कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दुई महिनादेखि रिक्त त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा बराल 

काठमाडौँ — दुई महिनादेखिको प्रयासपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख प्रशासकमा सहसचिव महेश बराललाई सरुवा गरिएको छ । कुनै समय सरुवा हुन प्रतिस्पर्धा हुने विमानस्थल भन्सार कार्यालय पछिल्लो समय सुन तस्करीका घटना बढ्न थालेपछि भन्सार प्रमुख बनेर जान कर्मचारी हिच्किचाइरहेका थिए ।

दुई महिनादेखि रिक्त त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा बराल 

प्रमुख भन्सार प्रशासकमा सहसचिवको दरबन्दी हुने व्यवस्था छ । तर माघ अन्तिम सातादेखि भन्सारको नेतृत्व उपसचिवले गर्दै आएका थिए । संघीय राजधानीको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार झण्डै अढाई महिनादेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको थियो ।

सहसचिव बराल अर्थ मन्त्रालय अन्तर्गतको कर प्रणाली सुधार कार्यदलमा थिए । अर्थमन्त्री वर्षमान पुनले बराललाई बजेट आउने समयसम्मका लागि भन्दै फकाइफुलाई गरेर भन्सार पठाएको दाबी स्रोतले गरेको छ । बराल डेढ वर्षभन्दा बढी समय कम्पनी रजिष्ट्रारको कार्यालय प्रमुख भएर अर्थ मन्त्रालय गएका थिए ।

निजामती किताबखानाबाट सरुवा भएका टोकराज पाण्डे पाँच महिनामै विमानस्थल भन्सारबाट गत माघमा अर्थ मन्त्रालय सरुवा भएका थिए । ‘रिक्त भन्सार प्रशासक पदमा सरुवा हुन कुनैपनि सहसचिवहरु राजी नभएका कारण अहिलेसम्म खाली थियो,’ अर्थ स्रोतले भन्यो । लामो समयदेखि अन्तर्राष्ट्रिय हवाइ नाकाको भन्सार प्रमुख नै नभएपछि मन्त्रालयलाई कोही न कोही पठाउन दबाब परेपछि बराललाई पठाइएको हो ।

भन्सार प्रशासक खाली भएपछि मन्त्रीपरिषद्ले भन्सार विभागका तत्कालीन उपमहानिर्देशक सेवन्त पोखरेललाई फागुनको पहिलो साता विमानस्थल भन्सार प्रमुखमा सरुवा गरेकोमा उनी जानै मानेनन् । विदेश गएकाबेला सरुवा भएपछि उनी विदामा बसेका थिए ।

उनलाई अहिले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ । आफू सिनियर सहसचिव भएर विभागको उपमहानिर्देशकको पदमा रहि सकेको भन्दै भन्सार कार्यालयको प्रमुख हुन नजाने अडान उनले लिएका थिए । उनी भन्सार प्रशासनमा दखल राख्ने व्यक्तिको रुपमा चिनिन्छन् । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई भने गत चैतको दोस्रो साता सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको थियो ।

विमानस्थल भन्सारमा अहिले १४६ जानको कर्मचारीको दरबन्दी रहेकोमा १३६ जना कार्यरत छन् । एक जना अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा चलिरहेको छ । कतिपय कर्मचारी समायोजनका बेला फाजिलमा परेकाहरु विमानस्थल भन्सारमा रहेका छन् । सुनलगायतका तस्करीको घटना बढिरहेका कारण जागिर जाने, सजाय र बेइज्यतीको डर हुने भएकाले कर्मचारी आउन नमानेको विमानस्थल भन्सारका एक उपसचिवले बताए । मुद्दा परेमा वा कुनै आरोप लागेका माथिल्लो निकायले सहयोग नगर्ने परिपाटीको विकास भएकाले आफूहरु अभिभावकविहीन हुने गरेको उनले गुनासो गरे । नियमसंगत काम गर्दा पनि गाली खानु पर्ने र सार्वजनिक बेइज्जती हुने गरेको भन्दै ती उपसचिवले प्रश्न गरे, 'जोखिम उठाएर किन जागिर खाने ?’

प्रकाशित : वैशाख २, २०८१ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?