थियो ।


२०४६ मा जनआन्दोलनबाट निर्दलीय पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनस्र्थापना भयो तर अढाई वर्ष बितिसक्दा पनि कुनै ‘ब्रोडसिट’ दैनिक खुलेका थिएनन् । कतिपय उद्योगधन्दा समेत निजीकरणमा लगेको प्रजातान्त्रिक सरकारहरूले पनि निरंकुश शासकहरूले ‘रक्षाकवच’ का रूपमा प्रयोग गर्दै आएको गोरखापत्र र राइजिङ नेपाललाई निजीकरण गर्ने रुचि राखेनन्, तिनले गायका प्रशस्तिमा रमाइरहे ।


हो, यस्तो परिवेशमा काठमाडौंमा नामी सेफर्ड स्कुल र टच उड फर्निचर चलाइरहनुभएका जनकपुरका श्याम गोयन्काले २०४९ सालको सुरुतिर नेपाली र अंग्रेजी भाषाका ‘ब्रोडसिट’ दैनिक प्रकाशन गर्ने योजना बनाउनुभएछ । भारतको चर्चित दैनिक द इन्डियन एक्सप्रेसका संस्थापक रामनाथ गोयन्काका नातेदार श्यामजीसँग केही वर्ष त्यसै दैनिकमा काम गरेको अनुभव रहेछ । उहाँले थापाथलीमा कार्यालय खोल्नुभएछ र द इन्डियन एक्सप्रेसकै ‘फ्रेज आउट’ गरिएको मेसिन ल्याउनुभएछ । अंग्रेजी र नेपाली दुवै भाषामा पोख्त योगेश उपाध्यायलाई सम्पादक बनाई कान्तिपुर र द काठमान्डू पोस्ट दर्ता गर्नुभएछ ।


शालीन स्वभावका योगेश दाइ मुकुन्द पराजुली प्रधानसम्पादक रहनुभएको साप्ताहिक म्यागेजिन जनमञ्चमा सम्पादक हुनुहुन्थ्यो । उहाँ कान्तिपुर र द काठमान्डु पोस्टको सम्पादक नियुक्त हुनुभएपछि जनमञ्चमा कार्यरत नारायण वाग्ले सबैभन्दा पहिले र मंसिरसम्ममा रमेश केसी, चन्द्रशेखर कार्की, रघु लामिछाने र म पनि कान्तिपुरमा आबद्ध भयौं ।


म पुग्दा गोरखापत्रका दिनेश सत्याल ‘सौरभ’ कार्यकारी सम्पादक, देशान्तरका श्रीकृष्ण अनिरुध्द गौतम फिचर चिफ, विमर्शका रवि अधिकारी समाचार सम्पादक, मातृभूमिका तीर्थ कोइराला चिफ रिपोर्टर बनिसक्नुभएको थियो । जनमञ्चको चिफ रिपोर्टर छोडेर आएको भए पनि मलाई उपसम्पादकमा नियुक्ति दिइयो । २०४६ को जनान्दोलनका बेला निकालिएको समालोचना दैनिकमा काम गरेको अनुभवका आधारमा मलाई न्युज डेस्कको नेतृत्व सम्हाल्न लगाइयो ।

तारानाथ दाहाल, कृष्णमुरारी भण्डारी, गोविन्द पोखरेल, प्रतीक भण्डारी, दिलभूषण पाठक, सुनील अधिकारी, स्वस्तिका भट्टराई, श्याम घिमिरेलगायतका साथीहरू पनि कोही रिपोर्टिङ र कोही डेस्कमा नियुक्त गरिए । विकास रौनियार (फोटो पत्रकार), राजेश केसी (कार्टुनिस्ट) पनि टिममा थपिनुभयो । अपवाद छोडेर हाम्रा सहकर्मीहरू जोस–जाँगरमा आगाको कोइलाजस्ता थिए र तिनलाई अथाह ज्ञानभण्डारका सौरभले हम्केर झर्झराउँदो बनाउन थाल्नुभयो ।


निजी क्षेत्रबाट सञ्चालन हुने पहिलो ‘ब्रोडसिट’ दैनिकमा अनुभवी जनशक्तिका रूपमा गोरखापत्रका युवराज गौतम, माधव ढुंगेल, पुष्कर माथेमा, राससका श्रीराम सिंह बस्नेत, कृषि विकास बैंकमा कार्यरत गोरखापत्रकै पूर्वपत्रकार अर्जुन विष्ट पनि जोडिन आइपुग्नुभयो ।

