कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एआईको प्रगतिले चामत्कारिक व्यापारिक उछाल पाएको एनभिडिया

काठमाडौँ — सन् २०१६ मा ७० बिलियन अमेरिकी डलरको आसपास रहेको भिडियो गेम कम्प्युटरको चिप निर्माता कम्पनी एनभिडियाको कुल बजार मूल्य २०२३ मा आइपुग्दा आकासिएर १ ट्रिलियन डलर आसपास पुगेको छ । गएका केही वर्ष सिलिकन भ्याली र अन्य क्षेत्रका ठूला टेक कम्पनीहरू आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईमा आधारित प्रविधि र प्लाटफर्महरूको निर्माण दौडमा लागेपछि परम्परागत रूपमा व्यावसायिक हेडलाइनमा खासै नरहने यो कम्पनी चर्चामा छ ।

एआईको प्रगतिले चामत्कारिक व्यापारिक उछाल पाएको एनभिडिया

सन् २०१६ यता सो कम्पनीको सेयरमा १०००% ले वृद्धि भएको छ भने कम्पनीको आम्दानीमा पनि झन्डै ५००% को उछाल आएको छ । कम्पनीले गएको साता मात्र आफ्नो सेयर मूल्य २४% ले बढेको तथ्य सार्वजनिक गरेको थियो र यो कम्पनीको अहिलेको कुल मूल्य ९४० बिलियन डलर पुगेको छ ।

यो प्रगति कति ठूलो हो भने एनभिडियाको अहिलेको कुल बजार मूल्य टेस्ला, मेटा (फेसबुक), अलिबाबा भन्दा बढी छ र यो कम्पनीभन्दा ठूलो मूल्यमा एप्पल, माइक्रोसफ्ट, अमेजन, अल्फाबेटजस्ता कम्पनीहरू मात्रै छन् ।

सन् १९९३ मा ३ जना इन्जिनियरहरूले समय क्रममा कम्प्युटरहरुलाई जटिल किसिमका ग्राफिक्स प्रोसेस गर्न सक्ने बनाउनुपर्छ भन्ने भिजनका साथ सुरू गरेको यो कम्पनीले पहिलो सफलता सन् २००० पछि माइक्रोसफ्टको एक्सबक्स गेमिङ कन्सोल बनाउने अवसर पाएपछि सुरू भएको थियो ।

यो कम्पनी भिडियो गेमहरू लगायत जटिल डिजिटल ग्राफिक्समा विश्वव्यापी रूपमा प्रयोग हुने जीपीयु अर्थात् ग्राफिक्स प्रोसेसिङ युनिटको प्रमुख निर्माता हो । लामो समय भिडियो गेमहरू र एनिमेसन लगायतमा आफूलाई केन्द्रित राखेको एनभिडियाको अहिलेको उछाल भने एआई प्रविधि र प्लाटफर्महरू प्रतिको विश्वव्यापी आकर्षणले ल्याएको हो ।

गुगल पाल्म २, च्याट जीपीटी ४ लगायत लार्ज ल्याङग्वेज मोडलमा आधारित कम्पनीहरूसमेत अनेकौं एआई तस्बिर र भिडियो जेनेरेटिङ प्लाटफर्महरूले ठूलो आकारको डेटाबेस र ग्राफिक्सहरू व्यवस्थापन गर्न एनभिडियाको जीपीयु प्रयोग गर्न थालेपछि एआईसँगै यो कम्पनीको पनि बजार फस्टाएको हो ।

सन् २०१६ यता स्थिर तवरले आफ्नो एआई बजार बिस्तार गर्दै आएको एनभिडियाले सो वर्ष टेस्ला पी १०० जीपीयु, २०१८ मा डिप लर्निङमा प्रयोग हुने भोल्टा जीपीयु आर्किटेक्चर र सन् २०२० मा अहिले धेरैजसो एआई प्लाटफर्मले प्रयोग गर्ने एम्पियर जीपीयु आर्किटेक्चर सार्वजनिक गरेको थियो, पछिल्लो प्रविधिको घोषणापछि यो कम्पनी एआईको उन्नतिबाट सबैभन्दा लाभान्वित कम्पनी बन्न सफल भएको हो ।

एआई प्रविधिको दौडमा को अगाडि रहने भन्ने विषय गएको एक वर्षयता सधैंभरि चर्चामा रहने गरे पनि ती सबै चर्चाको प्रत्यक्ष फाइदा एनभिडियाले भरपूर उठाएको छ । मार्चमा आयोजित एआई कन्फेरेन्समा ओपन एआई र गुगलका पूर्वइन्जिनियर तथा एआई स्टार्ट-अप एडेप्ट ल्याबका सह-संस्थापक डेभिड लुआनले एनभिडियाका प्रमुख जेन्सेन हुआङतर्फ संकेत गर्दै भनेका थिए, 'तपाईंहरू जो पनि एआईको नयाँ सोच लिएर आउनुभएको छ, आफ्नो व्यावसायिक सफलता चाहनुहुन्छ भने जेन्सेनलाई चेक पठाउन सुरू गरिहाल्नुस् ।' प्रतिगोटा १० हजार डलरदेखि ८ थानको एक सेटको ३ लाख डलरसम्म पर्ने एनभिडियाका यी एडभान्सड चिपहरू प्रविधि कम्पनीहरूले हजारौंको संख्यामा किन्ने गरेका छन् जसको ९५% सम्मको बजार हिस्सा एनभिडियाले ओगटेको छ ।

उदाहरणको लागि बिजनेस इन्साइडरको एक रिपोर्टका अनुसार आफ्नो नयाँ एआई स्टार्टका लागि अप्रिल महिनामा मात्रै १० हजार यस्ता चिप खरिद गरेका थिए । अमेजन वेब सर्भिस, अल्फाबेट, माइक्रोसफ्ट, मेटा, टेस्ला लगायत सबैजसो ठूला टेक कम्पनीको जीपीयु लगायत अन्य चिपको प्रमुख निर्माता बन्न सफल एनभिडिया आगामी दिनमा अझै फस्टाउने निश्चित छ ।

एआईको दौड कहाँ र कसरी अघि बढ्छ भन्ने पक्का नभए पनि यो सबैबाट सबैभन्दा ठूलो फाइदा एनभिडिया र त्यसका ताइवानी अमेरिकी प्रमुख जेन्सेन हुआङले उठाउने चाहिँ पक्कापकीजस्तै देखिएको विज्ञहरूको धारणा छ।

प्रकाशित : जेष्ठ १३, २०८० १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?