३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फिल्म समीक्षा : ‘द रेड सुटकेस’मा रित्तो नेपाली समाज 

रीना मोक्तान

काठमाडौँ — 'द रेड सुटकेस'मा एउटा दृश्य छ, जहाँ सामान बोक्ने पिकअप ट्रक तीनकुनेबाट कोटेश्वरतिर लम्कँदै हुन्छ । विदेशबाट फर्केको बाकस बोकेर गुड्दै गरेको पिकअपसहितको त्यही दृश्यमा विदेश उड्दै गरेको विमान अटाएको छ । यो दृश्यलाई निर्देशकले त्यत्तिकै राखेका होइनन्, अथवा सिनिमेटोग्राफर सुसन प्रजापतिले पिकअप दृश्य खिच्दै गर्दा त्यत्तिकैमा विमान खिचिएको होइन ।

फिल्म समीक्षा : ‘द रेड सुटकेस’मा रित्तो नेपाली समाज 

निर्देशकले नियतवश यो विरोधाभास फिल्ममा राखेका हुन्, जुन दृश्यले 'द रेड सुटकेस'ले उठाएको विषयको गाम्भीर्यता बोक्छ । यो एउटै फ्रेमले नेपाली समाजको तितो यथार्थ बोल्छ; विदेश गइरहेको युवा अनि बाकसमा फर्किरहेको अधुरा सपना ! यही दृश्यमा 'द रेड सुटकेस'को मूल सार भेटिन्छ ।

विश्व प्रतिष्ठित फिल्म फेस्टिभल भेनिसमा प्रिमियर भएको 'द रेड सुटकेस'ले यसरी नै बिम्बहरुको प्रयोगमा विद्यमान समाज, ग्रामीण अर्थतन्त्र अनि नेपाली नियति पस्कन्छ । फिडेल देवकोटा निर्देशित यो फिल्मले ८६ मिनेटमै नेपाली समाजको पीडा र यथार्थ बोल्छ । साथै, सत्ताप्रतिको गुनासो, जनतामा भएको निराशा, स्वास्थ्य क्षेत्रको दुर्गतितर्फ पनि व्यंग्य गरिदिन्छ । त्यसरी नै रेमिट्यान्ससँग सम्झौता गरिएका रहर, आशा अनि भविष्य देखाउँछ ।

यो फिल्मको कथा खासै नयाँ होइन । नेपालीले भोग्दै र देख्दै आएको व्यथा नै फिल्ममा देखाइएको छ । यो त्यस्तो फिल्म पनि होइन, जहाँ असंभव देखिने ठूलो समस्या एक मुक्कामै हिरोले समाधान गर्छ । यो त्यस्तो फिल्ममा पनि पर्दैन, जहाँ हिरो र हिरोइन बारीको डिलछेउ नाँचिहिँड्छ । धुमधडाका अनि बलिउडको मसालाभन्दा पर रहेर, 'द रेड सुटकेस'ले सुस्त गतिमा वैदेशिक रोजगारी र यसले दिएको घाउ उदांगो पारिदिन्छ । जुन घाउले नेपाली समाजलाई दुखाउन कहिले छाड्ने हो ? टुंगो छैन ।

कतारबाट आइपुगेको कफिन र एउटा रातो सुटकेसलाई बेयुल पुर्‍याउन पिकअप चालक (सौगात मल्ल)ले त्रिभुवन विमानस्थलबाट आफ्नो गन्तव्यतर्फ यात्रा गर्छ । त्यही यात्रामा उक्त चालकले अनुभव गर्दै जाने अनुभूति, भेट्ने पात्र र देख्ने समाजमार्फत फिल्ममा कथा भनिएको छ । उक्त चालकको बेयुलतर्फको यात्रासँगै, अर्का एक व्यक्तिले पनि आफ्नो यात्रा सँगसँगै थाल्छ ।

