२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

चैते धान रोप्ने चटारो

अनिश तिवारी

सिन्धुपाल्चोक — भर्खर आलु भित्र्याएका इन्द्रवती करिडोर क्षेत्रका किसान चैते धान रोपाइँमा व्यस्त छन् । सिन्धुपाल्चोकको तराई भनेर चिनिने इन्द्रावती करिडोरक्षेत्रदेखि मेलम्ची, हेलम्बु, जुगल गाउँपालिकाका तल्लो भेगका अधिकांश कृषकलाई चैते धानको रोपाइँको हतारोले एकैछिन फुर्सद छैन् । 

चैते धान रोप्ने चटारो

कञ्चन इन्द्रावती नदी र झ्याडीखोलाको बगरमा चिटिक्क खेतमा चैत धान लगाउने बिस्देउटारका माझी समुदाय चैते धान रोप्ने चटारोमा थिए । बुधवार लामो समयपछि बल्ल वर्षात भएपछि शुभ संकेत भन्दै समुदायमा हर्षको सीमा रहेन् ।

‘चैते धान रोप्नु र मैदारो गरेर देवतालाई चढाउनु हाम्रो समुदायमा परम्परासँग जोडिएको छ, चैतमा धान नरोप्नु राम्रो मानिदैन्, त्यसैले पनि सबै माझी परिवार एक भएर चैते रोपाइँमा होमिएका छन्,’ इन्द्रावती–११ विस्देउटारकी शान्ता माझीले भनिन् । माझी समुदायको एक मात्र आम्दानी कृषि र खेतीयोग्य जमिन पर्याप्त नहुँदा इन्द्रावतीको बगरमा खेती लगाउने गरेका छन् ।

कृषि ज्ञान केन्द्र काभ्रेका अनुसार जिल्लामा धानबाली लगाइने फाँटमध्ये तीन हजार दुई सय ५९ हेक्टरमा चैत धान लगाइने गरिएको छ । यो वर्ष फागुन, चैतमा खासै वर्षा नभए पनि अन्य स्रोतबाट रोपाइँ सहज र चाँडै भइरहेको स्थानीय तहका कृषि शाखाले जनाएका छन् । ‘सबै छिमेकी जम्मा भएर आपसमा रोपाइँको मेलापातमा सघाइरहेका छौं । यो बेला हाम्रो लागि व्यस्त समय हो,’ चौतारा साँगाचोकगढी नगर झ्याडीटोलका भीम दनुवारले भने ।

यहाँ पानीको स्रोतको समस्या नभएकाले धमाधम रोपाइँ भइरहेको दनुवारको भनाइ छ । चौतारा साँगाचोकगढी नगरको तल्लो भूभाग झ्याडी टोल, माझी खेत, इन्द्रावती गाउँपालिका क्षेत्रका बिस्देउटार, भीमटार, हेलम्बु, मेलम्ची, जुगल गाउँपालिकाका केही भेगमा असार र चैतमा गरी धानको दुई बाली भित्र्याइने गरिएको छ । इन्द्रावती करिडोरबाहेक केही पहाडी भेग चैत धानको लागि उर्वर मानिन्छ । अघिल्लो वर्षको तुलनामा अहिले समयमै धान बाली लगाएकाले चैते धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । बलेफी गाउँपालिकाको जलविरे, जुगल गाउँपालिकाको बतासेदेखि मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिको नदी करिडोरमा धान उत्पादन राम्रो हुने गरेको छ । यहाँ खुमलचार, मकवानपुरे १ देखि विभिन्न स्थानीय जातका धानका बीउ लगाउने गरिएको छ ।

प्रकाशित : चैत्र ७, २०८० १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?