उता, काठमान्डु पोस्टको टिममा पनि प्रतीक प्रधान, अजयभद्र खनाल, अखिलेश उपाध्याय, सुमन प्रधानजस्ता होनहार युवा पत्रकार संलग्न भएका थिए ।

पत्रकार मात्र हैन, प्रुफरिडर र कम्प्युटर डिजाइनरका रूपमा कान्तिपुर–काठमान्डू पोस्ट प्रवेश गरेका युवाहरू पनि प्रतिभाशाली थिए । तीमध्येकै हुन् अहिलेका चर्चित पत्रकार हरिबहादुर थापा, बलराम बानियाँ, विकास थापा ।


कान्तिपुर–काठमान्डू पोस्ट दुवैपट्टिका गरी सम्पादकीय टिम (पत्रकार, प्रुफरिडर र कम्प्युटर डिजाइनरसमेत) मा झन्डै ७० जना थियौं हामी । फागुन ७ गतेदेखि पत्रिका प्रकाशन गर्ने लक्ष्य राखेर हामी पूर्वतयारीमा जुटयौं ।

रिपोर्टिङका साथीहरू ननिस्केको पत्रिकाका लागि समाचार संकलन गर्न दौडिन थाले । कान्तिपुरको प्रारूप अंक तयार पार्न हरि भाइ, हेमा गुरुङ बहिनी र म दुइटा कम्प्युटरमा बस्यौं । त्यतिखेर नेपाली पत्रपत्रिकाहरू ‘लेटर प्रेस’ छोडेर अपसेट प्रेसमा छापिन थाले पनि साप्ताहिक म्यागेजिन जनमञ्चबाहेकको ‘ले–आउट सेटिङ’ कम्प्युटरमा हुँदैन थियो । कम्प्युटरमा टाइप गरिएका सामग्री ‘कोलम’ छुटयाएर ‘एफोर साइज’ को कागजमा प्रिन्ट निकालिन्थ्यो र आर्टिस्टले ‘कट–पेस्ट’ गरी पेज बनाउँथे । गोरखापत्र/राइजिङ नेपालमा पनि त्यस्तै गरिन्थ्यो । हामीले कम्प्युटरमै ‘ले–आउट सेटिङ’ गर्नु थियो । त्यसैले पुस १६ गते मेलमिलाप दिवस आधार दिन मानेर ‘डमी’ बनाउन सुरु गरेको करिब एक सातामा मात्र तयार भयो ।


पुरानो प्रेस ल्याएर जडान गरिएकाले अनेक समस्या आयो । छाप्न अर्को एक साता लाग्यो अर्थात् माघ २ गते मात्र कान्तिपुरको ‘नमुना अंक’ छापियो । मेलमिलाप दिवसको समाचार भूकम्प दिवसमा पढ्न पाइयो ∕ निकाल्नु छ, दैनिक पत्रिका, छापिएको छ, एक पक्षपछि ∕ ∕ त्यो पनि कस्तो भने, ‘फोर कलर’ को प्रेसबाट फोहोर कलरमा— हरियो गाईले सेतो दुबो चरिरहेको जस्तो ∕

कम्प्युटरको नेटवर्क मिलाएर र प्रेसको पनि मर्मत सम्भार गरेर माघको अन्त्यतिर एउटा नमुना अंक निकाल्यौं । त्यसैबीच ‘सोभियत भूमि’ का पूर्वपत्रकार अरविन्द रिमाललाई सल्लाहकार सम्पादक बनाइएकोमा असहमति जनाउँदै कार्यकारी सम्पादक सौरभ बाहिरिनुभयो । मैले फागुन १ गतेबाट वरिष्ठ उपसम्पादकमा बढुवा पाएँ । ‘मिसन फागुन ७’ सफल पार्न हामीले फागुन ५ गतेसम्म अरू तीनवटा नमुना अंक निकाल्यौं । साजसज्जा, पृष्ठ संयोजन र समाचार प्रस्तुति सबै दृष्टिबाट गोरखापत्रभन्दा कान्तिपुर भिन्न र स्तरीय हुने देखियो ।