निलो पहिरनमा रातो सुटकेस गुडाउँदै हिँडिरहेका उक्त व्यक्तिको गन्तव्य कहाँ होला ? उनी को होलान् ? पिकअप चालकसँगै उक्त व्यक्तिले आफ्नो यात्रा किन थाल्यो ? 'द रेड सुटकेस'ले पिकअप चालकमात्रै होइन रातो सुटकेस गुडाई हिँड्ने उक्त अज्ञात व्यक्तिको कथा भन्दै जान्छ । यही कथा भन्न प्रयोग गरिएका बिम्ब नै फिल्ममा बेजोड लाग्छन् ।

फिल्ममा अर्को सशक्त दृश्य छ । पिकअप चालक उक्त कफिनलाई आँगनसम्म पुर्‍याउन सहयोगका लागि चारैतिर आँखा डुलाउँछन् । आँगनछेउ भेला भएका समूहमा वृद्धा र महिलामात्रै देखिन्छन् । त्यो भीडमा जवान युवा कतै देखिँदैन । वृद्धा, महिला र बालबालिकालाई मात्रै क्यामेराले बारम्बार देखाउँछ । ग्रामीण भेगमात्रै होइन यो दृश्यले विदेसिँदै गएका युवासँगै रित्तो भएको नेपाली समाज देखाउँछ । त्यस्तै, श्रम र पढाईका लागि विदेसिएका लाखौं युवा जनशक्तिको चित्रण गर्दै कमजोर राज्य सत्ता अनि आशाविहीन बन्दै गएको राजनीतिमाथि व्यंग्य गर्छ ।

फिल्मको अर्को दृश्यमा उक्त पिकअप चालक र जम्मू-कश्मीरको लडाइँ लडेका पूर्वसेना (विपिन कार्की)बीच लामै वार्तालाप चल्छ । गफगाफ चलिरहँदै पिकअप चालकले बाकसमा फर्किरहेका युवाहरुको दोष राज्यलाई लगाउँछ । पिकअप चालकको कुरा टुंगिन नपाउँदै पूर्वसेना झोक्किएर सोध्छन्,'खोइ सरकार ?, यो देशमा गरिब निमुखाहरुका लागि पनि सरकार छ र ?'

यो दृश्यले नेपाली युवाको राज्यसत्ता र राजनीतिप्रतिको आक्रोश, निराशा अनि गुनासो देखाउँछ । यसरी नै जलवायु संकटले हिमाली जनजीवनमा पार्दै आइरहेको असरको खबर अनि स्वास्थ्य सेवाबाट टाँढा रहेका जीवनलाई देखाउन गरिएको एम्बुलेन्सको प्रयोगले पनि नेपाली समाजको गहिरो समस्या 'द रेड सुटकेस'ले देखाएको छ । पात्रहरुको नाम नै पनि व्यंग्यात्मक छ । यहाँ धनेहरु नै धन कमाउन विदेशिएका छन्, आशाविहीन राज्यबाट झिनो आशा लिएर छोरीको नाम आशा राखिरहेका छन् ।

रातो रङलाई फिल्ममा सुरुदेखि अन्तिमसम्म कलात्मक ढंगले प्रयोग गरेको छ । रातो सुटकेसले त्यो सुटकेससँग जोडिएकाको रहर, सपनासँगै आक्रोश व्यक्त गरिदिन्छ । तर, पेट्रोल पम्पको रातो रङले भने अगाडिको यात्रा खतरामय हुने संकेत गर्छ । त्यस्तै, धनेकी जहान (सृष्टि श्रेष्ठ)ले लगाएकी रातो लाछा डोरी र रातै सिन्दुरले पति प्रतिको उनको अथाह प्रेम देर्साउँछ ।

त्यसरी नै फिल्ममा ध्वनीको प्रयोगमा पनि ध्यान पुर्‍याइएको छ । कथामा ध्वनी त्यसै प्रयोगमा आउँदैन, निर्देशकले सिर्जना गरेको संसारभित्र गुञ्जने ध्वनीलाई नै प्रयोग गरिएको छ । पृष्ठभूमिमा कुनै संगीत गुञ्जँदैछ भने त्यसको मूल कारक पनि देखाइएको छ । सिनिमेटोग्राफर प्रजापतिले रहस्यमय पात्रलाई कुहिरोभित्र, अँध्यारोमा जसरी खिचेका छन्, त्यसरी नै अन्य पात्रलाई सिल्वेट दृश्य (छायाँचित्र), ‘फ्रेमभित्रको फ्रेम’का सुन्दर दृश्यमा अर्थपूर्ण ढंगले कैद गरेका छन् ।

