कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

एक्स–रे मेसिन बिग्रेपछि अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट निर्यात ठप्प 

काठमाडौं — एक्स–रे मेसिन बिग्रेको डेढ महिना बित्दा पनि मर्मत नगरेपछि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट तेस्रो मुलुकमा हुने नेपाली बस्तुको निर्यात व्यापार आजदेखि ठप्प भएको छ । सम्झौताअनुसार एक्स–रे मेसिन मर्मत नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले गर्नुपर्छ ।

एक्स–रे मेसिन बिग्रेपछि अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट निर्यात ठप्प 

बिग्रेको लामो समय बित्दा पनि भन्सार हातामा जडान गरिएको उक्त मेसिन मर्मत नगर्दा समस्या भएको नेपाल फ्रेड फरवार्डस एसोसिएसनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौलाले जानकारी दिए ।

स्रोतका अनुसार मेसिन मर्मतका लागि आवश्यक सामाग्री अहिलेको बजार मुल्य अनुसार करिब २७ लाख पर्छ । नागरिक उड्ययन प्राधिकरण र गोदाम व्यवस्थापन कम्पनीबीचको सम्झौताअनुसार विमानस्थलमा सामान गोदाम गरेवापत बार्षिक करिब ३३ देखि ३४ करोड संकलन गर्दै आएको छ ।

स्रोतका अनुसार गत आर्थिक वर्षमा कम्पनी नाफामा थियो । नाफाको रकम नागरिक उड्डयन र कम्पनीले बाँड्ने गरेका छन् । सम्झौता अनुसार मेसिन मर्मतको जिम्मेवारी गोदाम व्यवस्थापन कम्पनीको हो । गोदाम कम्पनी पूर्ण सरकारी स्वामित्वको कम्पनी हो । कार्गो व्यवसायीसमेत रहेका वरिष्ठ उपाध्यक्ष संग्रौलाले अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा एउटा एक्स–रे मेसिनसमेत नभएको सन्देश जानु मुलुककै लागि अशोभनीय भएको बताए । उनले एक्स–रेको कारण निर्यात गरिएका सामानमा कैफियत देखिएमा जिम्मेवार व्यवसायी नै हुने भएकाले पनि आफूहरु मर्कामा परेको बताए ।

गोदामको एक्स–रे मर्मत गर्न दबाब दिने उद्देश्यले व्यवसायीकोसमेत समर्थनमा मजदुर युनियनले सोमबार कामै नगरी निर्यात ठप्प बनाएका हुन् । भरपर्दो मेसिनले एक्स–रे नगरिएका बस्तु अन्तर्राष्ट्रिय उडानले नबोक्ने नीति छ । दुई मध्ये एउटा मेसिन सञ्चालन हुँदा एकै दिन हुने काम दुई दिन लाग्ने र निर्यात सामाग्रीको ओसार–पसारमासमेत असहज हुने गुनासो कार्गो व्यवसायी र मजदुरले गर्दै आएका छन् ।

निर्यात सहज नभएपछि विमानस्थलको गोदाममा ५० टन भन्दा बढी सामान थुप्रिएको छ । निर्यातकर्ताले पारवहनलाई प्रति केजी ७ रुपैयाँ तिर्ने गरेका छन् । नेपालबाट मुख्यतः कार्पेट, गार्मेन्ट, हेयाण्डी क्राफ्टलगायतका बस्तु निर्यात हुने गरेको छ ।

‘जति अनुरोध गरेपनि मेसिन मर्मत नगरेपछि हामी बाध्य भएर निर्यात ठप्प बनाउने अवस्थामा पुगेका हौं,’ बाग्मती प्रदेश ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष खेम सुवेदीले भने । मेसिन नहुँदा गोदाममा काम गर्ने मजदुरहरुले भौतिक रुपमा निकै असुविधा भोगेको भन्दै सुवेदीले एउटा मेसिनले सामान स्क्यान गरेरै नभ्याउने बताए । उक्त मेसिन पनि बिग्रेर भन्सारको एक्स–रेबाट झिकेर मर्मत गरिएको छ । उक्त मर्मतका लागि भन्सारबाट सापटी ल्याएर मर्मत गरिएको थियो । अब त्यो मेसिन पनि बिग्रियो भने के गर्ने त्यसको व्यवस्थापनसमेत नभएको भन्सार अधिकरीहरु बताउँछन् ।



प्रकाशित : वैशाख ३, २०८१ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?