फागुन ७ गते २०४९ । कान्तिपुरको वर्ष १ अंक १ प्रकाशित हुने दिन ।

तर पहिलो गाँसमै ढुंगा लाग्यो नराम्रोसँग । प्रेसको गडबडीले बिहान पत्रिका निस्केन, दिउँसो पनि निस्केन । अपराह्न मात्र केही हजार प्रति पत्रिका छापियो । प्रेसको गडबडी र सम्पादकीय टिममा उत्पन्न खलबली बिस्तारै हल हुँदै थियो तर प्रकाशकको खल्ती रित्तिसकेछ । त्यसैले श्यामजीले ‘नमस्ते ग्रुप’ लाई साझेदार बनाएर चैत १८ गते कान्तिपुरमा भित्र्याउनुभयो ।


‘नमस्ते ग्रुप’ का सञ्चालक कैलाश सिरोहिया पनि श्यामजीकै गृहनगर जनकपुरकै । कैलाशजीका साझेदार विनोद ज्ञवाली धनुषा–महोत्तरीतिर प्रमुख जिल्ला अधिकारी रहिसक्नुभएका हेमराज ज्ञवालीका छोरा । उदीयमान युवा उद्यमी कैलाशजी र विनोदजीको संलग्नतापछि संस्था आर्थिक रूपले सबल त भयो तर लगानी बालुवामा पानी हालेसरह भइरहेको थियो । पत्रिकाको आर्थिक प्राण विज्ञापनबाट उठ्ने ‘रेभिन्यु’ हो, त्यो शून्य थियो । दस रुपैयाँभन्दा बढी उत्पादन खर्च लाग्ने पत्रिका १ रुपैयाँमा बेच्नुपथ्र्यो । त्यसमा पनि विक्रेतालाई कमिसन दिनुपथ्र्याे । बिक्री नभएका पत्रिका कबाडीलाई बेच्नुको विकल्प हुँदैनथियो । अर्थात् जति धेरै पत्रिका छाप्यो उति धेरै नोक्सान सहनुपथ्र्याे । तर राम्रो ‘सर्कुलेसन नभई विज्ञापन पाइँदैनथियो ।


प्रजातन्त्र पुन:स्थापनापश्चात् राज्यले खुला अर्थतन्त्रनीति अंगीकार गरिसकेको भए पनि मुलुकमा निजी क्षेत्रका उद्योगधन्दा र सेवा व्यवसाय नगन्य मात्र थिए । विज्ञापन बजारमा ती क्षेत्रका हिस्सा सानो हुन्थ्यो । फेरि, निजी क्षेत्रले विज्ञापन गर्दा त्यसको प्रतिफल हेर्ने नै भए, भर्खर प्रकाशन प्रारम्भ भएको र थोरै वितरण हुने दैनिकमा भन्दा व्यापक वितरण हुने स्थापित दैनिकमै विज्ञापन गर्दा उनीहरूलाई लाभ हुन्थ्यो । सरकारी क्षेत्रको सबैखाले विज्ञापनमा गोरखापत्रको एकाधिकार थियो । त्यस्तो स्थितिमा भोलिको बाटो हेरेर हाम्रा प्रकाशकहरू ‘बालुवामा पानी’ खन्याइरहेका थिए ।


कमाइ नभए पनि कान्तिपुरको खर्च भने ठूलो थियो । कान्तिपुरमा कर्मचारी र पत्रकारहरूलाई सेवा सुविधा आकर्षक थियो, तत्कालीन मात्र हैन, भविष्यसम्मकै लागि प्रतिस्पर्धी ।

जेठ ३ गतेको दासढुंगा घटनापश्चात् कान्तिपुरको सर्कुलेसन ह्वात्तै बढयो, कतिसम्म भने— बढेको खर्च धान्न धौधौ पर्दा श्यामजी कान्तिपुरबाट बाहिरिनुपर्‍यो । महाकाव्यमा अनेक पात्र आउँछन्, जान्छन्, काव्यधारा भने अनेक रस र लयमा अघि बढिरहेको हुन्छ । कान्तिपुर पनि ठयाक्कै महाकाव्य रचना शैलीमा अघि बढिरहयो । समयक्रममा कान्तिपुरमा अनेक पत्रकार फेरिए, सम्पादकहरू फेरिए र पटकपटक पार्टनरहरू पनि फेरिए । २०५० असार मसान्तमा संस्थापक प्रकाशक श्यामजीको बहिर्गमनसँगै अरविन्द रिमाल रहनुभएन, केही समयपछि रविजी पनि । पुरानै जिम्मेवारीमा सौरभ आउनुभयो र छोटै समयमा फेरि बाहिरिनुभयो । कान्तिपुरको समाचार संयोजक बनेर आउनुभएका किशोर नेपाल पनि धेरै समय बस्नुभएन । पौने चार वर्षपछि म पनि रहिनँ ।