ऐनाहरुको बीच एउटा ऐनामा पिकअप चालकलाई देखाइएको दृश्य त निकै शक्तिशाली र अर्थपूर्ण छ । यो दृश्यले चालकको मनोविज्ञानसँगै त्यसपछि प्रवेश गर्ने रहस्यमय संसारको संज्ञा दिइरहेको हुन्छ ।

यस्ता सशक्त दृश्य र बिम्बबीच फिल्ममा कमजोरी नै छैन भन्ने होइन । फिल्म बिम्बहरुले मात्रै सशक्त बन्ने होइन, कथ्य शैलीको मजबुती पनि आवश्यक हुन्छ । ‘म्याजिक रियलिज्म’ मिसाउँदै निर्देशक देवकोटाले जुन शैलीमा ‘द रेड सुटकेस’को कथा प्रस्तुत गरेका छन्, त्यसमा उनी इमान्दार देखिन्छन् । तर, कमजोर पटकथा र अपरिपक्व कथ्य शैलीले फिल्मले उठाएको विषयवस्तुको गहिराईमा दर्शक डुब्न पाउँदैनन् ।

द्वन्द्व निर्माणमा फिल्म चुकेको छ, उक्त बाकसलाई गन्तव्यसम्म पुर्‍याउन पिकअप चालकले खासै संघर्ष नै गर्नु पर्दैन । पिकअप बिग्रिएकै दृश्यमा पनि त्यो संघर्ष स्थापना हुँदैन । त्यस्तै फिल्ममा अर्को एउटा दृश्य छ, जहाँ बाकस छेउ एकपात्र गहिरो शोकमा आँशु खसालिरहेकी हुन्छिन् । उनीभित्रको छटपटी, त्यो पीडा र त्यो दुखाई भाव दर्शकमा संचार नै हुँदैन ।

पात्र स्थापना र द्वन्द्व निर्माण कमजोर बन्दा यी भाव सतही रुपमै दर्शकमा संचार हुन्छ, जसले फिल्मले बोकेको मूल मर्मसँग दर्शक जोडिनै पाउँदैनन् । यो फिल्मलाई सम्पादनमै पनि अझै छोट्याउन सकिथ्यो । फिल्ममा केही दृश्य त सजिलै अनुमान गर्न सकिने किसिमको छ, जस्तै विपिनको चरित्र ! यी कमजोरीबीच दर्शकलाई कलाकारको अभिनयले फिल्ममा बाँधेर राख्छ । छोटो भूमिकामा विपिनले आफ्नो अभिनय अब्बलता फेरि पस्केका छन् । यो भूमिकामा विपिन निकै फरक र चरित्र सुहाउँदो देखिएका छन् । उनको पात्रले लामो वार्तालापबीच कमै मात्र आँखा झिम्क्याएको छ ।

पूर्व सेनाको हुलियामा त्यो पात्रको चरित्र उनले यसरी अभिनयमार्फत सशक्त प्रस्तुत गरेका छन् । पिकअप चालकका रुपमा अभिनेता मल्लले गरेको अभिनयमा पनि त्यो पात्रको मनोविज्ञान, गुम्सिएर बसेको गुनासो र चरित्रभित्रको गम्भीर स्वभाव देखिन्छ । छोटो भूमिकामै अभिनेता प्रवीण खतिवडा र सृष्टि श्रेष्ठले आफूलाई सावित गरेका छन् । फरक कथ्य शैली र कलाकारको सशक्त अभिनयमा बनेको यही फिल्मलाई हलको ठूलो च्यानल ‘क्यूएफएक्स’ले भने उचित सो नदिनु बिडम्बना हो !

प्रकाशित : वैशाख १, २०८१ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?