कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोहोरो नागरिकता प्रकरण : अस्ट्रेलियाका १५ सांसदको पद गुम्यो

नारायण खड्का

अस्ट्रेलिया — दोहोरो नागरिकता विषयमा अहिलेसम्म अस्ट्रेलियाका १५ सांसदले पद गुमाएका छन् । बुधबार यहाँको सर्वोच्च अदालतले सिनेटर केटी गालाघरलाई पदमा बस्न अयोग्य बताएसँगै थप चार सांसदले समेत पदबाट राजीनामा दिएका छन् ।

दोहोरो नागरिकता प्रकरण : अस्ट्रेलियाका १५ सांसदको पद गुम्यो

पछिल्लो एक वर्षयता अस्ट्रेलियाली राजीनीतिमा दोहोरो नागरिकताको विषयले ठूलो हलचल ल्याइदिएको छ । अस्ट्रेलियाली राजनीतिमा पेचिलो बनिरहेको दोहोरो नागरिकता प्रकरणमा बुधबार मात्र सांसदहरु सुसन ल्याम्ब, रेबेका सार्कि, जोन विल्सन र जस्टिन कि ले राजीनामा दिएका हुन् । अस्ट्रेलियाको संविधानको धारा ४४ अनुसार दोहोरो नागरिकता भएको व्यक्तिले सांसद पदका लागि योग्य नहुने प्रावधान राखेको छ । पद गुमाएका सांसदहरुमध्ये अधिकांशले अर्को देशको नागरिकता त्याग गरेको बताए पनि सर्वोच्च अदालतले उनीहरुको योग्यताबारे निर्णय गर्दै आएको छ ।


यसपहिले पूर्वउपप्रधानमन्त्री बार्नबी जोयसले समेत यही विषयमा आफ्नो पद गुमाएका थिए । तर, उनले उक्त स्थानमा भएको पुन: निर्वाचनमार्फत फेरि पद सुरक्षित गरेका थिए ।


त्यसैगरी अर्का सांसद जोन अलेक्ज्याण्डरले समेत निर्वाचनबाटै आफ्नो पद सुरक्षित गरेका थिए । दोहोरो नागरिकता प्रकरणका कारण पद गुमाएकामध्ये सातजना प्रत्यक्ष निर्वाचनबाट निर्वाचित छन् भने अन्य सबै सिनेटरहरु हुन् । अदालतले दुईजना सांसदलाई भने सफाई दिएको थियो ।

अहिलेको विपक्षी दल लेबरले यही विषयमा ५ सांसद गुमाएको छ भने सत्तारुढ दल लिबरल, निक जेनोफोन, नेशनल, ग्रिनलगायतका पार्टीका सांसदले समेत पद गुमाएका छन् । अस्ट्रेलियाको तल्लो सदनमा १ सय ५० प्रत्यक्ष निर्वाचित सांसदहरु रहने व्यवस्था छ भने माथिल्लो सदन सिनेटमा ७६ सिनेटरहरु छन् ।

प्रकाशित : वैशाख २७, २०७५ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?