मैले कान्तिपुरमा केही समय डे डेस्कमा काम गरें, छोटो समय रिपोर्टिङ पनि । केही समय कोसेली संयोजक बनें र अधिकांश समय समाचार सम्पादकको भूमिकासहित ‘नाइटडेस्क’ प्रमुख । योगेश दाइ दुईपल्ट लामो समय विदेशमा रहँदा सम्पादकको जिम्मेवारी सम्हालें । चिनेजानेका मान्छेहरू भन्छन्, ‘कान्तिपुरको जगको एउटा ढुंगा हौ है तिमी पनि ।’ तर म त्यसो भन्दिनँ, मलाई कसैले किचेको छैन, म स्वतन्त्र छु । बरु मैले कान्तिपुरबाट पत्रकारिताको कखरा सिक्न पाएँ, कान्तिपुर मेरा लागि राम्रो पाठशाला हो ।


मैले छाड्दासम्ममै कान्तिपुर आत्मनिर्भर मात्र हैन, एक नम्बर दैनिक बनिसकेको थियो । समयक्रममा कान्तिपुरको रिसमा, देखासिकीमा वा साँच्चै प्रतिस्पर्धा नै गर्न अनेक ‘ब्रोडसिट’ दैनिक खोलिए । ती दैनिकमध्ये कति लोप भइसके, कति बिलाउँदै गएका छन् । हो, केहीले कुनै समय कान्तिपुरलाई टक्कर दिंदै भेटयाऊँ भेटयाऊँसम्म गरे तर कहिल्यै उछिनेनन्, एक नम्बर ‘ताज’ खोस्न सकेनन् । जे जस्ता नियतले खोलिएका भए पनि त्यस्ता प्रतिस्पर्धी दैनिकहरूले कान्तिपुरलाई सहयोग नै पुर्‍याए, निरन्तर गुणस्तर सुधार्न र चनाखो रहन ।


कान्तिपुरले अनेक शिशिर–वसन्त झेल्दै आज रजत वर्षको कोसेढुंगो पार गरेको छ । साँच्चि, श्यामजीले २०४९ सालमा कान्तिपुर र काठमान्डू पोस्ट नखोल्नुभएको भए नेपालमा ‘ब्रोडसिट’ दैनिक कसले र कहिले खोल्थ्यो होला ? श्यामजी आर्थिक संकटमा पर्नुभएको बेला नमस्ते ग्रुपले ‘बालुवामा पानी’ नखनाएको र पछि पनि लगानी नओइराएको भए के हुन्थ्यो होला ? २०५० जेठ ३ गते दासढुंगामा त्रासदीपूर्ण घटना नभएको भए कान्तिपुरको बाटो के कस्तो हुन्थ्यो होला ? संस्थापक सम्पादक सफा पानीजस्तै योगेश दाइको साटो अरू कोही भएका भए वा उत्तराधिकारीमा युवराज घिमिरे, नारायण वाग्ले र सुधीर शर्माजस्ता एकसेएक उम्दा पत्रकार चयन नगरिएको भए के हुन्थ्यो होला कान्तिपुरको नियति ? अनि के हुन्थ्यो होला कान्तिपुरको २५ वर्षका प्रत्येक अप्ठयारामा कैलाशजीले काँध नथाप्नुभएको भए ?


यस्तो भएको भए वा यस्तो नभएको भए के हुन्थ्यो होला भन्ने प्रश्नका के अर्थ ∕ भविष्य मात्र आफूअनुकूल रच्न सकिन्छ, इतिहास बदल्न सकिन्न । कान्तिपुरले हिँडेको बाटो यही हो, कान्तिपुरको कखरा यही हो । ठीकठीक समयमा लिइएका सही निर्णयहरू अनि अनेक पात्रका पसिना–विवेकको योगले प्रतिष्ठित कान्तिपुरको गौरवमय यात्रा अविरल रहोस् !


सिम्खडा कान्तिपुरका पूर्वसमाचार सम्पादक हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?